रिपोर्ट सोमबार, फागुन १२, २०७६

कम्युनिष्टकी गुमनाम 'सेल्टरदाता'

लक्ष्मी बस्नेत

कम्युनिष्टकी गुमनाम 'सेल्टरदाता'
बालकुमारी थापा ।

तत्कालीन राजा वीरेन्द्रले २ जेठ २०३६ मा जनमतसंग्रह घोषणा गरेलगत्तै नेपाली कांग्रेसले प्रजातन्त्रको पक्षमा प्रचार थाल्यो । तत्कालीन नेकपा मालेले भने सक्रिय बहिष्कार गर्ने निर्णय गर्‍यो ।

मकवानपुरको हटिया, राजदेवीस्थित पार्टी सेल्टरमा नेकपा मालेका तत्कालीन महासचिव सीपी मैनालीसहित झ्लनाथ खनाल, माधवकुमार नेपाल, मोदनाथ प्रश्रित, मुकुन्द न्यौपाने, मदन भण्डारी, जीवराज आश्रित, प्रदीप नेपाल लगायत नेताहरू सहभागी केन्द्रीय कमिटी बैठकले यो निर्णय गरेको थियो । बैठक बसेको सेल्टर बालकुमारी थापाको घर थियो ।

मकवानपुरकै पहिलो सेल्टर यस घरलाई थापाले २०३३ देखि २०४६ सालसम्म पार्टी कार्यालय जस्तै बनाइन् । नेता मुकुन्द न्यौपानेका अनुसार थापाको घरमा ६ वटा केन्द्रीय कमिटी बैठक बसेको थियो ।

जिल्लास्तरीयदेखि विभिन्न भ्रातृ संगठनका बैठक पनि हुन्थे । ३–४ वैशाख २०३७ मा त्यही घरमा भएको ‘अगुवा महिला कार्यकर्ता प्रथम राष्ट्रिय भेला’ ले अखिल नेपाल महिला (अनेम) संघ स्थापनाको निर्णय गरेको थियो ।

भेलामा अष्टलक्ष्मी शाक्य, शान्ता मानवी, सुशीला श्रेष्ठ, राधा ज्ञवाली, जया घिमिरे, गौरा प्रसाईं लगायत १२ जना सहभागी थिए । र, १६–१७ फागुन २०३७ मा कास्कीको पुरनचौरमा भएको भेलाले शान्ता मानवीको अध्यक्षतामा सात सदस्यीय अनेमसंघ केन्द्रीय कमिटी गठन गर्‍यो ।

उवेला थापाको घर कम्युनिष्ट संगठन विस्तार र नयाँ कार्यकर्ता प्रशिक्षित गर्ने सुरक्षित केन्द्र नै भएको मानवी बताउँछिन् । उनी भन्छिन्, “उहाँले माउ पार्टी फैलाउन र जनवर्गीय संगठन जन्माउन जोखिम मोलेर घर प्रयोग गर्न दिनुभयो ।”

थापा आफैं पनि वरपरका टोलमा भेला गर्थिन् । उनले विद्यार्थी, किसान र महिलाको ६ वटा ‘पार्टी सक्रिय दल’ (स्थानीय कमिटी) गठन गरेकी थिइन् । पार्टी बैठक भएको वेला तीन छोरालाई घरभन्दा केही पर ‘सेन्ट्री’ बस्न लगाउँथिन् ।

नेताहरू सेल्टरमै बास बस्दा रातभर सुत्दिनथिन् । उनलाई आफ्नो घरमा ‘छिन्ताङ हत्याकाण्ड’ जस्तै घटना दोहरिएला कि भन्ने डर लाग्थ्यो । २७ कात्तिक २०३६ मा धनकुटाको छिन्ताङमा मालेका केन्द्रीय नेता भएको आशंकामा प्रहरीले घेरा हालेर गोली चलाउँदा १६ स्थानीयको मृत्यु भएको थियो ।

