रिपोर्ट आइतबार, माघ २६, २०७६

यती मस्कट: सरकारकाे प्रस्ताव स्वीकार्दा कलाकारलाई सास्ती

दिपेश शाही

यती मस्कट: सरकारकाे प्रस्ताव स्वीकार्दा कलाकारलाई सास्ती
मूर्ति बनाउने जिम्मा लिएको ग्यालरी एम क्यूब, चाकुपाट, ललितपुरमा चित्र कोर्दै कलाकार मनीषलाल श्रेष्ठ। तस्वीरहरु : मोनिका देउपाला

नेपाल भ्रमण वर्ष २०२० का लागि आधिकारिक मस्कट छानिएको ‘यती’ का मूर्ति काठमाडौंका विभिन्न ठाउँमा राखिएपछि धेरैले जापानी सुमो खेलाडी जस्तो भएको बताए । अनुहार पनि बाँदरको झैं देखिएको भन्दै विरोध भयो । स्वरुप र अनुहार मात्र नभएर मूर्तिको शरीरमा बनाइएको चित्र पनि विवादमा परेको छ।

वसन्तपुर दरबार क्षेत्रस्थित कुमारी घर नजिक राखिएको यतीको पिठ्यूँमा ‘जीवित देवी’ कुमारीको चित्र छ । इन्द्रजात्रा व्यवस्थापन समिति, कुमारी घर लगायत धार्मिक/सांस्कृतिक संघसंस्था र स्थानीय समुदायले त्यही चित्रप्रति विरोध जनाए । यतीको पिठ्यूँमा कुमारीको अनुहार राखिएकोमा उनीहरूको गुनासो छ।

विभिन्न कलाकारले अहिलेसम्म यतीका २० वटा मूर्ति बनाइसकेका छन् । तर, कलाकारले बनाएका आकृति, शरीरमा कोरिएका चित्र र अनुहारको स्वरुपमा धेरैले प्रश्न उठाएका छन् । यतीका ती मूर्तिले नेपालको सांस्कृतिक प्रतिनिधित्व नगर्ने संस्कृतिविद्हरू बताउँछन्।

‘यती टेल्स्’, ‘यती एकाउन्ट्स’ र ‘यती मिस्ट्री’ गरी तीन पुस्तक लेखिसकेका रामकुमार पाँडे आम नेपालीले कल्पना गरे जस्तो मूर्ति नबन्दा भ्रम सिर्जना भएको बताउँछन् । उनी भन्छन्, “यतीको मूर्ति विभिन्न किंवदन्ती र लोककथाहरूमा व्याख्या गरिए जस्तो नभई जापानमा खेलिने सुमोका खेलाडी जस्तो बनाइएको छ । त्यसैले आम नागरिकलाई पत्याउन गाह्रो भयो।”

यती मिथ मात्र भएकाले नेपालको सांस्कृतिक पहिचान पनि यसले नझल्काउने उनी बताउँछन् । पाँडे भन्छन्, “भ्रमण वर्षको आधिकारिक प्रतीक मानिएपछि त्यसलाई अन्तर्राष्ट्रिय समुदायले पनि हाम्रो आस्थाको रूपमा बुझ्छ । सांस्कृतिक रूपमा गलत सन्देश जान्छ ।” आफूहरूले कलाकारितामाथि नभई सांस्कृतिक मूल्य र आधिकारिकतामा प्रश्न उठाएको उनी बताउँछन्।

यतीको अध्ययन अनुसन्धान गरिरहेकासँग छलफल गरेर मात्र मूर्तिको स्वरुप तय नगरिंदा समस्या भएको उनको भनाइ छ । लोककथाहरूमा यतीलाई मानिस र बाँदर बीचको स्वरुपमा व्याख्या गरिएको छ । हिमालमा ठूलाठूला पाइला भेटिएको भन्दै यतीलाई शरीरभरि रौं भएको जनावरको रूपमा चित्रण गरिएको छ । पाँडे भन्छन्, “अहिले मूर्तिमा बनाए जस्तो यतीलाई मुस्कुराएको स्वरुपमा प्रस्तुत गर्न सकिंदैन।”

यती मूर्ति निर्माणको संयोजन गरिरहेका कलाकार मनीषलाल श्रेष्ठ आफूहरूले कुनै समुदायको सांस्कृतिक मूल्य विरुद्ध हुने गरी यतीको मूर्ति नबनाएको बताउँछन् । यतीमाथि प्रश्नचिह्न उठाउनका लागि पनि मूर्ति नबनाएको उनको भनाइ छ।

कलाकारको उद्देश्य र निर्माणको यथार्थ नबुझेर विरोध भइरहेको उनी गुनासो गर्छन् । श्रेष्ठ भन्छन्, “हाम्रो उद्देश्य भ्रमण वर्ष २०२० लाई सहयोग नै गर्ने हो । त्यही भएर मिहिनेत गरिरहेका छौं । हाम्रो अध्ययनले जस्तो बुझियो त्यस्तै बनाएका हौं।”

कलामा अभिव्यक्ति स्वतन्त्रताको अधिकार र प्रस्तुतिका आफ्नै शैली हुने कतिपय कलाकारको तर्क छ । तर, यतीको मूर्ति निर्माणमा संलग्न अधिकांश कलाकार विवादबारे प्रतिक्रिया दिन चाहँदैनन् । नाम उल्लेख नगर्ने शर्तमा एक कलाकारले भने, “हामीले भ्रमण वर्षको सचिवालयले गरेको प्रस्तावलाई मानेर काम गरेका हौं । त्यसैले हामीले यसबारे नबोल्ने निर्णय गरेका छौं । अब हामीलाई काम गराउने निकायले नै जवाफ देला।”

