रिपोर्ट बुधबार, चैत १२, २०७६

घरको बसाइः बालबालिकाको समय यसरी बनाउनुस् सिर्जनात्मक र रमाइलो

शुष्मा बराली

घरको बसाइः बालबालिकाको समय यसरी बनाउनुस् सिर्जनात्मक र रमाइलो

कोरोनाभाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले बन्दाबन्दी (लकडाउन) गरेर बाहिर निस्कन रोक लगाएपछि सर्वसाधारण घरमा छन्। यो वेला अभिभावक आफ्ना बालबालिकालाई घरमै केमा व्यस्त बनाएर राख्ने भन्ने समस्यामा छन् । त्यस्तो काम, जुन समय कटाउनेसँगै सिर्जनात्मक पनि होस्।

विद्यालय बन्द भएपछि कपनको ज्ञान प्रकाश एकेडेमीकी शिक्षक जाङ्मु शेर्पा घरमा छोरासँग समय बिताउँछिन् । उनी बच्चाहरूलाई घरभित्रै विभिन्न काम सिकाएर समयको सदुपयोग गर्न सकिने सुझाव अरु अभिभावकलाई पनि दिन्छिन्।

उनी बिहान छोरालाई आफूसँगै व्यायाम गर्न लगाउँछिन्। दिनभरिको समयमा रमाइलो गर्दै घरायसी काम पनि सिकाइरहेकी हुन्छिन् । खाजा र खाना आफैं खान सिकाउने, चित्र कोर्न लगाउने, सँगसँगै खेल्ने, टिभी हेरे पनि सँगै बसेर हेर्ने गरेको उनी बताउँछिन्। “छोरासँग कुरा गर्छु, काम गर्दा सँगसँगै गर्न लगाउँछु र सँगै खेल्छु”, उनी भन्छिन्, “कोठाभित्र बसिरहँदा अल्छी लाग्यो भने आँगनमा साइकल खेलाउन लैजान्छु।”

लामो समयसम्म एक प्रकारको खुला वातावरणमा हुर्किरहेका बालबालिकालाई एकैचोटि अर्को अवस्थामा कर गरेर घरभित्र राख्दा उनीहरूमा मानसिक तनाव सिर्जना हुने भएकाले सजग हुनुपर्ने मनोविद्हरू बताउँछन्। मनोविद् डा. नरेन्द्र सिंह ठगुन्ना बालबालिकालाई उमेर र रुचि अनुसार कोरोना भाइरस (कोभिड–१९) बारे आवश्यक सूचना दिएर सचेत बनाउनुपर्ने सुझाउँछन्।

“बालबालिकाको इच्छा अनुसार यो रोग, रोग लाग्न सक्ने कारण, बच्न सकिने उपायबारे बुझ्ने गरी जानकारी दिनुपर्छ” उनी भन्छन्, “रोगको बारेमा त्रास उत्पन्न हुने गरी र इच्छा विपरीत सुन्नलाई कर गर्न भने हुँदैन।”


समाचारमा देखाइने बालबालिकाको मनोविज्ञानमा असर पर्ने भिडियो वा कुनै पनि सामग्रीबाट पर्नसक्ने नकारात्मक प्रभावबारे सचेत रहनुपर्ने ठगुन्नाको सुझाव छ । “घरमा बालबालिकालाई अधिक समय दिने, सिर्जनात्मक क्रियाकलापमा सामेल गराउने गर्दा उनीहरूमा तनाव पनि आउन पाउँदैन, पारिवारिक आत्मीयता पनि प्रगाढ हुन्छ”, उनी भन्छन्।

यो समयलाई व्यस्त जीवनशैलीका कारण बालबालिकासँग बढेको पारिवारिक दूरी घटाउने अवसरको रुपमा लिनुपर्ने ठगुन्ना बताउँछन्। “बालबालिकासँग बसेर परिवार र इष्टमित्रका विषयमा कुरा गर्ने, पुराना तस्वीर देखाएर आफन्त चिनाउने, पाका सदस्यले आफ्नो विगतको बारेमा बालबालिकालाई सुनाउन सकिन्छ । यसो गर्दा उनीहरूलाई परिवारको विगत र संघर्षबारे पनि जानकारी हुन्छ”, उनी भन्छन्।

बालबालिकाका लागि सिकाइको पहिलो थलो घर नै भएकाले अहिलेको समयलाई सिकाउने रूपमा उपयोग गर्न सकिने अलाइभ मन्टेश्वरी, भक्तपुरकी सञ्चालक अनिला सिन्तकला बताउँछिन् । उनका अनुसार, बालबालिकालाई जिम्मेवार बन्न अभिप्रेरित गर्दै घरमा नै सिकाइको वातावरण निर्माण गर्न सकिन्छ । भान्छाको काम, घर सफा गर्ने, सामान मिलाएर राख्ने, आफूले खाएको भाँडा पखाल्ने, बोतलमा पानी भर्न सिकाउनेदेखि धेरै काममा संलग्न गर्न सकिने उनी बताउँछिन् । “आमा–बाबाले एक–अर्कालाई सघाउँदै भान्छामा काम गरेको, गफ गरेको देख्दा पनि बालबालिकामा सकारात्मक प्रभाव पर्छ” उनी भन्छिन्।