बिहेपछि राजनीतिमा

थापा १४ वर्षकी हुँदा २०१५ सालमा तत्कालीन हटिया गाउँ पञ्चायत (हाल हेटौंडा उपमहानगरपालिका–१७) राजदेवीका तिलकबहादुर थापासँग विवाह भयो । २०२१ सालमा उनका माहिला छोरा बिरामी भए ।

अस्पताल लैजाँदा बाटामा बास बसेको घर कम्युनिष्ट राजनीति गरिरहेका बद्रीप्रसाद खतिवडाको थियो । खतिवडा त्यतिवेला शिक्षक थिए । २०१६ सालमै पुष्पलालबाट सदस्यता लिएका उनी भूमिगत रूपमा कम्युनिष्ट पार्टीको काम गर्थे ।

उनले नै थापालाई राजनीतिक दीक्षा दिए । धनी गरीबबीच समानता ल्याउन, गरीब किसानलाई माथि उठाउने जस्ता कुरा मन परेपछि कम्युनिष्ट समर्थक बनिन् ।

अहिले ८६ वर्ष पुगिसकेका खतिवडा भन्छन्, “शुक्रवार स्कूल विदा भएपछि बालकुमारीकै घर जान्थें, वरिपरिकालाई जम्मा पारेर पार्टी सिद्धान्त पढाउँथें । उनको घरमा धेरैपटक बास बसेको छु ।”

कम्युनिष्ट पार्टीले २०२४ सालमा मकवानपुरको हटियालाई केन्द्र मानेर स्थानीय किसानलाई संगठित गर्दै जमीनदार विरुद्ध आन्दोलन शुरू गरेको थियो । त्यही आन्दोलन पछि ‘बीउ काण्ड’ को रूपमा चर्चित भयो ।

मकवानपुरको हटिया, राजदेवीस्थित बालकुमारी थापाको घर ।

आन्दोलनका अगुवा खतिवडा लगायत नेता पक्राउ परे । पक्राउ पर्नबाट जोगिएका अन्य आन्दोलनकारीलाई संरक्षण गर्ने, खाना खुवाउने, बैठकको प्रबन्ध मिलाउने काम थापाले नै गरिन् ।

त्यसबखत उनका श्रीमान्को औलो विरुद्धको चेतना फैलाउने (औलो भिजिटर) जागिर थियो । श्रीमान्लाई राजनीतिमा खासै रुचि थिएन । घर आउँदा नून, तेल, चिनी लगायत सामग्री महीना दिन पुग्ने गरी ल्याउँथे ।

तर, २०३३ सालपछिका दिनमा ती सामग्री एक हप्तामै सकिन थाल्यो । कम्युनिष्ट नेता/कार्यकर्ताको बाक्लै आउजाउ हुँदा परिवारको गर्जो टार्न उनले अरूको खेतबारी अँधिया पनि कमाइन् ।

उनी भन्छिन्, “नेताहरू कति जना आउँछन् थाहा हुँदैनथ्यो । कहिले त घरमा खानेकुरै नहुने । छरछिमेकबाट चामल, पीठो लगायत खानेकुरा पैंचो ल्याएर पनि काम चलाउँथें ।”

उनी २०३६ सालमा महिला स्वास्थ्य स्वयम्सेविका भइन् । त्यसकारण पार्टीको काम गर्न पनि सहज भयो । रात–बिहान सुत्केरी र नवजात शिशुको ज्यान बचाउन हिंड्थिन् । त्यो क्रम अझै जारी छ ।

उनी भन्छिन्, “म महिला स्वास्थ्य स्वयंसेविका भएकैले मेरोमा मान्छे धेरै आए पनि अरूले ख्याल गर्दैनथे । छिमेकीले पनि सहयोग गरेका थिए ।”

चितवनका सूर्य शर्माबाट उनले २०३७ सालमा पार्टीको संगठित सदस्यता पाइन् । पार्टीका दस्तावेजको सुरक्षा गर्नु, एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउनुका साथै स्थानीय महिलालाई संगठित गर्ने, कक्षा चलाउने काम उनको थियो ।

