रिपोर्ट शनिबार, चैत ८, २०७६

कठैं ! मूल्यवान् सिक्का

नुनुता राई

कठैं ! मूल्यवान् सिक्का
तस्वीर: मनिष पाैडेल
  • केही वर्षअघिसम्म नुवाकोटमा जस्ताले घर छाउँदा वासरका रूपमा २५ पैसाको सिक्का राखेर काँटी ठोक्ने चलन थियो । तर, अहिले २५ पैसाका सिक्का टकमारी हुनै छाडेको छ ।

पुराना सिक्कालाई गहना बनाउन, सजाउन र धार्मिक वा सांस्कृतिक कार्यमा प्रयोग गरिन्छ । यस्ता सिक्का साट्ने र बेच्ने पसल काठमाडौंको काष्ठमण्डपमा छन् । पुराना ५, १०, २५ र ५० पैसा तथा रु.१, २ र ५ का सिक्का बजारमा किन्न पाइन्छ । ५ पैसाको सिक्का १०० वटाको प्याकेटलाई रु.३०० र १० पैसाको प्याकेटलाई रु.१०० पर्छ । ५ पैसाको सिक्काको माग धेरै भएकाले महँगो पर्ने व्यवसायी बताउँछन् ।

वसन्तपुर क्षेत्रका खुद्रा व्यापारी भने ५ पैसाको प्याकेट रु.४०० देखि ४५० सम्ममा बेच्ने बताउँछन् । कलाकार रवीन्द्र श्रेष्ठले बाङ्गेमुढाको वाँस्याः देगः जस्तै सिर्जना बनाउन सिक्का खोज्दा ५, १० र २५ पैसालाई पगालेर भाँडाकुँडा बनाउनुको साथै कतिपयले चाँदीमा मिसाएर ठग्ने गरेको समेत भेट्टाएको बताए ।

‘भिजिट नेपाल १९९८’ लेखिएको र जानकी मन्दिरको चित्र भएको रु.१ को सिक्का प्रतिगोटा रु.२० देखि २५ र रु.२ र ५ को सिक्का रु.३५ देखि ५० सम्म पर्छ । सुन जस्तै पहेंलो देखिने यी सिक्का गलाएर सिक्री, औंठी बनाउने भएकाले महँगो पर्ने व्यवसायी बताउँछन् ।

पुराना ५० पैसा वा रु.१ को सिक्काबाट जनजाति समुदायले परम्परागत माला ‘हारी’ बनाउँछन् । हारी बनाउन प्रयोग हुने ५० पैसाको सिक्का प्रतिगोटा रु.२० देखि २५ सम्म र रु.१ को सिक्का प्रतिगोटा रु.३० देखि ४० सम्ममा किनबेच भइरहेको छ ।

खुला दुरुपयोग

मुलुकी अपराध (संहिता) ऐन २०७४ को मुद्रा सम्बन्धी कसुर अन्तर्गत दफा २६१ को उपदफा २ मा सिक्काको धातुको तौल घटाउने वा धातुको अंश फरक पार्नेलाई पाँच वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुने व्यवस्था छ । त्यस्तै दफा २६३ मा नोट वा सिक्का जलाउने, गाल्ने, च्यात्ने वा नोटमा लेख्नेलाई तीन महीनासम्म कैद र रु.५ हजारसम्म जरिवाना हुने व्यवस्था छ । तर, सिक्काको दुरुपयोग भने हुन छोडेको छैन ।

नेपाल राष्ट्र ब्याङ्कको टक्सार महाशाखाका प्राविधिक अधिकृत श्याम श्रेष्ठ सिक्का राज्यको सम्पत्ति भएकाले विनिमय बाहेक अन्य काममा दुरुपयोग गर्न नहुने बताउँछन् । तर, विभिन्न कामका लागि सिक्का दुरुपयोग भएको उनले पनि देखेका छन् ।

