समाचार सोमबार, चैत १०, २०७६

काठमाडौंमा कोरोना संक्रमण, मोबाइल एपबाट सम्भावित संक्रमितको निगरानी गर्नसक्छ सरकार

दीपक खरेल

काठमाडौंमा कोरोना संक्रमण, मोबाइल एपबाट सम्भावित संक्रमितको निगरानी गर्नसक्छ सरकार
कोभिड १९ पहिचान र रोकथामका लागि सिंगापुरमा प्रयोग गरिएको एप । तस्वीरः इट्वेन्टीसेभेनडटको

४ चैत फ्रान्सको पेरिसबाट कतारको दोहा हुँदै काठमाडौं ओर्लिएकी १९ वर्षीया नेपाली युवती आएलगत्तै घरैमा क्वारेन्टाइनमा बसिन् । एकाएक बिसञ्चो हुन थालेपछि उनको स्वास्थ्य जाँच गरियो ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनमा आइतबार साँझ कोभिड–१९ पोजेटिभ देखियो । लगत्तै आइतबार साँझ नै उनी टेकुकै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत् छिन् ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सोमबार गरेको पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार अहिले सरकारले उनको परिवारका सदस्यहरुलाई ‘आइसोलेसन’मा राखेको छ । यसबाहेक नेपाल रहँदा युवतीको सम्पर्कमा रहेकामध्ये पहिचान भइसकेकाहरुलाई आइसोलेसनमै राखेर स्वास्थ्य जाँच गर्ने क्रम जारी छ ।

१७ मार्च बिहान सवा १० बजे कतार एयरवेजबाट काठमाडौं ओर्लिएकी ति युवतीका साथ विमानमा चालकदलका सदस्य बाहेक १ सय ५८ जना यात्रु थिए । उनीहरू अध्यागमन कार्यालय हुँदै सुरक्षा जाँच पार गरेर विमानस्थल बाहिर निस्किए ।

सोमबार आयोजित स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन । तस्वीरः बिक्रम राई ।

सरकारले पत्रकार सम्मेलनमा विमान, विमानमा उनका नजिकको सीटमा बसेका यात्रु, विमानस्थल र त्यहाँ खटिएका सुरक्षाकर्मी र विमानस्थलबाट घरसम्म प्रयोग गरेको सवारीसाधन र त्यसका चालकलगायत सम्बन्धित अन्य व्यक्तिमा संक्रमण हुनसक्ने र उनीहरूको पनि खोजी गरिएको बारे भने केही खुलाएन ।

“उहाँ यसबीचमा को कसको सम्पर्कमा आउनु भयो खोजी गरेर उहाँहरुको पनि जाँच गरिनेछ,” पत्रकार सम्मेलनमा मन्त्री ढकालले यति मात्र भने ।

ढिलोगरी, एक घण्टाअघिमात्र नेपाल पर्यटन बोर्डले ट्वीटर ह्याण्डलमार्फत कतार एअरवेजबाट नेपाल आएका एकजनामा कोरोनाभाइरस पोजेटिभ भेटिएको भन्दैं सबै यात्रुलाई क्वारेन्टाइनमा बस्न र रुघाखोकीजस्ता लक्षण देखिए तुरुन्त टेकुस्थित अस्पतालमा जाँच गराउन आग्रह गरेको छ ।

विश्व स्वास्थ्य संगठनले कोभिड–१९ रोकथामका लागि सबैभन्दा पहिलो कदमका रुपमा संक्रमितको सुक्ष्म निगरानी मानेको छ । यसका लागि बाहिरबाट देशभित्र छिर्ने सबै नागरिकको निगरानी आवश्यक छ ।

संचारविज्ञ राजीव सुब्बा सरुवा रोगको महामारीका लागि सरकारले तत्कालै व्यक्तिको निगरानी र पहिचानका लागि मोबाइल एप निमार्ण गर्नुपर्ने बताउँछन् । उनका अनुसार सिंगापुर र दक्षिण कोरियामा संक्रमण फैलिन मोबाइल एप निकै प्रभावकारी मानिएका छन् ।

“नेपालमै भएको जनशक्तिबाट रातारात एप बनाउन सकिन्छ,” सुब्बाले भन्छन्, “एपमार्फत व्यक्तिको निगरानीका साथै र व्यक्तिका बिषयमा जानकारी राख्न सकिन्छ ।”

 

प्रतिकृया दिनुहोस