रिपोर्ट शनिबार, फागुन २४, २०७६

प्रत्यारोपण प्रधानमन्त्रीको, साख स्वास्थ्य क्षेत्रको

रामु सापकोटा

प्रत्यारोपण प्रधानमन्त्रीको, साख स्वास्थ्य क्षेत्रको
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने डाक्टर तथा नर्सको टोली। तस्वीर: बिक्रम राई

प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि १९ फागुन साँझ ६ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भए । मिर्गौला दाता भान्जी समीक्षा सङ्ग्रौला पनि त्यही दिन भर्ना भइन् । मिर्गौला प्रत्यारोपणका लागि ओलीलाई २१ फागुन बिहान १० बजे शल्यक्रिया कक्षमा लगिएको थियो । १६ जना चिकित्सकको टोलीले डेढ घण्टा लगाएर शल्यक्रिया सकेका थिए । मिर्गौला प्रत्यारोपण गर्न भने ३९ मिनेट लागेको थियो । बायाँतर्फ प्रत्यारोपण गरेपछि उनको शरीरमा चार वटा मिर्गौला भएका छन् ।

प्रत्यारोपण गर्ने शल्यचिकित्सक टोलीको नेतृत्व त्रिवि शिक्षण अस्पतालका प्रा.डा. प्रेम ज्ञवालीले गरेका थिए । ज्ञवाली ग्रान्डी अस्पतालको युरोलोजी तथा मिर्गौला प्रत्यारोपण इकाइ प्रमुख समेत हुन् । यस्तै, प्रत्यारोपण चिकित्सा टोलीको नेतृत्व भने प्रधानमन्त्री ओलीका निजी चिकित्सक समेत रहेकी शिक्षण अस्पतालकी डा. दिव्यासिंह शाह र ‘क्रिटिकल केयर’ टोलीको नेतृत्व प्रा.डा. सुवास आचार्यले गरेका थिए । (हे.इन्फो)

पहिलो पटक २०६४ सालमा दिल्लीको अपोलो अस्पतालमा ओलीको मिर्गौला प्रत्यारोपण गर्ने भारतीय डा. अनन्त कुमार पनि चिकित्सकहरूको टोलीमा सहभागी थिए । अहिले उनी दिल्लीकै म्याक्स अस्पतालमा कार्यरत छन् । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाका अनुसार प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालिसकेको छ ।

२२ फागुन बिहानदेखि तरल खानेकुरा खान थालेका उनलाई एक हप्ताभित्र डिस्चार्ज दिने अस्पतालको योजना छ । चिकित्सकहरूका अनुसार दोस्रो प्रत्यारोपणपछि ओलीले मिर्गौलालाई स्वस्थ राख्न नियमित औषधि खानुपर्छ भने संक्रमणबाट पनि बचाउनुपर्छ । मिर्गौला दान दिने संग्रौलाको स्वास्थ्य पनि सामान्य छ ।

प्रधानमन्त्री ओलीले अस्पताल भर्ना हुनुअघि १९ फागुनमा भिडियो सन्देश दिंदै दोस्रो पटक हुन लागेको मिर्गौला प्रत्यारोपण सहज हुने विश्वास व्यक्त गरेका थिए । उनले भनेका थिए, “झ्ण्डै १२ वर्षअघि पहिलो पटक दुवै मिर्गौलाले काम गर्न छाडेपछि नेपालमा प्रत्यारोपणको सुविधा नहुँदा विदेश जानु परेको थियो । आफ्नै मुलुकमा अनुभवी चिकित्सकहरूद्वारा प्रत्यारोपण गर्ने सुविधा प्राप्त हुँदा म गर्व गर्छु, केही दिनको अस्पताल बसाइपछि थप ऊर्जा र आत्मविश्वास लिएर काममा फर्किनेछु ।”

यसकारण भयो प्रत्यारोपण

प्रधानमन्त्री ओलीको निजी चिकित्सकहरूका अनुसार गएको ६ भदौमा सिङ्गापुरको न्याशनल युनिभर्सिटी अस्पतालमा ओलीको प्लाज्माफेरेसिस गर्दा सकारात्मक परिणाम आएन । डायलासिस मेशिन वा सेन्ट्रीफ्युगेसन (रक्त कोषबाट प्लाज्मा छुट्याउने विधि) बाट प्लाज्माफेरेसिस गरिन्छ । एण्टीबडीका कारण शरीरमा निम्तिन सक्ने क्षतिलाई प्लाज्माफेरेसिस विधिबाट कम गरिन्छ ।

शरीरमा आक्रमण गरी हानि पुर्‍याउन सक्ने जीवाणु विरुद्ध लड्ने एक प्रकारको प्रोटिनजन्य रसायनलाई एण्टीबडी (इम्युनोग्लोबुलिन) भनिन्छ । उपचारपछि २० भदौमा सिङ्गापुरबाट फर्किएका ओलीको शरीरमा जति एण्टीबडी हुनुपर्थ्याे त्यति भएन । मिर्गौलाले अपेक्षा अनुसार काम नगर्दा पुनः प्रत्यारोपण गर्नु परेको उनका निजी चिकित्सकहरू बताउँछन् ।

