रिपोर्ट आइतबार, माघ २६, २०७६

कोरोना भाइरस संक्रमणमा अर्थतन्त्र

रामु सापकोटा

कोरोना भाइरस संक्रमणमा अर्थतन्त्र
१५ माघदेखि १५ दिनका लागि बन्द रसुवास्थित केरुङ नाका । तस्वीर: हिमाल आर्काइभ

२१माघमा बसेको प्रतिनिधिसभा बैठकमा चीनको हुपेई प्रान्तको वुहान शहरबाट फैलिएको नोभल कोरोना भाइरसको जोखिम र नेपालले अपनाउनुपर्ने सतर्कताबारे छलफल भयो ।

बैठकमा विशेष समय लिएर बोल्ने अधिकांश सांसद्ले वुहानमा रहेका विद्यार्थीसहित अन्य नेपालीलाई स्वदेश ल्याउन सरकारले गरिरहेको कामबारे जवाफ माग्दै कोरोनाले निम्त्याउने सम्भावित जोखिम नियन्त्रणको पूर्वतयारी र औषधोपचारको व्यवस्थापनमा सरकार चुकेको आरोप लगाए ।

जवाफमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस संक्रमितका लागि काठमाडौं टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र वीर अस्पतालमा गरी ४३ वटा आइसोलेसन बेड छुट्याइएको जानकारी दिए ।

उनका अनुसार, वुहानसहित ६ शहरमा रहेका नेपालीलाई स्वदेश ल्याएपछि १५ दिनसम्म अलग्गै (क्वारेन्टाइन) राखेर संक्रमण भए\नभएको परीक्षण गरिने र भाइरसको लक्षण देखिए तत्काल आइसोलेसनमा राखेर विशेष उपचार गरिने व्यवस्था मिलाइएको छ ।

सरकारले चीनबाट स्वदेश फर्कने नेपालीहरूलाई राख्न काठमाडौं उपत्यकाभित्र शिवपुरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटीमा क्वारेन्टाइन स्थल बनाउने तयारी गरेको छ । २३ माघमा मन्त्री, सचिव र सुरक्षा अधिकारीहरू सहितको विशेष बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले क्वारेन्टाइन र उपचारको सम्पूर्ण व्यवस्था मिलाउन निर्देशन दिए ।

हालसम्म नेपालमा एक जना मात्रै कोरोना भाइरसबाट संक्रमित भेटिएका छन् । तर, चीनमा महामारीको रूप लिएको कोरोनाको संक्रमण नियन्त्रण हुन नसक्दा यसले नेपाली पर्यटनसँगै जनजीवनमा समेत असर पर्ने सङ्केतहरू देखिन थालेका छन् ।

चिन्तामा पर्यटन र पूर्वाधार विकास

कोरोना भाइरसको संक्रमण फैलिरहँदा बाँकी विश्वमा चिनियाँहरूको आवागमन पातलिएको छ । चिनियाँ पर्यटकहरूको आगमन घट्दा नेपालको एअरलाइन्स, होटल र टुर अपरेटरको व्यवसायमा असर परेको पर्यटन व्यवसायीहरू बताउँछन् ।

कोरोनाको महामारी बढ्दै गएपछि चीन सरकारले नेपालसँगका सीमा नाका बन्द गर्न थालेको छ । जसका कारण उपभोग्य वस्तुका लागि चिनियाँ बजारमै निर्भर हुँदै आएका सीमावर्ती नेपाली बस्तीमा खाद्यान्न अभाव देखिन थालेको छ ।

चिनियाँहरूको नयाँ वर्ष पर्ने भएकाले २० जनवरीदेखि १० फेबु्रअरीसम्म सामान्य अवस्थामा औसतमा १० हजारदेखि १५ हजारसम्म चिनियाँ पर्यटक नेपाल आउँछन् । त्यस अवधिमा एउटा ट्राभल तथा टुर कम्पनीले औसतमा रु.५० लाखदेखि रु.६० लाखसम्म कारोबार गर्छ ।

तर, कोरोना भाइरसको संक्रमणपछि हवाई उडानमा आएको कमी र नेपाल–चीनका स्थलमार्ग बन्द गरिंदा चिनियाँ पर्यटकको आगमन खस्किंदा व्यवसायमा असर परेको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सका अध्यक्ष अच्युत गुरागाईं बताउँछन् ।

एशोसिएसनमा आबद्ध ट्राभल र टुर अपरेटरमध्ये झण्डै ३० वटाले चिनियाँ पर्यटक नेपाल भित्र्याउँदै आएका छन् । त्यसैमध्येको जुगल होलिडेज प्रालिका सञ्चालक विदुर खतिवडाका अनुसार, चिनियाँ पर्यटकको संख्या घट्दा व्यवसायमा ७० देखि ८० प्रतिशतले कमी आएको छ ।

