रिपोर्ट आइतबार, फागुन १८, २०७६

कोरोनाभाइरसको प्रभावले थलिंदै अर्थतन्त्र

रमेश कुमार

कोरोनाभाइरसको प्रभावले थलिंदै अर्थतन्त्र

११ फागुनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले कोरोना भाइरस (कोभिड–१९) सँग जुध्न चीनले गणतन्त्रको स्थापनायताकै कठिन संघर्ष गर्नुपरेको बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनायो ।

चिनफिङले ‘सार्वजनिक स्वास्थ्यको सङ्कट’ भनी उल्लेख गरेको कोभिड–१९ चीनबाट फैलिएर दक्षिण कोरिया, इरानसहित चार दर्जन देशमा पुगिसकेको छ । महामारीका रूपमा फैलिरहेको यो भाइरसका कारण अहिलेसम्म २८०० भन्दा धेरैले ज्यान गुमाइसकेका छन् भने ८२ हजारभन्दा बढी संक्रमित छन् ।

मानव जीवनमा जोखिमसँगै यो सङ्कटले विश्व अर्थतन्त्रको संरचनालाई नै खल्बल्याउने आकलन गरिएको छ । औद्योगिक उत्पादनको ‘फ्याक्ट्री’ भनी चिनिएको चीनको अर्थतन्त्र शिथिल हुँदा ‘ग्लोबल भ्यालु चेन’ नै विचलनमा परेको विश्लेषण गरिएको छ ।

संसारभरिका ठूला शेयर बजारमा गिरावट आएको छ । विश्व अर्थतन्त्रको प्रक्षेपण र विश्लेषण गर्ने संस्था अक्सफोर्ड इकोनोमिक्सले कोभिड–१९ ले सन् २०२० को विश्वको आर्थिक वृद्धिमा कम्तीमा ०.५ प्रतिशत विन्दु असर पार्ने प्रक्षेपण गरेको छ । यो भाइरसको संक्रमण चीनमा जस्तै अन्यत्र पनि फैलिए १.५ प्रतिशत विन्दुसम्म असर पार्ने संस्थाको आकलन छ ।

कोरोनाको डरलाग्दो पक्ष के हो भने, सार्वजनिक स्वास्थ्यको यो सङ्कटको समाधान कसरी हुन्छ भन्ने अझैसम्म अनिश्चित छ । त्यसैले आर्थिक क्षति पनि कति गहिरो हुन्छ भन्ने यकिन छैन ।

यो भाइरसको त्रासदीको सीधा असर चिनियाँ कम्पनीले निर्माण गरिरहेका नेपालका कैयौं जलविद्युत् आयोजना र विमानस्थलमा पर्दै कतिपय परियोजनाको काम रोकिएका वा सुस्त भएका छन् ।

नेपाल अहिलेसम्म कोभिड–१९ बाट सिर्जित मानवीय क्षतिबाट जोगिन सके पनि यसले अर्थतन्त्रमा चौतर्फी असर पार्ने सङ्केतहरू देखा परिसकेका छन् । तर, सरकारले सम्भावित भयावह सङ्कटसँग जुध्न आवश्यक तयारी र सतर्कता अपनाएको छैन ।

अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना सङ्कटलाई नै सङ्केत गर्दै क्षेत्रीय र वैश्विक कारणले यो वर्षको आर्थिक वृद्धिदरमा चाप पर्ने बताइसकेका छन् । नेपाल राष्ट्र ब्याङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालले पनि कोरोनाका कारण मूल्यवृद्धिमा चाप परेको बताएका छन् । चीनसँग जोडिएको वैदेशिक व्यापार, पर्यटन, विकास निर्माणका आयोजनामा असर देखिन थालिसकेका छन् ।

यो भाइरसको त्रासदीको सीधा असर चिनियाँ कम्पनीले निर्माण गरिरहेका नेपालका कैयौं जलविद्युत् आयोजना र विमानस्थलमा पर्दै कतिपय परियोजनाको काम रोकिएका वा सुस्त भएका छन् ।

