रिपोर्ट बुधबार, फागुन २८, २०७६

उवासंघ चुनावः प्रतिस्पर्धामा ढकाल र प्रधान, परीक्षामा संस्था-प्रतिष्ठा

रमेश कुमार

उवासंघ चुनावः प्रतिस्पर्धामा ढकाल र प्रधान, परीक्षामा संस्था-प्रतिष्ठा
स्केच: भानु भट्टराई

२८  र  २९ चैतमा साधारणसभाको मिति तयसँगै निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ ।

महासंघका वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आगामी तीन वर्षको कार्यकालका लागि स्वतः अध्यक्ष हुने निश्चित भइसकेकाले साधारणसभामा वरिष्ठ उपाध्यक्ष पदमा तीव्र प्रतिस्पर्धा हुनेछ ।

वरिष्ठ उपाध्यक्ष पदमा वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल (एशोसिएट) र किशोरकुमार प्रधान (जिल्ला/नगर) ले उम्मेदवारी घोषणासँगै प्यानल नै बनाएर चुनावी अभियान शुरू गरेका छन् ।

महासंघको विधान अनुसार, वरिष्ठ उपाध्यक्षको निर्वाचन जित्ने उम्मेदवार अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछन् । वरिष्ठ उपाध्यक्षसँगै साधारणसभामा तीन उपाध्यक्ष (जिल्ला/नगर, एशोसिएट र वस्तुगत) तथा कार्यसमिति सदस्यमा पनि निर्वाचन हुनेछ ।

ढकालको प्यानलमा जिल्ला/नगर उपाध्यक्षमा गुणनिधि तिवारी तथा वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ उठ्दैछन् भने प्रधानको प्यानलबाट जिल्ला/नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ चुनावी मैदानमा छन् । दुवैतर्फ एशोसिएट उपाध्यक्ष को उठ्ने भन्ने तय भइसकेको छैन ।

महासंघको नेतृत्व गर्न लागेका गोल्छाले १ फागुन विराटनगरमा प्रधानको उम्मेदवारी घोषणामा उपस्थिति जनाएर आफ्नो पक्षधरता प्रष्ट पारेका छन् । रोचक के छ भने, प्रधान तिनै हुन्, जो महासंघमा वरिष्ठ उपाध्यक्ष पदमा गोल्छासँगै पराजित भएका थिए । प्रधानको पक्षमा महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका पनि उभिएका छन् ।

यता ढकालका पक्षमा महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल दौडधूप गरिरहेका छन् भने अर्का पूर्वअध्यक्ष सुरज वैद्यको समर्थन पनि ढकाललाई नै छ । प्रधान र ढकालबीच तीव्र प्रतिस्पर्धा हुने आकलन गरिए पनि रविभक्त श्रेष्ठसहित महासंघका पूर्वअध्यक्षहरूले वरिष्ठ उपाध्यक्ष पदमा पनि सहमतिका लागि पहल शुरू गरेका छन् ।

समीकरणको प्रभाव

दृश्यमा दुई पक्षका वरिष्ठ उपाध्यक्षबीचको प्रतिस्पर्धा भए पनि महासंघको निर्वाचनमा निजी तथा व्यावसायिक स्वार्थ हावी हुन्छ । स्वार्थको ‘भोट राजनीति’ लाई सबैभन्दा ठूलो प्रभाव पार्छ, जिल्ला/नगरको मतभारले । महासंघमा जिल्ला/नगर क्षेत्रको मतभार ५० प्रतिशत भएकाले त्यताका मतदाता तान्नु दुवै प्रतिस्पर्धीको दाउ हुन्छ ।

महासंघमा सधैं पर्दापछाडिका खेलाडी मानिन्छन्, ढकाल । देशैभरिका साना र मझाैला व्यवसायीका समस्या सल्टाउन लबिइङ गरिदिने गुणले उनको सम्बन्ध जिल्ला/नगरका प्रतिनिधिहरूसँग राम्रो मानिन्छ । ढकाल देशैभरिका उद्योगी–व्यवसायीको समस्या समाधान गर्न आफू सधैं तत्पर हुने भएकैले ‘चूप लागेर बसौं भन्दा पनि नपाएको’ तर्क गर्छन् ।

जिल्ला/नगरको तर्फबाट उपाध्यक्ष बनेका विराटनगरका किशोर प्रधानलाई यसबीचमा जिल्ला र नगरका साना र मझाैला व्यवसायीको पक्षमा काम गरेकाले उनीहरूको सदाशयता आफूप्रति रहने विश्वास छ । विभिन्न जिल्ला तथा नगरका प्रतिनिधिसँग उनको पुरानै सम्बन्ध छ । यसअघि वरिष्ठ उपाध्यक्षमा प्रधानले चुनाव हारे पनि जिल्ला/नगर उपाध्यक्ष प्रमोद श्रेष्ठ म्याग्दीको बेनी नगरपालिकाको मेयर पदमा निर्वाचन लड्न गएसँगै रिक्त भएको स्थानमा चुनिएका थिए ।