थापाको महिला कक्षामा बसेकी मुनु सिग्देल अहिले नेकपा मकवानपुरकी अध्यक्ष छिन् । सिग्देल भन्छिन्, “घरपरिवार र छोराछोरीभन्दा बढी उहाँका लागि पार्टी र दस्तावेज हुन्थ्यो ।”

भूमिगतदेखि खुला राजनीतिसम्म

उनलाई राजनीतिको नशा चढिसकेको थियो । २०३९ सालमै हेटौंडा–९ स्थित चौधघरेमा भएको जिल्ला भेलाबाट उनी अनेमसंघ जिल्ला अध्यक्ष भइन् । यो नै औपचारिक भेलाबाट बनेको अनेमसंघको पहिलो जिल्ला कमिटी थियो ।

२०४२ सालतिर उनी काशीनाथ अधिकारीसँग महिला भेलामा प्रशिक्षण दिन मकवानपुरकै आमभन्ज्याङ जाँदै थिइन् । बिहान ३ बजे निष्पट अँध्यारो थियो । सुरक्षाका कारण ‘टर्च लाइट’ बाल्न पाइँदैनथ्यो ।

दस्तावेजको झोला उनीसँग थियो । करीब १५ मिनेट जति हिंडेपछि उनी कुलोमा खसिन् । त्यसवेला थापा ठूलो दुर्घटनाबाट जोगिएको अधिकारी सम्झन्छन् । अधिकारी भन्छन्, “दस्तावेज त नष्ट भयो तर, कार्यक्रममा पुग्नै पर्छ भनेर उहाँ निथु्रक्कै भिजेको अवस्थामा पनि त्यहाँ पुग्नुभयो ।”

२०४६ साल अगाडि प्रशासनले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन भेला हुनै दिंदैनथ्यो । २०४५ सालको महिला दिवस (८ मार्चमा) मनाउन लाग्दा उनी पक्राउ परिन् । प्रहरीले दिनभर नियन्त्रणमा राखेर छाड्यो ।

अन्ततः २०४६ सालमा पार्टीमाथिको प्रतिबन्ध खुल्यो । उनको घरमा नेताहरूको आउजाउ पनि बन्द भयो ।

२०४६ सालपछि पनि उनी चारपटक अनेमसंघको जिल्ला अध्यक्ष भइन् । त्यसका साथै अनेमसंघको केन्द्रीय परिषद् सदस्य, केन्द्रीय सदस्य हुँदै अहिले केन्द्रीय सल्लाहकार समिति सदस्य छिन् ।

२०४६ सालपछि भएको पार्टीको पहिलो जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्य भइन् । त्यसपछि अञ्चल कमिटी सदस्य, राष्ट्रिय परिषद् सदस्य हुँदै हाल प्रदेश–३ को पार्टी सल्लाहकार छिन् ।

२०६४ सालमा मुटुको चालमा समस्या देखिएपछि ‘पेसमेकर’ राखिएको छ । ६/६ महीनामा अनिवार्य ‘फलोअप’ गर्नुपर्छ । गंगालाल अस्पतालमा उपचारका लागि एकपटक सरकारले छूट गराइदिएको र अहिले वडाको सिफारिशमा हेटौंडा नगरपालिकाले आर्थिक सहयोग गरेको उनी बताउँछिन् ।

मकवानपुरलाई केन्द्र बनाएर २०३४ सालदेखि राजनीतिमा सक्रिय नेता मुकुन्द न्यौपाने प्रजातन्त्रपछि थापाको योगदानलाई पार्टीले कदर गर्न नसकेको बताउँछन् । उनी भन्छन्, “उहाँकै घरलाई आश्रयस्थल बनाएर राजनीति गर्ने हामी माथि पुग्यौं तर, पुरानालाई खोज्ने त चलन नै हरायो ।”

प्रतिकृया दिनुहोस