खेलकुद आइतबार, फागुन ११, २०७६

मछिन्द्रको छलाङ

निरञ्जन राजवंशी

मछिन्द्रको छलाङ

दशरथ रङ्गशालाको भरिभराउ दर्शकमाझ गएको ३ फागुनमा मछिन्द्र र त्रिभुवन आर्मी क्लब मैदानमा उत्रिंदा उपाधि विजेताको अनुमान लगाउन गाह्रो थियो । खेलको पल्ला भने त्रिभुवन आर्मीतिर नै ढल्किएको थियो । किनभने आर्मीलाई खेल बराबरी मात्र गरे उपाधि जित्न पर्याप्त थियो । तर, उपाधि मछिन्द्रले जित्यो, त्यो पनि आर्मीको आत्मघाती गोलमा ।

खेलको ३३औं मिनेटमा रञ्जित धिमालको फ्रि–किक प्रहार बचाउन खोज्दा आर्मीका विकास तामाङको प्रहार आफ्नै पोस्टमा छिर्‍यो । त्यही गोल निर्णायक बन्दा मछिन्द्र २०११ सालबाट शुरु लिग जित्ने १६औं क्लब बन्यो ।
मछिन्द्रले यहाँसम्म आइपुग्ने धेरै उतारचढाव बेहोरेको छ । गत वर्ष रेलिगेसन नहटाएको भए मछिन्द्र यतिवेला ‘बी डिभिजन’ को तयारी गरिरहेको हुनेथियो । उसले उक्त लिग अन्तिमबाट दोस्रो हुँदै टुङ्ग्याएको थियो ।

तर, यसपटक च्याम्पियन हुन बुनेको योजना र त्यसलाई जितमा रुपान्तरण गर्ने शैलीले मछिन्द्र अब लामै समय फूटबलको बलियो प्रतिस्पर्धी बन्ने देखिन्छ । क्लबका अध्यक्ष प्रबोधवीर कंसाकार भन्छन्, “हामीले फूटबल खेलिरहने वा छाड्ने अलमलका बीच एउटा ‘जुवा’ खेलेका थियौं, त्यसमा सफल भयौं ।”

संकटबाट सफलता

मछिन्द्र क्लब ६ वर्षअघि फूटबल खेलिरहने वा छाड्ने द्विविधामा थियो । लाखौंको लगानी भए पनि प्रतिफल नआउँदा २०७० सालमा क्लब पदाधिकारीबीच फूटबल छाड्ने विषयमा गम्भीर छलफल भयो । क्लबले थप एक वर्ष परीक्षणको रुपमा फूटबल खेल्ने निर्णय गर्‍यो । त्यसका लागि व्यवस्थापनको जिम्मा अनिल श्रेष्ठलाई दियो । मछिन्द्र त्यही वर्ष ए डिभिजन लिगको उपविजेता बन्यो ।

त्यसपछिका चार वर्ष लिग नै भएन । गत वर्ष रेलिगेशन प्रणाली विनाको लिगमा मछिन्द्र फेरि कमजोर सावित भयो । अन्तिमबाट दोस्रो भएको सजायस्वरुप यसपालिको लिगमा एक अंक काटियो ।

क्लबले यो पटक भने लिग नै जित्ने लक्ष्य बनायो । त्यसको लागि दुईवटा काम गर्नुपर्थ्याे। पहिलो, फूटबल खेलेर भइरहेको घाटालाई नाफामा बदल्ने । दोस्रो, औसत टीम बनाएर अंकतालिकाको मध्यमा बसेर संघर्ष गरिरहने होइन, च्याम्पियनकै लक्ष्य राखेर अगाडि बढ्ने ।

व्यवस्थापक श्रेष्ठले लिग जित्न बनाएको योजनामा क्लब पदाधिकारी सहमत भए । त्यही योजना अनुसार टीम बलियो बनाउन क्लब खातामा बचत गरिराखेको रु.२ करोडमध्ये रु.१ करोड खर्चिने निर्णय भएको क्लबका अध्यक्ष कंसाकार बताउँछन् ।

क्लबलाई च्याम्पियन बनाउन सफल योजना बनाएका व्यवस्थापक श्रेष्ठका अनुसार अंकतालिकाको मध्यमा बस्दा पनि क्लबको रु.४० देखि ५० लाख खर्च हुन्छ । उनी भन्छन्, “पैसा खर्च हुने त छँदैछ तनाव झनै बढ्छ तर, सन्तुष्टि पाइँदैन ।

