रिपोर्टबिहिबार, ९ फाल्गुण , २०७५

इम्प्लान्ट डिभाइसको अपारदर्शी व्यापार

रामु सापकोटा

मानव शरीरमा प्रत्यारोपण गरिने सामग्री (इम्प्लान्ट डिभाइस) को अपारदर्शी व्यापारले एकातिर बिरामीको आर्थिक भार बढाएको छ भने अर्कोतिर गुणस्तर यकिन नहुँदा जनस्वास्थ्य जोखिममा परेको छ।

रुखबाट लडेर घाइते भएपछि राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहेका कास्कीका चन्द्रबहादुर सुवेदी । तस्वीर: बिक्रम राई

. दुई साताअघि कास्कीको मादी–८ का चन्द्रबहादुर सुवेदी (५०) स्याउला काट्ने क्रममा रूखबाट लडेर घाइते भए। पोखरास्थित गण्डकी मेडिकल कलेजमा पाँच दिनको उपचारपश्चात काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टर ल्याइएका उनको ढाडको शल्यक्रिया गरी ‘स्क्रू’ लगायतका इम्प्लान्ट डिभाइस राखियो। चन्द्रबहादुरकी श्रीमती सीतादेवी चिकित्सकले व्यापारीसँग सम्पर्क गराइदिएपछि आफूले उक्त उपकरण खरीद गरेको बताउँछिन्। तर उनलाई आफ्ना श्रीमानको शरीरमा प्रयोग भएको ‘स्क्रू’ बारे थप जानकारी छैन। उनी भन्छिन्, “व्यापारी र डाक्टर दुवैले अमेरिकी वा भारतीय कुन कम्पनीको किन्ने भनेर सोधे। कुन राम्रो भन्ने थाहा थिएन, सस्तो भएकाले भारतीय किन्यौं।”

. दुई वर्षअघि गुल्मीको धुर्कोटका प्रेमबहादुर नेपाली (४३) घाँस काट्दै गर्दा भीरबाट लडेर घाइते भए। २८ चैत, २०७३ मा राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएपछि उनको ढाड भाँचिएको थाहा भयो। चिकित्सकले नेपालीको ढाडको शल्यक्रिया गरी ‘स्टिल प्लेट’ राखिदिए। “अपरेशन भइसकेपछि मात्रै हामीले व्यापारीलाई भेटेर पैसा तिर्यौं” नेपालीका आफन्त मीनबहादुर भन्छन्, “त्यसअघि हामीलाई स्टिलको गुणस्तर र यकिन मूल्यबारे जानकारी दिइएन।” झण्डै २८ दिनसम्म अस्पताल बसेर घर फर्केका नेपालीको शरीरमा शल्यक्रिया गरेको ठाउँभन्दा तल घाउ देखियो र बढ्दै गएर मासु झर्न थाल्यो। उनी अहिले ह्विलचेयरको सहायतामा हिंडडुल गर्छन्। मीनबहादुर भन्छन्, “अहिले बिरामी उठबस गर्ने र दिसापिसाब गर्न सक्ने अवस्थामा छैनन्।”

. एक वर्षअघि सवारी दुर्घटनामा परेर मेरुदण्डमा चोट लागेपछि झापा चन्द्रगढीकी सुष्मा क्षेत्री (२२) लाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो। प्रतिष्ठानका चिकित्सकले उनको मेरुदण्डको शल्यक्रिया गरी ‘प्लेट’ राखिदिए। तीन महीनापछि ‘प्लेट’ निकाल्दा कीरा परेको देखियो। उनका आफन्त एवम् पत्रकार गजेन्द्र बुढाथोकी प्लेट गुणस्तरीय नहुँदा कीरा परेको हुनसक्ने बताउँछन्। धेरै पटक आफ्नो शरीरमा प्लेट राखेर उपचार गराएका बुढाथोकी कतिपय बिरामीका शरीरमा चिकित्सकले खिया लागेका प्लेट समेत राखिदिने गरेको बताउँछन्।

यसरी हाडजोर्नीको समस्या, मुटु रोग, दन्त रोग आदिका बिरामीको शरीरमा प्रयोग हुने सामग्री समेत अपारदर्शी रूपमा खरीदबिक्री भइरहँदा तिनको गुणस्तर र मूल्यबारे प्रश्न उठ्ने गरेको छ । केही निश्चित एजेन्ट मार्फत बिक्री भइरहेका यी सामग्रीको अधिकतम खुद्रा मूल्य, ब्याच नम्बर लगायतका विवरण खुलाइएको हुँदैन । 

