ब्लग विहीबार, चैत ६, २०७६

राणाकालमा न्याय निरुपण: रानीपाेखरीमा नडुब्ने निर्दाेष, डुब्ने दाेषी

भैरव रिसाल

राणाकालमा न्याय निरुपण: रानीपाेखरीमा नडुब्ने निर्दाेष, डुब्ने दाेषी
भैरव रिसाल

नेपालको न्याय प्रणालीमा धर्मकचहरी सबैभन्दा पहिलो व्यवस्था मानिन्छ । गोरखाबाट शाहवंश नेपाल आएसँगै धर्मकचहरी पनि प्रवेश पाएको भनाइ छ । धर्मकचहरीको अड्डा रहेको हनुमानढोका कालभैरव अगाडिको ठाउँलाई ‘शिव कोटि लिङ्ग’ भनिन्थ्यो । त्यहाँ एक कोटि (एक करोड) शिवलिङ्ग जमीन मुनि गाडिएको छ भन्ने किंवदन्ती थियो । त्यहाँ बसेर इन्साफ गर्नेले पापको डरका कारण तल–माथि गर्न सक्दैनन् भन्ने विश्वास थियो ।

श्री ५ सुरेन्द्रविक्रम शाहको पालामा न्याय मामिलामा सर्वोपरि धर्मकचहरी नै थिए । प्रधानमन्त्री जङ्गबहादुर राणाले साहिंला भाइ कृष्णबहादुर राणालाई धर्मकचहरीको अध्यक्ष बनाएका थिए । पछि जङ्गबहादुरका जेठा छोरा जगतजङ्ग पनि अध्यक्ष भए । सुब्बा गुरुदत्त गुरुघराना, गुरु–पुरोहित वामदेव पण्डित, सुब्बा सिद्धिमान राजभण्डारीहरू सदस्य रहेछन् ।

जङ्गबहादुरको बेलायत यात्रापछि भने धर्मकचहरीमा केही परिवर्तन भएको पाइन्छ । त्यसपछि उनले अदालत, ठाना, अमाल, अड्डा/गौंडा जस्ता चार अदालती संरचना निर्माण गरे ।

प्राइममिनिष्टरले नै हेर्ने भनी तोकिएका मुद्दा भने जङ्गबहादुर आफैंले हेर्थे रे ! यहाँसम्म कि तराईमा शिकारमा जाँदा समेत मुद्दा साथै लगी हेर्थे रे ! द्विविधा परेका मुद्दामा धर्मशास्त्रका पण्डित गुरु–पुरोहित र बूढापाका, भद्रभलादमी, भारदारसहित ठूलो कचहरी राखी सामाजिक न्याय र धर्मशास्त्रमा विरोध नपर्ने गरी अन्तिम निर्णय लिइन्थ्यो रे !

मुद्दा छिन्ने तान्त्रिक विधि 

नेपालमा न्याय दिलाउन अपनाइने उपायहरूमा ‘कालभैरव तान्त्रिक विधि’ पनि रहेछ । मुद्दाका पक्ष–विपक्षलाई अगाडि राखी कालभैरवको तान्त्रिक विधिले ब्राह्मणद्वारा पूजा गराइने रहेछ ।

झगडिया सामु मुद्दामा न्याय साक्षात्कार होस् भन्ने प्रार्थना गरी ‘लौ अब न्याय हाल्न धर्म भाक्न मञ्जुर छौ, छैनौ’ भनी पुजारीले सोध्ने, मञ्जुर हुनेको बूढीऔंला समातेर मूर्तिमा ढोगाइँदो रहेछ । धार्मिक भय र त्रासका कारण कति झगडिया त्यतिखेरै आत्तिएर भाग्दा रहेछन् ।

भाग्ने चाहिं कसुरदार ठहरिंदोरहेछ । तर दुवै झगडिया मञ्जुर भएनन् भने चाहिं फलामे पन्यूँले डाम्ने विधि प्रयोग गरिने रहेछ । जसले विनाकष्ट डामेको सह्यो, त्यो निर्दोष र कष्टको अनुभूति गर्ने कसुरदार ।

