विश्वव्यापी काेराेनाभाइरस महामारी

१५६५२९४

हालसम्म संक्रमित

३४५८६७

निको भएका

९१९१२

मृत्यु हुनेको संख्या

नेपाल

जम्मा संक्रमित

निको भएको

अपडेटः बिहीबार, २७ चैत २०७६ । ११: ०० बजे राति | स्रोत : worldometers.info/coronavirus

काेभिड-१९
विस्तृत सामग्री

व्यक्तित्व विहीबार, फागुन १, २०७६

मल्लेईमा अमर समरबहादुर मल्ल

कमल मादेन

मल्लेईमा अमर समरबहादुर मल्ल
वरिष्ठ वनस्पतिविद् क्रमशः डा.समरबहादुर मल्ल (बायाँबाट दोस्रो) डा.तीर्थबहादुर श्रेष्ठ र डा.केशवराज राजभण्डारीलाई ‘इम्पाटियन्स मल्लेई’को तस्वीर प्रदान गर्दै फोटोग्राफर ला दाेर्ची शेर्पा (बायाँ)
कमल मादेन

सन् १९८८ को एक दिन नेपाली र जापानी वनस्पतिविद् सम्मिलित टोली संखुवासभाको टासी गाउँ पुग्छ । वनस्पति विभागका विज्ञ एम.एन. सुवेदीसँगै दुई जापानी विज्ञ शिनोबु एकियामा र हिदेकी ओह्बासहितको त्यो टोली निरन्तरको खोज मार्फत नयाँ–नयाँ वनस्पति पत्ता लगाउने उद्देश्यमै त्यहाँ पुगेको थियो।

नभन्दै टासी गाउँमा सड्ढलित एक वनस्पतिको नमूना– विश्वकै लागि नयाँ भएको ठहर विज्ञहरूले गरे । प्राप्त नयाँ वनस्पतिको नाम सामान्यतः खोजकर्ताकै नाममा राखिने प्रचलन विपरीत सुवेदी, एकियामा र ओह्बाले, यसको नाम जुराए– इम्पाटियन्स मल्लेई । यो जानकारीसहितको वैज्ञानिक आलेख सन् १९९२ को ‘जर्नल अफ जापानिज बोटनी’ को भाग ६७ मा छापियो ।

इम्पाटियन्स मल्लेईका मल्लेई कोही नभई डा.समरबहादुर मल्ल थिए । नेपालको वनस्पति विज्ञानका शुरुआतकालीन वैज्ञानिक मल्लको सम्मानमा विज्ञहरूको यस्तो न्वारान गरेका थिए ।

जापानको उही जर्नलको सन् २०१७ को भाग ९२ मा उनै शिनोबु एकियामा लिखित ‘अ न्यू रेकर्ड फर द फ्लोरा अफ नेपाल एण्ड द फ्लोरा अफ म्यान्मार’ शीर्षकको लेख प्रकाशित भयो । जसमा ‘इम्पाटियन्स मल्लेई र इम्पाटियन्स प्रेइनी’ लाई एकै प्रजाति भनिएको थियो ।

इम्पाटियन्स प्रेइनी भने सन् १९०५ मै जे.डी. हूकरले सिक्किमको लाचुङमा फेला पारेर वर्णन गरिसकेका थिए । एकियामा र ओह्बाले इम्पाटियन्स प्रेइनीलाई नै भूलवश इम्पाटियन्स मल्लेई नामकरण गरेका रहेछन् । स्वयं लेखकमध्येका एक एकियामाले नै आफ्नो भूल स्वीकार गरे ।

इम्पाटियन्स मल्लेईबाट पुरानै परिचय इम्पाटियन्स प्रेइनीमा फर्किए पनि नेपालबाट विश्वकै लागि नयाँ अन्य चार प्रजातिमा भने मल्लकै नाम छ, जसमा क्यारेक्स मल्लेई, चमेसियम मल्लेईनम, पक्किसनियम मल्लेई र सेक्सिफ्रागा मल्लेई हुन् । यसमध्ये ढुसी वर्गको वनस्पतिको प्रजातिलाई क्यारेक्स मल्लेईलाई नाम भने वनस्पतिविद् डा.केशवराज राजभण्डारीले दिएका हुन्।

इम्पाटियन्स प्रेइनी स्वयंमा भने अत्यन्त दुर्लभ मानिन्छ । किनकि यसको तस्वीरसम्म पनि अहिलेसम्म छापिएको थिएन । तर हालै वनस्पति फोटोग्राफीमा रुचि राख्ने ला दोर्ची शेर्पाले उक्त वनस्पतिको तस्वीर हामीमाझ ल्याइदिएका छन् । शेर्पाले यो तस्वीर ६ सेप्टेम्बर २०१८ मा संखुवासभाको मकालु वरुण गाउँपालिका अन्तर्गत टासी गाउँ नजिक बोलुङ खोलामा, समुद्री सतहबाट २२७५ मिटर उँचाइमा फेला पारेका थिए ।

