रिपोर्ट शनिबार, चैत ८, २०७६

किन भइरहेकाे छैन शंकास्पद सबैकाे काेराेना परीक्षण ?

रामु सापकोटा

किन भइरहेकाे छैन शंकास्पद सबैकाे काेराेना परीक्षण ?
कोभिड–१९ जाँच्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला। तस्वीर: बिक्रम राई

विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहेका वेला नेपालमा भने नयाँ संक्रमित बिरामी भेटिएका छैनन् । छिमेकी चीनबाट शुरू भई १८० भन्दा बढी मुलुकमा फैलिएको भाइरसको संक्रमण अर्को छिमेकी भारतमा बढिरहँदा यहाँ संक्रमण नदेखिनुलाई आश्चर्य मानिएको छ । किनकि, खुला सीमाका कारण भारतसँगका नाकाबाट संक्रमित व्यक्ति प्रवेश गर्ने सम्भावना बढी भएकाले संक्रमण भित्रिने जोखिम उच्च छ ।

नेपालसँग सिमाना जोडिएका उत्तरप्रदेश र उत्तराखण्डसहित भारतका २० राज्यमा कोभिड–१९ को संक्रमण फैलिसकेको छ । कोभिड–१९ को संक्रमण मुलुकमा भित्रिए थाम्न नसक्ने स्थिति बन्ने विज्ञहरू बताउँछन् ।

नेपालमा अहिलेसम्म नयाँ संक्रमित नभेटिनुमा नमूना परीक्षण एउटा मात्रै प्रयोगशालाबाट गर्नु र त्यसमा पनि असाध्यै न्यून नमूना जाँचिनु कारण रहेको चर्चा चिकित्सा वृत्तमै चलिरहेको छ । हाल कोभिड–१९ का शङ्कास्पद बिरामीको परीक्षण काठमाडौं टेकूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र भइरहेको छ ।

प्रयोगशालाको पीसीआर (पोलिमर्स चेन रियाक्सन) मेशिनले सातामा ५०० जनासम्मको नमूना परीक्षण गर्न सक्छ । तर, १३ माघदेखि ६ चैतसम्म प्रयोगशालामा जम्मा ५४६ जनाको मात्र स्वास्थ्य परीक्षण गरिएको छ । तीमध्ये गएको ९ माघमा परीक्षण गर्दा एक जनामा मात्र कोभिड–१९ देखिएको थियो, जो उपचारपछि निको भइसकेका छन् ।

टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका ट्रपिकल मेडिसिनका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बाँस्तोला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भइरहेको शङ्कास्पद बिरामीको नमूना परीक्षण बढाउनुपर्ने बताउँछन् ।

प्रयोगशालामा शुरूका दिनमा भन्दा अहिले कोरोना परीक्षण गर्ने संख्या बढाइए पनि पर्याप्त नभएको उनको भनाइ छ । “संक्रमित बिरामी नछुटून् भनेर बढीभन्दा बढी मानिसलाई समेट्ने गरी कोभिड–१९ को परीक्षण गरिनुपर्छ”, उनी भन्छन् ।

जनस्वास्थ्य विषयका अनुसन्धानकर्ता डा. समीरमणि दीक्षित पनि शङ्कास्पद सबैको कोभिड–१९ परीक्षण नभएसम्म संक्रमित व्यक्ति पत्ता लाग्न नसक्ने र पहिचान नै नभएपछि बिरामी छैनन् भनेर बस्नुपर्ने बताउँछन् ।

उनी भन्छन्, “अधिकांश मुलुकमा श्वासप्रश्वासका दीर्घ रोगी र वृद्धवृद्धाहरू भाइरसबाट बढी संक्रमित छन्, तर नेपालमा उनीहरूलाई लक्षित गरेर जाँचिएकै छैन ।” उनी दक्षिण कोरियाको अनुभवका आधारमा नेपाल सरकारले कोभिड–१९ परीक्षण अगाडि बढाउनुपर्ने बताउँछन् ।

५ करोड १२ लाख ६९ हजार १८५ जनसंख्या रहेको दक्षिण कोरियाले ९ मार्चसम्ममा २ लाख १० हजार १४४ जनाको नमूना परीक्षण गरेको थियो । त्यहाँ दैनिक करीब १० हजार जनाकोे कोभिड–१९ परीक्षण गर्ने गरिएको छ ।

दक्षिण कोरियाले सन् २०१५ मा फैलिएको मर्स रोग परीक्षण गर्ने क्षमता नहुँदा संक्रमित बिरामी फेला पार्न गाह्रो भएको अनुभवका आधारमा कोभिड–१९ परीक्षणको क्षमतामा सुधार ल्याएको हो । फलस्वरुप, त्यहाँ शुरूका दिनमा बढेका कोभिड–१९ को नयाँ संक्रमण दर पछिल्ला दिनमा घटिरहेको छ । २९ फेब्रुअरीमा एकै दिन ९०९ जना नयाँ संक्रमित भेटिएकोमा १७ मार्चमा भने त्यस्तो संख्या ७४ मा झर्‍याे।

दक्षिण कोरियामा नयाँ संक्रमितको संख्या घट्नुको कारणबारे अष्ट्रेलियाको युनिभर्सिटी अफ न्यू साउथवेल्सकी प्राध्यापक एवम् संक्रामक रोग विज्ञ रैना म्याकइन्टायरको भनाइ उद्धृत गर्दै अमेरिकाको साइन्स म्यागेजिनले लेखेको छ, “दक्षिण कोरियाको अनुभवले रोग पत्ता लगाउने क्षमता नै महामारी नियन्त्रण गर्ने प्रमुख कारक रहेको देखाउँछ ।” म्याकइन्टायरको भनाइले रोग पत्ता लगाउने ल्याबको क्षमता इङ्गित गर्छ ।