यतीको मूर्तिमा उतारिएको कलाकारिताको विरोध राजनीतिक भएको कलाकारहरूको आरोप छ । एक कलाकारले भने, “न्यूड आर्ट स्वीकार हुने समाजमा यतीको मूर्तिको विरोध हुँदैन । अहिले राजनीतिक खिचातानी र आर्थिक चलखेल गर्न नपाएर विरोध भएको हो।”

ललितपुरकाे लविम मलमा राखिएकाे मस्कट । 

कलाकारहरूको जम्मा १०८ मूर्ति बनाउने योजना भए पनि अहिलेसम्म २० वटा बनेका छन् । अरू दुई वटा निर्माणको अन्तिम चरणमा छन् । बाँकी ८६ मूर्ति किनिदिने संस्था वा व्यक्ति फेला परेपछि मात्र बनाउने संयोजक श्रेष्ठ बताउँछन् । मूर्ति निर्माण तथा व्यवस्थापन समितिले विभिन्न संघ–संस्था र निकायलाई किनदिन आग्रह गरिरहेको उनी बताउँछन्।

छैन सरकारको लगानी

नेपाल भ्रमण वर्ष सचिवालयले मूर्ति निर्माण तथा व्यवस्थापनका लागि बनेको कलाकारहरूको समितिसँग यतीको मूर्ति बनाउने सहमति गरेको थियो । कलाकारसँग सचिवालयले यतीलाई आधिकारिक मस्कट मानेर मूर्ति निर्माणमा लगानी गर्ने जनाएको थियो । तर, पछि सचिवालयले बेवास्ता गरेपछि आफ्नै लगानीमा मूर्ति बनाइरहेको कलाकार विजय महर्जन बताउँछन्।

उनी भन्छन्, “भ्रमण वर्षको सचिवालयसँग भएको एउटा बैठकमा गएपछि म निराश भएँ । तर, देशका लागि आफैंले केही गर्नुपर्छ भन्ने अग्रज कलाकारहरूको आग्रहपछि मूर्ति बनाउन थालेका हौं ।” अनावश्यक विवादले भने आफूहरू निराश भएको उनी बताउँछन्।

विवादपछि कलाकार र नेपाल भ्रमण वर्ष सचिवालयले संयुक्त विज्ञप्ति जारी गरेर सृजनाप्रति संवेदनशील भएको जनाएका छन् । विज्ञप्तिमा पनि मूर्ति बनाउन सरकारले लगानी नगरेको उल्लेख छ । संयोजक श्रेष्ठका अनुसार मूर्ति बनाउने र बेच्ने काम कलाकारले नै गरिरहेका छन्।

कलाकारले एउटा मूर्ति रु.५ लाखमा बेचिरहेका छन् । शुरूका चार वटा मूर्ति भ्रमण वर्षको सचिवालयले किनेको छ । चार वटा मूर्ति किन्दा कर कटाएर रु.१७ लाख दिएको श्रेष्ठ बताउँछन् । अहिलेसम्म सुरज वैद्य, जुनी गुरुङ, सिद्धार्थ ब्याङ्क र अन्य केही ठूला कर्पोरेट घरानाले मूर्ति किनेका छन्।

विश्व ब्याङ्कको नेपालस्थित ‘कन्ट्री अफिस’ ले किन्ने प्रतिबद्धता जनाएको मूर्ति बनिरहेको छ । अरू दुई वटा मूर्ति अमेरिकाका दुई संग्रहालयले किन्ने भएका छन् । विश्वकै चर्चित रुविन संग्रहालयसँग सम्झौता भइसकेको छ । विदेशमा लगिने सबै मूर्तिको खर्च सम्बन्धित संस्थाले नै बेहोर्नेछन्।

भ्रमण वर्ष प्रचारका लागि मूर्तिको लागतभन्दा कममा बेचिरहेको श्रेष्ठ बताउँछन् । मूर्ति मात्र तयार गर्न रु.२ लाख लाग्ने उनी बताउँछन् । एउटा मूर्तिमा वरिष्ठ कलाकार शशिविक्रम शाहले चित्र बनाएका छन् । विदेशी बजारमा उनका चित्र लाखौं रुपैयाँमा बिक्री हुन्छन्।

श्रेष्ठ भन्छन्, “साइजका हिसाबले पनि यतीको मूर्तिमा ठूला चित्र छन् । शशिविक्रम शाहले न्यूनतम रकम लिएर काम गर्नुभएको हो  अरू वरिष्ठ कलाकारले पनि त्यही मूल्यमा काम गरिरहनुभएको छ ।”

स्केच बनाउने, चित्र कोर्ने र मूर्ति बनाउने कलाकारलाई एक जना बराबर रु.१ लाखदेखि रु.२ लाखसम्म दिइरहेको श्रेष्ठ बताउँछन् । मूर्ति बनाउन लाग्ने केमिकल, मजदूरको ज्याला लगायत खर्च पनि हुने उनको भनाइ छ । शुरूमा ‘मास्टर पिस’ मूर्ति बनाउन र अरू तीन वटा साँचो बनाउन रु.१५ लाख खर्च भएको कलाकार महर्जन बताउँछन्।

 

 

प्रतिकृया दिनुहोस