एशोसिएटतर्फ निर्विरोध उपाध्यक्ष बनेका आईएमई समूहका अध्यक्ष चन्द्र ढकाल निःसन्देह आगामी निर्वाचनका लागि बलिया दाबेदार हुन् । बीमा, ब्याङ्क, व्यापार, पर्यटन लगायतका क्षेत्रमा लगानी रहेका ढकालको व्यावसायिक तन्तु देशैभरिका साना उद्योगी व्यवसायीसँग जोडिएको छ । ११ मंसीरमा गृहजिल्ला बाग्लुङबाट महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणासँगै ढकालले देशैभरि चुनावी गृहकार्यलाई बढाएका छन् । सातमध्ये पाँच प्रदेशका प्रमुखहरू ढकालको पक्षमा छन् ।

अघिल्लो चुनावमा ढकाल एशोसिएटतर्फको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए । ठूला कर्पोरेट हाउस सदस्य भएको ३० प्रतिशत मतभार रहेको एशोसिएटतर्फ सहज अग्रता पाउने ढकालको विश्वास छ । एशोसिएटतर्फ कमजोर भएकै कारण गत निर्वाचनमा प्रधान समूहले एशोसिएट उपाध्यक्षमा उम्मेदवारी नै दिएको थिएन । यद्यपि, यो पटक प्रधानको पक्षमा पूर्वअध्यक्ष मुरारका र भावी अध्यक्ष गोल्छाले काँध थापेकाले एशोसिएटमा पनि प्रतिस्पर्धी मत पाउने अपेक्षा छ ।

अर्कातर्फ जिल्ला/नगर तथा २० प्रतिशत मतभार रहेको वस्तुगत समूहमा हावी हुने प्रधानको आकलन छ । गत निर्वाचनमा प्रभावशाली दाबेदार शेखर गोल्छासँगको प्रतिस्पर्धामा पनि वस्तुगत समूहमा प्रधान नै हावी भएका थिए भने एक्लो प्रयासमा पनि जिल्ला/नगरतर्फ सम्मानजनक मत ल्याएका थिए । 

महासंघको आगामी निर्वाचनको चरम ध्रुवीकरणको केन्द्रमा छन्, पूर्वअध्यक्ष चण्डीराज ढकाल । ढकाल गत निर्वाचनमा गोल्छाको पक्षमा उभिएका थिए । तर, चुनाव जितेपछि आफूले भनेको नमानेको भनी रुष्ट ढकाल गोल्छाकै विरोधमा उत्रिए । यति मात्र होइन, उनले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने विधान नै संशोधन गरी गोल्छालाई अध्यक्ष हुन नदिने जोडबल नै शुरू गरे । तर, गोल्छाको अध्यक्ष बन्ने पालो खोसिन नहुने भनी महासंघका पूर्वअध्यक्षहरूले लबिइङ गरेपछि विधान संशोधनको अध्याय टुङ्गिएको थियो ।

महासंघमा सधैं पर्दापछाडिका खेलाडी मानिन्छन्, ढकाल । देशैभरिका साना र मझाैला व्यवसायीका समस्या सल्टाउन लबिइङ गरिदिने गुणले उनको सम्बन्ध जिल्ला/नगरका प्रतिनिधिहरूसँग राम्रो मानिन्छ । ढकाल देशैभरिका उद्योगी–व्यवसायीको समस्या समाधान गर्न आफू सधैं तत्पर हुने भएकैले ‘चूप लागेर बसौं भन्दा पनि नपाएको’ तर्क गर्छन् । उनी भन्छन्, “महासंघका पदाधिकारीले व्यवसायीका समस्या समाधान गर्न ध्यान दिनु त परको कुरा, फोन पनि नउठाउने भएकाले म अगाडि सर्नुपरेको हो ।”

पूर्वअध्यक्ष ढकालले अगाडि सारेको विधान संशोधनको ‘तुरुप’ सँगै भावी अध्यक्ष गोल्छासँग उनको दूरी बढ्दै गयो । गोल्छालाई स्वतः अध्यक्ष हुने बाटो रोक्न नसकेका उनले महासंघमा अधिकांश प्रतिनिधि आफ्ना पक्षका निर्वाचित हुने भन्दै गोल्छालाई काम गर्न असजिलो पारिदिने चेतावनी दिए । यसले गोल्छालाई थप सशङ्कित मात्रै पारेन, ढकालले समर्थन गरेका उम्मेदवारकै विपक्षमा उभिने बनायो ।

राजनीति हावी

४ कात्तिक २०७३ मा महासंघको विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालको स्वतः अध्यक्ष बन्ने व्यवस्था गरियो, जसको टेकोमा तत्कालीन वरिष्ठ उपाध्यक्ष भवानी राणा वर्तमान कार्यकालका लागि महासंघको अध्यक्ष चुनिइन् ।

