ब्लग बुधबार, चैत १२, २०७६

भोटेताल्चा मारेपछि घरधनी ढुक्क !

भैरव रिसाल

भोटेताल्चा मारेपछि घरधनी ढुक्क !
भैरव रिसाल

असुरक्षाको डरसँगै ताल्चाको आविष्कार भएको हो । त्यस भन्दा अगाडि हाम्रा पिता पुर्खाले रातको वेला आफू घरभित्र हुँदा र काममा जाँदा चोर र जीवजन्तु पस्न नसकोस् भनेर ढोकामा भित्रपट्टि आग्लो लगाउने गर्दा रहेछन् । ढोकाको दुवै खापामा आग्लो अड्कने संरचना बनाएर आग्लो लगाइन्थ्यो । आग्लो ढोका बाहिरबाटै लगाउन र खोल्न सकिने गरी फलामको ताल (एक प्रकारको ताल्चा) बनाइन्थ्यो । तालले ढोकाको आग्लो लगायो, काममा गयो।

ताल घुसार्ने निश्चित ठाउँ हुन्थ्यो, ताकि परिवारको अर्को सदस्य आएर ढोका खोल्न सकोस् । परिवार बाहेकले ताल नभेटून् भनेर घरको पाली, गुप्त खोपी लगायतका खास–खास ठाउँमा राखिन्थ्यो।

भोटेताल्चा भने एक समय नेपालको जीवन संस्कृति नै थियो । यो ताल्चा पहिले कहाँ बन्यो होला, भोटेताल्चा नाम किन राखियो होला, खोजीकै विषय हो । यसमा भोटसँगको साइनो छ कि भनेर नामबाट लख काट्न सकिन्छ।

स्केच: भानु भट्टराई

भोटेताल्चा फलामबाट बन्छ । सामान्यतः फलाम खिया लाग्ने धातु भए पनि भोटे ताल्चामा भने खिया लाग्दैन । ताल्चा ठूलै हुन्छ । ताल्चा र साँचोको फलाम कडा हुन्छ, तर ताल्चाको मुटु जिब्री चाहिँ फलामकै भए पनि पातलो र कमलो हुन्छ । भोटेताल्चा मारेर हिंडेपछि घरधनी अहिले धनमाल ब्याङ्कको लकरमा राखे जस्तै ढुक्क हुने ! अहिले पनि नेपाली समाजमा कतै कुनै विषय अलमल, अवरोध र ठप्प भएको अवस्थालाई चित्रण गर्न भोटेताल्चाको विम्ब प्रयोग गर्ने चलन छँदैछ।

फलाम जस्तो बहुउपयोगी धातु पत्ता लागेपछि मानव समाजले ठूलो प्रगति गर्‍यो । ढुंगालाई हतियार बनाएको युगबाट फलाम युग आयो।

जनजीवनसँग जोडिएको फलाम

एउटै वस्तु फलामबाट यति धेरै वस्तु बन्छन्, जुन जनजीवन र आम जीविकासँग दह्रोसँग गाँसिएको छ । फलामबाट किसानका लागि कुटो, कोदालो, फाली, लडाइँ र शिकारका लागि खुँडा, खुकुरी, तरबार, गृहिणीहरूका लागि हँसिया, चुलेसी, कर्द, सिकर्मीका लागि राँबो, बसिला, करौती, बञ्चरो, सर्वसाधारणका लागि खन्ती, चिम्टा, सियो, पेचकिला, डाडु, पन्यु, ताप्के, भुजुङ्गो, साबेल, ताउ, ताला, चक्कु, गैँची, सिक्री, साङलो, सनासो, राइफल जस्ता कति सामग्री बन्ने कति!

पहिलेको जमानामा फलाम पगाल्न बिजुली थिएन । घना जङ्गलबाट छानी छानी पलाटका रुख काटेर चिर्‍यो, गोल बनायो । त्यही गोलको भुङ्ग्रोमा फलाम रातो पारी घनले हानेर चाहेको वस्तु बनायो र व्यवहार चलायो । कति सिपालु परम्परागत वैज्ञानिक!

नेपालमा फलाम–संस्कृति खोज्दै जाँदा मानिसहरुले स्वास्थ्य प्राप्तिका लागि विभिन्न धातुको भस्म अर्थात् खरानी सेवन गरेको भेटिन्छ । सुवर्ण भस्म, मुगा भस्म, लौह भस्म सेवन गराइन्थ्यो । लौह (फलाम) भस्म बनाउन गाईको गोबरको गुइँठामा फलाम पोलेर खरानी बनाइन्थ्यो । त्यो भस्ममा अरु जडीबुटी मिसाएर बिरामीलाई खुवाइन्थ्यो।

शरीरमा आइरन तत्वको कमी हुन नदिन फलामको ताप्केमा दाल वा तरकारी पकाएर खाने गरिन्थ्यो । त्यसबारे थाहा नभएरै पनि फलामको भाडामा पकाएको खाइन्थ्यो, खास गरी मासको दाल । यस्तै, शिशु लिटो खाने भएपछि फलामको दिउरीमा लिटो पकाएर लौह तत्वको परिपूर्ति गरिन्थ्यो । फलामका भाँडा प्रायः वीरगञ्जतिरबाट झिकाइन्थ्यो वा आफैं पनि ल्याइन्थ्यो । किनकि यी सामानहरू त्यता अलि सस्तो दाममा पाइन्थ्यो।

सांस्कृतिक पाटोबाट पनि फलामलाई स्वास्थ्य र गृहशान्तिसँग जोडिन्थ्यो । गठेमंगलका दिन फलामको औंठी लगायो भने रक्षा हुन्छ भनिन्थ्यो । दाँत दुख्यो भने फलामको किलो दाँतमा छुवाएर काठमाडौंको बाङ्गेमुढामा रहेको वाँस्याः देगः मा सिक्का ठोकेमा दुःखाइ निको हुने जनविश्वास थियो । काठमाडौंकै किलागलमा फलामका तीन खुट्टा भएको करुवा ठोकिन्थ्यो । त्यहीँको अर्को पुरानो करुवा झिकेर ल्याई नयाँ मूल ढोकाको चौकोसमा ठोकिन्थ्यो, जसले घरको रक्षा हुन्छ भन्ने मान्यता थियो।

प्रतिकृया दिनुहोस