रिपोर्ट शनिबार, फागुन ३, २०७६

कोरोनाः अफवाहले आतंक

रामु सापकोटा

कोरोनाः अफवाहले आतंक

सरकारले चीनको हुपेई प्रान्तस्थित वुहान शहरका १८० नेपालीलाई उद्धार गरेर काठमाडौंको नागार्जुन नगरपालिका इचंगुनारायणस्थित आवास भवनमा राख्ने प्रस्ताव गरेपछि त्यहाँका स्थानीयले विरोध प्रदर्शन गरे । शुरूमा नोभल कोरोना भनिएको तर, विश्व स्वास्थ्य सङ्गठनले ‘कोभिड–१९’ नामकरण गरेको भाइरसको संक्रमण फैलिन सक्ने भन्दै मिलन टोलसुधार समिति र नागभूषण महिला समूह रानीवनले २५ माघमा छलफल कार्यक्रम नै चलाए ।

छलफलमा नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नम्बर ७ का सभापति तथा काठमाडौं महानगरपालिका–१२ का वडाध्यक्ष मुकुन्द रिजालले चीनबाट उद्धार गरिनेलाई मानव बस्ती छेउका आवास भवनमा राख्नु आपत्तिजनक भएको बताए । भाइरसको संक्रमण बस्तीमा फैलनसक्ने भन्दै नागार्जुन नगरपालिकाको बोर्ड बैठकले पनि उनीहरूलाई त्यहाँ नराख्न संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गर्‍यो ।

त्यसअघि सरकारले भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित खरिपाटीको नेपाल विद्युत् प्राधिकरण तालिम केन्द्र भवनलाई क्वारेन्टाइन केन्द्र बनाउने निर्णय गरेको थियो । तर, त्यहाँ पनि स्थानीयदेखि जनप्रतिनिधिसम्मले सरकारको निर्णयको विरोध गरे । स्थानीयले चीनबाट फर्काएकालाई खरिपाटीमा नराख्न माग गर्दै २३ माघमा नगरपालिका कार्यालय परिसरमा धर्ना दिए । विद्युत् प्राधिकरण तालिम केन्द्रको गेटमा कालो ब्यानर पनि टाँगे ।

नगरपालिकाले स्थानीयलाई वास्तविकता बुझउनुको साटो २४ माघमा नगरसभा बैठक राखेर उद्धार गरिएकालाई अन्यत्रै राख्ने विकल्प खोज्न संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेर २७ माघमा पत्राचार ग¥यो ।
२४ माघमै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा भएको वार्तामा आन्दोलनरत पक्षका तर्फबाट संयोजक प्रकाश लामिछाने लगायतको उपस्थितिमा स्थानीयहरूको पनि दैनिक स्वास्थ्य परीक्षण गर्ने र उपचारको जिम्मा सरकारले लिने सहमति भयो । तर, स्थानीयमा कोभिड–१९ को त्रास भने उस्तै छ ।

यो घटनाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्थानीय सरकार कोभिड–१९ बारे आफ्ना नागरिकलाई बुझउन असफल भएको देखाएको छ । स्थानीय सरकारले क्वारेन्टाइन केन्द्र राख्न नदिने निर्णय गरेपछि स्वास्थ्य मन्त्रालयले टोली पठाएर २९ माघमा बल्ल चाँगुनारायणका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका अधिकारीलाई कोभिड–१९ बारे जानकारी गरायो । काठमाडौंको टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ट्रपिकल मेडिसिनका प्रमुख परामर्शदाता डा. अनुप बास्तोला कोभिड–१९ बारे वैज्ञानिक सूचना प्रवाह गर्ने भन्दा भ्रम र त्रास फैलाएर जटिल बनाउने क्रियाकलाप भइरहेको बताउँछन् ।

स्थानीय तहका जनप्रतिनिधिले मात्र नभई सांसद्ले पनि गलत सूचना र बुझइका आधारमा कोभिड–१९ बारे अफवाह फैलाए । सांसद् प्रेम सुवालले २९ माघको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै घनाबस्ती भएको भक्तपुरको खरिपाटीमा क्वारेन्टाइन केन्द्र बनाउन नहुने बताए । उनले भने, “खरिपाटीमा क्वारेन्टाइन केन्द्र बनाउन सिफारिश गर्ने मन्त्रालयका अधिकारीलाई निलम्बन गरी कारबाही गर्न आवश्यक छ ।”