यति मात्र होइन, शेर्पाले यो सुन्दर तस्वीरलाई फ्रेम गराई त्यसको प्रति ललितपुर, गोदावरीस्थित राष्ट्रिय हर्बारियम तथा वनस्पति प्रयोगशाला गोदावरी, स्वयम्भूस्थित राष्ट्रिय प्राकृतिक सङ्ग्रहालय, बेलायतस्थित रोयल बोटानिकल गार्डेनमा पठाए । बाँकी तीन प्रति चाहिं वरिष्ठ वनस्पतिविद् डा.तीर्थबहादुर श्रेष्ठ र डा.केशवराज राजभण्डारी र स्वयं डा.मल्ललाई उपहार स्वरुप प्रदान गरे ।

अग्लो साख

कृषि–वनस्पतिको क्षेत्रमा परिचित नाम हो, समरबहादुर मल्ल । २ असोज १९८७ मा बागदरबारमा जन्मिएका मल्लले प्रारम्भिक शिक्षा काठमाडौंकै जेपी स्कूल र बीएससीसम्म त्रिचन्द्र क्याम्पसबाट अध्ययन गरेका हुन् । २०१४ सालमा पटना विश्वविद्यालयबाट वनस्पति शास्त्रमा एमएससी तथा २०२२ सालमा बेलायतको युनिभर्सिटी अफ वेल्सबाट कृषि–वनस्पति विज्ञानमा विद्यावारिधि गरेका मल्लले शुरुआती ‘करिअर’ प्राध्यापन नै रोजेका थिए ।

बसुन्धरा र हिमालय वीरविक्रमसँगै समरबहादुर अघिल्लो पङ्क्तिको रातो घेरामा ।

२०१४ सालताका केही समय त्रिचन्द्र क्याम्पसमा अध्यापन गरेका मल्लले २०१६ सालमा सरकारको वनस्पति फाँट (आजको वनस्पति विभाग) लाई करिअरको दोस्रो तथा अन्तिम ‘इनिङ’ बनाए । २०२९ सालदेखि २०४७ सालसम्म लगातार १८ वर्ष वनस्पति विभागको महानिर्देशक रहेका मल्लले नेपाली वनस्पतिलाई संसारमा चिनाउन र विभागको साख उँचो पार्न महत्वपूर्ण भूमिका निर्वाह गरे ।

नेपाललाई ‘कन्जरभेसन अन इन्टरनेशनल ट्रेड इन इन्डेन्जर्ड स्पेसिज अफ वाइल्ड फाउना एण्ड फ्लोरा (साइटिस)’ को सदस्यता दिलाउन अग्रणी भूमिका निर्वाह गरेका मल्लका एक दर्जनभन्दा बढी अनुसन्धानमूलक लेख र रचना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन् ।

सरकारले वनस्पति अध्ययन अनुसन्धान गर्न ललितपुरको गोदावरीमा सन् १९६१ मा राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशाला स्थापना गर्‍यो । सङ्ग्रहालयका रुपमा रहेको यस प्रयोगशालामा समरबहादुर र समनबहादुर राजभण्डारीले सन् १९६२ मा काठमाडौं उपत्यकाबाट ३२८ प्रजाति वनस्पतिको नमूना सड्ढलन गरेर राखे । सङ्ग्रहालयको निम्ति मल्ल र राजभण्डारीको उक्त सड्ढलन पहिलो थियो । वनस्पति खोज, अध्ययन अनुसन्धान तथा अभिलेखीकरण व्यवस्थापनमा मल्लले अहम् योगदान गरे ।

पारिवारिक साहित्यिक माहोलका बावजूद मल्लले कृषि–वनस्पतिको विधालाई आफ्नो करिअर बनाए । नेपालमा १९९१ सालमा छापिएको पहिलो साहित्यिक पत्रिका ‘शारदा’ मासिकका सम्पादक ऋद्धिबहादुर मल्लका भतिजा हुन् । मल्लकै पुर्ख्यौली घरमा रहेको जोरगणेश प्रेसबाट ‘शारदा’ र दैनिक पत्रिका ‘आवाज’ प्रकाशन हुन्थ्यो ।

यी वनस्पति वैज्ञानिक कुनै वेला गीत गाउँथे वा फूटबल पनि खेल्थे भन्ने कुरा परिवार बाहेक कमैलाई मात्र थाहा छ । युगकवि सिद्धिचरण श्रेष्ठ रचित हिमगिरि–मन्डित सुगन्ध–शोभित बोलको गीत रेडियो नेपाल स्थापना भएको दिन (२१ चैत २००७) समरबहादुर मल्लले गाएका थिए । युवावयमा एक कुशल फूटबल खेलाडीसमेत रहेका मल्ल २००७ सालताका काठमाडौंको ‘खेल मण्डल’ का नामी स्ट्राइकर थिए, जुन क्लबबाट तत्कालीन राजकुमारहरू बसुन्धरा र हिमालय वीरविक्रम शाह पनि फूटबल खेल्थे ।

 

प्रतिकृया दिनुहोस