समाचार सोमबार, माघ २७, २०७६

मुना कार्की हत्याकाण्डः सीसीटीभी फुटेजमा जे देखियो

दीपक खरेल

मुना कार्की हत्याकाण्डः सीसीटीभी फुटेजमा जे देखियो

पूर्वसचिव अर्जुन कार्कीको सानेपास्थित घरभित्र र बाहिरका चार थान सीसीटीभी क्यामरामा कैद दृश्यले उनकी श्रीमती मुना कार्कीको हत्या रहस्य खोलेको छ।

प्रहरीले कार्कीको घरमा अघिल्लो भागमा तीनवटा र पछाडी भान्सा नजिकको खाली जग्गामा राखिएको सीसीटीभी क्यामराको भिडियोको अध्ययनपछि मुनाको हत्या उनकै कामदार विजय चौधरीले गरेको निश्कर्ष निकालेको हो।

सानेपास्थित घटनास्थलमा रहेका महानगरीय प्रहरी परिसर ललितपुर र अपराध महाशाखाको टोलीले सोमबार (२७ माघ २०७६) विहान १० बजेर ८ मिनेटदेखि ११ बजेर २० मिनेटमा घटना भएको निश्कर्ष निकालेको हो।

क्यामेरामा कैद भिडियो अनुसार १० बजेर ८ मिनेटमा मुना भान्सामा काम गरिरहेको देखिन्छ। याे समयमै विजय धेरै पटक उनको छेउ ओहोरदोहोर गरेको देखिन्छ।

त्यसको केही समयमा मुना झ्यालतर्फ विपरित दिशामा फर्किएको बेला पछाडिबाट विजयले डोरीले घाँटीमा बाधेर मुनालाई भुईमा लडाउँछन्। त्यसपछि भान्सामै रहेको पिर्काले उनलाई अन्धाधुन्ध प्रहार गर्छन्। त्यसपछिको १० मिनेटसम्मको भिडियोमा केही देखिदैन।

दुवै तल भुईंमा रहेकाले सीसीटीभीमा याे दृश्य देखिएन।

प्रहरी परिसर ललितपुरका एसपी दुर्गा सिंहले प्रहरीले बरामद गरेको सीसीटीभी फुटेजमा कामदार विजय र मुनाबीच केही समय संघर्ष भएको देखिएको पुष्टि गरेकी छन्।

प्रहरी अधिकारीका अनुसार १० बजेर ३० मिनेटमा विजय भान्सामै ओहोरदोहोर गरेको देखिन्छ।

विभिन्न सीसीटीभी क्यामेरामा विजय साढे १० बजेदेखि ११ बजेर १० मिनेटसम्म ओहोरदोहोर गरिरहेकाे देखिन्छ। त्यसपछि उनी देखिदैनन् ।

जब ११ बजेर २० मिनेटमा पूर्वसचिव कार्की घरमा प्रवेश गर्छन्, माथिल्लो बैठकको रेलिङमा  झुण्डिएको डोरी टुटेको अवस्थामा विजय भुईंमा लडिरहेको भेट्छन् ।  र  श्रीमती भान्सामा रगतको आहालमा रहेको देखेर चिच्याउँदै हारगुहार गरेको दृश्य भिडियोमा कैद भएको छ।

तत्काल घटनास्थल पुगेको प्रहरी टोलीले मुनालाई थप उपचारका लागि नजिकै रहेको स्टार अस्पताल पठाएको थियो। अस्पतालले टाउकोमा गम्भीर चोट लागेकी मुनालाई दिउँसो १ बजे मृत घोषणा गरेका थिए।

परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले मुना र विजयको शव पोष्टमार्टमा लागि पाटन अस्पताल लगिएको जानकारी हिमालखबरलाई दिए। उनले पोष्टमार्टम रिपोर्टले घटनाका बिषयमा थप खुलासा गर्ने बताए।

‘दुवै शव पोष्टमार्टमका लागि अस्पताल ल्याएका छौं,’ उनले भने ‘अनुसन्धानका लागि एउटा टोली घटनास्थलमै छ।’

पूर्वसचिव कार्की सोमबार बिहान पशुपति दर्शनका लागि निस्किएका थिए। छोरा स्कुल गएपछि घरमा विजय र मुना थिए। बिहान–बेलुका आउने गरेकी अर्की महिला कामदार निस्किसकेकी थिईन्।

अनुसन्धान अधिकारीहरुले कार्की परिवारको विश्वासपात्र रहेका विजयको घटनामा संलग्नता रहेको भिडियो दृश्यले पुष्टि गरे पनि यसको कारणका विषयमा थप सोधखोज र अनुसन्धान जारी राखेका छन्।

सम्बन्धित समाचारहरु:

पूर्व सचिव कार्कीको श्रीमती घाइते, कामदार मृत फेला 

घाइते अवस्थामा भेटिएकी पूर्व सचिव कार्कीकी श्रीमतीको मृत्यु 

पूर्व सचिव कार्कीकी श्रीमतीलाई कामदारले हत्या प्रयास गरेको प्रहरीको प्रारम्भिक अनुमान 

प्रतिकृया दिनुहोस