बढाइएन प्रयोगशाला

कोभिड–१९ भए\नभएको पत्ता लगाउन प्रयोगशालामा शङ्कास्पद बिरामीको घाँटीको स्वाब परीक्षण गरिन्छ । यसको परीक्षण गर्न सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला बाहेक ७ चैतमा आएर मात्र थप तीन अस्पतालको अनुमति दियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ शंका गरिएका बिरामीको स्वास्थ्यमा नियन्त्रणका लागि काठमाडौंको वीर अस्पताल, काभ्रेको धुलिखेल अस्पताल तथा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अनुमति दिएको छ ।

मन्त्रालयको समन्वय महाशाखाले प्रमुख डा. विकास देवकोटा अहिलेसम्म शङ्कास्पद भनेर प्रयोगशालामा पठाइएका बिरामीको मात्र परीक्षण गरिएको बताउँछन् । “अहिलेको आवश्यकता त संक्रमित व्यक्ति पत्ता लगाउन समुदायमा नै सक्रिय निगरानी आवश्यक छ, जुन हामीकहाँ छैन”, उनी भन्छन् ।

नेपाल मेडिकल काउन्सिलका सदस्य डा. विश्व दवाडी सरकारले अहिलेसम्म गरेको कोभिड–१९ परीक्षण पर्याप्त नरहेको बताउँछन् । “५०० जनामा परीक्षण गरेर मुलुकमा कोभिड–१९ छैन भन्न मिल्दैन । दक्षिण कोरिया र इटाली जस्ता मुलुकले दैनिक करीब १० हजार जनाको परीक्षण गर्ने गरेका छन् ।” उनी सरकारले मापदण्डभित्र रहेका निजी प्रयोगशालालाई पनि परीक्षण गर्न अनुमति दिनुपर्ने बताउँछन् ।

भारतमा सरकारी प्रयोगशालाहरूमा मात्र कोरोना परीक्षण गर्ने गरिएकोमा ४ चैत (१७ मार्च) देखि मान्यताप्राप्त निजी प्रयोगशालालाई पनि परीक्षणको अनुमति दिइएको छ । त्यहाँ ६१ वटा प्रयोगशालाबाट कोरोना परीक्षण भइरहेको छ, जसको दैनिक करीब पाँच हजार नमूना जाँच्न सक्ने क्षमता छ । निजी प्रयोगशालामा परीक्षण गर्दा लाग्ने शुल्क सरकारले बेहोर्ने व्यवस्था गरिएको छ ।

यस्तै, मलेशियामा ५४ वटा प्रयोगशालाबाट कोभिड–१९ परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । अहिलेसम्म कोभिड–१९ बाट संक्रमितहरूको विश्लेषण गर्दा निमोनिया र श्वासप्रश्वास सम्बन्धी समस्या भएका ६० वर्ष माथिका व्यक्तिमा यो भाइरस बढी देखिने गरेको छ ।

भारतमा कोभिड–१९ परीक्षणका लागि चाहिने किट करीब एक लाख थान मौज्दात छ । नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग भने १५०० थान किट मात्र मौज्दात छ । थप १० हजार थान किट विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को सहयोगमा खरीद गर्ने प्रक्रिया अगाडि बढिसकेको प्रयोगशालाका मेडिकल टेक्नोलोजिस्ट राजेशकुमार गुप्ता बताउँछन् । गएको माघमा प्रयोगशालाले सेन्टर फर मोलिक्युलर डाइनामिक्स नेपालबाट करीब १०० थान किट सापटी लिएर काम चलाएको थियो ।

प्रयोगशालाका अनुसार जनवरीदेखि १५ मार्चसम्म गरिएको परीक्षणबाट ६११ जनामा मौसमी फ्लु अन्तर्गतको इन्फ्लुएन्जा ए र बी नेगेटिभ देखिएको छ । डा. दीक्षित भने इन्फ्लुएन्जा–ए नेगेटिभ देखिएका व्यक्तिलाई पनि नछुटाई कोभिड–१९ भए\नभएको परीक्षण गर्न सुझाउँछन् ।

भारत, मलेशिया लगायतका मुलुकमा मौसमी फ्लुको लक्षण देखिएका बिरामीहरूको पनि कोभिड–१९ परीक्षण गर्न थालिएको छ । तर, नेपालका अस्पतालहरूले मौसमी फ्लुका बिरामीको नमूना परीक्षण नगराउँदा जोखिम अझ् बढेको छ ।

ग्राण्डी अस्पतालको इन्टरनल मेडिसिन विभागका प्रमुख डा. विनयकुमार रेग्मी मौसमी फ्लुको लक्षण देखिएका बिरामीलाई सामान्य उपचारले ठीक हुने भएकाले कोभिड–१९ परीक्षणका लागि प्रयोगशाला पठाउने नगरेको बताउँछन् ।

उनका अनुसार, अस्पतालले फागुन यता कोभिड–१९ को शङ्का लागेका चार जना बिरामीलाई थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएकोमा दुई जनामा इन्फ्लुएन्जा ए एचवान एनवान पीडीएम जिरोनाइन र बाँकी दुई जनामा इन्फ्लुएन्जा बी भेटिएको थियो ।



प्रतिकृया दिनुहोस