अपारदर्शी कारोबार
कास्कीका चन्द्रबहादुर सुवेदीको ढाडमा राखिएको ‘स्क्रू’ उनकी श्रीमती सीतादेवीले त्रिपुरेश्वरस्थित सिन्धु सर्जिकल कन्सर्न प्रालिबाट रु.४५ हजारमा खरीद गरेकी थिइन् । तर, उनले खरीद गरेको उक्त सामग्रीको खोलमा मूल्य र गुणस्तरबारेको सूचना थिएन ।

गुल्मीका प्रेमबहादुर नेपालीको ढाडमा राखिएको स्टिलका लागि उनका आफन्तले एजेन्टलाई रु.४० हजार बुझाए पनि उनीहरूलाई त्यसको गुणस्तर र वास्तविक मूल्यबारे थाहा छैन । ११ वर्षअघि दुर्घटनामा परेर घाइते भएका पत्रकार तथा अपाङ्ग मामिलाका अभियन्ता गजेन्द्र बुढाथोकी गुणस्तर समेत यकिन नभएका यस्ता इम्प्लान्ट डिभाइसको मूल्य बिक्रेताले मनपरी लिने गरेको बताउँछन् ।

उनका अनुसार प्रत्यारोपणका सामग्रीमा भइरहेको अपारदर्शी कारोबारले बिरामीलाई ठूलो आर्थिक भार पर्नुका साथै थप जटिलता समेत निम्त्याउने गरेको छ ।

संसारभर मेरुदण्डमा स्टेनलेस स्टिल, टाइटानियम र पिक गरी तीन थरीका स्पाइन इम्प्लान्ट डिभाइस प्रयोगमा आएका छन् । तर, चिकित्सकहरू हड्डी जस्तै हुने र मानव शरीर अनुकूल हुने भएकाले टाइटानियमको प्रयोग बढी हुने गरेको बताउँछन् । तुलनात्मक रूपमा सस्तो भएकाले भारतमा निर्मित इम्प्लान्ट डिभाइस बढी रुचाइए पनि भारत, अमेरिका लगायत अन्य मुलुकबाट समेत आयात भइरहेका यस्ता सामग्रीको अधिकतम खुद्रा मूल्य भने तोकिएको हुँदैन । र, यी सामग्रीको वास्तविक मूल्यबारे उपभोक्तालाई गुमराहमा राखिन्छ ।

राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा.विनोद शेरचन विदेशबाट आयात हुने प्रत्यारोपण सामग्रीको वास्तविक मूल्यबारे चिकित्सक समेत जानकार नहुने बताउँछन् । उनी भन्छन्, “नेपाली आयातकर्ताले मूल्य आफैं तोक्ने हुँदा बिरामीलाई आर्थिक भार परिरहेको छ ।”

तर, नेपालमै बन्ने दन्त रोगका सामग्रीको समेत अधिकतम खुद्रा मूल्य निर्धारण गरिएको हुँदैन । अवस्था कस्तोसम्म छ भने, कमजोर दाँतलाई टिकाउन राखिने ‘डेन्टल क्राउन’ लाई अस्पतालहरूले रु.४ हजारदेखि रु.४० हजारसम्ममा बिक्री गरिरहेका छन् ।

जबकि, दाँत सम्बन्धी सामग्री बनाउने लाजिम्पाटको प्रोफिसेन्ट डेन्टल ल्याबका सञ्चालक रोशन श्रेष्ठ गुणस्तर अनुसार रु.१२०० देखि रु.७ हजारसम्मका डेन्टल क्राउन अस्पताललाई बिक्री गरिरहेको बताउँछन् । सरकारले मूल्य नतोक्दा अस्पताल र चिकित्सकहरूले यस्ता सामग्री बढी मूल्यमा बिक्री गरिरहेको श्रेष्ठ बताउँछन् ।

त्रिपुरेश्वरको सिन्धु सर्जिकल कन्सर्न प्रालिका सेल्स म्यानेजर रञ्जन भण्डारी प्रत्यारोपणका सामग्रीमा आफूले बढी मूल्य नलिएको दाबी गर्छन् । उनी भन्छन्, “खरीद मूल्यमा सामान्य नाफा राखेर बिक्री गर्छौं ।” सिन्धुले अमेरिकी कम्पनी मेडट्रोनिकबाट हाडजोर्नीको उपचारका लागि चाहिने प्लेट, स्क्रू र मुुटु रोगको उपचारमा चाहिने पेसमेकर जस्ता प्रत्यारोपणका सामग्री बिक्री गर्दै आएको छ ।

