कला/साहित्य विहीबार, फागुन २२, २०७६

पितृसत्तामाथि ‘थप्पड’

शुष्मा बराली

पितृसत्तामाथि ‘थप्पड’

सामान्य घरगृहस्थीमा रमाएकी गृहणीबाट कथा शुरु हुन्छ । गृहणी अमृता (तापसी पन्नु), अलार्मको घन्टीसँगै बिहान उठ्नु, परिवारका लागि चिया नास्ता तयार गर्नु, सासूको सुगर चेक गर्नु आवश्यक औषधि दिनु, फूलबारीमा पानी राख्नु यही नै अमृताको दैनिकी हो ।

व्यापारिक घरानामा बिहे गरेकी अमृताले विक्रम (पभेल गुलाटी) सँग मात्र होइन सिंगो घरपरिवारसँग राम्रो सम्बन्ध बनाएकी हुन्छिन् । श्रीमानको प्रगतिका लागि अमृताले रातदिन नभनी घरव्यवहार सम्हालेकी हुन्छिन् ।

श्रीमानलाई कुनै कुराको अभाव महसुस नहोस् भनी अमृताले आफ्ना रहर र रुचि सबै भुलिसकेकी हुन्छिन् । यहाँसम्म कि अमृतालाई मनपर्ने रङ पहेंलो भए पनि विक्रमको निलो रङलाई आफ्नो भन्छिन् ।

विक्रमका पर्स, फाइल, तातो पानी, खाना लगायत हरेक स–साना कुरामा निकै ध्यान दिएकी हुन्छिन् । विक्रमको काम अब्बल भएपछि दुवैजनाले लन्डन सिफ्ट हुने सपना देखेका हुन्छन् । विक्रमको अफिसको प्रिजेन्टेसनपछिको निर्णयको पर्खाइमा रहेकी अमृता लन्डन जाने निश्चित भयो भनेर विक्रमले फोन गरेपछि खुसीले उत्साही हुन्छिन् ।

त्यही दिन दिउँसो ३ बजे अफिसका सबै स्टाफ र आफन्तलाई पार्टी दिएको कुरा अमृताले फोनमा नै थाहा पाउँछिन् । उनी खुसी हुन्छिन्, र हतार हतार सबै चाजोपाजो मिलाएर आउँछिन् । पार्टीमा सबै रमाइरहेका हुन्छन्, यसै क्रममा विक्रम र उसको अफिसका म्यानेजर बीच झगडा हुन्छ । दुवैबीच भनाभन हुँदा, हात हालाहाल हुने अवस्था आउँछ ।

दक्षिण एसियाली समाजमा व्याप्त पितृसत्तात्मक विकृति र विसंगतिमाथि पछिल्लो समय धेरै निर्माता र निर्देशकले धेरै सिनेमा बनाएका छन् । त्यस्तै सिनेमा बनाउनेमा पर्छन् निर्देशक अनुभव सिन्हा ।

कसैले हात नहालोस् भनेर अमृताले छुट्याउन खोज्छिन् । रिसले चुर भएका विक्रमले रिसको आवेगमा सबै रिस अमृताको गालामा बर्साउँछन्, ‘थप्पड’ दिएर । माहोल शान्त हुन्छ, अमृताका आमाबुबा पनि मौन हुन्छन्, सबै विक्रमलाई सोध्न जान्छन् तर अमृतालाई कसैले सोध्दैनन् । राति सामान्य तरिकाले विक्रम सुत्छ, मानौं केही पनि भएको छैन, तर, अमृता भने सुत्न सक्दिनन् । कथा यहाँबाट शुरु हुन्छ ।

कुरा आत्मसम्मानको हुन्छ । थप्पड, थप्पड मात्र होइन, हिंसा हो, हेपाहा प्रवृत्ति हो, भन्ने ठानेपछि अमृता विक्रमलाई माफ गर्नै सक्दिनन् यतिसम्म कि उनीसँगै बस्न समेत सक्दिनन्, माइत जान्छिन् । विक्रम लिन जान्छन् तर अमृता मान्दिनन् ।

विक्रमलाई देखेर अमृता दंग पर्छिन् । विक्रम बहाना बनाउँछ, ‘रिसमा थाहा पाइनँ एक थप्पड त हो, कत्रो तमासा बनाएको ?’ यस्ता शब्दले अमृतालाई झन् पिरोल्छ । उनको महत्व केही पनि नरहेको महसुस गरेपछि उनले विक्रमसँग सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुग्छिन् ।

