ब्लग शुक्रबार, फागुन ९, २०७६

राणाशासनमा चाकरी नै योग्यता

भैरव रिसाल

राणाशासनमा चाकरी नै योग्यता
भैरव रिसाल

सबै हिसाबले बन्द समाज राणाशासन शिक्षामा पनि सारै अनुदार थियो । पढेलेखेका मानिस कम थिए । तर, जागिर पाउन पहिले पढाइलाई आधार बनाइएको थिएन । तल्लोदेखि माथिल्लो ओहोदासम्मको जागिरका लागि योग्यता थियो, शासक वर्गको चाकरी । बकस पाउन र मुद्दा मामिला आफ्नो पक्षमा छिन्न पनि चाकरी हुन्थ्यो ।

चाकरी खास गरी तीन श्रेणीको थियो । एकथरीलाई सिंहदरबारभित्रै चाकरी गर्ने पहुँच थियो । त्यहाँ चाकरीका लागि समय नै तोकिएको हुन्थ्यो । सिंहदरबारमा चाकरी गर्न नपाउनेले शासक वर्ग सदर टुँडिखेलमा घोडा सयरका लागि पुग्दा त्यस्तो मौका छोप्थे । यस्तै, तेस्रो श्रेणीको चाकरी शासकका छोराहरूको दरबारमा हुन्थ्यो ।

फलाना शासककहाँ चाकरी खुल्यो भनेपछि जागिर वा अन्य लाभ प्राप्त गर्न इच्छुकहरू उत्साहित हुन्थे । चाकरी पाउने शासक पनि खुशी हुने नै भए । चाकरीलाई उनीहरू आफूलाई प्रभु स्वीकारिएको, आफ्नो स्वामित्व मानिएको अर्थमा लिन्थे ।

चाकरीको मूल्य कति ठूलो थियो भने, चाकरीदार आफूसँग मात्र आउँछ कि अरूकहाँ पनि जान्छ भनेर गुप्तचर खटाई छड्के गरिन्थ्यो । अरूकहाँ पनि जाने पत्तो लाग्यो भने निष्ठामा प्रश्न उठ्ने भएकाले चाकरी गर्नेहरूले होश पुर्‍याउनुपर्थ्याे।

दुई–तीनतिर चाकरी गर्ने व्यक्ति निकै चतुर हुने नै भयो । कुन शासक/हाकिम कति लामो समय शक्तिमा बस्छ, त्यसबाट आफूलाई लाभ हुन्छ कि हुँदैन आदिको हिसाब गरेर मात्र चाकरीमा जाने/नजाने निर्णय गर्ने प्रवृत्ति हुन्थ्यो ।

ज्यान फालेर दगुरेपछि योग्य !

राणा शासकहरू बिहान र अपराह्न घोडा चढेर टुँडिखेलको दुई–तीन चक्कर लगाउँथे । त्यो वेला रानीपोखरीको डिलदेखि हालको सैनिक मुख्यालयको दक्षिण किनारसम्म नै खुला मैदान भएकाले घोडचढीलाई फुक्काफाल सयर गर्ने थलो थियो । चाकरीका लागि सिंहदरबार पुग्न नसक्नेहरू त्यही समयमा टुँडिखेल पुगेर रिझाउने प्रयास गर्थे । सारै मर्का परेका व्यक्ति वा जागिरका लागि इच्छुकहरू बिन्तीपत्र लिएर घोडाको पछि–पछि दगुर्थे ।

चाकरीदारको मूल्याङ्कन गर्ने शासकहरूको आफ्नै मापदण्ड हुन्थ्यो । साँच्चै मर्का परेको व्यक्ति छ भने ज्यान नै फालेर घोडाको वेगसँगै दगुर्छ भन्ने मान्यता थियो । निवेदक असिनपसिन भएको देखेपछि घोडा रोकेर कुरा सुन्थे । समस्या पत्यार लागे अर्को दिन आफ्नो निवासमा बोलाउँथे । अर्कातिर, धेरै दिन चाकरीमा गएपछि शासकका सहयोगीले जाँचबुझ गरेर मालिकलाई जाहेरी गर्थे र त्यही आधारमा चाकरीदारको काम बन्थ्यो ।

चाकरी खास गरी तीन श्रेणीको थियो । एकथरीलाई सिंहदरबारभित्रै चाकरी गर्ने पहुँच थियो । त्यहाँ चाकरीका लागि समय नै तोकिएको हुन्थ्यो । सिंहदरबारमा चाकरी गर्न नपाउनेले शासक वर्ग सदर टुँडिखेलमा घोडा सयरका लागि पुग्दा त्यस्तो मौका छोप्थे । यस्तै, तेस्रो श्रेणीको चाकरी शासकका छोराहरूको दरबारमा हुन्थ्यो।

कुनै अड्डामा स्वयंसेवकको रूपमा गरेको कामको आधार पनि नोकरीको अर्को योग्यता थियो । अलि समयपछि नोकरीका लागि शैक्षिक योग्यता ‘चार पास’ हुनुपर्ने मापदण्ड बसालियो । त्यसको केही समयमा त्यो मापदण्ड ‘एघार पास’ राखियो।

जागिरलाई सरकारी सिन्दूर भनिथ्यो, जसलाई समाजमा ठूलो इज्जत र सम्मानका रूपमा लिइन्थ्यो । बाउ–बाजे वा आफैंले गरेको चाकरीले नोकरीको बाटो खोल्थ्यो । प्रायः जागिरदारहरूले आफ्ना छोराहरूलाई अड्डा जाँदा सँगै लैजान्थे र अड्डाको काम सिकाउँथे । त्यही सिकाइ नै पछि जागिर गर्ने अनुभव र योग्यता हुन्थ्यो ।

प्रारम्भिक योग्यता पुगेपछि जागिरका लागि चाकरीमा पठाउने थिति थियो । चाकरीबाट लाभ लिने यो प्रक्रियाका कारण प्रायः जागिरदारको छोरो र नाति नै जागिरे हुन्थे । निजामतीमा प्रायः नेवार र बाहुन तथा सैनिक सेवामा राणा, ठकुरी र क्षेत्रीको बाहुल्य हुन्थ्यो ।

राणाशासनको उत्तरार्द्धतिर चाकरी प्रथा धपधपी बलेको थियो । श्री ३ पद्मशमशेर कहाँ सारै कम चाकरीदार जाने रहेछन् । किनकि पद्मशमशेरका पिता भीमशमशेर प्रधानमन्त्री हुँदा हजुरिया जर्नेल भएर ढलीमली गर्न नपाएकोले उनी धन र शक्ति दुवैमा कमजोर थिए ।

न जागिर, न त बकस पाउने भएपछि चाकरीदार ज्यादै कम हुन्थे । यसको विपरीत भीमशमशेरपछि प्रधानमन्त्री बनेका जुद्धशमशेरका छोराहरूकहाँ भने चाकरीदारहरू झुत्ती खेल्ने रहेछन् ।

प्रतिकृया दिनुहोस