त्यस्तै, चिनियाँसहित तेस्रो मुलुकका पर्यटकको आगमनमा जनवरी यता ठूलो गिरावट आएको छ, जसका कारण होटलहरूको बुकिङ ह्वात्तै झ्रेको व्यवसायीहरूले बताएका छन् । यस्तै, चीनबाट आयात ठप्प छ । चीनका उद्योग र अन्तर्राष्ट्रिय सीमा बन्द हुँदा ‘अन्तर्राष्ट्रिय मूल्य शृङ्खला’ मै परेको प्रभावको असर भारत हुँदै नेपालमा भित्रिने आकलन गरिएको छ ।

जलविद्युत्मा ‘फोर्स मेजर’

चीनको वुहानमा डिसेम्बरको अन्त्यमा देखापरेको कोरोना भाइरसको प्रकोपले नेपालका खोलानालामा बनिरहेका कैयौं जलविद्युत् परियोजनालाई थला पार्ने सङ्केत देखिएको छ । जस्तै, १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको सिभिल र हाइड्रो मेकानिकल काम गरिरहेको चिनियाँ कम्पनी सीडब्लुईले ‘फोर्स मेजर’ अर्थात् काबु बाहिरको परिस्थिति देखाएर काम रोकेको छ ।

आयोजना प्रमुख छवि गैरेका अनुसार, चिनियाँ नयाँ वर्ष मनाउन गएका कम्पनीका करीब ७० जना दक्ष कामदार फर्किएका छैनन् । थप २० जना दक्ष जनशक्ति ल्याउने काम पनि रोकिएको छ । यसै पनि गएको साउनको पहिरोबाट करीब ६ महीना काम रोकिएको यो परियोजनाको आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्य पूरा नहुने निश्चितप्रायः छ ।

सीडब्लुईले काम रोकेपछि इलेक्ट्रोमेकानिकलको जिम्मा लिएको भारतीय कम्पनी भोईथले पनि ‘फोर्स मेजर’ कै सूचना परियोजना व्यवस्थापनलाई दिइसकेको छ । यो परियोजना बन्न एक दिन ढिला हुनुको अर्थ त्यहाँबाट उत्पादन हुने बिजुलीको दैनिक करीब रु.१ करोड गुम्नु हो ।

असारमा सक्ने तर्खरमा रहेको रसुवामै निर्माणाधीन १४.८ मेगावाटको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनामा टर्वाइनसहितका उपकरणहरू जडान हुनै लागेका थिए । तर, आयोजना निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चोङसाङका प्राविधिक र अन्य कर्मचारी नयाँ वर्षको विदा मनाएर नफर्किएपछि काम रोकिएको छ ।

परियोजनाका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ काम अगाडि बढाउन नसके यो परियोजना असारमा पूरा गर्न कठिन पर्ने बताउँछन् । सोही कम्पनीले बनाइरहेको ४२ मेगावाटको तल्लो साञ्जेन परियोजना पनि रोकिएको छ ।

कोरोनाको सबैभन्दा ठूलो असर चाहिं रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ बी परियोजनामा परेको छ । चिनियाँ नयाँ वर्ष मनाउन पुसको शुरूमा गएका पाँच दर्जन जति प्राविधिक तथा कामदार फर्किन नसकेपछि चिनियाँ कम्पनी सिचुवान आनेईले काबु बाहिरको परिस्थिति भन्दै निर्माण रोकेको छ ।

३.८ किमी लामो सुरुङको काम आधा भए पनि अहिले रोकिएको र इलेक्ट्रोमेकानिकलका उपकरण आउन नसक्दा पावरहाउसको काम पनि रोकिएको परियोजनाका प्रबन्ध सञ्चालक मोहन गौतम बताउँछन् ।

आगामी पुससम्ममा निर्माण गरिसक्ने लक्ष्य राखिएको १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाका इन्जिनियर, सुपरभाइजर पनि चीनबाट फर्किएका छैनन् ।

परियोजनाको गति सुस्त भएपछि तोकिएको अवधिमा परियोजना नसकिने निश्चितप्रायः छ । चिनियाँ व्यवस्थापक र प्राविधिक नफर्किएपछि १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना र ४५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजनामा पनि असर परेको छ ।

