समाचार सोमबार, फागुन ५, २०७६

पूर्व सभामुख महरालाई करणी उद्योग मुद्दामा सफाई

दीपक खरेल

पूर्व सभामुख महरालाई करणी उद्योग मुद्दामा सफाई

प्रतिनिधीसभाका पूर्व सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले सफाई दिएको छ। अदालतका मुख्य न्यायाधीश अम्बरराज पौडेलको एकल इजलासले सोमबार (५ फागुन २०७६) मा अन्तिम फैसला सुनाउदै महरालाई सफाई दिएको हो।

न्यायाधीश पौडेलको इजलासले महरा बिरुद्धको अभियोग मागदाबी नपुग्नै भन्दै उनलाई सफाई दिएको हो। महराले संसद सचिवालयमा कार्यरत एक महिलालाई करणी उद्योग गरेको आरोपमा १४ कात्तिक २०७६ मा उनी बिरुद्ध करणी उद्योग मुद्दा दर्ता भएको थियो।

अदालतका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले महराले अभियोग दाबीबाट पूर्ण सफाई पाएको बताए। उनले इजलासको फैसलासँगै महरामाथिको आरोप सबुतप्रमाण र बयानले पुष्टि हुन नसकेको बताए।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुर्दशनराज पाण्डेले पछि ठहरे बमोजिम हुने गरि महरालाई १८ कात्तिकमा पूर्पक्षका लागि सदरखोर डिल्लीबजार कारागारमा राख्न आदेश गरेका थिए। 

त्यसयता महरा सदरखोर डिल्लीबजारमा बन्दी जीवन बिताउदै आएका थिए। प्रहरीले महरालाई उनको बालुवाटारस्थित सरकारी निवासबाट १९ असोज २०७६ मा पक्राउ गरेर कारबाही अघि बढाएको थियो। काठमाडौं जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले महरालाई करणी उद्योगमा ५ र थप साढे दुई गरि साढे सात वर्ष सजाय मागदाबी सहित मुद्दा दायर गरेको थियो।

सरकारी वकिलले प्रहरीले जुटाएका प्रमाणकै आधारमा मुद्दा अघि बढाएको थियो। प्रहरीले अदालतको आदेश अनुसार महराकाे डीएनए रिर्पोट र पोलीग्राफ टेस्ट समेत जुटाउन सकेको थिएन। महराले दुबै परिक्षण गर्न नमानेपछि प्रहरीले उनले इन्कार गरेकाे ब्यवहाेरा सहितकाे विवरण सरकारी वकिलमा बुझाएकाे थियाे। 

घटना सार्वजनिक भएपछि उनले सभामुख पदबाट १४ असाेजमा राजीनामा दिएका थिए। फाैजदारी अभियाेगमा मुद्दा दर्ता भएपछि उनी स‌सद पदबाट समेत निलम्बनमा परेका थिए। 

यस्तो थियो महरा बिरुद्धको आरोप
पीडित महिलाले उनका श्रीमान नभएका वेला मदिरा बोकेर उनको कोठामा आएका महराले करणी प्रयास गरेको आरोपसहित जाहेरी दिएकी थिइन्। उनले महराले आफूलाई कुटपीट समेत गरेको आरोप लगाएकी थिइन्।

जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले बुझाएको अभियोगपत्रमा महरा १२ असोज २०७६ काे साँझ करिब सातबजे सुविधानगरस्थित पीडित महिलाको डेरामा पुगेको उल्लेख छ। महरा आएको एकघण्टा २५ मिनेटपछि आठ बजेर ४५ मिनेटमा प्रहरी कन्ट्रोलमा पीडित महिलाले आफूलाई सभामुख महराले कुटपीट गर्दै करणी गर्न खोजेको मौखिक जाहेरी दिएकी थिईन।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी दुर्गाराज रेग्मी ९ बजेर १० मिनेटमा घटनास्थल पुगेको अभियोगपत्रमा उल्लेख छ। । डीएसपी रेग्मीले घटनास्थलको भिडियो बनाएर पीडित महिलालाई स्वास्थ्य परिक्षणका लागि आफूसँगै हिडन अनुरोध गरे। पीडित महिला जान मानिन्न्। उनले श्रीमान बाहिर भएकाले फर्केपछि सल्लाह गरेर जान्छु भनिन्। डिएसपी त्यहाँबाट फर्किए ।