भावी अध्यक्ष गोल्छा वरिष्ठ उपाध्यक्षमा प्रधानलाई जिताएर पूर्वअध्यक्ष चण्डीराज ढकालको दबदबा सधैंका लागि अन्त्य गर्ने ध्याउन्नमा देखिन्छन् । उनले सार्वजनिक रूपमै महासंघलाई ‘कसैको स्वार्थमा चल्न नदिने’ बताइसकेका छन् ।

राणाको कार्यसमितिका वरिष्ठ उपाध्यक्ष गोल्छा अर्को कार्यकालका लागि स्वतः अध्यक्ष चुनिने भएपछि यसो हुन नदिन गत वर्षको फागुनदेखि फेरि विधान संशोधनको खेल शुरू गरियो । गत कात्तिकमा महासंघको विधान संशोधन समितिमा संशोधन नगर्ने र यसका लागि बोलाइएको साधारण सभा स्थगित गर्ने निर्णयसँगै विवाद टुङ्गियो ।

यस्तो खेलले महासंघको छवि मात्रै धुमिल पारेको छैन, व्यवसायीका सरोकारका मुद्दामा केन्द्रित हुनुपर्ने महासंघमा राजनीतिक दाउपेच र अस्वस्थ गतिविधि हावी भएको देखाउँछ । महासंघको साख लगातार खस्किरहेको बताउँदै एक पूर्वअध्यक्ष भन्छन्, “व्यवसायीको समुच्च आवाज बन्नुपर्ने महासंघ निजी स्वार्थ र खिचातानीको खेलमा अड्किंदा सरकार र अरू सरोकारवालाको दृष्टिमा हल्का बन्न पुगेको छ ।”

आगामी निर्वाचनपछि पनि महासंघभित्रको स्वार्थको राजनीति र ध्रुवीकरण अन्त्य हुने सङ्केत देखिंदैन । निर्वाचनको अवधि नजिकिंदै गर्दा उम्मेदवारहरूलाई राजनीतिक दलहरूको अदृश्य समर्थन पनि बढ्छ, जसले ध्रुवीकरणलाई थप गहन बनाउँछ । निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा ढकाल वा प्रधान जो निर्वाचित भए पनि अहिलेको ध्रुवीकरणको तुष भविष्यसम्मै देखिने महासंघको कार्यकारिणी समितिका एक सदस्य बताउँछन् ।

भावी अध्यक्ष गोल्छा वरिष्ठ उपाध्यक्षमा प्रधानलाई जिताएर पूर्वअध्यक्ष चण्डीराज ढकालको दबदबा सधैंका लागि अन्त्य गर्ने ध्याउन्नमा देखिन्छन् । उनले सार्वजनिक रूपमै महासंघलाई ‘कसैको स्वार्थमा चल्न नदिने’ बताइसकेका छन् । गोल्छाले इच्छाएका उम्मेदवारले निर्वाचनमा बाजी नमारे उनको प्रस्ताव पारित हुन कठिन हुनसक्छ । यद्यपि हिमाल सँगको कुराकानीमा मिलनविन्दु भेटिए आफू सहमतिका लागि बाधक नहुने गोल्छाको भनाइ छ । 

गुटगत स्वार्थ र अस्वस्थ खेलले महासंघले सार्वजनिक स्वीकार्यता र वैधता गुमाउने जोखिम हुन्छ । चुलिंदो ध्रुवीकरण र विवादको बाटोले महासंघको छवि क्षयीकरण मात्रै होइन, व्यवसायीहरूको बलियो सामूहिक आवाजको वजन समेत घटाउने एक व्यवसायी बताउँछन् । चरम राजनीतीकरण भइरहे औद्योगिक व्यावसायिक क्षेत्रमा रहेका ठूला लगानीकर्ता क्रमशः महासंघबाट बाहिरिनसक्ने उनको संशय छ ।

अहिले नै महासंघबाटै अलग्गिएको नेपाल उद्योग परिसंघले व्यावसायिक औद्योगिक क्षेत्रको वास्तविक मुद्दालाई सरकारसमक्ष बलियोसँग पुर्‍याउन थालेको छ । “व्यवसायीको मर्का र उनीहरूको समस्याबारे महासंघले बलियोसँग आवाज नउठाए यसले छाता सङ्गठनको सान्दर्भिकता झन–झन गुमाउँदै जान्छ”, ती व्यवसायी भन्छन् ।

भावी अध्यक्ष गोल्छा वरिष्ठ उपाध्यक्षमा प्रधानलाई जिताएर पूर्वअध्यक्ष चण्डीराज ढकालको दबदबा सधैंका लागि अन्त्य गर्ने ध्याउन्नमा देखिन्छन्। उनले सार्वजनिक रूपमै महासंघलाई ‘कसैको स्वार्थमा चल्न नदिने’ बताइसकेका छन्।

प्रतिकृया दिनुहोस