खेलकुद शनिबार, चैत १, २०७६

कोरोनाको प्रहारमा प्रतियोगिता

निरञ्जन राजवंशी

कोरोनाको प्रहारमा प्रतियोगिता
पाेखरा रङ्गशाला ।

क्रिस गेल र कोरे एन्डरसनले प्रहार गरेको छक्का, ड्वायन स्मिथको स्विङ र जीवन मेन्डिसको गुगली ! एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण विशेष हुनेवाला थियो । ईपीएलमा यी बाहेक उपुल थराङ्गा, मोहम्मद शेहजाद, हम्मद अजाम लगायत १६ चर्चित क्रिकेटर एकसाथ नेपाल आउँदै थिए । नेपाली खेलकुद क्रिकेटमय बन्नेवाला थियो । तर, १ चैतबाट हुने भनिएको ईपीएल स्थगित भएपछि दर्शकले ती खेलाडीको खेल कीर्तिपुर मैदानमा प्रत्यक्ष हेर्ने मौका गुमाएका छन् ।

ईपीएल प्रमुख आमिर अख्तर भन्छन्, “लामो समयको मिहिनेतपछि हामीले पहिलो पटक विश्वका ठूला स्टार खेलाडीलाई नेपालमा खेल्ने वातावरण तयार गरेका थियौं । तर, अहिले सबै अनिश्चित बनेको छ ।” विश्वव्यापी फैलिरहेको कोभिड–१९ अर्थात् कोरोना भाइरसका कारण विभिन्न प्रतियोगिता धमाधम रोकिंदा नेपाली खेल जगतले ठूलो मूल्य चुकाएको छ ।

कोरोना संक्रमण फैलिने त्रासले रोकिएको ईपीएल नेपाली खेलकुदको पहिलो प्रतियोगिता हो । तर, यसको सबैभन्दा ठूलो असर भने फूटबलमा परेको छ । अखिल नेपाल फूटबल संघ (एन्फा) ले विश्वकप छनोटका तीन खेल काठमाडौंमा गर्ने तयारी गरिसकेको थियो ।

विश्वकप छनोटको एउटै समूहमा परेकाले राष्ट्रिय फूटबल टोलीले पहिलो पटक घरेलु मैदानमा अष्ट्रेलियासँग खेल्ने अवसर पाएको थियो । १३ चैतमा ताइपेईसँग, १८ चैतमा अष्ट्रेलियासँग र आगामी २२ जेठमा जोर्डनसँग खेल्ने तालिका थियो । तर, ती सबै खेल स्थगित भएपछि राष्ट्रिय टीमको तयारी समेत रोकिएको छ ।

विश्व फूटबल महासंघ (फिफा) र एशियाली फूटबल महासंघ (एएफसी) को संयुक्त बैठकले कोरोनाको प्रभावबाट बच्न एशियामा हुने तय भएका विश्वकप छनोट २०२२ र एशियन कप छनोट २०२३ का सबै खेल स्थगित गर्ने निर्णय गरेपछि एन्फा पदाधिकारी दुःखी देखिएका छन् ।

पोखरामा जारी आहा–रारा गोल्डकप फूटबल प्रतियोगिता अन्तर्गत २८ फागुनमा भएको थ्रीस्टार र नेपाल पुलिस क्लब बीचको प्रतिस्पर्धा । तस्वीर:रासस

अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मात्र होइन, घरेलु फूटबल गतिविधि पनि प्रभावित भएका छन् । मोफसलमा फूटबल गतिविधि व्यापक रुपमा हुने यो सिजनमा एन्फाको क्यालेन्डर नै प्रभावित भएको छ ।

पूर्वमा इलामको माईभ्याली र धरानको बुढासुब्बा तथा सुदूरपश्चिममा खप्तड गोल्डकप आयोजना भइसकेका छन् । प्रतियोगिता भइरहेको पोखराको आहा रारा गोल्डकपमा दर्शक न्यून छन् । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा भन्छन्, “क्यालेन्डर अनुसारका सबै कार्यक्रममा असर परिसकेको छ ।”

