रिपोर्ट मंगलबार, चैत ४, २०७६

माैसमी फ्लु: सरकारी बेवास्ताले महामारी फैलिने जाेखिम

रामु सापकोटा

माैसमी फ्लु:  सरकारी बेवास्ताले महामारी फैलिने जाेखिम

स्वास्थ्य मन्त्रालयका अधिकांश गतिविधि कोभिड–१९ नियन्त्रणमा केन्द्रित भइरहँदा जोखिमपूर्ण मौसमी रुघाखोकीको पहिचान, नियन्त्रण र उपचारमा भने बेवास्ता भइरहेको छ।

हुम्लाको सिमकोट गाउँपालिका–८ मा फैलिएको रुघाखोकी (मौसमी ‘फ्लु’) बाट गएको माघमा ३६५ जना बिरामी भए । सिमकोटसहित खार्पुनाथ, सर्केगाड, चंखेली लगायतका गाउँमा माघ दोस्रो सातासम्ममा १२ जनाको मृत्यु भयो । मृत्यु हुनेमध्ये अधिकांश ६० वर्षमाथिका छन् । बाक्लो हिमपातपछि बढेको चिसोका कारण रुघाखोकी, ज्वरो, दम लगायत समस्याबाट प्रभावित उनीहरूको समयमै उपचार नपाएकाले ज्यान गएको हो ।

गएको माघमा नै बाजुराको हिमाली गाउँपालिकाका ३० विद्यार्थीमा मौसमी फ्लु देखिएको थियो । शुरूमा तीन जनामा देखिएको रुघाखोकीको संक्रमण तीन दिनमा तीस विद्यार्थीमा फैलिएको थियो । त्यस्तै गएको २३ देखि २९ माघसम्म सिन्धुपाल्चोकको गुम्बागाउँमा मौसमी फ्लुबाट करीब २०० जना बिरामी भए ।

गत वर्ष पनि मौसमी फ्लुले हुम्लामा महामारीको रूप लिएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार २६ चैत २०७५ देखि १४ वैशाख २०७६ सम्म हुम्लाको ताजाकोटमा फैलिएको मौसमी फ्लुका कारण ९ जनाको मृत्यु भएको थियो । जसमध्ये ७ जना दम जस्ता दीर्घरोगका तथा बाँकी कुपोषण र निमोनियाका बिरामी थिए ।

बढ्दो जोखिम

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार सन् २०१९ को डिसेम्बरमा ५ जना नेपालीमा भेटिएको मौसमी फ्लु २०२० मार्च ८ सम्ममा ३८५ जनामा देखियो (हे.इन्फो) । सन् २०२० को पहिलो दुई महीनामा परीक्षण गराएकामध्ये ४६ प्रतिशतमा मौसमी फ्लु पोजेटिभ देखिएको छ । जबकि सन् २०१९ मा परीक्षण गराएकामध्ये २५ प्रतिशतमा मात्र संक्रमण भेटिएको थियो ।

मौसमी फ्लु श्वास–प्रश्वास प्रणालीमा इन्फ्लुएन्जा भाइरसद्वारा लाग्ने संक्रामक रोग भएकाले छोटो समयमै धेरै जनामा फैलिन्छ । जाडोको अन्त्य र गर्मी शुरू हुने मौसम परिवर्तनको समयमा मौसमी रुखाघोकीबाट प्रभावित बिरामी धेरै हुन्छन् ।

२०२० जनवरीमा प्रकाशित ‘नेपालमा मौमसी फ्लु इन्फ्लुएन्जा ए/एचथ्रीको संक्रमण’ विषयक अध्ययनले शुरूको ६ महीनामा इन्फ्लुएन्जाले उच्च रूप लिएपछि मात्र यो भाइरसको पहिचान हुने अवस्था देखाएको छ । उक्त अध्ययनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सन् २०१६ जनवरीदेखि डिसेम्बरसम्म परीक्षण गराएका १६८३ बिरामीमध्ये ६१४ लाई इन्फ्लुएन्जा भाइरसको संक्रमण भएको देखाएको थियो ।