एक थप्पडका कारण सम्बन्ध विच्छेद गर्ने निर्णयपछि अमृताकी सासू, आमा र भाइ सहमत हुन सक्दैनन् । सम्बन्ध बचाउन यस्ता सामान्य कुरा सहनुपर्छ भन्ने उनीहरूको शान्त्वनाले अमृतालाई छुँदैन, आफ्नो निर्णयमा अडिक रहन्छिन् । अमृताले बुबालाई सोध्छिन्, “पापा के मैले गलत गरेकी छु ?” अमृताका बुबा मुस्कुराउँदै जवाफ दिन्छन्, “सबै सही कामको नतिजा राम्रो या सही नै आउँछ भन्ने छैन ।”

यो जवाफले अमृताको आत्मबल बढाएको देखाउँछ ।

दक्षिण एसियाली समाजमा व्याप्त पितृसत्तात्मक विकृति र विसंगतिमाथि पछिल्लो समय धेरै निर्माता र निर्देशकले धेरै सिनेमा बनाएका छन् । त्यस्तै सिनेमा बनाउनेमा पर्छन् निर्देशक अनुभव सिन्हा । पछिल्लो समय पछाडि पारिएका समुदायका आवाजको पक्षमा चलचित्र निर्माण गर्ने सफल निर्देशकका रुपमा उनले आफ्नो परिचय बनाएका छन् । ‘मुल्क’, ‘आर्टिकल १५’ जस्ता चलचित्र पस्केर उनले आफूलाई अब्बल निर्देशकको रुपमा प्रमाणित गरिसकेका छन् । २८ फेब्रुअरीमा रिलिज भएको चलचित्र ‘थप्पड’ ले पनि सिन्हाको समाजप्रतिको चिन्तालाई प्रष्ट पारेको छ ।

फिल्ममा पितृसत्ताले महिलालाई दासी र पुरुषलाई मर्द देखाएर थोपरिएको अन्याय र त्यसमाथिको विद्रोहलाई देखाइएको छ ।

चलचित्रमा समग्र महिलाहरूको कथा समावेश गरिएको छ । मुख्य पात्रसँगै अन्य तीन पात्रलाई समेत कथामा भारतीय समाजको एउटा चित्रलाई प्रस्तुत गरिएको छ । नेथ्रा, दिया र माया । यी तीन पात्रले तीनथरी महिलाको भूमिका खेलेका छन् । शहरका शिक्षित र सम्पन्न समाजका महिला, जागिर र घरपरिवार सम्हालिरहेका महिला र घरमा काम गर्ने गृहणी महिला । तीनै पात्रको कथाले भन्ने विषयवस्तु भने एउटै हो, एसियाली समाजमा पुरुषद्वारा महिलामाथि गरिने थिचोमिचो र अन्याय ।

महिलाले आफ्नो इच्छा अनुसार सम्बन्ध विच्छेद गर्न पनि कतिसम्म कसरत गर्नुपर्छ भन्ने यथार्थ फिल्ममा देखाउन खोजिएको छ ।

फिल्मको संवादमा प्रयोग गरिएका शब्दले महिलाका इच्छा, आकांक्षामाथि पुरुषको मनपरी कति छ भन्ने देखाएको छ । एकातिर विवाहपछि महिलाले भोग्नुपर्ने अनेक पीडालाई एक थप्पड मार्फत देखाउन खोजिएको छ । अर्कोतर्फ त्यही एक थप्पडले महिलामाथि गरेको दमनको विरुद्ध कसरी विद्रोह हुन्छ भन्ने पनि देखाइएको छ ।

फिल्ममा पितृसत्ताले महिलालाई दासी र पुरुषलाई मर्द देखाएर थोपरिएको अन्याय र त्यसमाथिको विद्रोहलाई देखाइएको छ । पुरुषलाई मर्द हौ, रुनु हुँदैन भनेर सिकाउने समाजले तिम्रा कारण कसैको आँसु बग्नु हुँदैन भनेर सिकाउँदैन । फिल्मले पुरुषको जस्तै महिलाको पनि आत्मसम्मान हुन्छ भन्ने विषयलाई पस्किएको छ ।

समग्रमा निर्देशक सिन्हाले ‘थप्पड’ मार्फत महिलाको पीडालाई उजागर गरेका छन् ।

 

प्रतिकृया दिनुहोस