उपचारका क्रममा स्वास्थ्यकर्मीले संक्रमणबाट जोगिने सुरक्षा पोशाक पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगाउनुपर्ने हुन्छ। तर, पीपीईको अभाव हुँदा कोरोना भाइरस (कोभिड–१९) लगायत संक्रमणजन्य रोगका शंकास्पद व्यक्ति र बिरामीको परीक्षण र उपचार गर्न समस्या भएको छ।
देशका अधिकांश मेडिकल कलेजमा बिरामीको उपचार गर्दा नर्स, इन्टर्न डाक्टर, मेडिकल अफिसर र रेजिडेन्ट क्रमबद्ध रूपमा खट्छन्। संक्रमित बिरामीको उपचारमा खट्ने उनीहरुसहितका चिकित्सकहरु पीपीईको अभावमा काम गर्न डराएका छन्।
पीपीईको अभावमा जोखिम मोलेर उपचारमा खट्नुपरेको उनीहरू बताउँछन् ।
काठमाडौंका अधिकांश मेडिकल कलेजहरूले कोभिड–१९ संक्रमित पत्ता लगाउन ‘फिभर क्लिनिक’ सञ्चालन गरेका छन्। लक्षण देखिएर उक्त क्लिनिकमा जाँच्दा शंकास्पद देखिए थप औषधोपचारको व्यवस्था मिलाउने गरिएको छ।
तर, कोभिड–१९ को लक्षण नै नदेखिएका व्यक्तिको छातीको एक्स–रे गरेपछि मात्र फोक्सोको अवस्थाका आधारमा शंकाको घेरामा राखिन्छ। त्यस क्रममा त्यस्ता व्यक्ति अस्पतालको शल्यक्रिया कक्ष, वार्ड लगायतका ठाउँमा पुगिसकेका हुन्छन्।
“यदि ती व्यक्ति संक्रमित रहेछन् भने चेकजाँच गर्ने क्रममा हामी जस्ता धेरैलाई संक्रमण सारिसकेका हुन्छन्”, काठमाडौंको एक मेडिकल कलेजमा कार्यरत एक चिकित्सक भन्छन्। त्यसैले चेकजाँच र उपचार गर्ने चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीलाई पीपीई अनिवार्य चाहिने उनी बताउँछन्।
एमबीबीएसको अध्ययन सकेर इन्टर्नसिप गरिरहेका डाक्टरहरू यस्तो जोखिम मोलेर उपचार गर्न बाध्य छन् । काम गर्न नगए कलेजले अध्ययन पूरा गरेको प्रमाणपत्र नै नदिने भएकाले अत्यावश्यक सुरक्षा पोशाक विना काम गर्नुपर्ने परिबन्दमा रहेको ती चिकित्सकको भनाइ छ।
संक्रामक रोगको उपचार हुने टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा समेत पीपीईको अभाव छ। अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी १२ घण्टासम्म खट्नुपर्ने भएकाले पीपीई अत्यावश्यक भएको बताउँछन्। “अस्पतालमा आउने बिरामीको चाप अनुसार हामीलाई अहिले दैनिक सय थानका दरले पीपीई चाहिएको छ, तर पाइएको छैन”, उनी भन्छन्।
भेरी अस्पताल नेपालगञ्जमा कार्यरत एनेस्थेलोजिस्ट डा.पारस पाण्डे मुलुकका विभिन्न अस्पतालमा पर्याप्त पीपीई नहुँदा उपचारमा खटिने चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरू मर्कामा परेको बताउँछन् । उनी भन्छन्, “पीपीर्ई थोरैले नपुग्ने र महँगोे पर्ने भएकाले मागेर पनि पुु¥याउन सकिने अवस्था छैन।” त्यसैले स्थानीय स्तरमा नै उत्पादन थाल्नुपर्ने उनी बताउँछन्।
विदेशबाट किनेर ल्याउँदा एक थान पीपीईको रु.८ हजारदेखि २० हजारसम्म पर्छ। तर, नेपालमा प्लास्टिकबाट बनाए करीब रु.२५० लागतमै उत्पादन गर्न सकिने जानकारहरु बताउँछन्। संक्रमितको उपचार गर्न लगाइने पीपीईमा पूरै शरीर ढाक्ने गरी हेल्मेट, विशेष प्रकारको चश्मा, अन्य वस्तु हुन्छन्।
पीपीई नलगाई गए आफैं संक्रमित हुने भएकाले स्वास्थ्यकर्मीहरू उपचार गर्न डराउने गरेका छन्। जसका कारण बिरामी अन्यत्र रेफर गर्नुपर्ने अवस्था छ।
