कला/साहित्य शुक्रबार, माघ २४, २०७६

सिक्किमेली फूलकाे इतिहास

कमल मादेन

सिक्किमेली फूलकाे इतिहास
सउसुरिया ट्राइडाक्टिला । तस्वीर: सुरज सुब्बा र मिङ्गदुप लेप्चा

एशियाका कतिपय वनस्पति जातिको उद्गमस्थल हिमालयको पूर्वी भागलाई मानिन्छ ।

समयक्रममा ती वनस्पति चारैतिर फैलिए । चीनको हेङदुवाङ्ग पर्वत शृंखला यस्तै एक उद्गम हो, जहाँबाट गुराँस लगायत एशियामा पाइने थुप्रै वनस्पति जातिको उद्विकास भएको थियो । त्यहाँबाट विस्तारै गुराँसले पश्चिमतर्फको यात्रा तय गर्‍यो । भारतको अरुणाचल, भूटान, सिक्किम हुँदै गुराँस नेपाल आइपुग्यो ।

तलाउमा ढुङ्गा हान्दा सबैभन्दा बढी पानीको प्रभाव नजिक र अलि दूरी बढ्दै जाँदा कम परेजस्तै हेङदुवाङ्ग क्षेत्रका २५० प्रजातिका गुराँसमध्ये अरुणाचलमा ७५, भूटानमा ४६, सिक्किम ३६ र नेपालमा ३३ प्रजातिका गुराँस उद्विकास भएको पाइन्छ, जसमध्ये नेपालका पूर्व, मध्य र पश्चिममा क्रमशः २९, ८ र ६ प्रजाति पाइएको छ ।

सउसुरिया सिम्प्साेनियेना । 

उता मध्यएशियामा उद्विकास भएका वनस्पतिहरू पश्चिम नेपालबाट पूर्व कालीगण्डकीसम्म फैलिएका छन् । यसकारण, पूर्वी नेपाल, सिक्किम, भूटान, अरुणाचलमा एकाध बाहेक अन्य उस्तै वनस्पति प्रजातिहरू छन् । 

पिक्टोरियल ह्यान्डबूक अन फ्लावर्स अफ सिक्किम चीन भएर सिक्किम आइपुगेका र यहीका रैथाने वनस्पतिबारे लेखिएको पुस्तकको पहिलो भाग हो । गएको महीना मात्र प्रकाशित भरतकुमार प्रधान र पेमा ग्यात्सेन भुटिया लिखित यो पुस्तकमा ७५ वनस्पतीय परिवार अन्तर्गत २२७ जातिका ३७२ प्रजाति वनस्पतिका फूलको तस्वीर, वैज्ञानिक नाम, चलनचल्तीको नाम, फूल फुल्ने महीना तथा पाइएको स्थान उल्लेख छ ।

पुस्तकमा सुनाखरीका ८७ प्रजातिको तस्वीर पनि छ । यो संख्याकै करीब २५ प्रतिशत सुनाखरी नेपालमा हालसम्म पाइएका छन् । यसबाट सिक्किम र दार्जीलिङमा पाइएको तर नेपालमा अहिलेसम्म नपाइएका केही प्रजातिका तस्वीरबाट अध्येताले फाइदा लिन सक्छन् ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय वनस्पति विभागकी वनस्पतिविद् सङ्गीता राजभण्डारीले सन् २०१० मा पाँचथर जिल्लास्थित तत्कालीन प्राङ्बुङ गाविसको शिरीषेबाट संकलन एक दुर्लभ वनस्पति सङ्कलन गरिन् ।

यसलाई ‘बेगोनिया पाँचथरेन्सिस्’ नाम राखेर ‘डिस्क्राइब’ गरियो । यही प्रजातिको वनस्पति २०१८ मा पूर्वी सिक्किमको थाङसिङमा पनि फेला पर्‍यो । पुस्तकमा यो वनस्पतिको फूलको सुन्दर तस्वीर छ । अब तस्वीर हेरेकै भरमा बेगोनिया पाँचथरेन्सिस् सहजै चिन्न सकिन्छ ।

