कला/साहित्य शनिबार, चैत ८, २०७६

हाम्रा जङ्गली पक्षी

कमल मादेन

हाम्रा जङ्गली पक्षी
तस्वीर: देवेन्द्रकुमार खरेल

पुस्तक: नेपाल्स फरेष्ट बर्डस्ः देयर स्टेटस एण्ड कन्जरभेसन, लेखक: क्यारोल इन्स्किप र हेमसागर बराल, पृष्ठ: २०८, प्रकाशक: हिमालयन नेचर, मूल्य: ९ (अमेरिकी डलर)

नेपालमा अहिलेसम्म घरपालुवा बाहेक करीब ८९० प्रजातिका पक्षी पाइएको छ । तीमध्ये ४५४ प्रजाति भने जङ्गलमा बस्छन् । जङ्गली फलफूल, कीरा, साना सरीसृप, भ्यागुता, मुसा, स–साना पक्षी यिनको आहारा हो।

जङ्गलमै बचेरा कोरल्छन् । तर, रोचक तथ्य त के छ भने यी जङ्गली पक्षीमध्ये ४२३ प्रजातिले मात्रै नेपालमा बच्चा कोरलेको इतिहास छ । उदाहरणका लागि डोल्पामा देखिएको महाठुँड भनेर चिनिने ब्ल्याक एण्ड यल्लो ग्रसबिक पक्षीले अहिलेसम्म नेपालमा बचेरा कोरलेको पाइएको छैन ।

क्यारोल इन्स्किप र हेमसागर बराल लिखित नेपाल्स फरेष्ट बर्डस्ः देयर स्टेटस एण्ड कन्जरभेसन पुस्तकमा यी र यस्ता थुप्रै नेपाली जङ्गली पक्षीको तथ्य र जानकारी समेटिएको छ । इन्स्किप तिनै हुन्, जसले सन् १९८९ मै यही शीर्षकमा जङ्गली पक्षीबारे खोज गरी पुस्तक प्रकाशन गरेकी थिइन् ।

प्रस्तुत पुस्तक त्यसैको अद्यावधिक र संशोधित रुप हो । पुस्तकमा कुन जङ्गली पक्षी कति भूसतह उँचाइमा बस्छन्, तिनको अवस्था कस्तो छ भन्ने जानकारीसँगै तिनलाई चिन्न सुन्दर तस्वीर पनि समावेश गरिएको छ । 

पुस्तकका अनुसार, नेपालका जङ्गली पक्षीमध्ये ४५ प्रजाति भने बर्खामा मात्र देखिन्छन् । तीमध्ये केही चीन, मङ्गोलिया, साइबेरिया लगायतका देशहरूबाट हिउँदमा जाडो छल्न नेपाल आउँछन् ।

गएको माघमा सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षमा पूर्वी चीन, ताइवान, कोरिया, जापानबाट जाडो छल्न आएको स्विन्होज मिनीभेट (रानीचरा) देखिएको थियो । उक्त पक्षी नेपालमा पाइन्छ भन्ने जानकारी त थियो, तर नेपालमा खिचिएको तस्वीर भने उपलब्ध थिएन ।

आगन्तुक पक्षीहरू नेपाली भूभागमा विचरण गर्न नभई अन्तै जाने सिलसिलामा थकान मेट्न र आहारा खोजीका क्रममा एकाध दिन अडिन पुग्छन् । त्यस्ता पक्षीलाई आगन्तुक अन्तर्गतका बटुवा पक्षी पनि भनिन्छ । केही दिन पाहुनाका रुपमा रहने भएतापनि ती पक्षीलाई नेपालमा पाइने पक्षीका रुपमा सूचीकृत गरिन्छ ।

पुस्तकका अनुसार, नेपालमा पाइनेमध्ये करीब ९३ प्रतिशत पक्षीले नेपालमै बचेरा कोरल्छन् । बर्खामा धेरैजसो आगन्तुक पक्षी बचेरा कोरल्नकै निम्ति आउने लेखकद्वयको अध्ययनले बताएको छ ।

संसारबाटै नभई कुनै देश वा टापुबाट मात्र लोप भएको जन्तु तथा वनस्पति प्रजातिलाई ‘एक्स्टापेटेड प्रजाति’ भनिन्छ । ब्रायन हड्सनले नेपालबाट सङ्कलित पक्षीका नमूनामध्ये ५ प्रजातिका जङ्गली पक्षी अहिले देखिन्न ।

तीमध्ये एक रुफस नेक्ड हर्नबिल (कैलो घाँटी भएको धनेस) हो । हड्सनले सन् १८२९ मा यो पक्षीलाई ‘नेपालबाट विश्वको निम्ति नयाँ’ भएको व्याख्या गरेका थिए । यो पक्षी झण्डै राजधनेस जस्तै हुन्छ ।

यो पक्षी अहिले भारतका विभिन्न प्रान्त, चीन (तिब्बत), भूटान, म्यानमार, थाइल्याण्ड, लाओस, भियतनाम लगायतका देशमा पाइन्छ । स्थानीयले यो चरा हेर्न आउने पर्यटकलाई मचान बनाउने, पक्षीलाई आहार उपलब्ध गराउने लगायतका कार्य गर्दै आम्दानी गरिरहेका छन् ।

झापाका वन्यजन्तु फोटोग्राफर देवेन्द्रकुमार खरेलले दार्जीलिङमा उक्त पक्षीको तस्वीर खिचेका छन् । उनै खरेलको सिल्भर–इयर्ड मेसिया चराको अर्को तस्वीर पुस्तकको आवरणमा छापिएको छ । खरेलले नै खिचेको सुल्तान टिट प्रजातिको आकर्षक तस्वीर पनि पुस्तकमा समावेश छ ।

पुस्तकमा बचेरा कोरल्ने सन्दर्भलाई निकै प्राथमिकता दिइएको छ । तर, पक्षीले बचेरा कोरल्दै गरेको वा बचेरासहितको गुँडको तस्वीर भने परेको छैन । यसका साथै लेखकद्वयका एउटै तस्वीर पनि पुस्तकमा देखिन्न । यसबाट पक्षी अध्ययनमा फोटोग्राफीले पनि ठूलो अर्थ राख्दछ भन्ने कुरा विख्यात लेखकद्वयले ख्याल नगरेको जस्तो देखिन्छ । 

प्रस्तुत पुस्तक पहिलो त नेपालका जङ्गली पक्षी बारे जान्न–बुझ्न, अध्ययन–अनुसन्धान गर्न उपयोगी छ । तर, त्यतिले मात्र यसको महत्व सकिंदैन, पुस्तकले हाम्रो वन, जैविक विविधता, जलवायु परिवर्तनको असर जस्ता विषयमा पनि घोत्लिन प्रेरित गर्छ ।

मान्छेका दैनन्दिनका लागि यी पक्षीको उपस्थिति, अनुपस्थितिले सोझो असर नपारे पनि मानव जातिको भविष्यका लागि यी पक्षीको अस्तित्व रहिरहनुपर्छ, त्यसैले पनि यस्ता पुस्तक लेखिरहनुपर्छ, पढिरहनुपर्छ ।

 

प्रतिकृया दिनुहोस