“काँटीले प्वाल पार्ने, पगालेर गहना वा अन्य वस्तु बनाउने, धार्मिक तथा सांस्कृतिक कार्य गर्दा आगोमा हाल्ने लगायत कारण सिक्का नष्ट भइरहेको देखिन्छ”, करीब डेढ दशकदेखि सिक्काको डिजाइन गर्दै आएका श्रेष्ठ भन्छन्, “धेरै मिहिनेतपछि बनाइएका सिक्का पगालेर गरगहना बनाएको देख्दा, सुन्दा दुःख लाग्छ ।”

राष्ट्र ब्याङ्कका प्रवक्ता डा. गुणाकार भट्ट भने अहिलेसम्म सिक्का तथा नोट दुरुपयोगबारे उजुरी नै नपरेको बताउँछन् । “उजुरी परे दुरुपयोग गर्नेलाई कारबाही गरिने”, उनी बताउँछन् ।

सिक्कामा सुनदेखि फलामसम्म

मुद्रा प्रचलनमा आउनुअघि विभिन्न वस्तुलाई नै विनिमयको माध्यम बनाइन्थ्यो । कुनै समय मानिसलाई समेत विनिमयको माध्यम बनाइने प्रचलन रहेको संस्कृतिविद् सत्यमोहन जोशीले नेपाली राष्ट्रिय मुद्रा पुस्तकमा लेखेका छन् । “नेपालमा १६८१ सालमा मात्रै ५१ हजार ४१६ दासहरू १५ लाख रुपैयाँ हर्जाना पन्छाएर मोचन गरियो”, जोशीले लेखेका छन् ।

इसापूर्व छैटौं शताब्दीदेखि इसाको पहिलो शताब्दीसम्मका पञ्चमार्क (मुद्रा) सिक्का राष्ट्रिय मुद्रा संग्रहालय छाउनीमा राखिएका छन् । नेपालमा धातुको सिक्का लिच्छविकालदेखि प्रचलनमा आएको हो । राजा मानदेवले पहिलो पटक धातुको सिक्का प्रचलनमा ल्याएका थिए ।

राष्ट्रिय मुद्रा संग्रहालयमा लिच्छविकालका विभिन्न राजा तथा शासकहरूको पालामा निष्काशन भएका ३६ प्रकारका सिक्का छन् । राजा जयप्रकाश मल्लले सुनका सिक्का र दोलखाका राजा इन्द्रसिंह देवले पहिलो पटक नेपाल संवत् ६६६ मा चाँदीका सिक्का प्रयोगमा ल्याएका थिए । यसलाई पहिलो मध्यकालीन मुद्रा मानिन्छ ।

विभिन्न कालखण्डमा छाला, माटो, पत्थर, धातु र कौडीका गहनालाई विनिमयको माध्यम बनाइएको जोशीको पुस्तकमा उल्लेख छ । पहिलो पटक १ असोज २००२ मा कागजी मुद्राको प्रचलन आउनुअघि सिक्का मात्र चल्तीमा थियो । १९९९ सालदेखि शुद्ध तामाका सिक्कामा पनि ३४ प्रतिशत जस्ता मिसाउन थालिएको थियो ।

 २००३ सालसम्म चाँदीका सिक्कामा सरदर ८० प्रतिशत चाँदी र २० प्रतिशत तामा हुन्थ्यो । २००४ सालमा तामा १० प्रतिशत बढाएर चाँदी ७० प्रतिशतमा झारियो । २०१० फागुनदेखि सिक्कामा चाँदी राख्नै छाडियो । २५ प्रतिशत निकल र ७५ प्रतिशत तामा मिश्रित क्यूप्रो निकल सिक्का बनाउन थालियो ।

इसापूर्व छैटौं शताब्दीदेखि इसाको पहिलो शताब्दीसम्मका पञ्चमार्क (मुद्रा) सिक्का राष्ट्रिय मुद्रा संग्रहालय छाउनीमा राखिएका छन् । नेपालमा धातुको सिक्का लिच्छविकालदेखि प्रचलनमा आएको हो । राजा मानदेवले पहिलो पटक धातुको सिक्का प्रचलनमा ल्याएका थिए ।

