रिपोर्ट विहीबार, फागुन २२, २०७६

यसरी संभव भयाे काेराेनाभाइरस विरुद्धकाे 'अपरेशन काेभिड-१९ नेपाल' (भिडियाे सहित)

दीपक खरेल

यसरी संभव भयाे  काेराेनाभाइरस  विरुद्धकाे 'अपरेशन काेभिड-१९ नेपाल' (भिडियाे सहित)
चीनको वुहान गएका नेपाल वायु सेवा निगमका चालक दलका सदस्यहरु

नेपालले १ सय ७५ जना नेपालीलाई चीनको वुहानबाट हवाई उद्धार गरी १५ दिन क्वारेन्टाइनमा राखियो। दुई पटक स्वास्थ्य जाँचपछि घर पठाइयो। यो सम्पूर्ण प्रक्रियामा सहभागी नेपाली सेनाका सेनानी डा.नवीन फुयाँलको अनुभवमा कसरी सम्भव भयो त यो उद्धारः


चीनको वुहानबाट ४ फागुनमा हवाई उद्धार गरिएका १ सय ७५ जना र विमान चालक दलका सबै घर फर्किई सकेका छन्। नेपाल विद्युत प्राधिकरणको खरिपाटीस्थित तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा १५ दिन बिताएका उनीहरूले जाँदाजाँदै बसाइ सुखद रहेको प्रतिक्रिया दिए।

नेपालकै इतिहासमा यो हवाई उद्धार पहिलो थियो। यस्तै नेपालले आफ्नै बलबुताले बनाएको क्वारेन्टाइन समेत पहिलो थियो। यस्तै कोरोनाभाइरस विरुद्धको यो संयुक्त कारबाही समेत तीनै सुरक्षा निकायका अधिकारीहरूका लागि पहिलो अनुभव थियो। जसलाई अनौपचारिक रूपमा ‘अपरेशन कोभिड–१९ नेपाल’ भनियो।

“धेरै विषय हाम्रा लागि नै नयाँ थियो, कोही पनि तालिमप्राप्त र पोख्त थिएनौं,” नेपाली सेनाका सेनानी चिकित्सक नवीन फुयाँल भन्छन्, “हाम्रो उद्धारदेखि क्वारेन्टाइनसम्मको व्यवस्थापन सफल भएको छ।” अपरेशनको नेतृत्व गरेका फुयाँलका अनुसार केही अत्यावश्यक सामग्री जुटाउन बाहेक यो कारबाहीमा कुनै समस्या परेन।

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको तेस्रो तलामा रहेको एउटा कोठामा बुधबार हँसिलो मुद्रामा भेटिएका मेजर नवीनका लागि मात्र होइन, यो सिंगो अपरेशनलाई सफल बनाउन टिमका लागि नयाँ अनुभव र चुनौती थियो। उनीहरू कोही पनि पोख्त थिएनन् तर जिम्मेवारी ठूलो थियो। यस्तै सबैबाट सहयोग र सहकार्य हुने हो वा होइन यकिन पनि थिएन।

चीनको वुहानबाट ४ फागुन बिहान ३ बजेर २० मिनेटमा ए नाइन एन एएलवाई ३३०–२०० कलसाइनको नेपाल वायुसेवा निगमको एयरबस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण ग¥यो। चालकदलका नौ सदस्य सहित सेनाका सहसेनानी (क्याप्टेन) डा. प्राकृत क्षेत्रीको नेतृत्वमा चार जनाको सैनिक टोली चीनबाट नेपालीहरूको उद्धारका लागि खटिएको थियो।

यसरी चीन जाने चालक दलका सदस्य र सैनिक टोलीका लागि व्यक्तिगत सुरक्षा यन्त्र (पीपीई) को व्यवस्था गरिएको थियो। विमानको बनोटको अध्ययनमा चालक दलका सदस्य बस्ने ककपिटमा बाहिरको संसर्ग नहुने देखिएपछि उनीहरूलाई बाहिर नआउने गरी आवश्यक पहिरनको व्यवस्था गरिएको थियो। चीनमा उद्धारका लागि खटिएको यो टोली काठमाडौंमा विमानमा बसेदेखि यही आएर मात्र ओर्लिएको थियो।

विमान अवतरण लगत्तै पाँचवटा बस र एउटा एम्बुलेन्स पहिले नै तयारी अवस्थामा थिए। कोरोनाभाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित रहेको वुहानबाट उद्धार गरिएका १ सय ७५ जनालाई विमानबाट ओर्लिएपछि पाँच तहमा जाँच गरेर मात्रै खरिपाटी लैजानु थियो।