टीम मछिन्द्र ।

त्यस विपरीत च्याम्पियन हुने लक्ष्य राख्दा समर्थक बढ्छन् र प्रायोजकलाई आकर्षित गर्न सकिन्छ ।” खर्च दोब्बर भए पनि आम्दानी पनि त्यही अनुरुप बढ्ने सम्भावना हुने र च्याम्पियन बनेमा पुरस्कारसहित थप इज्जत पाइने हुनाले आफूहरूले जोखिम मोलेको उनी बताउँछन् ।

मछिन्द्रले ‘च्याम्पियन’ हुने रणनीति अनुसार खेलाडी किन्न प्रशस्तै बजेट खर्चियो । खेलाडीलाई व्यावसायिक शैलीमा सुविधा दियो । खेलाडीले पनि मैदानमा क्लबको योजना अनुसार नै खेल देखाए । यति भएपछि क्लबले राम्रो प्रायोजक पायो । झन्डै रु.१ करोड प्रायोजकबाटै प्राप्त गरेको श्रेष्ठ बताउँछन् । च्याम्पियन बनेबापत रु.५० लाख पनि आयो । अर्को वर्षको लागि नयाँ–नयाँ प्रायोजकहरूले प्रस्ताव राखिसकेका छन् ।

श्रेष्ठ भन्छन्, “अहिले खर्च गरेको रकम उठिसकेको छ । अब जिल्लामा खेलिने खेलमा उपाधि जिते त्यो रकम हाम्रो शुद्ध नाफा हुनेछ ।” क्लबले अहिले घरभाडा र तरकारी बजार व्यवस्थापनबाट मासिक रुपमा रु.१० लाखदेखि १२ लाखसम्म आम्दानी गर्छ ।

बी डिभिजनमा २९ वर्ष

२०२८ सालमा स्थापना भएदेखि नै मछिन्द्र क्लब छिमेकी रानीपोखरी कर्नर टीम (आरसीटी), न्यूरोड टीम (एनआरटी) र संकटाको छायाँमा पर्‍यो । आरसीटीलाई त मछिन्द्रको ‘कट्टर दुश्मन’ नै मानिन्थ्यो । मछिन्द्र बहाल बुद्धिचाल खेलाडी उत्पादन गर्ने थलोको रुपमा चर्चित छ । तर, फूटबलको लहर चलेको त्यो वेला त्यहाँका युवा मिलेर मछिन्द्र फूटबल टीम (एमएफटी) गठन गरे । त्यही टीम पछि मछिन्द्र क्लब भयो ।

टोलमा रहेको प्रदीप्त पुस्तकालय क्लबको भवन बन्यो । चन्दा संकलन, चिठ्ठा बिक्री, तरकारी बजार व्यवस्थापन जस्ता स्रोतबाट पैसा जम्मा हुन थाल्यो । मछिन्द्रले पुस्तकालय व्यवस्थापन र जात्राका वेला सांस्कृतिक र रक्तदान कार्यक्रम पनि गर्छ । तर, क्लबको वास्तविक परिचय भने फूटबल टीमकै रुपमा बन्यो ।

क्लबले झण्डै २९ वर्ष बी डिभिजन खेल्यो । त्यसवेला क्लबले सम्झनलायक उपाधि जितेको इतिहास छैन । २०६२ सालमा ए डिभिजनमा बढुवा भएपछि क्लबले गति लियो । त्यही साल काठमाडौंमा भएको ‘सुनमुन कप’ को उपाधि जित्यो । पोखराको आहा गोल्डकपको सेमिफाइनलसम्म पुग्यो । अनि २०७० सालमा ए डिभिजन लिगको उपविजेता बन्यो ।

यसपटक च्याम्पियनको परिचय थपिएपछि टोलको इज्जत बढेको व्यवस्थापक श्रेष्ठ बताउँछन् । संयोग मान्नुपर्छ, अहिले प्रतिद्वन्द्वी आरसीटी भने बी डिभिजनमा झरेको छ ।

मछिन्द्र अब व्यावसायिक रुपमा अगाडि बढ्ने योजनामा छ । अध्यक्ष कंसाकार भन्छन्, “लिग विजेताको छवि कायम राख्नु नै पहिलो चुनौती हो । त्यसैले क्लबलाई थप व्यावसायिक बनाउने हाम्रो योजना छ ।” यो वर्ष देशभरि फूटबल खेल्ने र समर्थक बढाउने उनी बताउँछन् । अनि अर्को वर्ष पनि राष्ट्रिय लिग जित्ने लक्ष्य त छँदैछ ।

प्रतिकृया दिनुहोस