रिपोर्ट शुक्रबार, फागुन २३, २०७६

यूट्युबमा नेपाली मोबाइल प्रयोगकर्ताको बढ्दो आकर्षण

कुन्द दीक्षित

यूट्युबमा नेपाली मोबाइल प्रयोगकर्ताको बढ्दो आकर्षण
तस्वीर: बिक्रम राई

नेपालका ९६ प्रतिशत घरपरिवारमा मोबाइल प्रयोगकर्ताहरू छन् । सिंगो मुलुक द्रुत गतिमा मोबाइल फोनको शत प्रतिशत पहुँचमा पुग्ने देखिन्छ । त्यसमध्ये पनि ६१.५ प्रतिशतसँग स्मार्ट फोनको पहुँच छ । आगामी वर्षमा पनि मोबाइल प्रयोगकर्ताको वृद्धिदरमा यही गति कायम रहने अनुमान गरिएको छ ।

हाल २६ प्रतिशत नेपालीहरू दैनिकजसो इन्टरनेट प्रयोग गर्छन् । उन्नत प्रविधिको इन्टरनेट उपलब्ध भयो भने अझै धेरै प्रयोगकर्ताहरूले आर्थोपार्जन र राजनीतिक उपयोगिताका लागि यसको प्रयोग गर्ने देखिन्छ ।

यसमा पनि महत्वपूर्ण के छ भने दुई वर्ष अघिसम्म शून्यमा रहेको यूट्युब प्रयोगकर्ताहरूको संख्या अघिल्लो वर्ष ३४ प्रतिशत थियो भने त्यो संख्या वृद्धि भएर यो वर्ष ६० प्रतिशत पुगेको छ । (हे. ग्राफ)

शेयरकास्ट इनिसियटिभले देशका सातवटै प्रदेशमा जनवरी र फेब्रुअरीमा गरेको नेपाल मिडिया सर्वेमा ४,८३० जनाले सहभागिता जनाएका थिए ।

उमेर, लिंग, समुदाय, शिक्षा र आम्दानीको आधारमा विगत तीन वर्षको तथ्याङ्कलाई तुलना गर्दा मोबाइल एप र डिभाइसका प्रयोगकर्ताहरूको रुचि बदलिदिएको देखिन्छ । 

"यो वर्षको सबैभन्दा चकित पार्ने खालको तथ्याङ्क मोबाइलमा यू-ट्युब प्रयोगकर्ताको बढ्दो लोकप्रियता हो," शेयरकास्ट इनिसिएटिभका मधु आचार्य भन्छन् "मोबाइलमा सहजै भिडियो हेर्न सकिने भएकाले नेपालमा नयाँ यू-ट्युबको लोकप्रियता बढेको देखिन्छ ।"

अहिले पनि यूट्युबलाई थप बजार बढाउन सहज छ । किनभने, लगभग ९० लाख नेपालीसँग फेसबूक अकाउन्ट छन् । सर्वेक्षण अनुसार ८८.७ प्रतिशत सहभागीहरू फेसबुकबाटै भाग लिएका थिए । तर यो पछिल्लो समय बढेको न्यूनतम संख्या मात्रै हो । वैकल्पिक उत्तर भएका प्रश्नबाट थप के थाहा भयो भने ३५.६ प्रतिशत प्रयोगकर्ता म्यासेन्जर र ७ प्रतिशत व्हाट्सएपमा रहेछन् । म्यासेन्जर र व्हाट्सएप दुवै फेसबूकको स्वामित्वमा रहेका एपहरू हुन्।

ग्राफिक्स: नेपालीटाइम्स

शेयरकास्टले यसलाई पनि अलग-अलग गरेर देखाएको छ । जसमा महिला (८२ प्रतिशत) भन्दा पुरुष (९४ प्रतिशत) प्रयोगकर्ताको संख्या धेरै छ । विवाहित (८७ प्रतिशत) भन्दा अविवाहित (९४ प्रतिशत) को संख्या धेरै छ । अधिकांश नेपालीले त फेसबूकलाई नै इन्टरनेट भन्ने गरेको पनि सर्वेक्षणमा देखिन आयो । आम्दानीका आधारमा सबैभन्दा कम आय भएका प्रयोगकेर्ता (८८.५ प्रतिशत) र धेरै आय भएकाहरू (८७.९ प्रतिशत) बीच खासै अन्तर देखिएन ।

अझै आश्चर्यजनक कुरा के भने शहरी क्षेत्र (८७.५ प्रतिशत) भन्दा ग्रामीण क्षेत्र (८८.६ प्रतिशत) का मानिसहरूले धेरै फेसबूक प्रयोग गर्ने गरेको पाइको छ । अधिकांश नेपाली फैसबूक प्रयोगकर्ताहरू १६ देखि ४४ वर्ष उमेर समूहका छन् । ६० वर्षभन्दा माथिको उमेर समूहका (८१ प्रतिशत) मानिसहरूले पनि फेसबूकको प्रयोग अधिक गर्ने पाइएको छ । उनीहरू विदेशमा अध्ययन गर्ने र काम गर्न गएका आफ्ना सन्तानसँग कुरा गर्नका लागि फेसबूकको प्रयोग गरिरहेका हुन्छन् ।

फेसबूक र यूट्युब प्रयोकर्ताबीच महत्वपूर्ण अन्तर छ । ग्रामीण क्षेत्रका मानिस (४८ प्रतिशत) को तुलनामा शहरी क्षेत्रका मानिस (७१ प्रतिशत) ले यूट्युब प्रयोग गर्छन् । सुदूरपश्चिममा (२२ प्रतिशत) न्यून मानिसले मात्रै यूट्युब हेर्ने गर्छन् । त्यसको कारण भने सुस्त गतिको इन्टरनेट देखिन्छ । सबैभन्दा आश्चर्यलाग्दो कुरा के भने ६० वर्षभन्दा माथिका मानिसहरूबीच यूट्युब धेरै लोकप्रिय रहेछ । धार्मिक कार्यक्रमका कारण वृद्ध मानिसहरूले यूट्युब प्रयोग गरेका पनि हुनसक्छन् ।

पश्चिम एसियामा रहेको नेपाली श्रमिकहरूका कारण सम्भवत: इमो म्यासेन्जर एपको लोकप्रियता बढेको हुनुपर्छ । सर्वेक्षण अनुसार ग्रामीण इलाकाका पुरुषभन्दा धेरै महिलाले इमोको प्रयोग गरिरहेका छन्, ती मध्ये अधिकांश ग्रामीण वस्तीका  गरीब परिवारबाट आएकाहरू हुन्।

अन्य एपहरू मध्ये लोकप्रियताका बावजुद पनि केवल ३ प्रतिशतले मात्रै टिकटाेकको प्रयोग गरेको सर्वेक्षणमा देखिएको छ । रमाइलो के छ भने टीकटोक प्रयोगकर्ता पुरुषभन्दा महिलाको संख्या दुई गुणा बढी छ र उनीहरू अविवाहित छन् । यद्यपि, ट्विटर पोस्टलाई प्राय: सञ्चार माध्यमहरूले उद्धृत गरिरहेका हुन्छन् तर यसका प्रयोगकर्ता (१.३ प्रतिशत) थोरै मात्रै छन् । इन्स्ट्राग्राममा नयाँ प्रयोगकर्ताहरू थपिदै गरेको देखिन्छ जसमा ३ प्रतिशत मात्रै नेपालीहरू छन्।

 

प्रतिकृया दिनुहोस