ब्लग विहीबार, फागुन १५, २०७६

जुद्धशमशेर ज्यादतीका ती दिन

रुपा जोशी

जुद्धशमशेर ज्यादतीका ती दिन
राजा त्रिभुवनको राज्यारोहणको २५औं वार्षिकोत्सवका अवसरमा सन् १९३७ मेमा हात्तीमा सवार तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेर हनुमानढोकामा ।
रुपा जाेशी

“व्रतबन्धमा मन्त्र सुनाउने हुनाले गुरुज्यूहरूलाई राणाजीहरूले खूब माया गर्थे । गुरुमाहरूले चाहिं तिनीहरूका महारानीलाई मन्त्र सुनाउँथे । मन्त्र सुनाउन पनि पालो आउनुपर्थ्याे । तर्कराज बडागुरुज्यूले प्रत्येक वर्ष गुरुज्यूहरूको पालो लगाउँथे । मेरो बुवाले युवराज महेन्द्रलाई मन्त्र सुनाउनुभएको हो । व्रतबन्धपछि दरबारबाट हाम्रो घरमा गाडाका गाडा सामान आयो । बाफ रे बाफ!

ढोकाटोलको त्यो ठूलो चोक नै भरिनेगरी चाँदीका भाँडा, सुनका गहना, अनि कत्ति हजार दक्षिणा ! गुरु भएका बुवालाई तासको लुगा लगाएर पठाएका थिए । त्यो वेला जनतालाई भिक्षादान दिन उर्दी नै हुन्थ्यो । उनीहरूको जन्मोत्सवमा र मर्दा पनि त्यसरी नै सामान आउने । पूजा गर्ने सामान सबै चाँदीका थिए । ती पनि आउँथ्यो । ओहो !

महेन्द्रकी कान्छी श्रीमती रत्नलाई मेरो मुवाले भित्र्याएको, दरबारमा होइन, नागार्जुनमा । महेन्द्रको पहिलो श्रीमती मरेपछि उनले गुरुज्यू र गुरुमालाई सासू–ससुरा बनाएर बिहे गरेका थिए । खोई, किन त्यसो गरेको हो ।

राणाजीहरू आएको वेला मानिसहरूले हात जोडेर स्वस्ति गर्नुपर्ने । उनीहरूलाई नदेखेर स्वस्ति गरेन भने ‘लौ त्यसलाई बेस्सरी कुट, यत्ति कोर्रा हान’ भन्थे । राणाजीहरूले अत्ति गरे ।

राति कति बजेतिर हो ‘ढाटुँऽऽ, ढाटुँऽऽऽ’ गरेर बिगुल बजाउँथ्यो । बिगुल बजेपछि हिंडडुल गर्न पाइने समय सकिन लागेको भन्ने हुन्थ्यो । बाटोमा भएकाहरू दौडादौड गरेर घर जान्थे । अनि तोप पड्केपछि ठप्प । हिंडेको फेला पार्‍यो भने समातेर थुनिहाल्ने । बिहान सबेरै फेरि त्यसै गरेपछि कर्फ्यू खुल्यो भन्ने हुन्थ्यो । सारै खराब समय ।

टुँडिखेलको खरीको बोटमा मान्छे जम्मा पारेर ‘यसो–यसो राम्रो गर्‍यौं’ भनेर सुनाउँथे । मान्छे मार्ने कुरा पनि त्यहीं सुनाउँथे । सुन्नेहरू टन्न हुन्थे । तर, राणाहरूको नजिक जान पाउँदैनथे ।

उनीहरूले लगाउने जस्तो ‘ड्रेस’ अरूहरूले लगाउन नपाउने । शेरवानी, छालाको जुत्ता लगाउन नपाउने । नसक्नेले आफैंले बुनेको परालको जुत्ता र सक्नेले कपडाको जुत्ता मात्र लगाउन पाउने । उनीहरूका रानीसाहेबले चाहिं जस्तो पनि लगाउन पाउने । ओहो ! कस्तो गजब गजबका लुगा लगाउने, ढाँचा पार्ने । कपाल पनि सबै अलक पारेर चट्ट मिलाएको हुन्थ्यो । हीरा, मोती, जुहारत त छँदैछ ।

दरबारमा नाटक हुँदा हेर्न गुरुमाहरूलाई पनि डाक्थे । गुरुमाहरुको साथमा काम गर्ने पनि जान पाउँथे । हामी (दिदी र म) कमारा झैं भएर मुवासितै जान्थ्यौं, बग्गीमा । महारानीहरू पनि नाटक हेर्न त्यहाँ उलिन्काठ चढेर आउँथे !

