ब्लग शुक्रबार, माघ २४, २०७६

राणाकालको प्रशासन

भैरव रिसाल

राणाकालको प्रशासन
स्केच: भानु भट्टराई
भैरव रिसाल

राणाकालमा अड्डाहरू सञ्चालन गर्ने र बिदा दिने रीतिथिति विचित्रको रहेछ । श्री ३ वीरशमशेरको पालामा हाजिरी गोश्वारा अड्डा गठन भएको थियो । निजामती र सैनिक कर्मचारीहरूको उपस्थितिको विवरण तयार पार्नु त्यो अड्डाको काम थियो ।

अड्डाका कर्मचारीहरू बिहान १० बजे सरकारी कार्यालयहरूमा गएर हाकिमदेखि टहलुवासम्मको हाजिरी लिन्थे । अड्डा छुट्टी हुने वेला पनि छड्के हाजिरी लिइन्थ्यो ।

चन्द्रशमशेरको पालामा कुशेऔंशीका दिन पिता नहुने कर्मचारीहरूलाई गोकर्णेश्वर गएर कुश बगाउन छुट्टी दिने चलन रहेछ । छुट्टी लिएका कर्मचारीमध्ये कुश बगाउन को गए, को गएनन् भनी हाजिरी गोश्वाराका हाकिम नजरमान सिंह छड्के गर्न गोकर्ण पुग्थे रे ! छड्केमा अनुपस्थित कर्मचारीलाई गयल गरिन्थ्यो ।

राणा शासनमा देशको प्रशासन चलाउने ठूला २६ वटा र साना ८६ वटा अड्डा थिए । ती ११२ अड्डामध्ये ९० प्रतिशत काठमाडौं उपत्यकाभित्रै थिए । श्री ३ भीमशमशेरको शासनकालमा १ साउन १९८८ मा हाजिरी गोश्वारा अड्डाको पुनर्गठन भयो । कर्मचारीलाई शनिवार बिदा दिने चलन त्यही वेलादेखि शुरू भयो । 

त्यस वेला कर्मचारीले पाउने बिदा धेरै थरीका थिए । श्री ५ र श्री ३ महाराजको जन्मोत्सवको दिन बिदा दिइन्थ्यो । वर्षमा १७ दिन घर बिदा बस्न पाउने सुविधा थियो । यो बिदा भने कात्तिक, मंसीर, पुस महीना बाहेकको समयमा मात्र दिइने नियम थियो । भैपरी आउने बिदा अन्तर्गत न्वारान, पास्नी, विवाह, व्रतबन्ध, मलामी, किरियाका लागि बिदा दिइन्थ्यो ।

आफन्त मर्दा काजकिरियामा डालो बोक्न १५ दिन ‘डाले बिदा’ पनि दिइने रहेछ । भैपरी बिदा अन्तर्गत नै घरमा सप्ताह लगाए ८ दिन र नवाह लगाए १० दिन बिदा दिइने अनौठो चलन रहेछ । मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, गाईजात्रा, इन्द्रजात्रा लगायतका विभिन्न जात्रा र पर्वमा पनि बिदा दिने प्रचलन थियो ।

जङ्गबहादुरले बनाएको जग

नेपालको प्रशासनिक पुनर्गठनमा प्रधानमन्त्री जङ्गबहादुरको बेलायत यात्राले धेरै प्रभाव पार्‍यो । उनले विदेश यात्रामा शासन र प्रशासनका विभिन्न अभ्यास देखेर स्वदेश फर्केपछि १९०८ सालमा ऐन खाना र कौशल अड्डा भन्ने दुई फाँट खोले ।

ऐन खानाले तर्जुमा गरेका ऐन सवालहरू कौशलमा छलफल भई मुख्तियार मार्फत श्री ३ मा निकासाका लागि जाहेर हुन्थ्यो । कौशललाई पुराना ऐनको संशोधन र नयाँ ऐनको तर्जुमा गर्ने काम सुम्पिएको थियो ।

जङ्गबहादुरले मुलुकी अड्डा बनाए, जसले राणा प्रशासनको जग नै बसाल्यो । त्यस्तै, उनले जङ्गी बन्दोबस्त अड्डा पनि गठन गरे । त्यो अड्डाले सेना र हातहतियार सम्बन्धी विषय हेर्थ्याे।

नेपालको प्रशासनिक पुनर्गठनमा प्रधानमन्त्री जङ्गबहादुरको बेलायत यात्राले धेरै प्रभाव पार्‍यो । उनले विदेश यात्रामा शासन र प्रशासनका विभिन्न अभ्यास देखेर स्वदेश फर्केपछि १९०८ सालमा ऐन खाना र कौशल अड्डा भन्ने दुई फाँट खोले ।

राणाकालमा धेरैजसो राजस्व सङ्कलनको काम अमानत अर्थात् सरकार\हकदारबाट भन्दा ठेक्काबाटै हुन्थ्यो । यो क्रम चन्द्रशमशेरको पालासम्म पनि कायमै रह्यो । ठेक्काराजबाट काम लिंदा सरकारी खर्च नलाग्ने तथा चाँडै र सजिलोसँग राजस्व सङ्कलन हुन्छ भन्ने धारणा थियो ।

सबभन्दा अनुचित ठेक्का थियो जगात (कर) । पहाडका मौजा र थुमपिच्छे रैतीहरूले एक जिल्लाबाट अर्कोमा सामान ओसारपसार गर्दा पनि जगात लाग्थ्यो । त्यसै कारण जगात अलोकप्रिय बन्यो ।

श्री ३ जुद्धशमशेरको पालामा कृषि परिषद्, वन परिषद्, नेपाल ब्यूरो अफ साइन्स, नेपाली कपडा र घरेलु इलम अड्डा, वनस्पति विभागहरू डाइरेक्टर जनरल अफिसमा परिणत हुन लागे । जहाँ नयाँ प्रशासकीय प्रणाली शुरू भएर त्यस वेलाको आधुनिक तौरतरिकाबाट काम हुन थाल्यो ।

यी नयाँ अड्डाका केही कर्मचारीका लागि मेच र टेबलको बन्दोबस्त भयो । टाइपराइटरले टाइप गर्ने र फाइलमा कागज राख्ने चलन पनि चल्न थाले । विकास बोर्डहरू गठन गरिन लागे । बोर्डका निर्णयहरू श्री ३ मा जाहेर भई निकासा हुन लाग्यो ।

जुद्धकै शासनकालमा दोस्रो विश्वयुद्धमा भारतको रक्षार्थ नेपाली सेनाले गरेको सहयोगबापत ब्रिटिश–भारत सरकारबाट नेपालको विकासका लागि रु.३ करोड ३३ लाख आएको थियो । तर, त्यो रकम कुन काममा खर्च गर्ने भन्ने भएछ । पद्मशमशेर श्री ३ हुँदा पनि टुङ्गो लागेन । अन्ततः मोहनशमशेर श्री ३ भएपछि उद्योग परिषद्बाट तयार भएका योजनामा लगाइने भयो । 

प्रतिकृया दिनुहोस