पीपीर्ई लगाएर वार्ड, आईसीयू वा शल्यक्रिया कक्षमा एक जना बिरामीलाई एक पटक चेकजाँच गरेपछि सुरक्षित तरिकाले फाल्नुपर्छ। त्यसैले दैनिक एक जना स्वास्थ्यकर्मीका लागि औसत आठ वटासम्म पीपीर्ई चाहिने चिकित्सकहरु बताउँछन्।
नेपालका सप्लायर्ससँग पीपीई केही परिमाणमा भए पनि कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बिक्री गर्न खोजेको चिकित्सकहरुको आरोप छ।
एकपछि अर्को टेन्डर, पन्छिए सप्लायर
स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्था शाखाका निर्देशक भोेगेन्द्रराज डोेटेल पीपीईको चरम अभाव भएकाले खरीद प्रक्रिया अगाडि बढाइएको बताउँछन्। कोभिड–१९ को समस्या देखिए लगत्तै फास्ट ट्रयाकबाट खरीद प्रक्रिया अगाडि बढाइए पनि सप्लायर्सले प्रस्ताव नै नगरेको उनको भनाइ छ।
सामग्री अभाव भएपछि विभागले अक्सिजन सिलिन्डर र भेन्टिलेटर खरीद प्रक्रिया अगाडि बढाएको छ। विभागले १५ दिनभित्र पीपीई सहित मेडिकल पन्जा, बुट, डिजिटल थर्मोटिर लगायतका अत्यावश्यक सामग्री उपलब्ध गराउन भन्दै २ चैतमा बोलपत्रका लागि सूचना निकालेको थियो।
यसअघि १ फागुनमा पनि शाखाले पीपीई, मास्क, पन्जा, स्यानिटाइजर, स्प्रेअर लगायतका सामग्रीको लागि टेन्डर आह्वान गरेको थियो। ९ फागुनमा पनि शाखाले जतिसक्दो छिटो उपलब्ध गराउन भन्दै आईसीयू लगायतमा चाहिने इन्टेन्सिभ केयर बेड सिरिन्ज पम्प, इन्फ्युजन पम्प, नेबुलाइजर लगायतका सामग्री खरीदका लागि बोलपत्र आह्वान गरेको थियो।
त्यस लगत्तै १० फागुनमा शाखाले एक हजार बेडको आइसोलेसन वार्डका लागि चाहिने सामग्री खरीदका लागि बोलपत्र आह्वान गरेको थियो।
यद्यपि सामानको विश्व बजारमै अभाव भएको भन्दै सप्लायर्सहरु पन्छिरहेको शाखाका निर्देशक डोटेल बताउँछन्। उनका अनुसार, शाखाले सबै सप्लायर्ससँग छलफल गर्दा उनीहरुले पीपीई लगायत स्वास्थ्यका सामग्रीहरु सिंगापुर, थाइल्याण्ड, चीन, भारत लगायतका देशमा अड्केकाले ल्याउन नपाएको बताएका थिए । “सोझै अन्य मुलुकका सरकारसँग सम्पर्क गरेर खरिद गर्न सक्ने अवस्था छैन, यसै कारण नेपाली सप्लायर्सबाट खरीद गर्ने गरी प्रक्रिया अगाडि बढाएका हौं”, उनी भन्छन्।
शंकास्पद व्यक्तिको परीक्षण गर्न चाहिने पीपीई नेपालमा बनाउन सकिने भए पनि संक्रमित बिरामीको उपचारमा भने गुणस्तरीय पीपीई नै चाहिने डोटेल बताउँछन्।
पीपीईसँगै अहिले अक्सिजन सिलिन्डर र भेन्टिलेटरको पनि अभाव देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्कालका लागि २३५ थान भेन्टिलेटर चाहिने आकलन गरेको छ। तर चिकित्सकहरु संक्रमित बिरामीको संख्या बढेमा यतिले नधान्ने बताउँछन्।
एनएसआईले सहयोग गर्ने
निक साइमन्स इन्स्टिच्यूट (एनएसआई) ले नेपालमा कोभिड–१९ संक्रमितको उपचारका लागि ११ थान भेन्टिलेटर सहयोग गर्ने निर्णय १० चैतमा गरेको छ।
यी भेन्टिलेटर टेकूस्थित शुक्रराज अस्पतालमा राख्ने तयारी छ। एनएसआईले नै नेपालमै पीपीई बनाएर सरकारलाई एक हजार थान दिने भएको छ।
यसअघि चीन सरकारले पीपीई लगायतका केही अत्यावश्यक मेडिकल सामग्री दिने प्रतिबद्धता व्यक्त गरेको थियो। तर अहिलेसम्म हस्तान्तरण नभएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बताए।