यसका लागि विमानमै चीन गएको सैनिक चिकित्सक टोली खटियो। यसअघि नेपाली सेनाका मेजर विकल श्रेष्ठ र प्रहरीका डीएसपी विवेकराज भण्डारीको टोली विमानस्थलमै सक्रिय थियो।

अपरेशनका लागि सबैको जिम्मेवारी तोकिएको थियो। मेजर विकल र डीएसपी विवेकलाई उद्धारमा जाने विमान सहित चालकदलका सदस्यहरूको व्यवस्थापन सहितको जिम्मेवारी थियो। यस्तै उनीहरूलाई चीनबाट ल्याइसकेपछि विमानस्थलबाट बाहिर ल्याउनेसम्मको काम यी दुई अधिकारीको काँधमा थियो।

“चीनबाट आउने कसैमा संक्रमण देखिए तत्काल अस्पताल लैजान एउटा एम्बुलेन्स विमानको पछिल्लो ढोकामा तैनाथ गरियो,” मेजर नवीनले भने, “विमान चीन पठाउनु अघि नै त्यसको विस्तृत अध्ययन भएको थियो।”

उनीहरूलाई विमानबाट निकालेपछि पाँच चरणमा जाँच गरियो। विमानस्थलमा तयारी अवस्थामा राखिएका पाँचवटा बसमा बसाएर उनीहरूलाई खरिपाटी लगियो। सेनाको वीरदल गणका गणपति शिव पौडेलको नेतृत्वमा सैनिक टोलीले यी पाँच बसलाई सुरक्षित रूपमा खरिपाटीसम्म पुर्‍याउने जिम्मेवारी पाएको थियो।

महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानलाई क्वारेन्टाइन क्षेत्र सहितको सुरक्षा जिम्मेवारी थियो। एसपी प्रधानले यसका लागि बेग्लै सुरक्षा योजना बनाएका थिए। यस्तै सशस्त्रको गुह्येश्वरी गण भक्तपुरका गणपति एसपी विश्व भट्टराईलाई क्वारेन्टाइन क्षेत्रको सुरक्षाको जिम्मेवारी थियो।

“बिहान ६ बजे १ सय ७५ जना बोकेका पाँचवटा बस क्वारेन्टाइनमा प्रवेश गरे”, मेजर नवीनले भने, “मैले बाहिर सम्हालें प्रमुख सेनानी मुन थापाले क्वारेन्टाइन भित्रसम्म गएर चीनबाट आएकाहरूको जाँच सहित आवश्यक व्यवस्था मिलाउनु भयो।” यस्तै हाइजिन एक्सपर्ट कृपा थापा मगरले आवश्यक सबै प्रबन्ध मिलाइन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट आएका १० जना स्वास्थ्यकर्मीहरूको टोलीद्वारा क्वारेन्टाइनमा ल्याइएका सबैको घाँटी र नाकको स्वाब परीक्षणका लागि लिइयो। जसको परीक्षण प्रतिवेदन नेगेटिभ आयो। यसले क्वारेन्टाइनको सुरक्षालाई थप बल पुगेको मेजर नवीनको अनुभव छ।

अपरेशन कोभिड–१९ नेपालका सदस्यहरु (बायाँ) बाट चिकित्सक डा. डीएसपी बिबेक राजभण्डारी, मेजर बिकल श्रेष्ठ, मेजर नवीन  फुयाँल, प्रमुख सेनानी मुन थापा र हाइजिन विज्ञ कृपा थापा मगर खरिपाटी क्वारेन्टाइन बाहिर।

यसरी तयार भयो क्वारेन्टाइन
प्रधानमन्त्री केपी शर्मा ओली आफैले चीनबाट नेपालीको उद्धारका लागि पहल गरेका थिए। यसका लागि पटक–पटक बालुवाटारस्थित उनको सरकारी निवासमा सरोकारवाला सहितको बैठक बसेको थियो। यही बैठकमा चीनबाट उद्धार हुनेहरूका लागि राख्न क्वारेन्टाइनको खोजी शुरु भयो।

मुख्य सचिव लोकदर्शन रेग्मीको नेतृत्वमा रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य र शहरी विकास मन्त्रालयका प्रतिनिधि सहितले उचित स्थान खोज्न थाले। यसरी खोज्दा सेनाको शिवपुरीस्थित अलो क्याम्प, इचंगुनारायणस्थित सरकारी भवन, नगरकोट र खरिपाटीमा रहेका सरकारी स्वामित्वका भवनहरू हेरिए। यी सबै खोजीमा मेजर नवीनसँगै थिए। अन्त्यमा खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र भवन सबैभन्दा उपयुक्त रहेको निर्णय भयो।