उनका अनुसार, घरका पाका सदस्यसँग अधिक समय बिताउनाले पनि बालबालिकामा सिक्ने र बुझ्न खोज्ने बानीको विकास हुन्छ। शारिरीक, मानसिक हरेक रुपमा सक्रिय हुने खालका काम वा खेलमा बालबालिकालाई संलग्न गराउनुपर्ने उनी सुझाउँछिन्।

“बालबालिकासँग घुलमिल भएर सँगै खेल्ने र काम गर्ने गरे उनीहरुबाट पनि धेरै कुरा सिक्न सकिन्छ”, उनी भन्छिन्।

सामाजिक अभियन्ता राज रजक कोरोनाभाइरसको संक्रमणबारे हल्ला चल्न थालेपछि काठमाडौंबाट परिवारसहित धनुषा फर्केका छन्। उनी दुई छोरी र एक छोरालाई गाउँको खेतबारीमा उत्पादन हुने खाद्यान्नका विषयमा जानकारी दिंदै समयको सदुपयोग गरिरहेका छन्। चार वर्षीय छोराले दूध, चामल, दाल, तरकारी कसरी उत्पादन हुन्छ भन्ने सिकिरहेको उनले बताए।

“काठमाडौंमा बस्दा बच्चाहरूमा सबै सामान पसलमा पाइन्छ भन्ने बुझाइ थियो, अहिले त्यसमा परिवर्तन आएको छ”, उनी भन्छन्।

रजकले यसअघि पनि विद्यालय बिदा हुने समयमा छोराछोरीलाई गाउँ लैजाने गरेका थिए। बालबालिकालाई वेलावेला गाउँ लिएर जाँदा आफन्त र परिवारसँग आत्मीयता बढ्ने, स्थानीय भाषा, संस्कार र खानपानबारे जानकारी राख्ने अवसर मिल्ने उनको बुझाइ छ।

बाल साहित्यकार सिर्जना शर्मा परिवारका ठूला सदस्यले जस्तो व्यवहार गर्‍यो, बालबालिकाले त्यसैको सिको गर्ने भएकाले सबै जना घरमा रहेको यो समयमा अझ बढी सजग बन्नुपर्ने बताउँछिन्। मनोवैज्ञानिक असर नगर्ने तरिकाले व्यवहार गर्नुपर्ने उनको सुझाव छ।

महामारीको वेला ध्यान दिनुपर्ने सरसफाइ र सावधानीबारे अभिभावकले आफ्नै व्यवहारबाट बालबालिकालाई सिकाउन सक्ने शर्मा बताउँछिन्। “साबुन पानीले हात धुन, मास्क लगाउन, हात, आँखा, नाख, मुखमा नछुने जस्ता सामान्य कुरा आफैले गरेर सिकाउन सकिन्छ” उनी भन्छिन्।

उनी बालसाहित्य पढेर सुनाएर पनि बालबालिकाको समयलाई सिर्जनात्मक बनाउन सकिने बताउँछिन् । पछिल्लो समय डिजिटल डिभाइसबाट बालबालिकालाई टाढा राख्नुपर्ने नाममा बन्देज नै लगाउने गरिएको छ । तर, उनी विभिन्न विद्युतीय सामग्रीको प्रयोग गरेर पढ्ने बानीको विकास गर्न सकिने बताउँछिन्।

अर्का बाल साहित्यकार कृष्णदीप सिग्देल पनि महामारीको भयबाट मुक्त भई घरमा बालबालिकासँग समय व्यतीत गर्नु उचित हुने बताउँछन्। “बालबालिकाको रुचिलाई ध्यानमा राखेर पढ्न, लेख्न, चित्र कोर्न, नाच्न, गाउन सिकाउनु सकिन्छ”, उनी भन्छन्।

बालबालिकालाई पुस्तक दिएर ‘पढ्’ मात्रै भन्नु भन्दा आफू पनि सँगै बसेर अन्तर्क्रियात्मक शैलीमा सिकाउनुपर्ने उनी सुझाव दिन्छन् । सही पठन शैली पनि सिकाउन सकिने उनको भनाइ छ।

“यसले बालबालिकालाई सिर्जनात्मक बनाउनुका साथै स्मरणशक्ति त बढाउँछ नै, शब्द उच्चारणमा सुधार र नयाँ कुरा सिक्ने चाहना वृद्धि पनि गराउँछ”, सिग्देल भन्छन्।

प्रतिकृया दिनुहोस