कोरोनाको असरका कारण निजी क्षेत्रले निर्माण गरिरहेका विद्युत् आयोजनाहरूको गति पनि बिथोलिएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (ईप्पान) का अध्यक्ष शैलेन्द्र गुरागाईका अनुसार, कैयौं आयोजनामा चिनियाँ कामदारको अभाव छ भने कतिपयमा चीनबाट टर्वाइनसहितका उपकरण आउन सकेका छैनन् ।

जसका कारण निजी क्षेत्रका निर्माणाधीन तथा काम सकिने अवस्थामा पुगेका दुई दर्जन परियोजनाको काम प्रभावित भएको छ । “निर्माण सकिन लागेका परियोजनाहरूमा आवश्यक उपकरण नआउँदा आगामी असार अगावै उत्पादन शुरू गर्ने लक्ष्य पर धकेलिने देखिएको छ”, उनी भन्छन् ।

बुटवल पावर कम्पनीले बनाइरहेको २५ मेगावाटको न्यादी जलविद्युत् आयोजना कोरोनाकै कारण पछाडि धकेलिने देखिएको छ । चिनियाँ कम्पनीले बनाइरहेको यो परियोजना आगामी असारसम्ममा उत्पादन थाल्ने भनिए पनि चिनियाँ निर्माण व्यवस्थापक नआएपछि काम रोकिएको हो ।

दोलखाको सिंगटीखोला, भोजपुरको टक्सार पिखुवा खोला आयोजनाको काम पनि कोरोनाको प्रभावले ठप्प भएको छ । वर्षायाममा जलविद्युत् आयोजनामा धेरै काम हुँदैन । जसका कारण, हिउँदका केही महीना काम अवरुद्ध हुँदा पनि ठूलो नोक्सानी हुने अध्यक्ष गुरागाई बताउँछन् ।

कोरोना संक्रमणको असर चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले निर्माण गरिरहेको भैरहवा विमानस्थलमा पनि परेको छ । आगामी मार्च अन्तिमसम्ममा सक्ने लक्ष्य राखिएको विमानस्थलको काम चीनबाट प्राविधिक तथा उपकरण आउन नसकेपछि थप पछाडि धकेलिने सम्भावना छ ।

“काम हुने मुख्य मौसम हिउँदमै अवरोध भएपछि निर्माणाधीन परियोजना कम्तीमा एक वर्ष पर धकेलिएका छन्” उनी भन्छन् । परियोजना ढिलो हुँदा खर्च बढ्ने, ब्याङ्कको ब्याज तिर्न समस्या पर्ने त छँदैछ, त्यहाँबाट उत्पादन हुने बिजुलीको आम्दानी समेत गुम्छ ।

सरकारले चालु आर्थिक वर्षमा १००० मेगावाट थप विद्युत् उत्पादन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । तर पछिल्लो व्यवधानका कारण ४०० मेगावाट हाराहारीमा मात्रै उत्पादन हुने देखिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी बताउँछन् ।

विद्युत् आयोजनाका अधिकांश उपकरण चीनमै बन्ने भए पनि कोरोना प्रकोपका कारण ती सामान उतै अड्किंदा परियोजनाहरूको निर्माण अनिश्चित बनेको हो ।

विद्युत् आयोजनामा मात्र होइन, प्रसारण लाइन निर्माण तथा वितरण प्रणालीका उपकरण खरीदमा पनि व्यवधान उत्पन्न भएको छ । प्राधिकरणको ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेका अनुसार, पावर ट्रान्सफर्मर खरीदका लागि निरीक्षण गर्न चीनमा प्राविधिक पठाउनै सकिएको छैन ।

यस्तै, प्राधिकरणले चीनमा ट्रान्सफर्मरसहितका विभिन्न उपकरण ल्याउन गरेको ‘अर्डर’ अनुसारको आयात पनि रोकिएको छ । उता, त्रिशूली ३ बी र चिलिमे हब जोडिने तथा भरतपुर–बर्दघाट प्रसारण लाइनको निर्माण कार्य पनि सामग्री र कामदार अभावले सुस्त छ ।

चार पटक म्याद थपिसकिएको यो परियोजनामा धावनमार्ग र टर्मिनल भवनका उपकरण चीनबाट ल्याएर जडान गर्न बाँकी छ ।

