टिप्पणी विहीबार, फागुन १५, २०७६

सर्वाेच्चकाे ताकेतामा राष्ट्रिय अभिलेखालय

वसन्त महर्जन

सर्वाेच्चकाे ताकेतामा राष्ट्रिय अभिलेखालय
वसन्त महर्जन

संस्कृति र सम्पदाका सन्दर्भमा कुरा हुँदा फ्रान्सका लागि पूर्व नेपाली राजदूत डा. केशवराज झा कडा र व्यङ्ग्यात्मक अभिव्यक्ति दिन्थे । उनी भन्थे, “यहाँ संस्कृति हेर्ने मन्त्रालय भए पनि त्यसको कार्यालय भनेको मन्त्रीको कुर्सीदेखि बाहिर रोकेर राखिएको गाडीसम्म मात्रै हो।”

पेरिसमा रहँदा झाकै पहलमा संयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोको बोर्ड सदस्यमा नेपाल निर्वाचित भएको थियो । यसै क्रममा संस्कृतिसँग सम्बन्धित कुरालाई नजिकबाट नियालेका डा.झाको यो अभिव्यक्तिले धेरै अर्थ राख्छ।

हाल सर्वोच्च अदालतले आफ्नो भवन साँघुरो भएकाले कार्य सम्पादनमा अप्ठेरो परेको हुँदा नयाँ संरचना निर्माण गरी सार्न राष्ट्रिय अभिलेखालयलाई ताकेता गर्दै आएको छ।

तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको अध्यक्षतामा २५ वैशाख २०७१ मा बसेको बैठकले सिंहदरबार परिसरमा रहेको नेपाली सेनाको क्याभल्री, पुरातत्व विभाग र राष्ट्रिय अभिलेखालय समेतको ५५ रोपनी जग्गा सर्वोच्च अदालतलाई भवन निर्माण गर्न दिने निर्णय गरेको थियो।

सोही बैठकले अभिलेखालय नारायणहिटी सार्ने निर्णय पनि गरेको थियो । त्यही वर्ष २२ साउनमा बसेको मन्त्रिपरिषद्को अर्को बैठकले भने आफ्नै निर्णय उल्ट्याउँदै नारायणहिटीमा अभिलेखालय नसार्ने र यसका लागि अन्तै जग्गा खोजी व्यवस्था गर्ने निर्णय गर्‍यो तर अहिलेसम्म अर्को जग्गाको खोजी गरिएको छैन ।

राष्ट्रिय अभिलेखालयमा सातौं शताब्दीदेखि अहिलेसम्मका अनेकौं ग्रन्थ तथा अभिलेखहरू सङ्ग्रहित छन् । ज्योतिष, आयुर्वेद, योग, धर्मशास्त्र, पुराण, दर्शन, तन्त्र, कर्मकाण्ड, साहित्य, व्याकरण, इतिहास लगायत विभिन्न विषयमा ताडपत्र, भोजपत्र, नीलपत्र, नेपाली कागज आदिमा लेखिएका ग्रन्थ तथा अभिलेखहरू अत्यन्तै पुराना भएका कारण भौतिक रूपमा पनि संवेदनशील छन् ।

भारतबाट हराइसकेका र अन्यत्र पनि अपूर्ण अवस्थामा रहेका कतिपय ग्रन्थहरूको पूर्णताका लागि नेपालको अभिलेखालयका सामग्री उपयोगी भएका छन् ।

महाकवि अश्वघोषकृत बुद्धचरित्र लगायत महायानी बौद्ध ग्रन्थ नवव्याकरण अन्तर्गतका कतिपय ग्रन्थको पूर्ण सम्पादन गरी प्रकाशन गर्न नेपालमा सङ्कलित अभिलेख उपयोग हुनु बौद्ध जगत्का लागि नेपालको अमूल्य उपहार हो । अध्ययन र अनुसन्धान कार्यलाई अगाडि बढाउने हो भने विश्वकै लागि दिन सकिने अनेकौं कुरा अभिलेखालयबाट अझै प्राप्त हुनसक्छ ।

अभिलेख संरक्षण भनेको सङ्कलन र लगत राख्नु मात्रै नभएर उपयुक्त वातावरणमा प्रकाश, आर्द्रता, तापक्रम मिलाएर जतन गर्नु पनि हो । निश्चित मापदण्डमा तलमाथि पर्दा ढुसी लाग्ने र कीराको सङ्क्रमण हुने खतरा पनि उत्तिकै हुन्छ ।

राष्ट्रिय अभिलेखालयमा सातौं शताब्दीदेखि अहिलेसम्मका अनेकौं ग्रन्थ तथा अभिलेखहरू सङ्ग्रहित छन् । ज्योतिष, आयुर्वेद, योग, धर्मशास्त्र, पुराण, दर्शन, तन्त्र, कर्मकाण्ड, साहित्य, व्याकरण, इतिहास लगायत विभिन्न विषयमा ताडपत्र, भोजपत्र, नीलपत्र, नेपाली कागज आदिमा लेखिएका ग्रन्थ तथा अभिलेखहरू अत्यन्तै पुराना भएका कारण भौतिक रूपमा पनि संवेदनशील छन् ।

यसले ती अभिलेखको आयु घट्छ । अभिलेखालय प्रमुख सौभाग्य प्रधानाङ्गका अनुसार प्राविधिक रूपमा सम्पूर्ण कुरा ठीक पारेर नयाँ ठाउँमा सर्ने हो भने पनि हलचलका कारण २० देखि २५ प्रतिशत सामग्री नष्ट हुने सम्भावना रहन्छ ।

आफ्नो मात्रै नभएर छिमेकी राष्ट्र भारत र चीनको इतिहास समेत बताउने अत्यन्तै दुर्लभ सामग्री सङ्ग्रह गरेर राखिएको राष्ट्रिय अभिलेखालयको यो भवन भारतले ६ वर्ष (वि.सं. २०१८–२०२४) लगाएर बनाइदिएको हो ।

अभिलेखालय प्रयोजनका लागि तत्कालै अर्को भवन भेटिए पनि डेरा सारे झैं सार्न सकिंदैन किनभने प्राविधिक दृष्टिले अभिलेखालय सुहाउँदो संरचना बनाउन पनि थप केही समय लाग्छ ।

गएको १६ असोजमा राष्ट्रिय अभिलेखालयको वार्षिकोत्सव समारोहमा संस्कृतिविद् सत्यमोहन जोशीले अभिलेखालयको महत्व र यसको सुरक्षा सम्बन्धमा बोल्दै विना कुनै तयारी अभिलेखालय सार्ने सरकारको निर्णय अदूरदर्शी भन्दै क्षोभ व्यक्त गरेका थिए ।

प्रमुख अतिथिका रूपमा उपस्थित तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मन्त्रिपरिषद्को निर्णय भन्दैमा पुनर्विचार गर्नै नहुने र उल्ट्याउन नसकिने नभएका कारण अभिलेखालय अन्त सार्न नदिने बताए । साथै यसका लागि आफैंले पहल गर्ने वचन पनि दिएका थिए । तर अर्को मन्त्री आउँदासम्म पनि यस विषयमा केही गरिएको छैन ।

प्रतिकृया दिनुहोस