राणाजीहरूले आफ्ना छोरीहरूको बिहे श्री ५ सरकारसँग गरिदिन्थे । त्यतिवेला जनताले पनि उर्दी अनुसार गोडधुवा दिनुपर्थ्याे।

भीमशमशेर, कान्छी श्रीमती बडामहारानी सीता र छोरीका साथ ।

दरबारमा काम गर्न धेरै स्वास्नी मानिसहरू आउँथे । काम गर्न भनेर राख्यो, अनि स्वास्नी बनायो । सीता महारानी भन्ने थिइन्, बिरामी रानीसाहेबको स्याहार गर्न भीमशमशेरको दरबार छिरेकी । राम्री थिई । उसलाई महाराजले खूब मन पराए । “महारानी बनाउँछु, उसको छोरीलाई महेन्द्रसित बिहे गराउँछु”, भनेपछि उनका दाजुभाइहरूले नै विरोध गरे । “बिहे गरेको पो महारानी बन्छन्, रखौटीलाई पनि महारानी बनाउन पाइन्छ ?’ भने ।

हाम्रो आफूबुवा (काका) लाई पनि यी कुरा चित्त बुझेको थिएन । ‘रानीसाहेब पदवी देऊ, बडामहारानी त मिल्दैन’ भन्नुभएको थियो । अनि त झगडै पर्‍यो र आफूबुवालाई देशनिकाला भयो । उहाँ कलकत्ता जानुभयो । नेपालमा अर्को महाराज भएपछि मात्र फर्किनुभयो ।

सीता महारानीले ‘महारानी’ को पदवी पाउने दिन सबै जनालाई डाकेका थिए । ढोकाटोलमा आएको निम्तोमा छोराछोरी पनि लिएर आउनु भनिएको थियो । ओहो, सीता महारानी त भयंकर भएकी, गज्जबको लुगा लगाएकी, नाकमा झलल पर्ने फुली लगाएकी । सबै राणाजीले सलाम गरेर दाम राखे ।

राम्री भएपछि जस्तालाई पनि स्वास्नी बनाउने, उनीहरू । कति स्वास्नी कति ! सबैभन्दा खराब त जुद्धशमशेर, राक्षसै हो । बेलुकातिर सधैं हिंड्थ्यो हात्तीमा । कहाँ कहाँ छन् स्वास्नीमान्छे भनेर खोजी गर्थ्याे। घरघरको झ्यालबाट भित्र हेर्ने ।

उसको पछाडि ‘असिस्टेन्ट’ बसेको हुन्थ्यो, लेख्नलाई कापी लिएर । अनि बाटामा, घरमा, जो मन पर्‍यो ‘ऊ त्यसलाई ले’ भनेर अह्राउँथे । बेलुका अफिसर आउँथ्यो र ‘तिम्रो छोरी लेऊ’ भन्थ्यो । अनि त सबै राति हिंड्न डराउने ।

जुद्धशमशेर जात्राहरूको वेला हनुमानढोकामा पनि त्यसैगरी आउने, हात्ती चढेर । देउतालाई दर्शन गर्ने त कता हो कता, को–को छ भनेर पहिला हात्ती थामी थामी हेर्ने । पैसा पनि छर्न लगाउँथे । बाहुन पनि भन्दैन, क्यै पनि भन्दैन । उसलाई मन पर्‍यो भने जसलाई पनि उठाएर लाने ! कतिपय मानिसहरू ‘ल आज कतिलाई लग्छ होला !’ भनेर जात्रामा रमिता हेर्न पनि आउँथे ।

चन्द्रकुमारी जाेशी । तस्वीर: जोशी परिवारको संकलन

 

त्यो वेला कति जना त सजिएर, सिंगारिएर पनि बस्थे रे, महाराजको नजर परिहाल्छ कि र उसको रानी बन्न पाइहालिन्छ कि भनेर ।

मेरी मितिनीलाई पनि लग्यो, जुद्धशमशेरले । म त्यति वेला विधवा भएर पोकलड्याङमै थिएँ, फुपूको घरमा । मेरी मितिनीको घर नजिकै थियो । उनको बिहे भइसके पनि तरुनी थिई । जुद्धशमशेर हात्तीमा आयो र ‘ऊ त्यो घरको त्यो केटीलाई ल्या’ भन्यो । अनि राति त डाक्न आए । मेरी मितिनीलाई थाहै थिएन । उनको आमाबाबुलाई ‘सरकारले हुकुम भएको छ, छोरीलाई लानुपर्‍यो’ भनेछन् ।

‘बिहे गरेको छोरीलाई कसरी दिऊँ ?’ भन्न पनि नपाउने । लिएर गए । एक महीना राखेर फर्काइदिए । उनको दुलाहा धनी थिए । फिर्ता नलिने भन्दा ‘नलिई सुक्खै छैन, नत्र थुनिदिन्छौं’ भनेर धम्क्याएछन् । नयाँसडकमा सिंगो घरै दिएर उनलाई फकाए, जुद्धशमशेरले ।

ओहो, असाध्यै अन्याय ! उनको जेठी स्वास्नीपट्टिको छोरो बहादुरशमशेरले ‘यसरी अर्काकी स्वास्नी, छोरीहरूलाई बिगार्न पाइँदैन । रक्षा गर्नुपर्ने ठाउँमा यस्तो गर्ने ? नत्र म नै तिमीलाई मारिदिन्छु !’ भनेर ‘च्यालेन्ज’ गरे । जुद्धशमशेर अलि डरायो । त्यसपछि बल्ल सुध्रिए र आनन्द भयो । पछि त जुद्धशमशेर जोगी भएर गए रिडी । तर, सुनिन्थ्यो, त्यहाँ पनि चार जना रानीसाहेब बनाए रे !

विनाशकाले विपरीत बुद्धि ! अत्याचार गरेपछि जनता उठिहाले । अनि उनीहरूको भागाभाग भयो । राणाले बनाएका त्यत्रा दरबार जफत भए । अनि त कुच्चिएर बस्न परिगयो नि !” 

(किरणराज जोशी र रूपा जोशीसितको कुराकानीमा आधारित)

 

 

 

प्रतिकृया दिनुहोस