पर्यटन व्यवसायीहरू १० फेब्रुअरीपछि भाइरसको संक्रमण दर रोकिए पर्यटन क्षेत्रमा परेको असर कम हुने बताउँछन् । तर, संक्रमण अनियन्त्रित भइरहे पर्यटक भितत्र्याउन वैकल्पिक बजार खोज्नुपर्ने उनीहरूको भनाइ छ ।

पर्यटन क्षेत्र मात्र होइन, कोरोना भाइरसका कारण चिनियाँ लगानी र ठेक्काका योजना अवरुद्ध हुँदा मुलुकको अर्थतन्त्रमै ठूलो असर पर्ने देखिएको छ । चिनियाँ लगानीकर्ता र ठेकेदारले निर्माण गरिरहेका मेलम्ची खानेपानी आयोजना, माथिल्लो त्रिशूली बी जलविद्युत् आयोजना, भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायत करीब दुई दर्जन योजनाको काम प्रभावित भएको छ  ।

नयाँ वर्ष मनाउन चीन गएका चिनियाँ कामदार नफर्किंदा काम रोकिएको हो । यसले आयोजना निर्माण पछाडि धकेलिएर मुलुकको अर्थतन्त्रमै असर पर्ने नेपाल–चीन चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिजका सदस्य एवम् जलविद्युत् व्यवसायी ज्ञानेन्द्रलाल प्रधान बताउँछन् ।

यी आयोजनाहरूले चीनबाट थप कामदार एवं उपकरण पनि ल्याउन पाएका छैनन् । कोरोना भाइरसको संक्रमणका कारण चीन सरकारले विभिन्न प्रान्तमा हवाई तथा सडक यातायातमा रोक लगाउँदा कामदार र उपकरण ल्याउन कठिनाइ भएको हो । अर्थशास्त्री विश्व पौडेल भने कोरोनाका कारण अर्थतन्त्रमा तत्काल प्रभाव देखिए पनि दीर्घकालीन असर भने नपर्ने आकलन गर्छन् ।

औषधि अभावको डर

चीनबाट वस्तु आयातमा देखिएको असहजताले औषधिको आपूर्ति र उत्पादनलाई पनि असर पारेको औषधि उत्पादकहरू बताउँछन् । औषधि उत्पादक संघ (एपोन) का पूर्व अध्यक्ष दीपकप्रसाद दाहालका अनुसार, आयातमा अवरोध हुँदा बजारमा अजिथ्रोमाइसिन, टक्सिसाइक्लिन लगायत केही औषधिको अभाव हुन थालेको छ ।

चिनियाँहरूको नयाँ वर्ष पर्ने भएकाले २० जनवरीदेखि १० फेबु्रअरीसम्म सामान्य अवस्थामा औसतमा १० हजारदेखि १५ हजारसम्म चिनियाँ पर्यटक नेपाल आउँछन् । त्यस अवधिमा एउटा ट्राभल तथा टुर कम्पनीले औसतमा रु.५० लाखदेखि रु.६० लाखसम्म कारोबार गर्छ ।

नेपालमा उत्पादन हुने धेरैजसो औषधिका लागि भारतबाट कच्चा पदार्थ आयात हुने गरेको छ । तर, भारत आफैंले औषधिका लागि ९० प्रतिशत कच्चा पदार्थ चीनबाट आयात गर्छ ।

तर, स्वास्थ्य मन्त्रालयले भने आयातको असहजताले पार्ने समस्याको आकलन गरी औषधि र सर्जिकल सामग्रीको व्यवस्थापनका लागि कुनै तयारी गरेको छैन । एपोनका पूर्व अध्यक्ष दाहाल औषधि कम्पनीहरूमा अझै चार महीनाका लागि पुग्ने औषधि मौज्दात रहेकाले आत्तिहाल्नुपर्ने अवस्था भने नरहेको बताउँछन् ।

नेपालको कुल वार्षिक खपतमध्ये ४८ प्रतिशत तयारी औषधि भारतबाट आउँछ भने ५२ प्रतिशत नेपाली कम्पनीले नै उत्पादन गर्छन् । औषधि उत्पादनका लागि ८० प्रतिशत कच्चा पदार्थ भारत र २० प्रतिशत चीनबाट आयात हुन्छ । यस्तै, क्यान्सर रोगका औषधि चीनबाट भारत हुँदै आउँछ । अहिले जस्तै आयातमा अड्चन जारी रहे क्यान्सर जस्ता रोगका औषधि अभाव हुने देखिन्छ ।

कोरोना भाइरसको संक्रमण विश्वभर फैलिन थालेपछि चीनसहित धेरै मुलुकमा मास्कको माग बढेको छ । चीनमा मास्कको अभाव भएर तेस्रो मुलुकबाट लैजाने क्रम बढ्न थालेको छ । कतिसम्म भने, चिनियाँहरूले नेपालका औषधि पसलबाट समेत ठूलो परिमाणमा मास्क चीन निर्यात गरिरहेका छन् । भारतले त १७ माघमा नै मास्क निर्यातमा प्रतिबन्ध लगाइसकेको छ ।