सांसद् पार्वता डिसी चौधरीले सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा फैलिएको रुघाखोकीको लक्षण कोभिड–१९ सँग मिल्दोजुल्दो भएको भन्दै स्वास्थ्य टोली पठाउनुपर्ने बताइन् । गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले २८ माघमा सामाजिक सञ्जाल फेसबूकमा राखेको सूचनाको आधारमा उनले यस्तो बताएकी थिइन् ।

अध्यक्ष श्रेष्ठकै निर्देशनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले कुनै चिकित्सकीय आधार प्रमाण विनै स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरे । उक्त पत्र सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएर विभिन्न मिडियाले समाचार समेत बनाएपछि अन्यत्र पनि त्रास फैलियो । चीनसँग सिमाना जोडिएको गुम्बा गाउँमा २३ देखि २९ माघसम्म मौसमी ज्वरो र रुघाखोकीका कारण २०० भन्दा बढी बिरामी परेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २९ माघमा पत्रकार सम्मेलन गरेर गुम्बा गाउँका स्थानीय मौसमी रुघाखोकीले बिरामी भएको जनाइसकेको छ । सामान्य रुघाखोकीलाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले अन्यथा ठानेर पत्र लेखेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठ बताउँछन् । प्रवक्ता श्रेष्ठका अनुसार जुगल गाउँपालिकाको गुम्बा गाउँमा बाहिरबाट कुनै यातायातका साधन नपुग्ने र चिनियाँको आवतजावत बन्द भएकाले कोभिड–१९ को संक्रमण फैलिने सम्भावना छैन ।

चाँगुनारायण नगरपालिकाले खरिपाटीमा क्वारेन्टाइन केन्द्र नराख्न भन्दै गरेको निर्णय ।

मन्त्रालयको कमजोरी
चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिना कोभिड–१९ र यसको जोखिमबारे आफूहरूलाई नै राम्रो जानकारी नभएको बताउँछन् । “भाइरसको बारेमा स्वास्थ्य मन्त्रालयले हामीलाई पनि समयमा सूचना प्रवाह गरेन, हामीले स्थानीयलाई बुझउन नसक्दा आत्तिएर विरोधमा उत्रिएका हुन्”, उनी भन्छन् । सरकारले कोभिड–१९ भाइरस र यसको जोखिमबारे स्थानीय स्तरसम्म सचेतना फैलाउन नसक्दा जनप्रतिनिधि समेत डर र त्रास फैलाउने गतिविधिमा लागेका छन् ।
नागार्जुन नगरपालिकाका प्रवक्ता थुमराज केसी स्वास्थ्य मन्त्रालयले कोभिड–१९ र यसको जोखिमबारे जानकारी नदिएको बताउँछन् ।

नागरिकलाई स्वास्थ्य सम्बन्धी चेतना फैलाउन स्वास्थ्य मन्त्रालयले वार्षिक झ्ण्डै रु.१० करोड छुट्याउँछ । यस्तो चेतना फैलाउने जिम्मेवारी स्वास्थ्य मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको हो । यसबाहेक अर्थ मन्त्रालयले प्रत्येक वर्ष सबै स्थानीय तहलाई नागरिकहरूमा रोगबारे चेतना फैलाउन रु.८० हजार बजेट दिन्छ । तर, यस्ता कार्यक्रमको बजेट दुरुपयोग हुने गरेको छ । महालेखा परीक्षकको कार्यालयको ५६औं वार्षिक प्रतिवेदनमा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका लागि विभिन्न रोग विरुद्ध जनचेतना फैलाउन १० वटा कार्यक्रमका लागि छुट्याएको रु.५ करोड ८५ लाख दुरुपयोग भएको उल्लेख छ ।

२९ माघको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद् शेरबहादुर तामाङले कोभिड–१९ जस्ता भाइरलजन्य रोग र तिनको नियन्त्रणका लागि सरकारले जनचेतना फैलाउन नसक्दा गलत सूचना प्रवाह भइरहेको बताएका थिए ।