नैतिक प्रश्न
हामीकहाँ प्रत्यारोपणका सामग्री औषधि पसलबाट सोझै खरीद गर्न सकिंदैन । यस्ता सामग्री उपलब्ध गराउने विदेशी कम्पनीका नेपालस्थित एजेन्टसँग सम्पर्क गरी खरीद गर्नुपर्छ । तर, अधिकांश बिरामी वा उनीहरूका आफन्तलाई एजेन्टबारे जानकारी नहुँदा उनीहरू चिकित्सकमै निर्भर हुन्छन् । हिमाल सँगको कुराकानीमा हाडजोर्नी र मुटु रोगका केही चिकित्सकले बिरामीको उपचारमा चाहिने प्रत्यारोपणका सामग्रीका लागि बिरामीका आफन्तलाई एजेन्टसँग सम्पर्क गराइदिने बताए ।

राष्ट्रिय ट्रमा सेन्टर निर्देशक शेरचन पनि प्रत्यारोपणका सामग्री औषधि जस्तो सजिलै खरीद गर्न नसकिने हुँदा एजेन्ट मार्फत नै मगाउने गरेको स्वीकार्छन् । उनी भन्छन्, “हामी आफैंले एजेन्ट मार्फत यस्ता सामग्री मगाइदिन्छौं ।” श्रीमानको ट्रमा सेन्टरमा उपचार गराइरहेकी सीतादेवी पनि डा.गौरवराज ढकालले एजेन्ट मार्फत प्रत्यारोपणको सामग्री मगाइदिएको बताउँछिन् ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्स प्लान्ट सेन्टरका चिकित्सक डा.भगवान कोइराला एजेन्ट र चिकित्सकहरूको मिलेमतोकै कारण हाडजोर्नी सम्बन्धी प्रत्यारोपणका सामग्रीको मूल्य अत्यधिक भएको बताउँछन् । उनी भन्छन्, “त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको शल्यक्रिया कक्षसम्मै एजेन्टहरूको पहुँच छ, यो रोकिनै पर्छ ।”

उनी अस्पतालले आफ्नै फार्मेसी मार्फत प्रत्यारोपणका सामग्री उपलब्ध गराउँदा यो समस्या कम हुने बताउँछन् । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्स प्लान्ट सेन्टरले प्रत्यारोपणका अधिकांश सामग्री बोलपत्र मार्फत खरीद गरी अस्पताल फार्मेसी मार्फत बिक्री गर्दा यस्तो समस्या नरहेको डा. कोइरालाको भनाइ छ ।

एजेन्ट वा उत्पादक कम्पनीसँगको मिलेमतोमा प्रत्यारोपणका सामग्रीहरू चर्को मूल्यमा बिरामीलाई भिडाउने चलन दशकौंदेखि चलिरहेको बताउने नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा.दिलीप शर्मा काउन्सिलले तयार पारेको ‘कोड अफ इथिक्स’ अनुसार कुनै पनि चिकित्सकले बिरामीलाई निश्चित कम्पनीका सामान खरीद गर्न उत्प्रेरित गर्न नपाउने बताउँछन् ।

त्यस्ता चिकित्सकलाई काउन्सिलले किन कारबाही गर्न सकेको छैन त ? “उजुरी नपरेकाले कारबाही अघि बढाउन सकिएको छैन” काउन्सिल रजिष्ट्रार शर्मा भन्छन् । उनी काउन्सिलका पदाधिकारीहरूको स्वार्थ बाझिदा परेका केही उजुरीमाथि कारबाही अघि बढाउन कठिन भएको बताउँछन् ।

नियमनमा लापरबाही
मुटुरोग विशेषज्ञ डा.भगवान कोइराला प्रत्यारोपणका सामग्रीको अनुगमन गर्न नियामक निकाय अति आवश्यक भएको बताउँछन् । अनुगमन गर्ने निकाय नभएको र मापदण्ड पनि नबनेको अवस्थामा यस्ता सामग्रीको गुणस्तरबारे चिकित्सकहरू व्यापारीले उपलब्ध गराउने अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) वा जेनेभाको आईएसओ (इन्टरनेशनल अर्गनाइजेसन फर स्ट्याण्डर्डाइजेसन) मान्यताकै भर परिरहेका छन् ।

क्रिष्टिना चुङ, आईसीआईजे ।

प्रायःजसो भारतमा निर्मित सामग्रीहरू आईएसओ र अन्य मुलुकमा निर्मित प्रत्यारोपणका सामग्रीहरूले एफडीएद्वारा मान्यता लिएका हुन्छन् ।

