समाचार मंगलबार, फागुन ६, २०७६

प्रदेश १ मा खोप अभियान शुरु, मन्त्रीले खुवाए पोलियो थोपा

कमल रिमाल

प्रदेश १ मा खोप अभियान शुरु, मन्त्रीले खुवाए पोलियो थोपा
क्याप्सनः बालिकालाई पोलियो थोपा खुवाउँदै सामाजिक विकास मन्त्री जीवन घिमिरे । तस्वीरः कमल रिमाल

नेपालमा शुरु भएको पाँचौं दादुरा, रुवेला खोप अभियानलाई प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बालिकालाई औषधि खुवाएर शुरु गरेका छन् ।

मंगलबार एक समारोहका बीच कटहरी २ का रिना र विशाल साहकी २ वर्ष ४ महीनाकी छोरी नित्यालाई पोलियोको दुई थोपा औषधि खुवाएर घिमिरेले प्रदेश १ मा अभियानको सुरुवात गरेका हुन् । मन्त्री घिमिरेले दादुरा रुवेला अभियानलाई प्रदेशमा सफल बनाउन सबै जनप्रतिनिधिलाई अनुगमन गर्न आग्रह गरे ।

हरेक वडामा सबै बालबालिकाले खोप लगाएको वडा अध्यक्षले प्रमाणित गर्नुपर्ने र पालिका प्रमुखले पालिकाभित्रको प्रमाणित गर्नुपर्ने उनले बताए । यसलाई आफ्नो अभियानका रूपमा लैजान आह्वान गर्दै घिमिरेले प्रदेशलाई नै दादुरा, रुबेला उन्मूलन भएको घोषणा गरिने पनि बताए ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख भरत भण्डारीका अनुसार, दक्षिण एशियाबाटै दादुरा रुवेला अन्त्य गर्ने महाअभियान शुरु भएको हो । छुटेका बालबालिकाको खोजी गरेर खोप लगाउनु पर्ने बताउँदै उनले आगामी असारभित्रमा पूर्ण खोप भएको देश घोषणा गर्ने जानकारी दिए ।

स्वास्थ्य निर्देशनालयका अनुसार, दादुरा रुवेला अभियानले प्रदेश १ का ४ लाख २७ हजार ७ सय १२ बालबालिकालाई समेट्ने छ । अभियानमा ८ हजार बढी स्वास्थ्यकर्मी र १६ हजार बढी स्वयंसेविका खटाइएको छ । दादुरा रुवेला अभियानमा मोरङका ९२ हजार ८ सय ५ बालबालिकालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए ।

६ देखि १४ फागुनसम्म मोरङका ८ पालिका र १६ देखि २४ फागुनसम्म विराटनगर महानगरिपालिका सहितका ९ पालिकामा खोप लगाइदैछ । अभियानमा प्रदेश १ का झापा, मोरङ र सुनसरीका ३ लाख ५ हजार ३ सय ४८ बालबालिकालाई पोलियो थोपा खुवाइदैछ ।

सन् २०१९ को तथ्याङ्क अनुसार प्रदेश १ मा ३२ जनामा दादुरा भएको पाइएको थियो । मोरङमा मात्रै १३ जनामा दादुरा भएको तथ्याङ्कले देखाएको छ । सरकारले सन् २०२० भित्रमा दादुरा रुवेला अन्त्य भएको घोषणा गर्ने लक्ष्य राखेपनि पूरा नभएकाले २०२३ सम्ममा नियन्त्रण गर्ने तयारी गरेको छ ।

 

प्रतिकृया दिनुहोस