तर, स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठ प्रदेश र स्थानीय स्तरमा सूचना र चेतनामूलक सन्देश प्रवाह गरिरहेको बताउँछन् । कोभिड–१९ भाइरस हावाबाट सहजै फैलने हल्लाका कारण त्रास फैलिए पनि त्यो रूपमा आत्तिनु नपर्ने श्रेष्ठ बताउँछन् । “यो भाइरस संक्रमित बिरामीसँगको सीधा अधिकतम दुई मिटर दूरीसम्मको सम्पर्कबाट मात्र सर्छ । क्वारेन्टाइनस्थल वरिपरि बस्ने स्थानीयमा कुनै जोखिम हुँदैन”, उनी भन्छन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिकाका स्थानीयले क्वारेन्टाइन केन्द्र नराख्न भन्दै टाँगेको ब्यानर ।

 

यसरी राखिन्छ क्वारेन्टाइनमा

हुपेईस्थित वुहान शहरमा रहेका नेपालीलाई स्वदेश ल्याउन नेपाल सरकारले आवश्यक पहल नै नथालेपछि उनीहरूका अभिभावकले उद्धारका लागि दबाब दिन स्वास्थ्य मन्त्रालय घेराउ गरे । अन्ततः मन्त्रिपरिषद्को २८ माघमा बसेको बैठकले हुपेईबाट १८० नेपाली ल्याउने निर्णय गर‍्‍यो ।

उद्धार गरिएका नेपाली बोकेर नेपाल वायुसेवा निगमको वाइड बडी विमान ४ फागुन बिहान सवा २ बजे नेपाल आइपुग्ने निगमका अपरेसन विभाग निर्देशक क्याप्टेन दिपुराज ज्वारचनले जानकारी दिए । विमानमा उद्धार गरिएका नेपाली बाहेक चार चिकित्सकसहित १७ जनाको टोली रहनेछन् । विमानका सबै ‘क्रू मेम्बर’ लाई सुरक्षाका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सिफारिश गरेको ‘पर्सनल प्रोटेक्टिभ क्लोथिङ’ लगायतको व्यवस्था मिलाइएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठ कोभिड–१९ बाट संक्रमित कसैलाई पनि चीनबाट उद्धार गरेर नल्याइने बताउँछन् । उनी भन्छन्, “नेपाल ल्याउनुअघि चीनमा स्वास्थ्य परीक्षण गर्दा रुघाखोकी लागेको देखिए उहाँहरूलाई नेपाल नल्याई त्यहीं उपचार हुन्छ ।”

उद्धार गरिएकालाई विमानस्थलमा राखिएको पाँच वटा हेल्थ डेस्कमा स्वास्थ्य परीक्षण गरेर स्वस्थ देखिएकालाई मात्र क्वारेन्टाइन केन्द्र लगिनेछ । स्वास्थ्य मन्त्रालयका अनुसार रोगको लक्षण देखिए एम्बुलेन्सबाट आइसोलेसन वार्डसहितको अस्पतालमा लगिनेछ ।

कुनै पनि लक्षण नदेखिएका व्यक्तिलाई मात्र क्वारेन्टाइनमा राखिनेछ । उनीहरू अधिकतम १४ दिनसम्म त्यहाँ बस्नेछन् । प्रत्येक दिन कोभिड–१९ सँग सम्बन्धित लक्षण देखिए वा नदेखिएको परीक्षण गर्न अधिकतम तीन जना स्वास्थ्यकर्मी वा चिकित्सकसहितको टोली त्यहाँ हुनेछ । रोगको शंका लागेमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मार्फत स्वाब परीक्षण गरिनेछ । भाइरस संक्रमण पुष्टि भए शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र वीर अस्पतालमा ‘आइसोलेसन वार्ड’ मा राखेर उपचार गर्ने व्यवस्था मिलाइएको छ । ८६ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन केन्द्र र उपचारका लागि अस्पतालमा खट्ने गरी तालिम दिइएको छ ।

स्वास्थ्य मन्त्रालयले २९ माघमा विज्ञप्ति जारी गर्दै क्वारेन्टाइन केन्द्रमा रहेका व्यक्ति स्वस्थ भए पनि अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावली र डब्ल्यूएचओको प्रोटोकल अनुसार सम्पर्कमा आउन नमिल्ने गरी राखिने जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “संक्रमण रोकथामका लागि क्वारेन्टाइनमा उपयोग गरिने तालिम केन्द्रका भवन, कोठाहरू, प्रयोग गरिएका सामानहरूको उचित व्यवस्था मिलाइएको छ ।”

प्रतिकृया दिनुहोस