राष्ट्रिय ट्रमा सेन्टरका स्पाइन सर्जन डा.गौरवराज ढकाल भन्छन्, “प्रत्यारोपण सामग्रीको गुणस्तर यकिन गर्न हामी आईएसओ वा एफडीए मान्यतामा भर पर्छौं, अर्को उपाय पनि छैन ।” 

तर, नेपालमै उत्पादन हुने दाँत सम्बन्धी प्रत्यारोपण सामग्री न कुनै मान्यताप्राप्त छन् न त कसैले अनुगमन र गुणस्तर नै जाँच गरेको छ । एक दन्त रोग विशेषज्ञ भन्छन्, “असुरक्षित सामग्रीबाट बिरामीलाई रोग सर्ने र थप जटिलता निम्त्याउने सम्भावना हुन्छ ।” नेपाल मेडिकल काउन्सिलका सदस्य डा.कालुसिंह खत्री लामो समयसम्म शरीरभित्र राखिने प्रत्यारोपण सामग्रीको गुणस्तर र मूल्यबारे सरकारले नियमन नगरेर लापरबाही गरेको बताउँछन् ।

१९ जेठ २०७४ मा मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको ‘प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरण सम्बन्धी निर्देशिका, २०७४’ मा प्रत्यारोपण लगायतका स्वास्थ्य सामग्री बिक्री वितरणको इजाजत दिने, गुणस्तर जाँच गर्ने, मूल्य तोक्ने लगायतका जिम्मेवारी औषधि व्यवस्था विभागलाई दिइएको छ । तर, जारी भएको डेढ वर्ष पुगिसक्दा पनि निर्देशिका कार्यान्वयन हुनसकेको छैन ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकाल जनशक्ति र बजेटको अभावमा निर्देशिका कार्यान्वयन गर्न नसकिएको बताउँछन् । उनी भन्छन्, “निर्देशिकामा भएको सबै व्यवस्था कार्यान्वयनमा ल्याउन औषधि ऐनमै संशोधन गर्नुपर्छ, त्यसबारे पनि स्वास्थ्य मन्त्रालयले ध्यान दिएको छैन ।”

आईसीआईजेको खुलासाः गुणस्तरहीन डिभाइसको बिगबिगी
नेपालमा प्रत्यारोपणका सामग्री बिक्री गर्ने त्रिपुरेश्वरको सिन्धु सर्जिकल कन्सर्नले अमेरिकाको मेडट्रोनिक्स कम्पनीका सामग्री आयात गर्छ । सिन्धुले मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्स प्लान्ट सेन्टरमा समेत प्रत्यारोपणका सामग्री सप्लाइ गरिरहेको छ ।

मेडट्रोनिक्स त्यही कम्पनी हो, जसले उत्पादन गरेका इम्प्लान्ट डिभाइस गुणस्तरहीन रहेको खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट (आईसीआईजे) ले २५ नोभेम्बर २०१८ मा खुलासा गरेको थियो । आईसीआईजेको अनुसन्धानमा मेडट्रोनिक्सले आफ्ना उपकरण युरोपेली मुलुकहरूमा बिक्री गराउन चिकित्सकहरूलाई घुस दिने गरेको पाइएको थियो  ।

आईसीआईजेले गरेको खुलासामा मेडट्रोनिक्सले विगत दश वर्षदेखि उत्पादन गरेका प्रत्यारोपणका सामग्रीहरूको अनधिकृत बिक्री गरेको, विभिन्न देशका सरकारी स्वास्थ्य कार्यक्रमलाई धोका दिएको र कम्पनीलाई अनुकूल हुने गरी अध्ययन–अनुसन्धान गर्न चिकित्सकहरूलाई रकम दिने गरेको उल्लेख छ ।

भारतका नियामक निकायहरूको अनुगमनबाट समेत मेडट्रोनिक्सले बढी मूल्यमा प्रत्यारोपण सामग्री बिक्री गरेको पाइएको थियो । त्यस्तै, चीनको नियामक निकायले मेडट्रोनिक्सलाई बजारमा एकाधिकारको अभ्यास गरेको भन्दै जरिवाना तिराएको थियो ।

जर्मनीको कार्ल स्टोर्ज नेपालमा प्रत्यारोपणका सामग्री निर्यात गर्ने अर्को कम्पनी हो । कार्लको नेपाली एजेन्ट इष्टवेस्ट कन्सर्न प्रालिमाथि पनि आफ्ना सामान बिक्री गराउन चिकित्सकहरूलाई कमिशन दिने गरेको आरोप लाग्ने गर्छ । आईसीआईजेले सार्वजनिक गरेको मेडिकल ‘इम्प्लान्ट फाइल’ बारेको डेटाबेसमा पनि कार्ल स्टोर्जबारे उल्लेख छ ।