बाक्लो बस्तीभन्दा पर पाँचवटा भवन सहितको यो केन्द्र क्वारेन्टाइनका लागि धेरै उपयुक्त थियो। तर, यही संरचनामा क्वारेन्टाइन बनाउन सम्भव थिएन। यसका लागि मेजर नवीन नेतृत्वको टोलीले क्वारेन्टाइनका लागि आवश्यक सबै विवरण उपलब्ध गरायो।

प्राधिकरणको तालिम केन्द्रलाई क्वारेन्टाइनमा रूपान्तरण गर्ने जिम्मेवारी शहरी विकास मन्त्रालयलाई दिइयो। यो क्वारेन्टाइनमा राखिनेहरूका लागि बेड, खानपिन, खेलकुद र मनोरञ्जन तथा सरसफाइका लागि आवश्यक पूर्वाधार तीन दिनमा तयार भयो।

“चारवटा भवनमा चीनबाट आउनुभएकाहरू बस्नुभयो, एउटा भवनमा चिकित्सक टोली बसेको थियो,” मेजर नवीनले भने, “यो क्वारेन्टाइन पूर्वी एशियामै उत्कृष्टमध्ये एक बन्न पुग्यो।”

क्वारेन्टाइनमा खानाको प्रबन्ध कार्की क्याटेरिङले लियो। यसका लागि उनीहरूलाई समेत तालिम दिइएको थियो। “हामीले शुरुमा ४० जनालाई तलिम दिएका थियौं,” मेजर नवीनले भने, “यो कारबाहीमा सहभागी हुने सबैलाई तालिम आवश्यक थियो, कतिबेला के गर्ने र कसले गर्ने अनि कसरी गर्ने भन्ने मुख्य थियो।”

क्वारेन्टाइनमा चार पटक खाना, खेल्नका लागि क्यारेमबोर्ड, क्रिकेट, ब्याडमिन्टन र भलिबल र इन्टरनेटको सुविधा उपलब्ध थियो। इन्टरनेट नेपाल टेलिकमले निशुल्क उपलब्ध गराएको थियो।

अपरेशनमा खटिएको स्वास्थ्य मन्त्रालय सहितको समुह

उद्धार अघिको प्रसव
२६ मंसीरसम्म चीनमा एक प्रकारको निमोनियाको प्रकोप देखिएको खबर बाहिरिएको थियो। सेनाको एउटा एकाइ र स्वास्थ्य मन्त्रालयको एउटा महाशाखामा यस विषयमा त्यही दिनबाट चर्चा हुन शुरु भयो। चीनमा यो रोगको प्रकोप बढ्दै गयो । नेपालसँग सीमा जोडिएको चीन र त्यहाँबाट नेपाल आउने पर्यटकको बढ्दो घनत्वका कारणले नेपाल सरकार र सेनाका अधिकारीहरूलाई पिरोल्न थालिसकेको थियो।

सैनिक स्वास्थ्य महानिर्देशनालयमा त्यसपछि हरेक दिन नेपालमा पनि चीनमा फैलिएको रोगको प्रकोप देखिए के गर्ने भन्ने विषयमा छलफल शुरु भयो। चिनियाँ अधिकारीहरूले २२ पुसमा चीनमा फैलिएको संक्रमण कोरोना भएको सार्वजनिक गरे। यसबाट सबैभन्दा प्रभावित क्षेत्र वुहान भएको निक्र्योल भयो।

विश्व स्वास्थ्य संगठनले १६ माघमा नागरिक स्वास्थ्य सरोकारका लागि स्वास्थ्य संकटकालको घोषणा गर्‍यो। यसअघि नै वुहानमा रहेका नेपालीहरूले फिर्ता आउनका लागि पहल गरिदिन नेपाली दूतावाससहित सरकारका निकायमा पहल गरिरहेका थिए।

१८ माघमा स्वास्थ्य मन्त्रालयको हेल्थ इमरजेन्सी अपरेशन सेन्टरमा नेपाली सेनाको प्रतिनिधित्व गरिरहेका मेजर नवीनलाई सैनिक मुख्यालयमा बोलाइयो। सेनाका बलाधिकृत रथी शरद गिरी र चिकित्सक प्राविधिक सहायक रथी सुनिलकुमार सिंहसँगै नवीन सहितको एउटा टोली सरासर प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटार गयो।

