कला/साहित्य मंगलबार, फागुन २०, २०७६

हाम्रा गाईगाेरुका पूर्वज

कमल मादेन

हाम्रा गाईगाेरुका पूर्वज
तस्वीरः विकीमिडिया

भारत, उत्तरप्रदेशस्थित पिलीभित जिल्लाको पुरान्पुरमा गाईगोरुलाई पोन्वार भनिन्छ । यी गाईगोरुका टाउको र कान साना र घाँटी छोटो हुन्छ । आँखा ठूला र शरीर बलियो हुन्छ । पिलीभितसँग सीमा जोडिएका कारण नेपालका कञ्चनपुर, कैलाली जिल्लामा पनि पोन्वार गाईगोरु देखिएका थिए ।

सेतो र कालो रङका पोन्वार पहाड र तराईमा हुने गाईगोरुबीचको संसर्गबाट जन्मिएको वर्णसड्कर प्रजाति हो । यो प्रजातिका गाईगोरुमा हत्तपत्त रोगव्याधि नलाग्ने बताइन्छ ।

बाँके, बर्दिया र दाङमा खेरीगढ नामका गाई पाइएको देख्नेहरू अझै पनि छन् । तर, यो गाईको प्रजाति उत्तरप्रदेशकै अर्को सीमावर्ती जिल्ला लखिमपुर हुँदै नेपाल आइपुगेको हो । सेतो र खैरो रङका यी गाईगोरु पोन्वारभन्दा बलिया हुन्छन् । भारतको मधुवनी, दरभंगा र सीतामढी जिल्लामा पाइने बचौर नामका गाईगोरु मध्य–नेपालको तराईमा पनि पाइएका थिए।

हामीले हाम्रा ठानेका पोन्वार, खेरीगढ र बचौर जस्ता गाईगोरु कसरी नेपाल आइपुगे ? नेपालमा थप कति गाईगोरु छन्, तिनको पहिचान, रुपरङ, गुण के के हुन् ? उत्पत्तिस्थल कहाँ हो ? यी र यस्ता थुप्रै प्रश्नहरूको जवाफ पाइने पुस्तक हो, डोमेस्टिक एनिमल्स अफ नेपाल ।

इजरायलको हिब्रु युनिभर्सिटी अफ जेरुसेलमका प्राणीशास्त्रका प्राध्यापक हेल्मट इपिस्टिनद्वारा लिखित यो पुस्तक नयाँ भने होइन । न्यूयोर्कबाट सन् १९७७ मै प्रकाशित पुस्तकका अनुसार इपिस्टिन १९६८ र १९७१ मा नेपालमा घरपालुवा चौपायाको अध्ययन गर्न आएका थिए । उनी काठमाडौं, पोखरा, दोलखा, जुम्ला, इलाम लगायत तराई, पहाडका एक दर्जन जति जिल्ला पुगे ।

नेपाल यात्राका क्रममा यी प्राणीशास्त्रीले तथ्यतथ्यांक संकलनका साथै गाईगोरु, चौंरी, याक, भैंसी, भेडा, बाख्रा, सुँगुर, घोडा, गधा, खच्चड र कुकुरका जम्मा ११२ वटा श्यामश्वेत तस्वीर पनि खिचे र ती पुस्तकमा समाविष्ट छन् । तीमध्ये चौंरी र गाईगोरुका मात्रै २९ वटा तस्वीर छन् । यी बाहेक इपिस्टिनले नेपाल, चीन र अफ्रिकासहित घरपालुवा चौपाया सम्बन्धी जम्मा तीन पुस्तक लेखेको पाइन्छ ।

नेपालका पूर्वी पहाडी तथा हिमाली जिल्लामा सिरी नामका गाईगोरु पाइन्छन् । यी गाईगोरुको उद्विकास भूटानमा भएको हो । सामान्यतया कालो, सेतो वा पूरै कालो हुने सिरीका शरीरमा लामा–लामा रौं हुन्छन् । सिरी र नेपालकै पहाडी भेगमा पाइने काला गाईगोरुको वर्णसड्कर हो, कच्चा सिरी । कच्चा सिरी सिरीभन्दा केही सानो हुन्छ ।

चौपायाका पूर्वज

ओरक्सलाई गाईगोरुको पूर्वज मानिन्छ, जसको वैज्ञानिक नाम बस प्रिमिजिनियस हो । अध्ययनका अनुसार, मध्य पोल्याण्डमा सन् १६२७ सम्म यो चौपाया देखिएको थियो ।

करीब १० हजार वर्षअघि युरोपमा, ८ हजार वर्षअघि उत्तर अफ्रिकामा र ६ हजार वर्षअघि दक्षिणपश्चिम एशिया र भारतीय उपमहाद्वीपमा यसका उपप्रजातिहरू क्रमशः बस प्रिमिजिनियस प्रिमिजिनियस, बस प्रिमिजिनियस अफ्रिकानस् र बस प्रिमिजिनियस नामाडिकसको विकास भयो । र, सोही समयदेखि नै पाल्न शुरु गरियो ।

एकै जाति वा उपप्रजाति अन्तर्गतका जन्तु पनि भिन्न भूगोल र वातावरणमा भिन्न स्वभाव र स्वरूपका हुन्छन् । यी भिन्न जन्तुको संसर्गबाट वर्णसड्करको विकास हुन्छ । यस्ता वर्णसड्कर कुनै ठाउँविशेषमा फैलिएका हुन्छन् ।

नेपालका पूर्वी पहाडी तथा हिमाली जिल्लामा सिरी नामका गाईगोरु पाइन्छन् । यी गाईगोरुको उद्विकास भूटानमा भएको हो । सामान्यतया कालो, सेतो वा पूरै कालो हुने सिरीका शरीरमा लामा–लामा रौं हुन्छन् । सिरी र नेपालकै पहाडी भेगमा पाइने काला गाईगोरुको वर्णसड्कर हो, कच्चा सिरी । कच्चा सिरी सिरीभन्दा केही सानो हुन्छ ।

महाभारत पर्वत शृंखलामा पाइने गाईगोरु काला र राता हुन्छन् । यी गाईगोरु भारत, बिहारका गाईगोरुसँग धेरै हदसम्म मिल्दाजुल्दा देखिन्छन् ।

अछाम जिल्लामा पाइने सानो गाईलाई अछामी गाई भनिन्छ । करीब ९० सेन्टिमिटर अग्लो र १०० देखि १२० केजी तौलको अछामी गाईलाई संसारकै सानो गाई पनि भनिन्छ । अछामी गोरुको उँचाइ भने करीब १०० सेन्टिमिटर र तौल १५० केजीसम्म हुन्छ ।

पाँच दशकअघि इपिस्टिनले देखेको नेपालका घरपालुवा चौपाया आज कुन अवस्थामा छन् ? कति लोप भए ? विदेशबाट भित्रिएका चौपाया वा पशुले यहाँका परम्परागत चौपाया वर्णसड्कर संकटमा परेका छन् वा विस्थापित भइसके, यसको जवाफ चाहिएको छ । अर्थात् गएको पाँच दशकको घरपालुवा चौपायाबारे अध्ययनसहितको नयाँ पुस्तकको खाँचो छ ।

 

प्रतिकृया दिनुहोस