पुनः प्रत्यारोपणका लागि पहिला आफ्नै नाताभित्रबाट मिर्गौला दाता जुटाउनुपर्थ्याे। प्रत्यारोपण नगरुन्जेल मिर्गौलालाई ठीक अवस्थामा राख्न डायलासिस पनि गरिरहनुपथ्र्यो । ओलीले ग्रान्डी अस्पतालमा नियमित डायलासिस गरे । उनी निकट एक चिकित्सक भन्छन्, “नियमित डायलासिसले मात्र स्वस्थ हुन सम्भव थिएन । सिङ्गापुरबाट फर्केलगत्तै प्रधानमन्त्रीलाई प्रत्यारोपण गर्न सुझएर उपयुक्त समय निकाल्न आग्रह गर्‍यौं । हामी पनि तयारीमा लाग्यौं ।” प्रत्यारोपणको लागि आवश्यक अधिकांश व्यवस्थापकीय काम निजी चिकित्सक डा. शाहले गरेकी थिइन् ।

गत मंसीरमा नै प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने तयारी थियो । त्यसबारे उनका निजी चिकित्सकहरूले नेकपाका नेताहरूलाई ‘ब्रिफिङ’ पनि गरेका थिए । तर, उनलाई ११ मंसीरमा अचानक एपेन्डिसाइटिस भएपछि मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा शल्यक्रिया गरिएको थियो । त्यही कारण प्रत्यारोपण झण्डै तीन महीना पछाडि धकेलिएको हो ।

प्रत्यारोपण गर्ने १५०० नाघे

प्रधानमन्त्री ओलीले स्वदेशमै मिर्गौला प्रत्यारोपण गरेपछि मुलुकको स्वास्थ्य सेवाप्रति आम मानिसको धारणा सकारात्मक हुने चिकित्सकहरूको भनाइ छ । प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलीप शर्मा मुलुकको कार्यकारी प्रमुखले आफ्नै देशमा मिर्गौला प्रत्यारोपण गर्दा नेपालको चिकित्सा सेवा पनि योग्य रहेको प्रमाणित भएको बताउँछन् । उनी भन्छन्, “प्रधानमन्त्रीको दोस्रो पटक गरिएको मिर्गौला प्रत्यारोपण सफल भएपछि नेपाली चिकित्सक पनि सक्षम रहेको सन्देश गएको छ । यसले चिकित्सकको हौसला र मनोबल बढाएको छ ।”

नेपाल ट्रान्सप्लान्टेसन सोसाइटी र सोसाइटी अफ एनेस्थेसियोलोजिस्ट अफ नेपालले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले आफ्नै मुलुकका चिकित्सकहरूलाई विश्वास गरेर हौसला बढाएको जनाएका छन् । मिर्गौला प्रत्यारोपणको नेतृत्व गरेका प्रा.डा. ज्ञवाली ओलीको देशप्रतिको माया र इच्छाशक्तिका कारण स्वदेशकै अस्पताल पनि सक्षम रहेको सन्देश गएको बताउँछन् । मर्गौला प्रत्यारोपण गर्ने सबै बिरामी चिकित्सकहरूका लागि समान भएको उनी बताउँछन् ।

सन् २००५ मा अमेरिकामा मिर्गौला प्रत्यारोपण गराएका कूटनीतिज्ञ कुलचन्द्र गौतम प्रधानमन्त्री ओलीको निर्णयले नेपालको स्वास्थ्य सेवाप्रति आम मानिसको आत्मविश्वास बढ्ने बताउँछन् । उनी भन्छन्, “प्रधानमन्त्रीको कदमपछि नेपाललाई मेडिकल टुरिजमको हब बनाउन सक्ने सम्भावनाको ढोका खोलेको छ । धेरैजसो सरकारी अस्पतालमा सरसफाइको कमी छ । यसमा सुधार गर्न सके स्वास्थ्य सेवा थप भरपर्दो हुन्छ ।”

मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनका लागि दक्ष जनशक्ति र उच्चस्तरीय प्रविधि चाहिन्छ । अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले प्रत्येक वर्ष दुई जनाका दरले युरोसर्जन उत्पादन गरिरहेको छ । प्रधानमन्त्री ओली बाहेक त्रिवि शिक्षण अस्पतालमा १० जनाको दोस्रो पटक मिर्गौला प्रत्यारोपण भइसकेको छ ।

नेपालमा पहिलो पटक त्रिवि शिक्षण अस्पतालमा ८ अगष्ट २००८ मा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यतिवेला प्रत्यारोपणमा मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाहसहित विदेशी चिकित्सकको टोली सहभागी थियो । त्यसयता अहिलेसम्म सरकारी र निजी गरी सात अस्पतालबाट एक हजार ५०० भन्दा बढीको मिर्गौला प्रत्यारोपण भइसकेको छ । सरकारी अस्पतालहरू भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्र, महाकाँलको वीर र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रत्यारोपण सेवा उपलब्ध छ । निजी अस्पतालहरू कलेज अफ मेडिकल साइन्सेज भरतपुर, ग्रान्डी अस्पताल, निदान र सुमेरु अस्पतालमा यो सेवा उपलब्ध छ ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने टोलीका सदस्य समेत रहेका त्रिवि शिक्षण अस्पतालको मिर्गौला रोग तथा प्रत्यारोपण विभागका सह–प्राध्यापक डा. महेशराज सिग्देल प्रत्यारोपण सेवा अब्बल रहेको बताउँछन् । “१५०० भन्दा बढीको संख्यामा प्रत्यारोपण हुनु भनेको मुलुकको मिर्गौला प्रत्यारोपण सेवा अब्बल हुनु हो”, उनी भन्छन् । प्रत्यारोपण सेवा अब अन्य जिल्लामा पनि विस्तार गर्न आवश्यक रहेको चिकित्सकहरू बताउँछन् । तर, सेवा विस्तार गर्न उच्चस्तरीय प्रविधि र पर्याप्त दक्ष जनशक्ति काठमाडौं बाहिरका अस्पतालमा छैनन् ।



प्रतिकृया दिनुहोस