व्यक्तित्व शनिबार, माघ २५, २०७६

तपाईं भन्ने ठूलो मान्छे

केदार शर्मा

तपाईं भन्ने ठूलो मान्छे
जन्म: २००४, निधन: २२ माघ २०७६

मलाई ‘तपाईं’ भनेर सम्बोधन गर्ने पहिलो ‘ठूलो मान्छे’ दुर्गानाथ शर्मा हुनुहुन्थ्यो ।

त्यो २०३५ साल चैत दोस्रो साताको कुनै दिन थियो । त्यसवेला सिंहदरबार छिर्न कुनै छेकबार थिएन । म मामा टीका भट्टराईसित बिहान साढे ६ बजेतिरै रेडियो नेपाल पुगें । उद्देश्य थियो, समाचार वाचनका लागि रेडियो नेपाल आई पुग्दापुग्दै दुर्गानाथ शर्मालाई भेट्ने र आफूले भर्खरै लेखेको लेख दिने ।

हामी पुगेर उभिएका मात्र के थियौं, परबाट एउटा पहेंलो रङको स्कूटर आयो र रेडियो नेपालको पुरानो भवनको प्राङ्गणमा रोकियो । मामाले ‘ऊ दुर्गाजी’ भन्नुभयो । स्कूटर रोकिएसँगै मामाले मलाई मेरा बाको नाम लिएर चिनाउनुभयो । मैले ‘काका’ नाता लगाएर उहाँलाई नमस्कार गरें ।

सानो स्वरमा ‘उपयुक्त भए गोरखापत्र मा छापिन्छ कि ?’ भन्दै मेरो हस्तलिखित लेख दिएँ । उहाँ “अहिले मैले समाचार तयार गर्नु छ, म पछि हेर्छु है भाइ !” भन्दै लेख लिएर भित्र छिर्नुभयो ।

साता दिन नबित्दै, चैत २१ गतेको गोरखापत्र मा मेरो लेख छापियो । त्यसपछिका खुशीको चर्चा गरें भने, यो लेख आफ्नै बारेमा हुन्छ ।

दुर्गानाथ शर्मासित दोस्रो भेट त्यही चैतको अन्तिमतिर उहाँकै अफिसमा भयो । म लेखको पारिश्रमिक लिन भनेर गोरखापत्र संस्थानको कार्यालय गएको थिएँ । लेखा शाखाले तपाईंलाई कसैले सनाखत गरिदिनुपर्छ भनेपछि म उहाँलाई खोज्दै कार्यकक्षमा पुगेको थिएँ ।

मभन्दा १५ वर्ष जेठा, मेरा काकाका सहपाठी, गोरखापत्र का सह–सम्पादक दुर्गानाथ शर्माले १७ वर्षको मलाई आफ्नो कुर्सी नजिकै बसाउनुभयो । मेरो पढाइबारे सोध्नुभयो, ध्यान दिएर मेरा कुरा सुन्नुभयो र “मैले भाइको भनेर छापिदिएको होइन है, छापिन योग्य भएर नै हो”, भन्नुभयो ।

यस्ता वाक्यले किशोर मनमा कस्तो प्रभाव पार्छन् भन्ने कुरा किशोरावस्था नबिर्सेकाहरूलाई थाहा हुन्छ । त्यसमाथि उहाँले थप्नुभयो, “तपाईंको लेखाइ राम्रो रहेछ, इन्जिनियरिङ क्याम्पसको विद्यार्थी, पढाइको चाप त हुन्छ होला, तर लेख्न नछाड्नुहोस् है !”

त्यसैले मात्र त होइन, तर त्यस्तै त्यस्तै कुराले मेरो जीवनवृत्ति नै लेखन भयो !

