ब्लग आइतबार, फागुन ११, २०७६

आचार्य बालकृष्णको सीमा 

कनकमणि दीक्षित

आचार्य बालकृष्णको सीमा 
प्रस्तोता टीकाराम यात्रीको कार्यक्रममा आचार्य बालकृष्ण। तस्वीर: टीकाराम यात्रीकाे ट्वीटरबाट।

पतञ्जलि कम्पनीका आचार्य बालकृष्ण नेपाली मूलका हुन्, नेपाली नागरिक होइनन् । त्यसैले उनले नेपालबारे बोल्दा/गर्दा केही सीमा अपनाउनुपर्छ।

फागुन पहिलो साता नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला र केन्द्रीय सदस्य मिनेन्द्र रिजाल सहितको टोलीले भारत, उत्तरप्रदेशका कट्टरपन्थी हिन्दूवादी मुख्यमन्त्री आदित्यनाथसँग भेट गर्‍यो । कांग्रेसको नेतृत्व र बीपी कोइरालाको विरासत बोकेका उनै शशांक जसले नेपालको संविधानकै अपहेलना गर्दै ‘हिन्दू राष्ट्र’ को वकालत गरिरहेका छन् । उनको यो विरोधाभासपूर्ण ‘राजनीति’ बारे यसअघि यसै स्तम्भमा लेखिसकेको छु । 

प्रतिनिधिमूलक लोकतन्त्रमा दक्षिणपन्थ खतरा’ (हिमाल १०–१६ चैत २०७५)

उता मंसीर, २०७५ मा पूर्व एमालेको पंक्ति काठमाडौंमा आयोजित कोरियाली धर्म सम्प्रदाय मुखिया सन् म्युङ्ग मूनको युनिफिकेशन चर्चको ‘होली वाइन’ तमासामा सबथोक छाडी सरिक भए । हालै मात्र नेपाल कम्युनिष्ट पार्टीको शीर्ष नेतृत्व सद्गुरु भनिने जग्गी वासुदेवसँग लस्करै उभिएको तस्वीर पनि सार्वजनिक भयो ।

धर्मलाई राजकाजसँग मिसाउने र जनतालाई ध्रुवीकृत गर्ने प्रपञ्च प्रष्टसँग देखिंदै आएको छ । मुख्यतः ‘राजनेता’ भनाउँदाहरूको योजना वा असावधानीले यस्तो भइरहेछ, र धर्म–लोकरिझ्याइँको आडमा राजनीतिक फाइदा लिने प्रवृत्ति टड्कारो छ।

आधुनिक राष्ट्रमा राजनीति/राजकाज र धर्मलाई अलग–अलग राख्नुपर्छ, नत्र एउटा समुदायको अर्काे समुदायमाथि थिचोमिचो तथा विग्रहको अवस्था उत्पन्न हुनसक्छ । हो, कुनै पनि राष्ट्रले धर्म र राजकाजलाई पूर्ण रुपमा छुट्याउन सकेका छैनन्, तर यिनलाई आपसमा समाहित हुन नदिने कोशिश भने निरन्तर गरिरहनुपर्छ ।

धर्मलाई राजकाजसँग मिसाउने र जनतालाई ध्रुवीकृत गर्ने प्रपञ्च प्रष्टसँग देखिंदै आएको छ । मुख्यतः ‘राजनेता’ भनाउँदाहरूको योजना वा असावधानीले यस्तो भइरहेछ, र धर्म–लोकरिझ्याइँको आडमा राजनीतिक फाइदा लिने प्रवृत्ति टड्कारो छ।

हाम्रो जस्तो देशमा आम संस्कृति र धर्म छुट्याउन कतै कतै गाह्रो नपर्ने होइन, तर पनि राष्ट्रलाई संविधानतः यो या त्यो धर्मसँग गाँस्नु या जोड्नुहुँदैन र जता जोडिएको छ, त्यो गाँठो फुकाउँदै जानुपर्छ । जस्तै पूजाआजा, चाडपर्व, जात्रा नागरिकको आस्थामा अड्नुपर्दछ, र हालको लागि राज्यले सहयोग नै गरिहाले पनि समानुपातिक हिसाबले गर्नुपर्छ ताकि भेदभावको आभाससम्म नहोस् ।

संविधानले नेपाललाई सनातन धर्म, संस्कृतिको संरक्षण गर्ने धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको छ । संविधानवादको खाँचो भएको हाम्रो मुलुकमा यो स्थिति बदल्न लागिपर्नु उचित होइन । संविधानले बल्ल बल्ल बाँधेको समाजलाई फुटाउने सम्भावना बोकेको कुनै पनि काम गर्नुहुँदैन, र मूलभूत प्रावधानमा संविधान संशोधन सोच्नु पनि हुँदैन ।

संविधानलेखनका समयमा यो पंक्तिकारको अडान र सुझाव थियो — नयाँ संविधानले धर्मको उल्लेख नै नगरोस्, यसो गर्दा कसैलाई खुशी, कसैलाई बेखुश बनाउँदैन । ‘धर्मनिरपेक्ष’ शब्द अंग्रेजी ‘सेक्युलरिजम्’ को भारतीय अभ्यासको उपज थियो, जो नेपाली अनुभवसँग मेल नै खाँदैनथ्यो ।