अध्ययन अनुसार संक्रमितमध्ये ५१ प्रतिशतलाई इन्फ्लुएन्जा ए/एचथ्री, ४०.४ प्रतिशतलाई इन्फ्लुएन्जा बी र ८.६ प्रतिशतलाई इन्फ्लुएन्जा ए (एचवान एनवान) पीडीएमजेरोनाइन भएको थियो । फेब्रुअरीको शुरूआतमा इन्फ्लुएन्जा ए/थ्री सबैभन्दा धेरै देखापरेको थियो । अगष्टमा इन्फ्लुएन्जा बी र इन्फ्लुएन्जा ए/थ्रीबाट संक्रमितको संख्या लगभग समान थियो । सन् २०१६ मा ४४ जिल्लामा मौसमी फ्लु संक्रमित भेटिएका थिए ।

 

स्वरुप बदल्दै फ्लु

मौसमी फ्लुको महामारीका कारण विश्वभर एक वर्षमा ३० देखि ५० लाख मानिस गम्भीर बिरामी हुन्छन् भने करीब २ लाख ९० हजारदेखि ६ लाख ५० हजारको ज्यान जाने गरेको छ । इन्फ्लुएन्जा भाइरस समूह ‘ए’ र ‘बी’ महामारीका लागि जिम्मेवार मानिन्छन् । इन्फ्लुएन्जा ए भाइरस रोग सार्ने क्षमता कम भएका मौसमी इन्फ्लुएन्जा (ए/एचवान एनवान, ए/एचवान एनवान पीडीएमजेरोनाइन, ए/एचथ्री एनटु) र रोग सार्ने क्षमता बढी भएका इन्फ्लुएन्जा भाइरस (एचफाइभ एनवान, एचसेभेन एननाइन) हुन्छन् । मानिसबाट मानिसमा सर्ने इन्फ्लुएन्जाको संक्रमण बढी छ ।

मौसमी फ्लु स्वरुप परिवर्तन गरेर विश्वव्यापी रूपमा फैलिन्छन् । इन्फ्लुएन्जा ए समूहमा पर्ने स्पोनिस फ्लु पहिलो पटक सन् १९१८ मा देखा परेको थियो । यही भाइरसले स्वरुप परिवर्तन गरेर सन् २००९ मा स्वाइन फ्लुको रूप लियो । स्वाइन फ्लुको भाइरसमा बंगुर र मानिसको इन्फ्लुएन्जा मिसिएको थियो । स्वरूप परिवर्तन गर्न सक्ने क्षमताकै कारण पोलिमेरेज चेन रियाक्सन (पीसीआर) जाँचपछि उप–समूह पत्ता लगाएर मात्र उपचार गर्न सकिन्छ ।

नेप्लिज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीले सन् २०१७ मा प्रकाशित गरेको ‘इन्फ्लुएन्जाः नेपालमा उदाउँदो र पुनःउदाउँदो सार्वजनिक स्वास्थ्य खतरा’ नामक अध्ययनमा दक्षिण पूर्वी एशियामा विगत ३० वर्षमा ५० भन्दा बढी भाइरल रोगको जोखिम देखिएको छ र यीमध्ये इन्फ्लुएन्जा उदाउँदो र पुनः उदाउने क्रममा रहेको संक्रामक रोगमा पर्छ । प्रतिवेदनमा नेपालमा ए/एचवान एनवान पीडीएमजेरोनाइन, ए/एचथ्री एनटु र इन्फ्लुएन्जा बी प्रत्येक वर्ष जुलाईदेखि नोभेम्बरसम्म उच्च रूपमा देखिने उल्लेख छ । तर, रोगको संक्रमण प्रसार दर भने मनसुनपछि र जाडोमा बढ्छ ।

सन् २००९ मा फ्लुको नयाँ प्रकार एचवान एनवान इन्फ्लुएन्जा भाइरस विश्वव्यापी रूपमा फैलिएको थियो । नेपालमा उक्त इन्फ्लुएन्जा जून २००९ देखि प्रयोगशाला मार्फत परीक्षण गरेर उपचार हुन थाल्यो ।