काम गर्ने मौका धेरैलाई मिल्छ । तर प्रतिभा, सीप, मिहिनेत र लोकव्यवहारको सन्तुलन मिलाएर आफ्नो काममा एक्का हुन भने सजिलो हुँदैन । दुर्गानाथ शर्मामा ती चारै गुण थिए ।

काकाका साथी भएकाले, अलिकति घुमाउरो नाता लगाउँदा पनि काका नै भन्नुपर्ने भएकाले, वा यसै, उहाँले मलाई तिमी भनेको भए पनि हुन्थ्यो । तर माइजूहरू बाहेक कसैले तपाईं नभनेको म फुच्चेलाई अपेक्षा नै नगरेको प्रेम र आदरका साथ आफ्नो कार्यालयबाट उहाँले विदा गर्नुभयो ।

म आफ्नो लेखको चालीस रुपैयाँ पारिश्रमिक बुझेर फर्किएँ । शायद त्यसभन्दा बढी आदर र विनम्रताको अर्थ बुझेर फर्किएँ । शायद त्यस्तै कुराले थाहै नपाई अनेक पाठ सिकाउने हो हामीलाई ।

एउटै पारिवारिक वृत्तभित्रका भएकाले हाम्रो भेट भइरहन्थ्यो । भेटघाटमा आफ्ना सामुन्ने रहेको व्यक्ति उमेर र अनुभवमा कनिष्ठ भए पनि कुरा गर्ने क्रममा कनिष्ठता अनुभव नहोस् भन्नेमा उहाँ सदैव सचेत भएको पाउँथें । आफूले टेलिभिजन कार्यक्रम चलाउन थाल्नुअघि र आँखीझ्यालको उत्पादनसित सम्बद्ध रहेका वेला पटक–पटक मैले यस्तो अनुभव गरेको हुँ ।

काम गर्ने मौका धेरैलाई मिल्छ । तर प्रतिभा, सीप, मिहिनेत र लोकव्यवहारको सन्तुलन मिलाएर आफ्नो काममा एक्का हुन भने सजिलो हुँदैन । दुर्गानाथ शर्मामा ती चारै गुण थिए ।

आफ्नो प्राञ्जल भाषिक शिल्प, मौलिक स्वर, शालीन दैहिक व्यक्तित्व, राष्ट्रिय\अन्तर्राष्ट्रिय घटना र सन्दर्भहरूको फराकिलो ज्ञान र सूचना सम्पन्नताले उहाँलाई छापा, रेडियो र टेलिभिजन तीनै माध्यममा उँचो स्थान दिएको थियो । पत्रकार कनकमणि दीक्षितका शब्दमा उहाँमा मिजास र मिठासको सङ्गम थियो ।

दुर्गानाथ शर्माको निधनपछि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उहाँ बारे अभिव्यक्त भावना देख्दा शोकमा रहेका उहाँका परिवारजनलाई पनि पक्कै गर्व लागिरहेको हुनुपर्छ । तर परिवार मात्र होइन, इलामेहरू पनि उहाँको नाम गर्वका साथ लिन्छन् ।

सार्वजनिक गाडीमा फिक्कल बजारबाट पशुपतिनगरतिर जाँदा करीब आधा किलोमिटर अगाडि, बाटाको दाहिने रातो छानो भएको घर देखाएर कतिले ‘दुर्गानाथको घर’ भनेको सुनेको छु । मेरो घर छेउको, मैले पनि पढेको स्कूलले आफ्नो स्कूल पढेका नामी मान्छेहरूको नाम लिंदा पनि उहाँको नाम लिन्छ ।

हाम्रा लागि ती मान्छेहरू महत्वपूर्ण हुन्छन्, जसले आफूलाई ‘म पनि कोही हुँ’ भन्ठान्न मद्दत गरेका हुन्छन् । मैले कृतज्ञतापूर्वक शिर झुकाउने त्यस्ता व्यक्तिको सूचीको अघिल्लै हारमा आउने दुर्गानाथ शर्माप्रति हार्दिक श्रद्धाञ्जलि !

 

प्रतिकृया दिनुहोस