डिएसपी रेग्मी अर्को दिन (१३ असोज २०७६) बिहान घटनास्थल पुगेर रितपूर्वक मुचुल्का लिएका थिए। प्रहरीकाे मुचुल्कामा आधा सकिएको रक्सीको बोतल, आधा भएको रक्सीको गिलास, काक्रो–मुला र बदामलाई दसी प्रमाणका रुपमा स‌कलन गरेकाे थियाे । यस्तै एकथान भाच्चिएको चश्मा र जुत्ताको तलुवा समेत प्रहरीले घटनास्थलबाट बरामद गरेर महरा बिरुद्धको सबुतका रुपमा अदालतमा पेश गरेको थियो।

पीडित महिलाले घटना भएकै दिन प्रहरीसँग जान नमानेपनि उनीहरु फर्किएपछि राती साढे ११ बजे नेपाली कांग्रेसकी सांसद उमा रेग्मीलाई फोन गरेर गुहार मागेकी थिइन।

प्रहरी अनुसन्धान प्रतिवेदनमा घटनाका दिन महराको सुरक्षार्थ खटिएका जमदार काजीराम रानामगरले पीडितको घरमा गएको र डेढ घण्टा त्यहाँ बसेर फर्किएको बयान सरकारी वकिलको रोहबरमा गरेका थिए। उनीसँगै प्रहरी हवल्दार बिष्णुबहादुर थापा र चालक सशस्त्र प्रहरी हवल्दार श्यामहरी आचार्य साढे ६ बजे सरकारी निवासबाट बाहिरीएको बयाद दिए। दुबैले आफुहरु घटना भएको घर बाहिर बसेर फर्किएको बयान दिएका थिए। 

तर, महराले भने आफू पीडित महिलाको घर बाहिरसम्म गएको तर भित्र नपसेको बयान दिंदै आएका थिए। उनले आफूले मदिरा लिएर नगएको र नपिएको समेत दाबी सरकारी वकिल र अदालतमा गरेका थिए।

उनले बयानमा आफूले चिकित्सकको सल्लाहअनुसार विशेष समारोहमा रेड वाईन पिउने गरेको बयान दिएका थिए। उनले आफूले कडा मदिरा पिउन छाडेको १२ वर्ष भएको दाबी बयानमा गरेका थिए।

प्रहरीले अदालतमा पीडित महिलाको डेराबाट बरामद भाच्चिएको चश्माको पावर र महराको चश्माको पावर एउटै भएको कागज प्रमाणका रुपमा पेश गरेको थियो। महराले आफू पीडित बस्ने घर क्षेत्रमा गएको बताएपनि भित्र नछिरेको दाबी गरेपनि प्रहरीले उनी ८ बजेर ३२ मिनेट ४५ सेकेण्डमा सो स्थानबाट बाहिरीएको क्लोज सर्किट क्यामराको भिडियो अदालतमा पेश गरेको थियो।

यस बाहेक महराले पीडितले ‘हिजोको घटना बिर्स, मलाई माफ गरिदेउ’ लेखेको एसएमएस समेत अदालतमा पेश गरेको थियो। प्रहरीले अदालतमा पेश गरेको पीडितको स्वास्थ्य परिक्षण रिर्पोट (घाउचोट फारम)मा उनीमाथि निलाडाम हुने गरि कुटपीट भएको उल्लेख छ।

प्रतिकृया दिनुहोस