रिपोर्ट शुक्रबार, चैत ७, २०७६

सेनाले भित्र्याउँदै छ १० हजार थान कोरियन राइफल

दीपक खरेल

सेनाले भित्र्याउँदै छ १० हजार थान कोरियन राइफल

अमेरिकी एम १६ राइफल प्रयोग गर्दै आएको सेनाले दक्षिण कोरियाबाट के टू सिरिजका १० हजार थान असल्ट राइफल खरीद गरेको छ।

अमेरिकासँग ४२ सय थान एम १६ राइफलको खरीद प्रक्रिया कानूनी अड्चनका कारण राष्ट्र ब्या‌ंकले रोकेपछि गएको २२ असारमा दक्षिण कोरिया सरकारसँग हतियार खरीद सम्झौता भएको हो।

दक्षिण कोरिया सरकारको एजेन्सी फर डिफेन्स डेभलपमेन्ट मातहत रहेर हतियार तथा गोलीगठ्ठा उत्पादन गर्ने डेउ प्रिसिजन इन्डस्ट्रिजबाट सरकारले जीटूजी अनुसार करीब रु डेढ अर्ब बराबरका हतियार खरीद गरेको हो। के टू सिरिजको सबैभन्दा पछिल्लो केटूसी वन असल्ट राइफल खरीद गरिएको हो ।

संयुक्त राष्ट्र संघीय मिशनमा खटिने सैनिकहरुका लागि सेनाले खरीद गरेका ती हतियार सम्झौता अनुसार १ असारमा काठमाडौं आइपुग्ने छन् । दक्षिण कोरियासँग सरकारले सरकारसँग सम्झौता अनुसार खरीद भएका हतियार उत्तर अटलान्टिक सन्धि संगठन ( नाटो) मापदण्डका हुन्। यी हतियारमा फाइभ प्वाइन्ट फाइभ सिक्स एमएमका कार्टिज प्रयोग हुन्छन् । हाल देशका तीनवटै सुरक्षा अंगले ७ प्वाइन्ट सिक्स टू कार्टिज प्रयोग हुने हतियार चलाइरहेका छन्।  

उच्च सैनिक अधिकारीका अनुसार दक्षिण कोरियासँग हतियार खरीद र ती हतियारका लागि आवश्यक गोली उत्पादन गर्ने उद्योग स्थापनाका लागि समेत सम्झौता भएको छ । ती अधिकारीका अनुसार सुन्दरीजलमा केटूका लागि फाइभ प्वाइन्ट फाइभ सिक्स र सेभेन प्वाइन्ट सिक्स टू एमएमको गोली उत्पादन हुनेछ । दक्षिण कोरियाले करीब साढे चार अर्बमा दुवै एमएमका गोली उत्पादन सहितका उपकरण जडानका लागि सहमति जनाएको हो ।

“गोली–बारुदमा आत्मनिर्भर हुने सरकारको रणनीति अनुसार उपकरण समेत खरीद हुँदैछ,’ ती अधिकारीले हिमालखबरसँग भने “उद्योग स्थापना भएपछि तीनवटै सुरक्षा निकाय गोलीमा आत्मनिर्भर हुनेछन।”

सेनाले खरीद गरेका के टू सिरिजका हतियार अमेरिकी एम १६ सरहका मानिन्छन् । कोरियाले आफूले प्रयोग गर्दै आएको अमेरिकी एम १६ लाई के टू सिरिजका हतियारबाट विस्थापित गरेको थियो । सैनिक स्रोतका अनुसार केटूसी वन राइफल र यसका लागि आवश्यक उपकरण प्रतिवटा नौ सय अमेरिकी डलर लागतमा नेपाल आइपुग्ने छन्।

प्रतिकृया दिनुहोस