कला/साहित्य शुक्रबार, फागुन ९, २०७६

बङ्गाली स्वर, नेपाली धुन

सेवा भट्टराई

बङ्गाली स्वर, नेपाली धुन

हामीमध्ये धेरैले यूट्यूब च्यानलमा घुँघुरिएको झ्याप्ले कपाल र दाह्री भएको एक गैर–नेपाली युवाले पुराना लोकगीतहरू गाइरहेको देखेको हुनुपर्छ । उच्चारणमा बङ्गाली भाषाको प्रष्ट प्रभाव देखिए पनि लय भने बडो मजासँग समातेका छन् । उनको गीतको म्युजिक भिडियोको पृष्ठभूमिमा प्रायः कुहिरोले ढाकेका पहाड र मुस्कुराइरहेका नेपाली बालबालिका देखिन्छन् ।

उनी अर्को मुखर्जी हुन् । भारत, पश्चिम बङ्गालवासी उनी दार्जीलिङ छेउछाउ हुर्किए । इलाम, सन्दकपुर पहाड र भीरपाखामा पुगे । ती पहाडहरू डुलिरहँदा सानैमा नेपाली लोक सङ्गीतका सुमधर धुन र ताल सुने ।

“सानै छँदा मैले धेरैपटक नेपालका पहाडी भेगको पदयात्रा गरें । धेरै पटक कञ्चनजङ्घाको फेदीसम्म पुगेको छु”, मुखर्जी सम्झिन्छन्, “मसँग साह्रै मिल्ने नेपालीभाषी साथीहरूसँग बसेर सुकुटी खाँदै तोङ्वा तानेका सम्झनाहरू छन् ।”

बङ्गाली भाषामा उनको नामको अर्थ सूर्य हो, तर नेपालीमा भने अगाडि–पछाडिको वा दोस्रो भन्ने अर्थ लाग्छ । र यसरी उनको नामले पनि नेपालीहरूसँग उनलाई हाँसखेल गर्ने बाटो खोलिदियो र झनै नजिक बनायो । 

मुखर्जीले सुनेको पहिलो नेपाली लोक–गीत ‘रेसम फिरिरी’ हो, त्यसवेला उनी ११ वर्षका मात्रै थिए । उनलाई यो गीत पथ–प्रदर्शक अर्जुन शेर्पाले सुनाएका थिए । सीमावर्ती नेपाली गाउँमै उनले ‘मोहनी लाग्ला है’ देखि ‘तुलसी आँगनमा रोपौंला’ जस्ता लोकप्रिय गीत मात्र होइन, त्यही गीतमा नाचिरहेका गाउँले पनि भेटे ।

मुखर्जीको परिवार पूर्वी बङ्गालबाट पश्चिम बङ्गाल बसाइँ सरेको थियो । “त्योवेला हामीसँग केही थिएन, केही नभएको परिवार अमूर्त सम्पदामा भर पर्छ, जुन उनीहरूले आफूसँगै ल्याएका हुन्छन्” मुखर्जी भन्छन्, “मेरो परिवारमा शास्त्रीय सङ्गीत थियो ।”

तर, मुखर्जी भने शास्त्रीय संगीतको अनुशासन र सूत्रहरूभन्दा मन छुने धुनहरू खोज्न थाले ।

भारत, पश्चिम बङ्गालवासी अर्को मुखर्जी दार्जीलिङ छेउछाउ हुर्किए । इलाम, सन्दकपुर पहाड र भीरपाखामा पुगे । ती पहाडहरू डुलिरहँदा सानैमा नेपाली लोक सङ्गीतका सुमधर धुन र ताल सुने।

औपचारिक प्रशिक्षण छाडेर जस्तो जानिन्छ त्यस्तै अभ्यास गर्न थाले । अहिले उनी २० वटा भाषामा लोक सङ्गीत प्रस्तुत गर्न पाँच प्रकारका लोकबाजा बजाउन सक्ने भएका छन् ।

नेपाली संगीतसँग मुखर्जीको विशेष लगाव छ । बाजाहरूप्रति पनि चाख छ । योसँगै उनलाई नेपाली लोक सङ्गीतको भावभूमि पनि थाहा छ । “केही नेपाली बाजा मङ्गोलिया, अफगानिस्तानका बाजासँग दुरुस्तै मिल्छन् । राणाकालीन सङ्गीतमा भने बेलायती प्रभाव पनि देखिन्छ ।”

मुखर्जीलाई लोकगायक झलकमान गन्धर्वको स्वरशैली उत्कृष्ट लाग्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ट्याक्सीमा ठमेल गइरहेका वेला रेडियोमा उनले पहिलो पटक झलकमानको स्वर सुनेका थिए ।

उनी भन्छन्, “तपाइँ वर्षौंदेखि कुनै एउटै वाद्ययन्त्रसँग गाउनुहुन्छ भने तपाइँको आवाजले पनि आफसेआफ त्यसलाई पछ्याउन थाल्छ । सारङ्गी रेटेर गाउने झलकमानका स्वरले पनि सारङ्गीका केही सूक्ष्म तानका पक्षहरू प्राप्त गरिसकेको थियो । वास्तवमा उनको स्वर विश्वमै अलग थियो ।”

मुखर्जी साङ्गीतिक कार्यक्रमकै लागि गत जनवरीमा पोखरा आएका थिए । त्यसवेला उनी झलकमानको घर बाटुलेचौर पनि पुगे, जसले उनलाई धेरै भावुक बनायो । मुखर्जीले झलकमानका तिम्रो नै माया लाग्दछ साइँली, अल्लारे नानी केसी माया लाउने तिम्रै बेसी, र बाला–जोवन लगायतका धेरै गीत गाएका छन् । मुखर्जीले अहिले मास्टर मित्रसेन थापाका गीतहरू गाएर भिडियो अपलोड गर्न थालेका छन् ।

“मैले भारतीय नेपाली समुदायमा यी गीतहरू गाउँदा सबै मसँगै गाइरहेका हुन्छन् । यस्तो त विरलै मात्र हुन्छ” मुखर्जी भन्छन्, “मैले नेपाली गीत गाउनुको उद्देश्य प्रेम र सद्भाव मार्फत मानिसहरूलाई एकापसमा जोड्नु हो ।” 

 

प्रतिकृया दिनुहोस