२००४ सालको नेपाल सरकारको विधान होस् या २००७ सालको अन्तरिम शासन विधान वा २०१५ सालको नेपाल अधिराज्यको संविधान — कुनै पनि संविधानमा धर्मको कुरा नउठाउँदा पनि समाजलाई हानि गरेको थिएन । तर जसरी भारतमा प्रधानमन्त्री इन्दिरा गान्धीले सन् १९७६ मा संविधान संशोधन गरेर धर्मनिरपेक्षता छिराइन्, त्यसैगरी राजा महेन्द्रले भने २०१९ सालको संविधानमा नेपाललाई हिन्दू राष्ट्र घोषणा गरिदिए ।

नेपाललाई हिन्दू राष्ट्र भनी घोषणा गर्ने विचार तर्कसङ्गत छैन । जहाँ २० प्रतिशत भन्दा बढी बासिन्दा (५ भागमा १) ले आफू गैरहिन्दू भन्छन्, त्यो मुलुकलाई ‘हिन्दू राष्ट्र’ कसरी र किन भन्ने ? कसैलाई यो ठीक लाग्यो भन्दैमा सबैलाई ठीक लाग्नु पर्दैन ।

नेपाललाई भारतको हिन्दूत्व अभियन्ताहरुले वकालत गर्दै आएको ‘हिन्दू राष्ट्र’ पनि बन्नु छैन । आफ्नै मुलुकमा संविधानले नदिने भएकाले (नेपालीको हित होइन आफ्नै स्वार्थका कारण) नेपाललाई हिन्दू राष्ट्र देख्न चाहनेको आकांक्षालाई हामीले मलजल गर्नुपर्ने किन ? नेपाल आफूले निर्वाचित संविधानसभाद्वारा घोषित संविधान अनुसार चल्ने हो ।

भारत जहाँ हाम्रा आँखै अगाडि अन्तरसामुदायिक भाइचारा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको हातबाट खल्बल्याइँदैछ । त्यो देशका नागरिक आचार्य बालकृष्णले नेपालीजनमाझ ‘धार्मिक राजनीति’ गर्नु आपत्तिजनक हो ।

भारतीय स्वामी रामदेवका निकटतम सहयोगी र व्यापारिक साझेदार आचार्य बालकृष्णले ७ फागुनमा एपी वान टिभीका प्रस्तोता टीकाराम यात्रीसँगको अन्तर्वार्ताका केही आपत्तिजनक अभिव्यक्तिबारे चर्चा जरुरी छ ।

अन्तर्वार्तामा उनकै दाबी अनुसार भारतमा जन्मिएका तर पाँच वर्षसम्म स्याङ्जामा हुर्किएका आचार्य बालकृष्ण भारतीय नागरिक हुन् । २५०० करोड भारुको पतञ्जलि कम्पनीमा पूर्ण स्वामित्व छ, आचार्य बालकृष्णको जसले उनलाई भारतकै ८औं धनी ‘डलर बिलोनेर’ बनाउँछ । उनले अन्तर्वार्ताको लामो समय नेपाल हिन्दू राष्ट्र बनाउनुुपर्छ भन्नमै खर्चिए ।

लोकतान्त्रिक मान्यता, मानवअधिकार, आधारभूत स्वतन्त्रता, कानूनी राज र संक्रमणकालीन न्याय जस्ता केही विश्वव्यापी मान्यता छन्, जसमा विदेशी नागरिकले बोल्न पाउने मात्र होइन, तिनको बोलीको स्वागत गरिनुपर्छ । तर जुन विषय अस्पष्ट वा विवादित छ, जसले कुनै देशको अन्तरसामुदायिक सम्बन्ध या दुःख गरी आर्जेको राजनीतिक सन्तुलन खल्बल्याउँछ — एउटा गैरनागरिकले त्यस्तोमा अभिव्यक्ति वा टिप्पणी गर्नबाट टाढै रहनुपर्छ ।

आचार्य बालकृष्ण नेपाली मूलका हुन्, तर उनी आफ्नै स्वीकारोक्तिमा भारतीय हुन् । त्यो भारत जहाँ राजनीतिक हिन्दूवाद (‘हिन्दूत्व’) ले परिष्कृत र विविध हिन्दूपनलाई एउटै खाले ‘रामभक्ति’ को ढाँचामा ढाल्न प्रयासरत छ, जबकि नेपालमा ‘हिन्दूपन’ को विविध मिठास कायमै छ ।

त्यस्तो भारत जहाँ हाम्रा आँखै अगाडि अन्तरसामुदायिक भाइचारा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको हातबाट खल्बल्याइँदैछ । त्यो देशका नागरिक आचार्य बालकृष्णले नेपालीजनमाझ ‘धार्मिक राजनीति’ गर्नु आपत्तिजनक हो ।

नेपालको संविधानले बनाएको वास्तविकताको खिलाफमा बोल्ने अधिकार छ भने नेपालीलाई छ, उनलाई छैन । त्यसैले आचार्यलाई यो सन्देश पुगोस् — नेपालप्रति तपाईंको शुभेच्छा, देशको उन्नति होस् भन्ने कामना स्वागत गर्दछौं, सके यहाँको विकासमा सघाउनुहोला, तर नेपालको सामाजिक पोखरीलाई धुमिल बनाउने काम तपाईंबाट नहोस् !

 

प्रतिकृया दिनुहोस