समाचार सोमबार, चैत १०, २०७६

फ्रान्सबाट फर्किएकी युवतीमा यसरी देखियो कोरोना संक्रमण

रामु सापकोटा

फ्रान्सबाट फर्किएकी युवतीमा यसरी देखियो कोरोना संक्रमण

फ्रान्सको पेरिसबाट कतारको दोहा ट्रान्जिट हुँदै ४ चैतमा १९ वर्षीया नेपाली विद्यार्थी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिइन्। फ्रान्समा रहँदा कोठामा सँगै बस्ने भियतनामकी साथीसँगै विमानमा यात्रारत थिइन् उनी। ती साथी आफ्नो देश पुगेपछि स्वास्थ्य परीक्षण गर्दा कोभिड-१९ संक्रमण भएको देखियो।

ती भियतनामीबाट त्यसबारे ६ चैतमा नेपाली युवतीलाई फोन मार्फत खबर आयो। यसपछि उनमा आफू पनि संक्रमित भएँ कि भन्ने आशंका भयो।

त्रिभुवन विमानस्थलबाट सीधै घर पुगेकी उनलाई संक्रमणको आंशकामा परिवारका सदस्यले टेकूस्थित शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीलाई खबर गरेका थिए।

७ चैत शुक्रबार परिवारले उनलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकू लगेका थिए। घाँटीको स्वाबको नमूना दिएर उनी घर नै फर्किइन्। डा. राजभण्डारीका अनुसार, शुरुमा ती युवतीलाई सुख्खा खोकी देखिएको थियो।

९ चैत आइतबार उनको कोभिड–१९ परीक्षणको रिपोर्ट पोजेटिभ आयो। प्रयोगशालाका स्वास्थ्यकर्मीहरुको टोलीले उनको स्वाबको नमूना त्यो दिन अपराह्न ४ बजे र राति १० बजे गरी दुई पटक जाँच्दा संक्रमणको पुष्टि भएको थियो। युवतीलाई त्यसै दिनदेखि शुक्रराज अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गरिंदैछ ।

ती युवतीलाई कोभिड–१९ पोजेटिभ देखिएकोबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (सोमबार) पत्रकार सम्मेलन मार्फत पुष्टि गरिसकेको छ।

डा. राजभण्डारी उनलाई फ्रान्समा रहँदा नै कोभिड–१९ को संक्रमण भएको हुनसक्ने बताउँछन् । अस्पतालका निर्देशक डा. भण्डारी संक्रमित युवती संक्रमणको आंशका लागेपछि समुदायमा नगएको र घरभित्रै बसेकाले अरुलाई सार्ने सम्भावना कम रहेको बताउँछन् ।

यो घटनापछि ती युवती सवार जहाजका यात्रुलाई पनि संक्रमणको आंशका गर्दै उनीहरुको अवस्थाबारे सामाजिक सञ्जाल मार्फत प्रश्न गर्न थालिएको छ । डा. राजभण्डारी युवती सवार विमानमा रहेका अन्य यात्रुलाई पनि निगरानी गरेर आइसोलेसनमा राख्नुपर्ने बताउँछन् ।

“ती यात्रुहरुलाई निगरानी गर्न अस्पताल मार्फत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई आग्रह गरिसकेको छु” उनी भन्छन्।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठका अनुसार, युवती आएको कतार एयरवेजको जहाजमा सवार सबै यात्रुको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्ने काम भइरहेको छ।

यो पनि पढ्नुहोस्-

फ्रान्सबाट आएकी एक नेपाली युवतीमा कोरोना पोजेटिभ देखियो

कोभिड–१९ संक्रमित युवतीको अवस्था जटिल छैन : अस्पताल

प्रतिकृया दिनुहोस