खेलकुद मंगलबार, माघ २८, २०७६

ओमानी क्रिकेटर, जसले सम्झिरहनेछन् कीर्तिपुरको कीर्तिमान

प्रकाश गुरागाईं

ओमानी क्रिकेटर, जसले सम्झिरहनेछन् कीर्तिपुरको कीर्तिमान
अकिब इल्यास (बायाँ) र जिशन मक्सुद


ओमानको राष्ट्रिय क्रिकेट टिम नौ दिनअघि २० माघमा नेपाल आउँदा नेपाली दर्शकले थोरैमात्र चिनेको एउटै नाम थियो, सुरजकुमार । पुर्ख्याैली घर नेपालको बागलुङ भएकै कारण नेपाली क्रिकेट समर्थकले उनीप्रति चासो राखेका थिए।

तर, क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खला खेलेर फर्किँदा दर्शकले थप दुई नाम अकिब इल्यास र जिशन मक्सुदलाई सम्झिइरहनेछन् । इल्यास र मक्सुदले पनि कीर्तिपुर मैदानलाई बिर्सन सक्ने छैनन्।

क्रिकेट विश्वकप लिग–२ बाटै ओडीआईको यात्रा थालेको ओमानले सात खेल खेलिसक्दा कुनै पनि खेलाडीको नाममा शतक थिएन । कप्तान जिसन मक्सुदले त अर्धशतक समेत बनाउन सकेका थिएनन्।

लयमा रहेका उपकप्तान इल्यासले भने सात ओडीआईमा चार अर्धशतक बनाइसकेका थिए । उनको उच्च स्कोर ८१ रन थियो।

नेपाल भ्रमणकै क्रममा इल्यास ओमानको राष्ट्रिय टिमबाट पहिलो ओडीआई शतक बनाउने खेलाडी भएका छन् । उनले उक्त कीर्तिमान नेपाल विरुद्धकै खेलमा बनाएका हुन् । २६ माघको नेपालसँगको दोस्रो खेलमा उनले १०८ बल खेलेर १०९ रन बनाए।

नेपालविरुद्ध उनी ब्याटमा मात्र होइन, बलमा पनि चम्किए । त्यही खेलमा उनले चार नेपाली ब्याट्सम्यानलाई पेभिलियनको बाटो देखाए।

इल्यासले अमेरिकाविरुद्ध मंगलबार भएको खेलमा पनि लगातार शतक बनाए । यही खेलमा इल्याससँगै कप्तान मक्सुदले पनि शतक बनाए । मक्सुदले नेपालविरुद्ध पनि ६८ रन बनाएका थिए।

नेपाल आउनुअघि मक्सुदको ओडीआईमा व्यक्तिगत उच्चस्कोर २१ रन थियो । तर, फर्किँदा उनका नाममा एउटा शतक र अर्धशतक हुनेछ।

जिशन मक्सुद

अझ इल्यासका नाममा दुईवटा शतक र एउटा अर्धशतक थपिनेछ । ओमानी क्रिकेटरले अहिलेसम्म बनाएका तीनवटै शतक नेपालमै सम्भव भएको हो।

ओमानी टिम फेरि कहिले नेपाल आउँछ टुंगो छैन । अब यी तीन टोली क्रिकेट विश्वकप लिग–२ मा नै अमेरिका र ओमानमा खेल्नेछन्, जहाँ दर्शक औँलामा गन्न सकिने मात्र हुन्छन्।

त्यहीकारण पहिलो शतक प्रहारपछि इल्यास निकै भावुक भएका थिए । विपक्षी खेलाडीलाई समेत दर्शकले ताली बजाएर सम्मान दिएको भन्दै उनले आफ्नो शतकपछि नेपाली क्रिकेट समर्थकलाई समर्पण गरे।

त्यसो त सुरजकुमारजस्तै २७ वर्षीय इल्यास र ३२ वर्षीय मक्सुद पनि क्रिकेट खेल्नकै लागि ओमान पुगेका हुन् । उनीहरू दुबै ओमानसँग सीमा जोडिएको पाकिस्तानी मूलका हुन्।

करीब ४८ लाख जनसंख्या भएको खाडी मुलुक ओमानका राष्ट्रिय टोलीका धेरै खेलाडी विदेशका छन् । नेपाल र ओमानबीच सन् १९७७ देखि कुटनीतिक सम्बन्ध कायम छ।

राजधानी मस्कटमा नेपाली दूतावास समेत रहेको ओमानमा १६ हजारभन्दा बढी नेपाली कामदार कार्यरत् रहेको सरकारी तथ्यांक छ ।

कीर्तिपुरमा कीर्तिमान

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानलाई ‘बलरहरुको मैदान’ मानिन्छ । यो मैदानमा पहिलो ब्याटिङ गर्ने टिमले २०० रनभन्दा मुनिको लक्ष्य पनि रक्षा गर्न सक्छ।

पहिलो खेलमा नेपालविरुद्ध ब्याटिङ गरेको ओमानले १९७ रन बनायो । नेपाल १७९ रनमा नै ‘अलआउट’ भयो । दोस्रो खेलमा अमेरिकाविरुद्ध पहिलो ब्याटिङ गरेर १९० रन बनाएको नेपालले त्यसलाई पनि रक्षा गरेको थियो।

तर, यही मैदानमा ओमानले अमेरिकाविरुद्धको अन्तिम खेलमा २७६ रन बनाउँदै ओडीआईमा २५० रन कटाउने पहिलो टिम बन्यो । यही खेलमा कप्तान मक्सुद र उपकप्तान इल्यासले शतक पूरा गरेपछि कीर्तिपुर मैदानमा एकै इनिङमा दुई शतक हान्ने कीर्तिमान पनि ओमानी क्रिकेटरको नाममा नै रह्यो।

अकिब इल्यास

मक्सुद र इल्यासले तेस्रो विकेटका लागि २१६ रनको साझेदारी गरे । कीर्तिपुर मैदानमा यो सबैभन्दा ठूलो साझेदारी हो।

यसअघि यिनै ब्याट्सम्यानले नेपालविरुद्ध १६७ रनको अविजित साझेदारी गरेका थिए । यो दोस्रो ठूलो साझेदारी हो।

उपकप्तान इल्यास एकै खेलमा शतक बनाउने र चार विकेट लिने खेलाडी बने । उनी यस्तो कीर्तिमान बनाउने एसोसिएट राष्ट्रका पहिलो खेलाडी हुन्।

छायाँमा सुरजकुमार

ओमानी टिम नेपाल आउने समाचारपछि नै चर्चामा आएका सुरजकुमार खेल अवधिभर छायाँमा परे । खेल भइरहँदा वेलावेला उनका नाममा दर्शकले गर्ने हुटिङबाहेक उनले उपस्थिति जनाउन सकेनन्।

जम्मा चार खेलमध्ये उनले नेपालविरुद्धको अन्तिम खेलमा ब्याटिङ गर्नै पाएनन् । नेपालविरुद्धको पहिलो खेलमा सुसन भारीले उनलाई ‘डक आउट’ गरे।

उनले अमेरिकाविरुद्धको पहिलो खेलमा ३३ रन बनाए । मंगलबार भएको अन्तिम खेलमा मात्र ३ रन बनाए।

भारतबाट सुरजकुमार ‘वर्किङ भिसा’ मा क्रिकेट खेल्नकै लागि ओमान पुगेका हुन् । उनको परिवार बागलुङबाट कामका लागि भारत गएको थियो । उनी भारतमै जन्मिएका हुन्।

प्रतिकृया दिनुहोस