निसाफको अर्को तरिका भने रानीपोखरीमा लगी एक हातमा झण्डा दिई हाम्फाल्न लगाइँदोरहेछ । नडुब्ने बेकसुर, डुब्ने दोषी ।

त्यसमा पनि जालझेल हुन थालेपछि उनै कालभैरव अगाडि झगडिया लगी हरिवंश पुराण, तामा, तुलसी, शालिग्राम शिरमा राखी धर्म भकाइन थालिएछ । धर्म भाक्दा मुख सुक्यो, काम्यो, बोली लटपटिएर भक्भकायो भने धर्म भाकेको प्रतीत नहुने कायम गरिएछ । यो न्याय प्रणाली जुद्धशमशेरको कालसम्म पनि कायम थियो रे !

प्राइममिनिष्टरले नै हेर्ने भनी तोकिएका मुद्दा भने जङ्गबहादुर आफैंले हेर्थे रे ! यहाँसम्म कि तराईमा शिकारमा जाँदा समेत मुद्दा साथै लगी हेर्थे रे ! द्विविधा परेका मुद्दामा धर्मशास्त्रका पण्डित गुरु–पुरोहित र बूढापाका, भद्रभलादमी, भारदारसहित ठूलो कचहरी राखी सामाजिक न्याय र धर्मशास्त्रमा विरोध नपर्ने गरी अन्तिम निर्णय लिइन्थ्यो रे !

चन्द्रशमशेरको सुधार

वीरशमशेरले गोश्वारा अदालत भन्ने नयाँ अड्डा खडा गरेछन् । त्यो नयाँ अड्डाले यसअघिका अदालतहरूका फैसला उपर परेका उजुरी छिन्ने गथ्र्यो रे ! सो उपर पनि परेको उजुरीलाई चाहिं प्रधानमन्त्री आफैंले हेर्दा रहेछन् । बिहान सधैं प्रधानमन्त्रीको सलामीमा अड्डा–अदालतले गरेको कारबाहीको विरोधमा ठाडो कराउनेको घुइँचो नै हुन्थ्यो रे !

चन्द्रशमशेरले १९६५ सालमा बेलायत यात्रा गरेपछि जुनसुकै मुद्दामा पनि अपील दिन पाइने व्यवस्था बसालेछन् । अपील अड्डा नै खडा गरियो । अब देवानी र फौजदारी दुवै अदालतको अपील सुन्ने र मोफसलका गौंडा–गोश्वारा उपरको पनि अपील हेर्ने काम यो अदालतले गर्न लाग्यो ।

१९७२ सालमा डिल्लीबजारमा चारखाल अड्डा भवन निर्माण गरियो । त्यसपछि हनुमानढोकाका सबै अदालत त्यहीं सारिए । अपील अड्डाले छिनेका फैसला उपर पनि चित्त नबुझेमा तिनको पनि टुङ्गो लगाउन मुख्तियारको दलानमा बस्ने गरी भारदारी कचहरी भन्ने अर्को अड्डा खडा गरियो । सो भारदारी उपर पनि उजुरी पर्न थालेपछि उजुरी सुनी किनारा गर्न धर्मशमशेरको तैनाथमा बेञ्च नामक छुट्टै अड्डा बनाइयो ।

चन्द्रशमशेरले बेञ्चमाथि अर्को कमिशन नामको न्याय निरुपण गर्ने संस्था बनाए । यो कमिशनले तराईका काठ महलका सवालहरू बनायो । यो वेला पञ्चखतका मुद्दा, ज्यान जाने, दामल हुने, जनै झिक्नुपर्ने, मुडिने, खोपिनेमा गल्ती ठहरिए मुद्दा छिन्ने हाकिमको जागिर समेत खोसिन्थ्यो ।

जुद्धशमशेरको कार्यकालमा न्याय विभागलाई प्रशासनले हस्तक्षेप गर्न नपाउने निर्णय गरियो । सदरमा प्रधानन्यायालय स्थापना गरियो । प्रधानन्यायाधीश बहादुरशमशेर भए ।

 

प्रतिकृया दिनुहोस