ढल्केबर–मुजफ्फरपुर डबल सर्किट ४०० केभी प्रसारण लाइन अन्तर्गत स्टेशन परीक्षणका लागि पनि चिनियाँ प्राविधिक आउन नपाउँदा काम रोकिएको छ । यो काम रोकिए नेपाल–भारतबीच ठूलो परिमाणको विद्युत् आयात–निर्यातमा समस्या पर्छ ।

कोरोना संक्रमणको असर चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले निर्माण गरिरहेको भैरहवा विमानस्थलमा पनि परेको छ । आगामी मार्च अन्तिमसम्ममा सक्ने लक्ष्य राखिएको विमानस्थलको काम चीनबाट प्राविधिक तथा उपकरण आउन नसकेपछि थप पछाडि धकेलिने सम्भावना छ ।

चार पटक म्याद थपिसकिएको यो परियोजनामा धावनमार्ग र टर्मिनल भवनका उपकरण चीनबाट ल्याएर जडान गर्न बाँकी छ ।

चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङले निर्माण गरिरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको गतिमा पनि कोरोनाले व्यवधान पुर्‍याएको छ । चीन गएका कामदार नफर्किएको तथा नयाँ कामदार नआएकाले निर्माण सुस्त भएको हो ।

व्यापारमा अवरोध, पर्यटनमा सङ्कट

कोरोना भाइरसको जोखिम बढेपछि चीन जोड्ने प्रमुख व्यापारिक नाका केरुङ गएको १६ माघदेखि ठप्प छ । तातोपानी नाका पनि एक महीनादेखि बन्द छ । नाका बन्द गरिनुअघि पनि चिनियाँ नयाँ वर्ष परेकाले आयात सुस्त थियो । यसले बजारमा चीनबाट आउने सामग्रीको अभाव हुन थालेको व्यवसायीहरूको दाबी छ ।

चीनबाट वर्षेनि रु.२ अर्बको सामान आयात हुन्छ, जसमा मुख्यतया विद्युतीय सामग्री, लत्ताकपडा, जुत्ताचप्पल, मेसिनरी औजार आदि पर्छन् । नेपाल सीमापार व्यापार संघका अध्यक्ष बच्चु पौडेल आयात ठप्प हुँदा गर्मी मौसममा ती वस्तुहरूको अभाव हुने देख्छन् ।

“चीनबाट अर्डर दिएर सामान ल्याउन दुई/तीन महीना लाग्छ, चीनका उद्योगले उत्पादन पनि रोकेकाले बजारको आपूर्ति प्रणालीमा केही महीनासम्मै असर पर्न सक्छ”, उनी भन्छन् ।

उनका अनुसार, करीब १५० कन्टेनर स्याउ चीनतिरै अड्किएका छन् भने चीनबाट भारत हुँदै आउने कन्टेनर पनि विशाखापट्टनम् बन्दरगाहमै अड्किएको छ । नेपाल फ्रेट फरवार्ड एशोसिएसनका महासचिव सुन्दरप्रसाद दाहालका अनुसार, चीनबाट नयाँ सामान ल्याउने अर्डर गत फेब्रुअरीको शुरूआतदेखि नै रोकिएको छ ।

चीनबाट आउने मेडिकल मास्क, ह्यान्ड स्यानिटाइजर लगायतका सामग्रीको पनि अभाव शुरू भएको केमिकल तथा मेडिकल सप्लायर्स एशोसिएसनका अध्यक्ष अर्जुन रायमाझी बताउँछन् । उनका अनुसार, मासिक २० लाख आवश्यक पर्ने मास्कको आयात ठप्प हुँदा बजारमा अभाव भएको छ ।

“चीनबाट रु.४ मै आयात हुने मास्क भारतबाट आयात गर्दा भारु १५.५० (नेरु.२५) तिर्नुपर्छ, त्यसैले बजारमा मास्क भित्रिएको छैन”, उनी भन्छन् ।

नेपाल फर्मास्युटिकल्स एशोसिएसनका पूर्व अध्यक्ष दीपक दाहालका अनुसार, कोरोना प्रकोपका कारण औषधिको कच्चा पदार्थ उत्पादन रोकिएपछि भारतमा औषधिको लागत ५० प्रतिशत महँगो हुने आकलन गरिएको छ ।