इम्प्लान्ट डिभाइस बनाउने कार्ल स्टोर्ज सहित मेडट्रोनिक, स्ट्राइकर, साइमेन्स जस्ता ठूला कम्पनीले ‘सर्जिकल फेलो’ प्रशिक्षणका लागि महँगा आधुनिक उपकरणको प्रयोगशाला भनेर चिनिने अमेरिकास्थित सेन्टर फर सर्जिकल आर्टस्लाई रकम दान दिन्छन् । त्यसवापत सर्जिकल आर्टस्ले विभिन्न कम्पनीका नयाँ उत्पादनलाई बिरामीमा परीक्षण गर्न सघाउने गरेको आरोप लाग्ने गरेको छ । आईसीआईजेका अनुसार ती सामग्रीहरू एफडीएको ‘क्लिनिक ट्रयाल’ विना बिरामीमा प्रयोग गरिएको छ ।

पुट्ठाको हड्डी प्रत्यारोपणका लागि नेपालमा अमेरिकाको जोनसन एण्ड जोनसन कम्पनीका सामग्रीहरू आयात भइरहेको छ । आईसीआईजेको अनुसन्धानले भारतमा हिप प्रत्यारोपणमा प्रयोग भएका सामग्री विषालु भएको पाइएपछि त्यस्ता उत्पादन भारतीय बजारबाट फिर्ता गराइएको थियो ।

अमेरिकामा सन् २०१५ यता जोनसन एण्ड जोनसनका गुणस्तरहीन उत्पादन प्रयोग गरेका बिरामीमा थप जटिलता आएपछि कम्पनीले ४.३ विलियन अमेरिकी डलर क्षतिपूर्ति समेत तिरिसकेको छ । जानकारहरू युरोप, अमेरिका, अफ्रिका लगायतका मुलुकमा प्रयोग गर्न रोक लगाइएका र बजारबाट फिर्ता भएका विभिन्न कम्पनीका प्रत्यारोपण सामग्री नेपालमा आयात भइरहेको हुनसक्ने आशंका गर्छन् ।

आईसीआईजेले ३६ देशका खोज पत्रकारसँगको सहकार्यमा संसारभरका इम्प्लाण्ट डिभाइस उद्योगमाथि अनुसन्धान गरेको थियो । हाडजोर्नी, मुटु, मस्तिष्क र स्तन सम्बन्धी रोगका बिरामीका शरीरभित्र प्रयोग गरिने इम्प्लाण्ट डिभाइसमाथि भएको उक्त अनुसन्धानले विभिन्न मुलुकमा परीक्षण नगरिएका प्रत्यारोपण सामग्रीहरू प्रयोग भइरहेको खुलासा गर्‍यो ।

आईसीआईजेको रिपोर्टमा उल्लेख छ, “बिरामीको शरीरमा प्रयोग गरिएको सामग्री कस्तो हो भनेर थाहा दिइँदैन । न त त्यस्ता सामग्री कहिलेसम्म प्रयोग गर्न मिल्ने भन्नेबारे नै जानकारी दिइन्छ ।”

रिपोर्टमा यूरोपका मुलुकहरूका बिरामीमाथि परीक्षण गरिएपछि मात्र प्रत्यारोपण सामग्रीहरू अमेरिका पठाइने उल्लेख गरेको छ । गुणस्तर परीक्षण नगरिएका प्रत्यारोपण सामग्रीका कारण ८३ हजारको ज्यान गएको उल्लेख गरेको उक्त रिपोर्टमा अफ्रिकी, एशियाली, दक्षिण अमेरिकी मुलुकमा इम्प्लान्ट मेडिकल डिभाइसमाथि नियमन गर्न कुनै नियमनकारी निकाय नभएको समेत जनाइएको छ ।

प्रत्यरोपणका सामग्री उत्पादकले चिकित्सकलाई सम्मेलन, तालिम आदिसँगै आफ्ना सेल्स एजेन्ट मार्फत प्रभावमा पार्छन् । अमेरिकाका इम्प्लाण्ट डिभाइस उत्पादक १० वटा कम्पनीले आफ्ना सामग्री बिक्री गराउन एक वर्षमा झन्डै ६०० मिलियन अमेरिकी डलर डाक्टर र अस्पतालका लागि खर्च गरेको समेत आईसीआईजेले खुलासा गरेको छ ।

प्रतिकृया दिनुहोस