ब्लग बुधबार, फागुन २१, २०७६

मनमोहन अधिकारी झुक्किंदा

भैरव रिसाल

मनमोहन अधिकारी झुक्किंदा
मनमोहन अधिकारी ।
भैरव रिसाल

मनमोहन अधिकारीसँग २००९ सालदेखि नै मेरो चिनजान थियो । त्यसै वर्ष नेपाल कम्युनिष्ट पार्टीको सदस्य भएको थिएँ म । उतिवेला संस्कृत छात्र संघमा आबद्ध थिएँ । संघमा मेरो सक्रियता देखेर कम्युनिष्ट पार्टीले सम्पर्क बढाएपछि समर्थक हुँदै सदस्य बनेको थिएँ । पार्टीमा लागेपछि सङ्गठन बनाउने, सदस्यहरूबाट लेबी रकम उठाउने जस्ता काममा सक्रिय हुन थालें ।

स्थापनाको चार वर्षपछि २०१० सालमा कम्युनिष्ट पार्टीको पहिलो महाधिवेशन भयो, जसबाट कमरेड अधिकारी महासचिव निर्वाचित भए । जेल तथा सिंहदरबार कब्जा गर्ने के.आई. सिंह काण्डसँग जोडेर सरकारले पार्टीलाई प्रतिबन्ध लगाएपछि हामीले भूमिगत रूपमा काम गर्न थाल्यौं ।

मनमोहन, पुष्पलाल श्रेष्ठ, कमर शाह, तुलसीलाल अमात्य, डी.पी. अधिकारी, शैलेन्द्रकुमार उपाध्यायहरू हामीलाई पढाउँथे । काठमाडौंका ठमेल, न्हैकन्तला, इटुम्बहाल लगायत ठाउँका ठूल्ठूला घरका बुइँगलमा पार्टीले कक्षा चलाउँथ्यो ।

२०१० सालमै पार्टीको काठमाडौं जिल्ला कमिटीको तीनदिने सम्मेलन आयोजना गरियो । सम्मेलन काठमाडौं म्हैपीस्थित एक किसानको घरमा भएको थियो । सम्मेलनमा पी.एन.राणा, अरबिन्द रिमाल, वासुदेव ढुङ्गाना, मथुराप्रसाद श्रेष्ठ, कुसुम श्रेष्ठ, रामेश्वरप्रसाद प्रधान, भुवन राणा, भरतराज जोशी, साधना प्रधान, साहना प्रधान, लक्ष्मीलाल हलुवाई लगायत धेरै जना थियौं ।

सम्मेलनमा सहभागी सबैलाई ओढ्ने आफैंले ल्याउन भनिएको थियो । सुत्न भने सुकुलको व्यवस्था थियो, सिरानीका लागि दुई वटा इँटा पाइने । राति एघार बजेसम्म सम्मेलन चल्थ्यो, त्यसपछि सुकुलमुनि इँटाको सिरानी राखेर मस्तसँग निदाउँथ्यौं । दिनमा एक छाक मासु पनि खान पाइन्थ्यो– झाेल हालेको राँगाको मासु र उसिना चामलको भात ।

म त्यो मासुको चोक्टा खान सक्दिनथें, झाेल भने काइदाको लाग्थ्यो । मनमोहनजी भन्थे, ‘काठमाडौंमा खसीको मासु कि पैसा हुनेले खान्छ कि मूर्खले खान्छ ।’ त्यतिवेला खसीको मासु एकपाउ (२०० ग्राम) को रु.१ थियो ।

त्यतिवेलाको कम्युनिष्ट आन्दोलनमा पार्टी सदस्य भएपछि अनुशासन र आचरण पालना गर्ने विषयमा कडिकडाउ हुन्थ्यो । पार्टीको जिम्मेवारीमा एउटा मुख्य काम त हुन्थ्यो नै, कथम् त्यो काम हुन सकेन भने त्यसको विकल्पमा के गर्ने भनेर पनि सोच्नुपर्ने पद्धति बसालिएको थियो ।