औषधिको कच्चा पदार्थमा भारत चीनसँग आश्रित छ । जसका कारण नेपालमा आयात हुने औषधिको मूल्य आकाशिने सम्भावना छ । “दुई–तीन महीनासम्म पुग्ने गरी औषधि मौज्दात रहेकाले तत्काल मूल्य बढ्दैन, तर त्यसपछि आयात हुने औषधिको मूल्य बढ्छ”, दाहाल भन्छन् ।

कोरोना महामारीको प्रत्यक्ष असर भने नेपालको पर्यटन क्षेत्रले भोगिरहेको छ । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कम्तीमा ३ प्रतिशत योगदान गर्ने पर्यटन क्षेत्र पछिल्लो समय थलिन थालेको छ ।

सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरे पनि कोरोना संक्रमणको त्रासले वर्षको शुरूआतदेखि नै असर पारिरहेको छ । ठमेलमा पर्यटक लक्षित सामग्री बिक्री गर्ने कैयौं पसल र केही बारहरू बन्द भइसकेको नेपाल उद्योग वाणिज्य महासंघको निर्यात परिषद्का अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठ बताउँछन् ।

होटल संघ नेपाल (हान) का कार्यकारी सदस्य तथा सांग्रिला होटलका कार्यकारी प्रमुख प्रवीण पाण्डेका अनुसार, कोरोनाको त्रासका कारण पर्यटक घटेकाले आगामी अप्रिलसम्मका लागि गरिएको बुकिङ धमाधम रद्द भइरहेको छ ।

“विगतको अनुभव हेर्दा अहिले होटल अकुपेन्सी (भरिने दर) कम्तीमा पनि ६० देखि ७० प्रतिशत हुनुपर्ने हो, तर १० देखि २५ प्रतिशत मात्र छ”, उनी भन्छन् ।

नेपालमा भारतीयपछि सबैभन्दा बढी पर्यटक चिनियाँ नै आउँछन् । सन् २०१९ मा नेपाल आएका ११ लाख ९७ हजार पर्यटकमध्ये चिनियाँ मात्रै १४ प्रतिशत थिए । चिनियाँ पर्यटकको संख्या घट्दा नै नेपालको पर्यटन क्षेत्र धर्मराउन थालिसकेको बताइन्छ ।

कोरोना सङ्कटपछि चीनबाट नेपाल आउने सिचुआन र तिब्बत एअरलाइन्स तथा नेपालबाट चीन जाने हिमालय एअरलाइन्सको उडान पूर्ण रूपमा ठप्प भएको छ ।

चीनका विभिन्न शहरबाट हुने साताको ६५ वटा उडान गत सातादेखि कटौती भएर जम्मा आठ वटामा झ्रेका छन् । कोरिया र जापानका गरी करीब ६० हजार पर्यटक नेपाल आउँछन् । ती मुलुकमा पनि कोरोना सङ्कट शुरू भएकाले तत्काललाई पर्यटक आउने सम्भावना कम छ ।

सन् २०१९ को जनवरीमा ८१ हजार पर्यटक नेपाल भित्रिएकोमा यो वर्षको जनवरीमा ६७ हजार मात्रै पर्यटक भित्रिएका छन् । फेब्रुअरीमा त्यो संख्या अझ् घटेको आकलन छ ।

प्रमुख पर्यटकीय स्थल ठमेलमा पर्यटक नहुँदा होटल, रेस्टुरेन्ट रित्ता र पस्मिना, हस्तकलाका सामग्री आदि बिक्री गर्ने पसलहरू सङ्कटमा पर्न थालेका छन् ।

नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) का पूर्व अध्यक्ष सीएन पाण्डेका अनुसार, चिनियाँ पर्यटक मात्र नभएर तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या पनि घटिरहेको छ । उनका अनुसार, कोरोना चीनबाट फैलिएर कोरिया, इरान लगायतका देशमा समेत पुगेकाले तेस्रो मुलुकका पर्यटक समेत त्रस्त भएर बुकिङ रद्द गरिरहेका छन् ।

कोरोनाका कारण संसारभरिको आवागमन दर घटिरहेको र एअरलाइन्सहरूले उडान स्थगित गरिरहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाउँदै आएका छन् । सन् २०२० को जनवरीमा पर्यटकको आगमन गएको वर्षको भन्दा घटेको छ ।

सन् २०१९ को जनवरीमा ८१ हजार पर्यटक नेपाल भित्रिएकोमा यो वर्षको जनवरीमा ६७ हजार मात्रै पर्यटक भित्रिएका छन् । फेब्रुअरीमा त्यो संख्या अझ् घटेको आकलन छ ।

पर्यटक नआएर बुकिङ रद्द भएपछि होटलहरूको आम्दानी घट्छ, यसले ब्याङ्कहरूको रकम तिर्ने क्षमता कमजोर हुन्छ । ब्याङ्कले ऋणको सावाँ–ब्याज नपाउँदा खराब कर्जा बढ्ने र ब्याङ्किङ प्रणालीमै जोखिम बढ्छ । नेपाल राष्ट्र ब्याङ्कका अनुसार, नेपालको पर्यटन उद्योगमा ब्याङ्क तथा वित्तीय संस्थाले रु.१ खर्ब २८ अर्ब लगानी गरेका छन् ।

नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) का अध्यक्ष अच्युत गुरागाई पर्यटक आगमन घटेर ट्राभल, होटल र ट्रेकिङ क्षेत्रमा असर पर्दा रोजगारीको अवसर खुम्चिने बताउँछन् । यी क्षेत्रमा पर्ने प्रभावको असर अप्रत्यक्ष रूपमा कृषि, साना उद्यमसम्म फैलिन्छ ।

विभागले गएको माघमा तयार पारेको आर्थिक वृद्धिको तथ्याङ्क सार्वजनिक नगरे पनि माथिल्ला निकाय राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा यसको जानकारी पठाएको छ ।

उनका अनुसार, टुर व्यवसायमा आगामी अप्रिल महीनासम्मको ८० प्रतिशतसम्म बुकिङ रद्द भइसकेको छ, बाँकी २० प्रतिशत पनि पर्ख र हेरकै अवस्थामा छ । गुरागाई भन्छन्, “अहिले नयाँ बुकिङ त आएकै छैन, भएका बुकिङ पनि रद्द हुँदै गएकाले पर्यटन व्यवसायीलाई दीर्घकालसम्म असर पर्ने जोखिम छ ।”

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीका अनुसार, पदयात्रामा पनि ५० प्रतिशत बुकिङ रद्द भइसकेको छ ।

आर्थिक वृद्धिमा तगारो

लगातार तीन वर्ष वार्षिक औसत झण्डै ७ प्रतिशतको आर्थिक वृद्धिपछि यो वर्ष अर्थतन्त्रमा केही सुस्तता आउने अनुमानहरू यसअघि नै सार्वजनिक गरिएका छन् ।

सरकारले चालु आर्थिक वर्षमा ८.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने दाबी गरे पनि अन्तर्राष्ट्रिय मुद्रा कोषले यो वर्षको आर्थिक वृद्धिदर ६ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको थियो । यद्यपि, कोरोनाको प्रभाव नेपाली पर्यटन उद्योग, व्यापार तथा जलविद्युत् लगायतका निर्माण क्षेत्रमा परेपछि के हुनेछ भन्ने नयाँ प्रक्षेपण गरिएको छैन ।

यसै पनि, चालु आर्थिक वर्षको पहिलो त्रैमासिक (साउन–असोज) को तथ्याङ्कले अर्थतन्त्रमा सुस्तता आउन लागेको सङ्केत गरिसकेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार, पहिलो त्रैमासिकको आर्थिक वृद्धिदर ४.५ प्रतिशत हाराहारीमा मात्रै छ । जबकि, गएको आर्थिक वर्षको पहिलो त्रैमासिकमा ६.७ प्रतिशतको आर्थिक वृद्धि हासिल भएको थियो ।

विभागले गएको माघमा तयार पारेको आर्थिक वृद्धिको तथ्याङ्क सार्वजनिक नगरे पनि माथिल्ला निकाय राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा यसको जानकारी पठाएको छ ।

धानको उत्पादनमा कमी, सरकारी खर्चको न्यूनता तथा निर्माण क्षेत्रको सुस्तताका कारण आर्थिक वृद्धिदर मध्यम मात्रै देखिएको विभागका एक अधिकारी बताउँछन् । यो वर्ष धानको उत्पादन गएको वर्षको तुलनामा १ प्रतिशत घटेको थियो । देशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको करीब २७ प्रतिशत भूमिका छ, जसमा धानको मात्र योगदान झण्डै २१ प्रतिशत छ ।

आयात घट्दाको मुख्य असर अर्थतन्त्रमा १४ प्रतिशत योगदान दिने थोक तथा खुद्रा व्यापार क्षेत्र पनि खस्किन्छ । विलासिताका सामग्रीको आयात घट्नु सकारात्मक मानिए पनि उत्पादन बढाउने औद्योगिक कच्चा पदार्थ, निर्माण र मेसिनरी सामग्रीको आयात घट्नु अर्थतन्त्रको गतिशीलता कम भएको दृष्टान्त हो ।

विभागले अहिले दोस्रो त्रैमासिक (कात्तिक–पुस) को तथ्याङ्क सङ्कलन गरिरहेको छ । उपभोग्य वस्तु बजार, निर्माण क्षेत्रको सुस्तताले दोस्रो त्रैमासिकमा पनि आर्थिक वृद्धिदर अघिल्लो वर्षजति नहुने आकलन गरिएको छ ।

पछिल्ला वर्षहरूमा निर्माण क्षेत्र अर्थतन्त्रको विस्तारको मुख्य चालक रहँदै आएको छ । तर, आर्थिक वर्षको पहिलो ६ महीनामा विकास निर्माणमा प्रयोग हुने सामग्री र तिनका कच्चा पदार्थको आयात खुम्चिनुले पनि विकास निर्माणले अपेक्षित गति समात्न नसकेको देखाउँछ । राष्ट्र ब्याङ्कका अनुसार, पुस मसान्तसम्ममा फलाम (एमएस बिलेट) को आयात ४२ प्रतिशत र सिमेन्टको कच्चा पदार्थ कोइलाको आयात पनि ३८ प्रतिशत घटेको छ ।

निर्माण सामग्री मात्र नभई विद्युतीय सामग्री, मोबाइल फोन, सवारी साधनसम्मको बजारमा संकुचन आएको व्यवसायीहरूले बताउने गरेका छन् । जस्तै, आर्थिक वर्षको पहिलो ६ महीनामा कुल वस्तुको आयात ४ प्रतिशतले घटेर रु.६ खर्ब ३७ अर्बमा झ्रेको छ । यसले आन्तरिक माग घटेको सङ्केत गर्छ ।

आयात घट्दाको मुख्य असर अर्थतन्त्रमा १४ प्रतिशत योगदान दिने थोक तथा खुद्रा व्यापार क्षेत्र पनि खस्किन्छ । विलासिताका सामग्रीको आयात घट्नु सकारात्मक मानिए पनि उत्पादन बढाउने औद्योगिक कच्चा पदार्थ, निर्माण र मेसिनरी सामग्रीको आयात घट्नु अर्थतन्त्रको गतिशीलता कम भएको दृष्टान्त हो ।

यस्तो अवस्थामा थपिएको कोरोना प्रभावका कारण यो वर्षको आर्थिक वृद्धिमा चाप पर्ने अर्थशास्त्रीहरूको आकलन छ ।

अर्थशास्त्री डा. पोषराज पाण्डे भन्छन्, “नेपालमा आयात हुने सामग्री र तिनको मूल्य शृङ्खला कुनै न कुनै रूपमा चीनसँग जोडिएकाले कोरोनाको असर नेपाली अर्थतन्त्रमा पर्छ ।”

कपडाको टाँकदेखि हवाईजहाजको उपकरणसम्म बनाउने चीनका उद्योगहरू बन्द हुँदा विश्व आपूर्ति प्रणाली नै खल्बलिएको छ । त्यसैले अर्थशास्त्री चन्दन सापकोटा नेपाली अर्थतन्त्र छिमेक चीन र विश्व अर्थबजारसँग जोडिएकाले कोरोना प्रभाव नेपाली अर्थतन्त्रमा बलियोसँग पर्ने देख्छन् । “विश्वव्यापी मूल्य शृङ्खलामै अवरोध आएपछि नेपालको अन्तर्राष्ट्रिय व्यापार स्वतः प्रभावित हुन्छ”, उनी भन्छन् ।