एन्फाले चैतको पहिलो सातादेखि शुरु हुने महिला लिग फूटबल स्थगित गरे पनि बी डिभिजन लिग रोकेको छैन । सी डिभिजन लिग शुरु गर्ने तयारी गरेको जनाएको छ । “रङ्गशाला खाली राखेर भए पनि सी डिभिजन लिग शुरु गर्ने तयारी भइरहेको छ । यदि स्थिति राम्रो बन्दै गए जिल्लाका गोल्डकपहरू पनि शुरु गर्ने योजना छ”, एन्फा अध्यक्ष शेर्पा भन्छन् ।

बङ्गलादेशमा हुने एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिता पनि कोरोनाकै सन्त्रासले रोकिएको छ । गणेशमानसिंह स्मृति बक्सिङका छनोट खेल पनि स्थगित भएका छन् । खेलकुद प्रतियोगितामा दर्शकहरु ठूलो संख्यामा जम्मा हुने भएकाले संक्रमणको जोखिम बढी हुन्छ ।

त्यसैले अन्तर्राष्ट्रिय खेल गतिविधिहरू बन्द गरिएका हुन् । भएका खेल पनि दर्शक विनाको बन्द रङ्गशालामा आयोजना गरिएका छन् । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले खेलकुद गतिविधि रोक्न सूचना जारी गरिसकेको छ ।

ईपीएल स्थगितको विज्ञप्ति ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रभाव

विश्वभरिकै खेलकुद प्रभावित भइरहेकोले त्यसको असर नेपाली खेलाडीमा पर्ने निश्चित छ । जापानमा हुने ओलम्पिक छनोट प्रतियोगिताहरु प्रभावित भइसकेका छन् । जुलाई २४ देखि तय भएको ओलम्पिक पनि सार्ने वा समयमा नै गर्ने बहस चलिरहेको छ । जापानका खेल मन्त्रीले त्यहाँको संसदमा बोल्दै टोकियो शहरले ओलम्पिकको तयारी पूरा गरिसके पनि यो वर्षको अन्त्यमा मात्र प्रतियोगिता गर्नु उचित हुने बताइसकेका छन् ।

नेपाली तेक्वान्दो टोलीले ओलम्पिकको एशियाली छनोट चीनको उचीमा मार्चमै खेल्ने तालिका थियो । उक्त प्रतियोगिता अप्रिल १० र ११ मा लेबनानको बेरुतमा सारिए पनि हुने निश्चित छैन । “प्रतियोगितामा फाइनलमा पुग्ने खेलाडी सीधै ओलम्पिकमा प्रवेश गर्नेछन् । तर, सारिएकै मितिमा छनोट हुने नहुने निश्चित छैन”, तेक्वान्दो खेलका मुख्य प्रशिक्षक नवीन श्रेष्ठ भन्छन् ।

त्यस्तै जर्मनीमा जुलाईमा हुने तय भएको आर्चरीको ओलम्पिक छनोट पनि सर्न सक्ने आर्चरी पदाधिकारी बताउँछन् । “तिलक पुन मगर र ज्ञानु अवाले त्यसमा सहभागी हुनेछन् । अहिलेसम्म प्रतियोगिता स्थगित भएको जानकारी भने आएको छैन”, आर्चरी संघका महासचिव रमेश शिवाकोटी भन्छन् ।

नेपाली खेलाडीले ओलम्पिक खेल्ने मुख्य आधार ‘वाइल्ड कार्ड’ मार्फत प्रवेश नै हो । वाइल्ड कार्ड प्राप्त गर्न सबै छनोट खेल सकिनुपर्छ । नेपाल ओलम्पिक कमिटीले यसपालि १६ खेलाडीका लागि वाइल्ड कार्ड मागेको छ । जसमा एथलेटिक्स र पौडीमा दुई\दुई जना खेलाडीको वाइल्ड कार्ड भने निश्चित हुन्छ ।

ओलम्पिक कमिटीका सुजन श्रेष्ठ भन्छन्, “सबै छनोट भएपछि खाली हुने स्थानमा मात्र वाइल्ड कार्डबाट खेलाडीले प्रवेश पाउने हो । छनोट ढिला भए नेपाली खेलाडीले पाउने वाइल्ड कार्डमा प्रभाव पर्न सक्छ ।”

 

 

प्रतिकृया दिनुहोस