जसले काम पूरा गर्न र कार्यकर्ताको बुद्धि तिखार्न सघाउँथ्यो । यस्ता कल्पनाशीलताले कम्युनिष्ट अति सिपालु हुन्थ्यो । त्यसैले त एउटा कम्युनिष्ट कार्यकर्ता अरू पूँजीवादी पार्टीका दश जना कार्यकर्ता बराबर हुन्छ भनिन्थ्यो । २४ घण्टामा कम्तीमा तीन घण्टा पढ्नैपर्ने, पढेको पुस्तक वा विषयको रिपोर्ट गर्नैपर्ने । त्यो रिपोर्ट अरूलाई पढाउन प्रयोगमा आउँथ्यो ।

कमरेड साधनाले हाम्रो आतिथ्य सत्कार गर्नुभयो । चियापानका क्रममा मैले मनमोहनजीसँग विष्टको परिचय गराएँ । तर, कुरा गर्दै जाँदा कमरेड झुक्किएर पार्टीको गुप्त योजना र कार्यक्रम पो बताउन थाले । पञ्चायती शासनको वेला छ, सरकारी स्वामित्वकोे समाचार संस्थाको महाप्रबन्धकसामु मनमोहनजी भित्री कुरा खोल्दैछन् । म बडो असमञ्जसमा परें ।

एउटालाई अर्कै भन्ठानेपछि...

२०२७/२८ सालदेखि म पार्टीमा सक्रिय भइनँ । कमरेड मनमोहनजीसँग आक्कलझुक्कल भेटघाट भने भइरहन्थ्यो । म राष्ट्रिय समाचार समिति (रासस) मा काम गर्थें । २०४१ सालतिर रासस का महाप्रबन्धक राधेश्याम विष्टले मनमोहनजीसँग भेट्ने इच्छा व्यक्त गरेपछि हामी उनको घर विराटनगर गयौं । त्यसवेला टेलिफोन छ्यास्छ्यास्ती थिएन । हामी सम्पर्क र खबर नै नगरी गएका थियौं । धन्न भेट भयो ।

कमरेड साधनाले हाम्रो आतिथ्य सत्कार गर्नुभयो । चियापानका क्रममा मैले मनमोहनजीसँग विष्टको परिचय गराएँ । तर, कुरा गर्दै जाँदा कमरेड झुक्किएर पार्टीको गुप्त योजना र कार्यक्रम पो बताउन थाले । पञ्चायती शासनको वेला छ, सरकारी स्वामित्वकोे समाचार संस्थाको महाप्रबन्धकसामु मनमोहनजी भित्री कुरा खोल्दैछन् । म बडो असमञ्जसमा परें ।

मनमोहनजीले राधेश्याम विष्टलाई अंग्रेजी अखबार मदरल्याण्ड का सम्पादक–प्रकाशक मणिन्द्रराज श्रेष्ठ भन्ठानेछन् । निजी लगानीको त्यो अखबारमा कम्युनिष्ट पार्टीको समाचार महत्वसाथ छापिन्थ्यो । त्यही भएर मनमोहनजी बडो उत्साहित भएर बोलिरहेका थिए । पार्टीका गोप्य कुरा चुहाउलान् कि भन्ने पिरलो भयो । त्यत्रो ठूलो नेतालाई कोसँग के भन्ने, के नभन्ने थाहा नहोला भन्ने कसरी मान्नु ?

राधेश्यामजीलाई पनि पत्रकारिताको आचरण र मर्यादा राम्रै गरी थाहा थियो । कमरेड मनमोहनबाट जतिसुकै गुप्त कुरा थाहा पाए पनि उनले तत्कालीन सरकार वा दरबारसम्म नपुर्‍याउनेमा म पूरापूर विश्वस्त नै थिएँ । तैपनि के हो के हो भन्ने लागिरह्यो । धन्न त्यस्तो कुनै समस्या निम्तिएन ।

प्रतिकृया दिनुहोस