नेपालमा पनि कोरोनाको सन्त्रासका कारण सुरक्षा सतर्कता अपनाउँदै मास्क लगायतका सामग्री प्रयोग गर्ने क्रम बढेको छ । नेपाल औषधि व्यवसायी संघले २१ माघमा विज्ञप्ति जारी गर्दै मास्क, सर्जिकल पन्जा र ह्यान्ड स्यानिटाइजरको अत्यधिक माग बढेको भन्दै बजारमा अभाव हुन नदिन व्यवसायीहरूलाई निर्देशन दिएको छ ।

संघका अध्यक्ष बद्रीप्रसाद श्रेष्ठ भन्छन्, “यी सामग्री चीनतर्फ निर्यात हुन थालेका कारण कृत्रिम अभाव हुन नदिन व्यवसायीहरूलाई निर्देशन दिएका हौं ।”

औषधि व्यवस्था विभागले १७ माघमा रसायन तथा मेडिकल आपूर्ति संघलाई पत्राचार मार्फत मास्क, पञ्जा र ह्यान्ड स्यानिटाइजरको माग बढेको भन्दै मौज्दात राख्न आग्रह गरिसकेको छ ।

नेपालको कुल वार्षिक खपतमध्ये ४८ प्रतिशत तयारी औषधि भारतबाट आउँछ भने ५२ प्रतिशत नेपाली कम्पनीले नै उत्पादन गर्छन् । औषधि उत्पादनका लागि ८० प्रतिशत कच्चा पदार्थ भारत र २० प्रतिशत चीनबाट आयात हुन्छ । यस्तै, क्यान्सर रोगका औषधि चीनबाट भारत हुँदै आउँछ । अहिले जस्तै आयातमा अड्चन जारी रहे क्यान्सर जस्ता रोगका औषधि अभाव हुने देखिन्छ ।

सीमावर्ती गाउँमा खाद्यान्न अभाव

कोरोनाको महामारी बढ्दै गएपछि चीन सरकारले नेपालसँगका सीमा नाका बन्द गर्न थालेको छ । जसका कारण उपभोग्य वस्तुका लागि चिनियाँ बजारमै निर्भर हुँदै आएका सीमावर्ती नेपाली बस्तीमा खाद्यान्न अभाव देखिन थालेको छ ।

२१ माघको संसद् बैठकमा बोल्दै सांसद् राजेन्द्रप्रसाद गौतमले चीनले संखुवासभाको किमाथाङ्का नाका बन्द गरेपछि त्यहाँका नेपालीले भोकमरी भोगिरहेको भन्दै सरकारलाई तत्काल खाद्यान्न ढुवानीको व्यवस्था मिलाउन आग्रह गरे । चीनले ५ माघदेखि किमाथाङ्का नाका अनिश्चितकालका लागि बन्द गरेपछि सीमावर्ती नेपाली बस्ती भोटखोलाका बासिन्दा समस्यामा परेका हुन् ।

चीनको चाँगा बजार नजिकै पर्ने भएकाले भोटखोलाका बासिन्दा दैनिक उपभोग्य वस्तु किन्न त्यहीं जान्छन् । सदरमुकाम खाँदबारी जान भने पाँच दिन पैदल हिंड्नुपर्छ । नाका बन्द हुँदा ८६ घरधुरीका ५५६ जनसंख्याले चामल, दाल, तेल लगायतको अभाव भोगिरहेको भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटे बताउँछन् । “खाद्यान्न आपूर्तिका लागि जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई आग्रह गरेका छौं”, उनी भन्छन् ।

चीनले १७ माघदेखि ताप्लेजुङको ओलाङ्चुङगोला नाका पनि बन्द गरिसकेको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामा शेर्पाका अनुसार, चीनले कोरोना भाइरसको संक्रमणको कारण देखाउँदै ओलाङचुङ्गोलासहित मिक्वाखोला गाउँपालिकामा पर्ने तोक्पेगोला नाका समेत बन्द गरेर आवतजावतमा रोक लगाएको छ ।

ओलाङ्चुङगोला नाका बन्द भएपछि फक्ताङलुङ गाउँपालिका–७ का स्थानीयलाई खानेकुरा जोहो गर्न समस्या परेको छ । फक्ताङलुङ–७ मा ६० घरधुरीका बासिन्दा दैनिक उपभोग्य वस्तु किन्न चीनको रिउ जाने गर्थे ।

नाका ठप्प भएपछि उपभोग्य वस्तु खरीद र जुडीबुटी बिक्री गरेर अर्थोपार्जन गर्ने बाटो बन्द भएको गाउँपालिकाका प्रवक्ता शेर्पा बताउँछन् । “भाइरस संक्रमण लम्बिरहे मौज्दात खाद्यान्न सकिएर हामी भोकभोकै पर्ने त्रास छ”, उनी भन्छन् । यसअघि कोरोनाको संक्रमण लगायत कारण देखाउँदै चीनले रसुवा–केरुङ नाका १५ माघदेखि १५ दिनका लागि बन्द गरिसकेको छ ।

 

प्रतिकृया दिनुहोस