ब्लग मंगलबार, फागुन २७, २०७६

विरोधी तह लगाउन पजनी

भैरव रिसाल

विरोधी तह लगाउन पजनी
स्केच: भानु भट्टराई
भैरव रिसाल

मुलुकको प्रशासन पद्धतिमा पृथ्वीनारायण शाहको गोरखा राज्यकालदेखि नै पजनी प्रथा थियो । मुख्तियार (प्रधानमन्त्री) देखि तलका जङ्गी तथा निजामती सबैको पजनी हुन्थ्यो ।

पजनी अर्थात् सरकारी कर्मचारीहरूको कार्य–सम्पादनका आधारमा सरुवा, बढुवा, खोसुवा वा थमौती । यो काम १८२६ सालदेखि १९०३ सम्म राजाले नै गर्थे । वर्षको एक पटक निर्धारित समयमा पजनी हुन्थ्यो, भारदारदेखि कर्मचारीसम्म त्यसै दिनको पर्खाइमा बस्थे।

१९०३ सालको कोतपर्वपछि शक्तिशाली बनेका प्रधानमन्त्री जङ्गबहादुर राणाले १९१३ सालमा राजा सुरेन्द्रको राज्यकालमा पञ्जापत्र बनाई राजकाज गर्ने सम्पूर्ण अधिकार कब्जा गरे । राजामा निहित पजनी लगायतको अधिकार पाएपछि जङ्गबहादुर अझ शक्तिशाली बने । उनले पजनी प्रथालाई प्रशासनमा रहेका आफ्ना विरोधी हटाउने हतियार बनाए।

राणाकाल अघि शासन र प्रशासनमा वर्चस्व जमाएका पाँडे, थापा, बस्न्यात आदि परिवार कोतपर्व र भण्डारखाल पर्वमा छिमलिइसकेका थिए । कतिपय कर्मचारीले भने अझै पनि तिनै विरोधी परिवारको मुख ताक्ने र चाकरी गर्ने गर्दा जङ्गबहादुरलाई सह्य हुँदैनथ्यो । उनले पजनी मार्फत आफ्ना विरोधीका नातागोता र आसेपासेको नोकरी वर्षैपिच्छे खोस्न थाले । त्यसबाट थर्कमान कर्मचारीहरूले जङ्गबहादुरको मात्र गुणगान गाउने परिस्थिति बन्यो।

सत्र भाइ राणाजीलाई थमौती 

राणाशासनमा हरेक सरकारी अड्डाले कर्मचारीहरूको पजनीका लागि विशेष कागत तयार गर्नुपर्थ्याे। ‘नेकिबदीको कागत’ भनिने त्यो लेखोटमा कर्मचारीको वर्षभरिको काम हेरेर दक्ष, इमानदार, अनुशासित र किफायत भए/नभएको लेखाजोखा गरी विवरण भरिन्थ्यो।

अड्डा प्रमुखले नयाँ साल लाग्नासाथ आफ्ना मातहतका सदर र मोफसलका अड्डाका कर्मचारीहरूको नेकिबदीको कागत तयार गरी तालुकवाला मार्फत मुलुकी बन्दोबस्त अड्डामा असारतिर पेश गर्थे । त्यो कागतको आधारमा तयार हुने पजनीको कागत मुख्तियार (राणाकालमा प्रधानमन्त्रीभन्दा मुनिको पद) मार्फत श्री ३ महाराजसमक्ष पेश भएपछि पजनीको बन्दोबस्त हुन्थ्यो । भदौको आखिरीतिर जब काठमाडौंमा पजनीको हल्ला चल्थ्यो, कर्मचारीहरूको मुटुमा ढ्याङ्ग्रो बज्न थाल्थ्यो।

सत्र भाइ राणाजीहरूको भने नेकिबदीको कागत हुँदैनथ्यो । यी राणाजी, गुरुपुरोहित, चौतरिया र साहेबज्यूको भने थमौती हुँदोरहेछ । अर्थात्, तिनलाई साबिक बमोजिमको पद र ठाउँमा रही काम गर्न म्याद थप गरिन्थ्यो। श्री ३ ले राणाजीहरूलाई आफ्नो धर्मपत्र अनुसार पद खोस्न नमिल्ने भएकाले तिनीहरूको थमौती मात्र हुने रहेछ।

थमौतीका लागि मुख्तियारसहित रोल क्रमवाला सबै राणाजीहरू जङ्गी पोशाकमा लामो बग्गी चढेर राजाको दर्शन गर्न नारायणहिटी दरबार जान्थे । त्यहाँ उनीहरूले दोसल्ला, चौसल्ला पाउँथे । थमौती भएको कैयौं दिनसम्म रोल क्रमवाला राणाजीका ढोकाढोकामा कर्मचारी, चाकरीदार, साहुमहाजन र सन्तमहन्तको दाम राख्ने ताँती नै हुन्थ्यो । श्री ३ जुद्धशमशेरको पालामा थमौतीका लागि राजदरबार जानुपर्ने चलन तोडियो । सदर टुँडिखेलको खरीको बोटमा एकैपल्ट थमौती सुनाउने नयाँ चलन चलाइयो।

मुख्तियारको दलानदेखि सिंहदरबारसम्म

जङ्गी अर्थात् पल्टनतर्फको पजनीमा सात दर्जाको हेरफेर गरिन्थ्यो । तेस्रो थरी पजनी अफिसर बाहेक जवानहरूको (सुबेदारसम्म) एकैपल्ट हुन्थ्यो । अर्को, निजामतीतर्फ बडाकाजीदेखि डिठ्ठा खरिदारसम्मको पजनी हुन्थ्यो, जसलाई ‘हाकिम पजनी’ भनिन्थ्यो । त्यसपछि राजपत्र अनङ्कित कर्मचारीको पजनी हुन्थ्यो ।

कर्मचारीहरूको पजनी पहिले मुख्तियारको दलानमा हुन्थ्यो । पजनीका निम्ति लाइन लागेर उभिएका कर्मचारीलाई मुख्तियारले ‘तँ खोसिइस्’ भन्नासाथ किताबी सुब्बाले त्यसको पगरीबाट सुनको चाँद निकालिदिन्थे ।

त्यसपछि पगरी ठुटे हुने भएकाले खोसुवाको शङ्का भएका कर्मचारीले घरबाटै टोपी लैजाने चलाखी गर्न लागे रे ! पजनीमा खोसिएका कर्मचारी पुनर्नियुक्तिका लागि अयोग्य नहुने भएकाले फेरि चाकरीमा धाउँथे ।

प्रतिकृया दिनुहोस