दुरुपयोग रोक्नैका लागि सिक्कामा प्रयोग हुने धातु परिमार्जन हुने गरेको प्राविधिक अधिकृत श्रेष्ठ बताउँछन् । अन्तिम पटक २०६६ सालमा बजारमा आएका रु.१ र २ का सिक्कामा फलाममा काँसको लेप थियो । ठूलो मात्रामा आवश्यक सिक्का टकमारी गर्ने क्षमता टक्सार महाशाखासँग नभएकाले त्यतिवेला रु.१ को दक्षिण अफ्रिका र रु.२ को फिनल्यान्डबाट ल्याइएको टक्सार महाशाखाका उपनिर्देशक दीर्घबहादुर थापा बताउँछन् ।

सिक्काको मौद्रिक मूल्य कम भएपछि रु.१ भन्दा कमका सिक्का टकमारी हुन छोडेको छ । ग्लिमसेस् अफ नेप्लिज पेपर करेन्सी  पुस्तकका लेखक तथा मुद्रा संकलक श्याम खतिवडाका अनुसार एक पैसाको सिक्का अन्तिम पटक २०३९ सालमा टकमारी भएको थियो ।

त्यसैगरी दुई पैसाको २०३५ सालमा, पाँच पैसाको २०४७ सालमा, दश पैसाको २०५९ सालमा, २५ पैसाको २०६० सालमा र ५० पैसाको २०६१ सालमा अन्तिम पटक टकमारी भएका थिए ।

प्राचीनकालमा तौल नापको आधारमा सिक्काको मूल्य निर्धारण हुन्थ्यो । मोहर, डबल, दाम, फुक्का दाम, चुन दाम सिक्काका मापक थिए । अंकबाट मूल्य अंकित सिक्का राजा त्रिभुवनको पालाबाट प्रचलनमा आएको मुद्रा संकलक खतिवडा बताउँछन् ।

चलनचल्ती र स्मारिका गरी दुई प्रकारका सिक्का हुन्छन् । चलनचल्तीका सिक्का दैनिक विनिमयको लागि र स्मारिका सिक्का विशेष अवसरमा सम्झना वा सम्मानका लागि टकमारी हुन्छ । स्मारिका सिक्काको प्रचलन राजा महेन्द्रले चलाएका हुन् । उनले २०१३ सालमा आफ्नो राज्याभिषेकको अवसरमा स्मारिका सिक्का प्रचलनमा ल्याएका थिए ।

शक्ति झल्काउने चिह्न

पाँचौं शताब्दीका लिच्छविकालीन सिक्का वृत्ताकार थिए । यी सिक्कामा मिति उल्लेख छैन । राजाका नाम वा कुनै सांकेतिक चित्र, राज्य चिह्न, इष्टदेवता वा देवीका नाम अंकित छन् । मानदेवले चलाएको सिक्कामा एकातिर सिंहको मूर्ति (देवीको वाहन) र राजाको नामबाट ‘मानाङ्क’ तथा अर्कोतिर कमलको आसनमा देवीको मूर्ति र ‘भोगिनी’ (महालक्ष्मी वा शक्ति) अंकित छ ।

मल्लकालका मुद्रामा खड्ग, बज्र, त्रिशूल अंकित छन् । राजाहरूले आफ्ना नामसँगै रानी, महारानी, स्वनामधन्य उपाधिहरू, पुर्खाको नाम अंकित गरेका छन् ।

शाहकालीन मुद्राका ढाँचा र विवरण भने पृथ्वीनारायण शाहदेखि त्रिभुवनको पालासम्म एकै प्रकारका छन् । यो समयको सिक्कामा मल्लकालीन प्रभाव देखिए पनि लिपि नेवारीको सट्टा देवनागरी र साल नेपाल संवत्को सट्टा शक र विक्रम संवत् प्रयोग गरिएका छन् ।

शाहकालका सिक्कामा राजाको नाम पनि लेखिएको छ । सिक्काको आकारप्रकार र त्यहाँ उल्लेख भएका चिह्नबाट त्यतिवेलाको धर्म, भाषा, संस्कृति पत्ता लगाउन सकिने संस्कृतिविद् जोशीको पुस्तकमा उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस