रिपोर्ट सोमबार, फागुन १९, २०७६

विश्वविद्यालय परिसरमै यौन दुर्व्यवहार

नुनुता राई

विश्वविद्यालय परिसरमै यौन दुर्व्यवहार
बल्खुको सीता पेट्रोल पम्पदेखि त्रिवि जाने छोटो बाटो । तस्वीर: बिक्रम राई

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) समाजशास्त्र केन्द्रीय विभागमा अध्ययनरत गरिमा घरबाट निस्किने वेला सधैं हच्किन्छिन् । विश्वविद्यालय परिसरमै विगत ६ महीनामा तीन पटक फरक–फरक पुरुषबाट यौन दुर्व्यवहारको सामना गरेकी उनलाई फेरि पनि त्यस्तै होला कि भन्ने त्रासले सताइरहन्छ ।

विश्वविद्यालय परिसरको घडी भवनदेखि तीनकुने जाने बाटोमा दिउँसो ३\४ बजेतिर अपरिचित व्यक्तिबाट उनले एक्लै दुई पटक र साथीसँग एक पटक दुर्व्यवहार भोग्नुपर्‍यो । सुनाउँछिन्, “ती पुरुषहरू हामीतिर हेर्दै हस्तमैथुन गरिरहेका थिए ।”

यो समस्या उनी एक्लैको होइन, त्रिविमा पढ्ने धेरै छात्राले विश्वविद्यालय हातामा यस्तो अश्लील हर्कत भोग्दै आएका छन् । विश्वविद्यालय परिसरमा बाक्ला रूख–बिरुवा र झाडी पनि छन् । तर भवनहरू भएका र मानिसहरूको आवतजावत भइरहने क्षेत्रमा समेत यौन दुर्व्यवहारका घटना बारम्बार भइरहँदा विद्यार्थी आतङ्कित बनेका छन् ।

रश्मिलाले पनि घडी भवन पछाडिको बाटोमा हिंड्दै गर्दा ३५\४० वर्षीय पुरुषबाट अश्लील हर्कतको सामना गर्नुपर्‍यो । उनी भन्छिन्, “कहिल्यै नदेखेको घटना आफ्नै अगाडि भइरहेको थियो, अत्तालिएर भाग्न पनि सकिनँ ।” त्यसअघि पनि विश्वविद्यालय हातामै एक जनाले यौनाङ्ग देखाउन खोज्दा उनी भागेकी थिइन् । यी घटनापछि विश्वविद्यालयभित्र एक्लै हिंड्न डर लाग्ने गरेको उनी बताउँछिन् ।

विज्ञान संकायमा स्नातकोत्तर अध्ययनरत निशाले विश्वविद्यालयको प्रवेशद्वारबाट पस्ने बित्तिकै भोगेको दुर्व्यवहार पनि फरक छैन । उनी त्यतिवेला छक्क परिन् जब अरू साथीहरूले पनि धेरै पटक त्यस्तो समस्या भोगिसकेको बताए । त्यसयता उनीहरू समूहमा मात्र हिंड्छन् ।

भक्तपुरबाट आउने छात्राहरू कीर्तिपुर जान बल्खुमा उत्रिएपछि बस फेर्नुपर्छ । तर, बस कुर्दा ढिलो हुने अवस्थामा उनीहरू बल्खुको सीता पेट्रोल पम्पमा झरेर झाडी भएको बाटोबाटै क्याम्पसतिर उक्लिन्छन् । भक्तपुरबाट आउने रेबिकालाई समय बचाउन त्यसरी हिंड्दा कुन दिन के आपत् आइलाग्ला भन्ने पीर छ ।

बिहान पढ्ने छात्राहरूलाई व्यायाम गर्न आउने पुरुषबाट पनि दुर्व्यवहार हुने गरेको गुनासो विद्यार्थीको छ । दगुर्ने बहानामा ठोक्किन आउने, कपाल तान्ने र जिस्काउने जस्ता दुव्र्यवहार छात्राहरूले भोगिरहेका छन् ।

सामाजिक कार्य विभागका संयोजक एवं सह–प्राध्यापक शुक्रराज अधिकारी बाहिरी मानिसको निर्वाध प्रवेशका कारण विश्वविद्यालय परिसर छात्राको लागि मात्रै नभई आफूहरूका लागि समेत असुरक्षित भइसकेको बताउँछन् ।

आफूहरूले भोगिरहेको यौन दुर्व्यवहारबारे पटक–पटक जानकारी गराए पनि विश्वविद्यालय प्रशासन गम्भीर नबनेको पीडित छात्राहरूको गुनासो छ । विद्यार्थीले यसबारे विश्वविद्यालयका प्राचार्य प्रा.कृष्णप्रसाद आचार्यलाई धेरै पटक जानकारी गराउनुका साथै लिखित निवेदन नै दिइसके । विद्यार्थीको गुनासोपछि क्याम्पसका सुरक्षागार्डहरूले निगरानी गरुन्जेल त्यस्ता गतिविधि रोकिन्छन्, छाडेपछि उही समस्या दोहोरिन्छ ।

छात्राहरूले दुर्व्यवहारको बारेमा शिक्षाध्यक्ष र उपकुलपतिलाई समेत गुनासो सुनाए । छलफलमा सुरक्षागार्ड खटाउने, झाडी व्यवस्थापन गर्ने र बत्ती राख्ने सहमति भयो, तर कार्यान्वयन भएन । सामाजिक कार्य विभागको अगुवाइमा महानगरीय प्रहरी वृत्त कीर्तिपुरसँगको छलफलमा विश्वविद्यालय हातामा सुरक्षा निगरानी बढाउने सहमति पनि भयो ।

केही समय प्रहरीले निगरानी पनि बढायो । वृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी) छेदुलाल कामती बिहानसम्म अँध्यारो हुने पुस–माघ महीनामा सुरक्षा सतर्कता बढाए पनि अहिले कम गरेको बताउँछन् ।

यति मात्र होइन, विश्वविद्यालयका हरेक दुई वा तीन विभागको बीचमा सुरक्षागार्डका पोस्टहरू राखिएका छन्, जहाँ ५५ जना सुरक्षागार्ड कार्यरत छन् । तर विश्वविद्यालयभित्र दिनदहाडै आतङ्क भोग्ने क्रम नरोकिएको छात्राहरूको भनाइ छ । प्राध्यापक आचार्य सुरक्षाको लागि विश्वविद्यालय हाताभित्र सीसीटीभी राख्ने तयारी थालेको बताउँछन् ।

हुन्न सीसीटीभी

विश्वविद्यालय क्षेत्रभित्र प्रहरी खटाउने र सीसीटीभी राखेर निगरानी गर्ने तयारी गरिंदा विरोध भने विद्यार्थीबाटै भइरहेको छ । सुरक्षाको लागि सीसीटीभीको व्यवस्था राम्रो भए पनि त्यसको गलत प्रयोग मार्फत गोपनीयताको हनन् हुनसक्ने भएकाले विद्यार्थीले त्यसको विरोध गरेका हुन् ।

समाजशास्त्र दोस्रो सेमेस्टरमा अध्ययनरत मोनिका लिम्बू सबैभन्दा बढी चहलपहल हुने ठाउँमा दिउँसै प्रत्यक्ष देख्दा त दुर्व्यवहार नियन्त्रण गर्न नसकेको प्रशासनले सीसीटीभी र प्रहरी राखेर समस्याको समाधान गर्छ भन्ने विश्वास नै नभएको बताउँछिन् ।

“प्रत्यक्ष देखेको कुरा त नियन्त्रण भएको छैन, सीसीटीभी राखेपछि कहिले हेर्ने र कहिले नियन्त्रण हुने ?” संवेदनशीलता औंल्याउँदै उनी भन्छिन्, “सीसीटीभी राखेपछि औपचारिक झ्मेलामा जानुपर्ने हुन्छ, पीडितलाई खुल्नै समस्या हुन्छ ।”

सत्ता राजनीतिको हस्तक्षेप भोग्दै आएको विश्वविद्यालयमा सीसीटीभीको निगरानीले विद्यार्थी शैक्षिकदेखि राजनीतिक पूर्वाग्रहसम्मको शिकार हुने कतिपयको बुझाइ छ । समाजशास्त्रका विद्यार्थी मनोज खतिवडा दोहोरो संवाद नै नरुचाउने विश्वविद्यालयका पदाधिकारी र प्राध्यापकहरू भएको ठाउँमा सीसीटीभी राख्दा विद्यार्थीमा क्याम्पस प्रशासनप्रति मनोवैज्ञानिक त्रास फैलिने तर्क गर्छन् ।

त्यस्तो निगरानी उपकरण अभिव्यक्ति स्वतन्त्रता र प्रतिरोधी आवाज निमोठ्ने अस्त्र बन्न सक्ने उनको बुझाइ छ । “अभद्र र अश्लील क्रियाकलाप रोक्ने राम्रो उद्देश्य देखाएर निगरानीको व्यवस्था गर्न लागिंदैछ, जुन खतरनाक हुनसक्छ”, खतिवडा भन्छन् ।

सुरक्षाको नाममा विश्वविद्यालय हातामा प्रहरी खटाउने कदम पनि अनुचित भएको विद्यार्थी बताउँछन् । समाजशास्त्र दोस्रो सेमेस्टरकी महेश्वरी हमाल केटी साथीहरूसँगै खुल्न गाह्रो मान्ने कति साथीहरू सीसीटीभी र प्रहरी राख्यो भने पढ्नै नआउने जोखिम पनि देख्छिन् । “शिक्षण संस्थाभित्र प्रहरीको प्रवेश खुला गर्ने हो भने यहाँ झ्नै नसोचेको वातावरण बन्न सक्छ”, उनी भन्छिन् ।

विद्यार्थीहरू क्याम्पस प्रशासनको आफ्नै बलियो सुरक्षा संयन्त्र नभएसम्म अरू उपाय औपचारिकता पूरा गर्ने र क्षणिक मात्रै हुने धारणा राख्छन् । झाडी भएका क्षेत्रको सरसफाइ गर्ने, ठाउँठाउँमा बत्ती राख्ने र सुरक्षागार्डको संख्या बढाई आन्तरिक सुरक्षा नै बलियो र प्रभावकारी बनाउनुपर्नेमा उनीहरूको जोड छ ।

(पीडित छात्राहरूको नाम परिवर्तन गरिएको छ ।)

 

प्रतिकृया दिनुहोस