समाचार मंगलबार, माघ २८, २०७६

प्रहरी महानिरीक्षकमा डीआईजी ठाकुर ज्ञवाली नियुक्त

दीपक खरेल

प्रहरी महानिरीक्षकमा डीआईजी ठाकुर ज्ञवाली नियुक्त

सरकारले नेपाल प्रहरीको २७ औं महानिरीक्षकमा प्रदेश १ प्रहरी प्रमुख डीआईजी ठाकुर ज्ञवालीलाई नियुक्त गरेको छ। मन्त्रिपरिषदको मंगलबार (२८ माघ २०७६) को बैठकले ज्ञवालीलाई महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता सूचना मन्त्री गोकुल बाँस्कोटाले ज्ञवालीलाई महानिरीक्षक नियुक्त गरिएको पुष्टि गरेका छन्। उनले गृहकाे प्रस्ताव अनुसार ज्ञवाली महानिरीक्षकमा नियुक्त भएकाे हिमालखबरलाई बताए। 

प्रहरी नियमावलीमा रहेको प्रावधानअनुसार सरकारले एआईजी वा डीआईजीलाई महानिरीक्षक नियुक्त गर्न सक्छ। नियमावली अनुसार सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक वा नायब महानिरीक्षकबाट एकजनालाई प्रहरी महानिरीक्षक नियुक्त गर्नसक्ने ब्यवस्था छ।

सरकारले नियमावली अनुसार डीआईजीबाट आईजीपी छनाेट गर्दा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्यको आधारमा उपयुक्त देखेको अधिकारीलाई नियुक्त गर्न सक्नेछ।

२५ असार २०४७ मा सेवा प्रवेश गरेका ज्ञवाली नियमावली संशोधन नभए २४ असार २०७७ सम्म महानिरीक्षक रहने छन्। उनीसँगै २०७५ असोजमा सँगै बढुवा भएका डीआईजीद्वय तारणीप्रसाद लम्साल र सूर्यप्रसाद उपाध्याय बरियताका आधारमा महानिरीक्षकका लागि प्रत्यासी थिए।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ३० वर्षे सेवाहदका कारण मंगलबार मध्यरातबाट अनिवार्य अवकाश पाउने छन्। उनी २९ माघ २०४६ मा सेवा प्रवेश गरेका हुन्। उनीसँगै सेवा प्रवेश गरेका एआईजीहरु पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातले समेत मंगलबारबाटै अवकाश पाउँदै छन्।

नेपाल प्रहरीको प्रहरी निरीक्षकमा यही ब्याचमा सेवा प्रवेश गरेका १७ डीआईजी समेत अवकाश हुँदैछन्। अवकाश हुने डीआईजीहरुमा प्रहरी राजेन्द्रमान श्रेष्ठ, केदार रिजाल, सुरेशविक्रम शाह, शेरबहादुर बस्नेत, पीताम्बर अधिकारी, दिनेश अमात्य, नारायणसिंह खड्का, कमल जिटी, महेन्द्रकुमार पोखरेल, महेशविक्रम शाह, दानसिंह बोहोरा, रामप्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, पूर्णचन्द्र जोशी हरिभक्त प्रजापति र मनोज नेउपाने छन्। प्रहरी संगठनमा अब्बल ब्याचका रुपमा रहेको यो समुहले एकसाथ अवकाश पाएको हो।

प्रहरी प्रधान कार्यालयले मंगलबार नै अवकाश हुने महानिरीक्षक, अतिरीक्त महानिरीक्षक र नायब महानिरीक्षकहरुलाई बिदाइ गरेको छ।

को हुन महानिरीक्षक नियुक्त ज्ञवाली

२८ असोज २०२२ मा प्युठानको बादीकोटमा जन्मिएका ज्ञवालीले एसएलसीसम्मको अध्ययन स्थानीय बाल शिक्षा माविबाट पूरा गरेका हुन्। बुवा नारायणप्रसाद ज्ञवाली र आमा सुमित्रा ज्ञवालीका माइला छोरा उनले त्रिचन्द्रबाट विज्ञानमा प्रवीणता र राजनीति शास्त्रमा स्नाकोत्तरसम्मको औपचारिक शिक्षा पूरा गरेका छन्।

प्रहरी सेवामा जिल्ला प्रहरी प्रमुखका रुपमा झापा, बारा र दाङको नेतृत्व गरेका ठाकुरले संयुक्त राष्ट्र संघअन्तर्गत फर्म्ड पुलिस युनिटको कमाण्डरका रुपमा काम गरेको अनुभव राख्छन्।

एसएसपीका रुपमा महानिरीक्षकको सचिवालय, केन्द्रीय अनुसन्धान ब्यूरो र नेपालगञ्ज तालिम केन्द्रमा काम गरेका ज्ञवाली हाल प्रदेश १ प्रहरी कार्यालयमा प्रमुखका रुपमा कार्यरत थिए।

प्रहरी संगठनमा शालिन, इमान्दार र मिलनसार स्वभावका उनका एक श्रीमती र दुई सन्तान छन्।

 

प्रतिकृया दिनुहोस