अपर्याप्त प्रयोगशाला र औषधि

मौसमी फ्लु जाँच्ने उच्चस्तरीय पीसीआर प्रयोगशाला काठमाडौंको टेकूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला बाहेक अन्यत्र उपलब्ध छैन । प्रयोगशालामा ‘पीएसएल टु प्लस’ उपकरणले इन्फ्लुएन्जाका शङ्कास्पद बिरामीको नमूना परीक्षण गरिन्छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका मेडिकल प्राविधिक राजेशकुमार गुप्ता मौसमी फ्लुको लक्षण देखिनासाथ चिकित्सक र स्वास्थ्यकर्मीले उक्त प्रयोगशाला वा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जानकारी दिनुपर्ने बताउँछन् । प्रयोगशालाले मौसमी फ्लु भए वा नभएको निःशुल्क जाँच गर्छ । उनी भन्छन्, “जिल्ला बाहिर मौसमी फ्लुका बिरामी बढेका कारण प्रदेशस्तरमा पनि उच्चस्तरीय प्रयोगशाला बनाउनुपर्ने आवश्यकता बढेको छ ।”

ग्रामीण क्षेत्रमा चिकित्सक तथा स्वास्थ्यकर्मीले मौसमी फ्लुको आशङ्का लागे प्रयोगशालामा परीक्षणका लागि सिफारिश गर्ने अभ्यास कम भएको टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका ट्रपिकल मेडिसिनका प्रमुख कन्सल्ट्यान्ट डा.अनुप बाँस्तोला बताउँछन्। नेपाल जस्ता विकासोन्मुख मुलुकमा मौसमी फ्लुको जोखिममा रहेका समुदायले भ्याक्सिनको उपयोग कमै मात्रामा गर्न पाउँछन् । निजी स्वास्थ्य संस्थाले महँगोमा मौसमी फ्लुको भ्याक्सिन बिक्री गर्ने कारण सबैले सजिलै खरीद गर्न सक्दैनन् । “सरकारले ग्रामीण क्षेत्रमा मौसमी फ्लुको भ्याक्सिन तत्काल उपलब्ध गराएको भए हुम्ला जस्ता विकट ठाउँमा सामान्य मानिने मौसमी फ्लुका कारण ज्यान जाने घटना हुने थिएनन्”, एक चिकित्सक भन्छन् । युरोप, अमेरिका लगायत मुलुकका नागरिकले प्रत्येक वर्ष भ्याक्सिन लगाउँछन् ।

मौसमी फ्लु एक व्यक्तिबाट अर्को व्यक्तिमा खोक्दा वा हाच्छिउँ गर्दा सर्न सक्छ । संक्रमित वस्तु छोएको हातले नाक, मुख र आँखा छुँदा पनि सर्छ । संक्रमित व्यक्तिमा ज्वरो एक हप्तासम्म रहिरहन्छ । त्यसपछि आफंै हराएर जान्छ । तर, गर्भवती, पाँच वर्षमुनिका बालबालिका, ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति र दीर्घ रोगीमा यसले निमोनिया तथा तीव्र श्वास–प्रश्वास सम्बन्धी समस्या निम्त्याउने हुँदा समयमा उपचार नगरे ज्यानै जान सक्छ ।

मौसमी फ्लु प्रायः सामान्य रुघाखोकीको रूपमा देखा पर्छ । एक्कासी ज्वरो आउने, रुघा र सुक्खा खोकी लाग्ने, टाउको दुख्ने र बच्चामा पखाला लाग्ने यसका लक्षण हुन् । करीब १०० भन्दा बढी किसिमका भाइरसहरू श्वास–प्रश्वास प्रणालीमा संक्रमण फैलाउने खालका पाइएका छन् ।

चिकित्सकहरू अहिलेसम्म मौसमी फ्लुका लक्षण देखा परे घरमै आराम गर्ने, नियमित साबुनपानीले हात धुने, पोषिलो खानेकुरा खाने, प्रशस्त पानी पिउने, खोकी वा हाच्छिउँ गर्दा कुहिनो वा पाखुराको प्रयोग गर्ने सल्लाह दिन्छन् ।

प्रतिकृया दिनुहोस