पुस्तकमा कतिपय वनस्पतिका जाति र प्रजातिका पुरानै नामले भने केही अलमल बनाउने देखिन्छ । परिवार वा जाति (जिनस्) का फरक परेमा त्यसको नाम परिवर्तन गरिन्छ । एकभन्दा बढी पटक नामकरण गरिएको भए सामान्यतः पछिल्लो नाम नै मान्ने चलन छ ।

पुस्तकमा भटमासे फूल भनेर चिनिने वनस्पतिको वैज्ञानिक नाम डेस्मोडियम मल्टी फ्लोरम लेखिएको छ । तर, २०१२ मै जापानी वनस्पतिविद्ले यो प्रजातिलाई ओटोट्रोपिस जातिमा स्थानान्तर गरी यसको नाम ओटोट्रोपिस मल्टी फ्लोरा राखिसकेका थिए ।

नेपालमा पनि डेस्मोडियम जाति अन्तर्गत ३४ प्रजाति सूचीकृत छ । ती प्रजातिलाई पनि आधा दर्जन भन्दा बढी जातिमा स्थानान्तर गरिएको २०१९ मा प्रकाशित, केशवराज राजभण्डारी र संजीवकुमार राई लिखित पुस्तक अ ह्यान्डबूक अफ द फ्लावरिङ प्लान्टस् अफ नेपाल, भाग–२ मा जनाइएको छ ।

सन् २०१८ मा प्रकाशित द ग्लोबल फ्लोरा : अ प्राक्टिकल फ्लोरा टु भास्कुलर प्लान्ट स्पेसिस् अफ द वर्ड (विशेष संस्करण) मा मेकोनोप्सिस् जातिको वनस्पतिका सम्पूर्ण प्रजातिलाई पापाभेर जातिमा स्थानान्तर गरिएको जनाइएको छ । तर, लेखकद्वय प्रधान र भुटियाले पुस्तकमा चार प्रजातिलाई अझै मेकोनोप्सिस् जातिकै प्रजाति मानेका छन् । अर्जेन्टिया जातिका केही प्रजाति पोटेन्टिल्ला जातिमा स्थानान्तर भइसकेको छ । तर, पुस्तक अद्यावधिक देखिन्न ।

पुस्तक नै पिक्टोरियल (तस्वीरमय) भनिए पनि तस्वीर राख्ने ढंग भने नपुगेको देखिन्छ । साना फूलका तस्वीरलाई ‘क्लोज अप’ राखिनुपर्थ्याे। केही प्रजातिका हकमा फल र पातबाटै पनि वनस्पति चिनिने ‘डिजाइन’ पनि गर्न सकिएको भए ‘सुनमा सुगन्ध’ हुनेथियो । तर, यसो नभई पुस्तकमा वनस्पति पाइने स्थानलाई प्राथमिकता दिइएको छ ।

मान्छे र ठाउँ मात्र होइन, जैविक विविधता पनि इतिहासको महत्वपूर्ण अंग हो । त्यसैले यो पुस्तक वानस्पतिक इतिहासका अध्येता, विद्यार्थीका लागि सबैभन्दा बढी उपयोगी छँदैछ । सँगसँगै, नर्सरी फूल व्यवसायी, सामुदायिक वन अभियन्ता, वन कर्मचारीले पनि यसबाट मनग्गे लाभ पाउन सक्छन् ।

पुस्तकको थप भागहरूको लेखन र प्रकाशनमा लेखकद्वयको थप लगनले सिक्किम मात्र होइन, समग्र दक्षिणएशियाकै वनस्पति संरक्षणमा टेवा पुग्ने आशा गर्न सकिन्छ । 

पुस्तक– पिक्टोरियल ह्यान्डबूक अन फ्लावर्स अफ सिक्किम, भाग १ 
प्रकाशक– दर्पण पब्लिकेसन इन्टरप्राइजेज् लिमिटेड, सिलिगुढी 
पृष्ठ– ३७२+११
मूल्य– १,२९९ (भारु)

 

प्रतिकृया दिनुहोस