कोरोनाले विश्वबजारमा शिथिलता ल्याएपछि नेपालको निर्यात व्यापारमा पनि सुस्तता शुरू भइसकेको छ । नेपाल उद्योग वाणिज्य महासंघको निर्यात परिषद्का अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठ नेपालबाट निर्यात हुने वस्तुको माग नै नआएको र पस्मिना, गलैंचा, हस्तकलाका सामान आदिको निर्यात डरलाग्दो गरी खस्किएको बताउँछन् ।

“यस्ता सामग्रीको माग नै आएको छैन, पर्यटक नआएपछि सामान बिक्री नभएर थन्किएका छन्”, उनी भन्छन् । ललितपुर, पाटनमा ठेक्का मार्फत मूर्तिमा जलप लगाउने सहितका काम गर्ने लोकबहादुर खत्री निर्यात ठप्प हुँदा काम नै नआउँदा १० जना कामदार हटाउनुपरेको बताउँछन् ।

आर्थिक शिथिलताकै बीचमा कोरोना प्रभाव पनि थपिएपछि यो वर्षको आर्थिक वृद्धिदर ५ देखि ५.५ प्रतिशतमा सीमित रहने अर्थशास्त्री सापकोटाको आकलन छ ।

रोजगारीका लागि विदेशिने श्रम शक्तिमा पनि कोरोना संक्रमणको असर देखा परिसकेको छ । करीब ४० हजार नेपाली रहेको दक्षिण कोरियामा कोरोना संक्रमण देखिएपछि नयाँ कामदार पठाउने क्रम स्थगित भएको छ ।

कुल गार्हस्थ्य उत्पादनको गणनामा जानकार मानिने अर्थशास्त्री डा. डिल्लीराज खनाल पनि छिमेकका दुवै देशको अर्थतन्त्र सुस्ताएको तथा विश्व अर्थतन्त्र नै शिथिल भएको वेला नेपाली अर्थतन्त्रमा पनि अपेक्षित विस्तार नहुने देख्छन् ।

उनी आफूले वर्षको शुरूमा यो वर्ष ७ प्रतिशत आर्थिक वृद्धिको अनुमान गरे पनि अहिले त्यसमा समीक्षा आवश्यक रहेको बताउँछन् । “कोरोनाका कारण विश्वबजार सुस्ताए नेपालमा लगानी बढ्दैन, साथै विदेशी पर्यटकको संख्यामा आउने कमीले होटल, रेस्टुरेन्ट, कृषि उत्पादन तथा उपहारका वस्तु उत्पादन गर्ने साना र मझौला उद्योग एवं रोजगारीमा समेत गहिरो असर पर्छ”, उनी भन्छन् ।

रोजगारीका लागि विदेशिने श्रम शक्तिमा पनि कोरोना संक्रमणको असर देखा परिसकेको छ । करीब ४० हजार नेपाली रहेको दक्षिण कोरियामा कोरोना संक्रमण देखिएपछि नयाँ कामदार पठाउने क्रम स्थगित भएको छ ।

यद्यपि नेपाली कामदारहरू ठूलो संख्यामा रहेको मलेशिया र खाडी क्षेत्रका देशहरू अहिलेसम्म यसको चर्को मारमा परेका छैनन् । यी देशमा कोरोनाको प्रकोप फैलिए नयाँ कामदारको माग घटेर नेपाली अर्थतन्त्रको टेको बनेको रेमिटेन्समा असर पर्न सक्छ ।

नेपालले वर्षेनि भिœयाउँदै आएको रु.८ खर्ब ७९ अर्ब रेमिटेन्स नै नेपाली अर्थतन्त्रलाई चलायमान बनाउने आधार हो । “रेमिटेन्सका स्रोत मुलुकमै कोरोना फैलियो भने नेपालको अर्थतन्त्रमा नसोचेको अप्ठ्यारो आउँछ”, अर्थशास्त्री सापकोटा भन्छन् ।

प्रतिकृया दिनुहोस