अपरेशनको नेतृत्व गरेका चिकित्सक डा. मेजर नवीन फुयाँल

त्यहाँ मुख्य सचिव लोकदर्शन रेग्मी सहित सरकारका मन्त्री र अन्य निकायका पदाधिकारी उपस्थित थिए। यो बैठक चीनको वुहानबाट नेपालीहरूको उद्धारका विषयमा केन्द्रित थियो। चीनबाट उद्धार गर्न कुनै कठिनाइ नभएको धेरैले बताए। तर उनीहरूलाई नेपालमा ल्याउँदा कहाँ राख्ने, कसरी राख्ने र उनीहरूसँगै कोरोनाभाइरसको संक्रमण भित्रिने सम्भावनाको सामना कसरी गर्ने भन्ने विषयमा यो बैठकले केही निर्णय गर्न सकेन।

“नेपालीहरूलाई जसरी पनि नेपाल ल्याउने पहल गर्नुहोस्, यसको परिणाम तीन दिनमा आउनुपर्छ,” प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक अधिकारीले भने, “तर उहाँहरूलाई ल्याउने हो, संक्रमण होइन, यसमा विशेष ध्यान दिनुहोला।”

प्रधानमन्त्री ओलीको निवास बालुवाटारमा २१ माघमा फेरि अर्को बैठक बस्यो। यो बैठकमा सबै तयारी गर्न सकिने जानकारी दिइयो। यतिबेलासम्म क्वारेन्टाइन कहाँ राख्ने निर्णय भएको थिएन। खोजी जारी थियो। तर, यसबीच आन्तरिक र बाह्य रूपमा पनि सरकारलाई चीनबाट नेपालीको उद्धार गर्न दबाब बढेको थियो। यो बैठकमा सेनाका उपरथी प्रभुराम शर्माले सहभागिता जनाए।

उनका साथमा मेजर नवीन पनि थिए। प्रधानसेनापति पूर्णचन्द्र थापाले युद्धकार्य महानिर्देशक रहेका शर्मालाई सम्पूर्ण अपरेशनको जिम्मेवारी दिएका थिए। यो बैठकले चीनको वुहानमा रहेका नेपालीहरूको उद्धार गर्ने निर्णय लियो। तर, त्यसका लागि आवश्यक तयारीमा निकै कम समय थियो।

“सबैको सामूहिक प्रयास र तत्परताले हामी ३ फागुनमा उद्धारमा जान तयार भयौं,” मेजर नवीनले भने, “केही नीतिगत निर्णय र आवश्यक सामग्री उत्पादनमा सरकारको पहल यो अपरेशनमा देखिएको हो।”

उनका अनुसार क्वारेन्टाइनका लागि आवश्यक व्यक्तिगत सुरक्षा उपकरण, मास्क र औषधि तथा केमिकलहरू खोज्न निकै कठिन भएको थियो। नेपालमा उत्पादन नहुने यी वस्तुहरू जुटाउन सेनाले आफ्ना आपूर्तिकर्ताहरूलाई परिपत्र नै गर्नुपरेको थियो। उद्धार र उपचारमा संलग्न टोलीले स–सानो परिमाणमा यी सामग्री बजारबाट खरीद गरेको थियो।

सरकारले नीति नै बनाएर यस्तो अवस्थामा प्रमुख जिम्मेवार निकाय कुन हो भन्ने छुट्याएर सक्षम जनशक्ति उत्पादन गर्न आवश्यक रहेको यो घटनाले देखाएको छ।

देशमा प्रतिबद्ध संस्था नहुँदा यसपटक सुरुवातमा समस्या देखिएको थियो। तर, प्रधानमन्त्री आफैले नेतृत्व लिएका कारण सबैले त्यसलाई कमजोरी बन्न दिएनन्। यस्तै अन्तर्राष्ट्रिय विमानस्थलमै स्वास्थ्य जाँचमात्र होइन, एउटा मेडिकल टिम सहित आइसोलेसन कक्ष राख्न आवश्यक रहेको मेजर नवीनले बताए। यस्तै स्थलमार्गका प्रवेशद्वारमा समेत मेडिकल टिम आवश्यक छ।

“७ वटा प्रदेशमै नेशनल सेन्टर फर डिजिज कन्ट्रोलको आवश्यकता देखियो,” मेजर नवीनले भने, “सरुवा रोगको चुनौती छ, बिरामी कोही आए उसलाई शहर प्रवेशमै रोक्ने संयन्त्र समेत आवश्यक छ।”

प्रतिकृया दिनुहोस