समाचार बुधबार, माघ २२, २०७६

ललिता निवास प्रकरणः अख्तियारको अहिलेसम्मकै ठूलो भ्रष्टाचार मुद्दा

मुकेश पोखरेल

ललिता निवास प्रकरणः अख्तियारको अहिलेसम्मकै ठूलो भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको सरकारी जग्गा प्रकरणमा १७५ जनालाई विपक्षी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ।

पूर्व ३ मन्त्री, अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै पूर्व प्रमुख र दुई पूर्व सचिवलाई विपक्षी बनाएर अख्तियारले मुद्दा दायर गरेपछि यस सम्बन्धी बहस चुलिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै इतिहासमा सम्भवतः सबैभन्दा बढी बिगो माग दाबी गरिएको मुद्दा हो यो । १७५ जनालाई विपक्षी बनाइएको यस मुद्दामा जम्मा रु १० अर्ब १४ करोड ३४ लाख ५५ हजार ६०० बिगो माग दाबी गरिएको छ।

यसभन्दा अघि सिक्टा सिंचाई आयोजनाको भ्रष्टाचार सम्बन्धी मुद्दामा ८ अर्ब ५९ करोड ८८ लाख रुपैयाँको बिगो माग दाबी गरिएको थियो । अख्यितारले दायर गरेको मुद्दामा प्रतिवादीका हिसाबले डडेल्धुरामा भएको वन फँडानीमा दायर मुद्दा सबैभन्दा ठूलो हो।

वन फँडानी सम्बन्धी मुद्दामा करीब ५ सय व्यक्तिलाई विपक्षी बनाएर अख्यिारले मुद्दा दर्ता गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला माछालाई उन्मुक्ति दिएको भन्ने आरोप खेपिरहेका वेला बुधबार दायर गरिएको मुद्दाबाट ठूला माछा समेत अख्तियारबाट उम्किन नसक्ने नजिर स्थापित भएको कानूनका जानकार बताउँछन्।

अधिवक्ता टीकाराम भट्टराई सत्तापक्षका नेतालाई समेत विपक्षी बनाई मुद्दा दायर गरिएको घटनाबाट अख्तियारमा सत्ताको प्रभाव नदेखिएको बताउँछन् । मुद्दा दायर गरिएका पूर्वमन्त्री चन्द्रदेव जोशी सत्तारुढदल नेकपाका नेता हुन्।

त्यसैगरी आफ्नै पूर्व प्रमुख र नेपाल सरकारका दुई पूर्व सचिवलाई समेत विपक्षी बनाएर दायर गरिएको मुद्दाले पहुँचवाला पनि अख्तियारबाट उम्किन नसक्ने सन्देश दिएको भट्टराई बताउँछन्।

प्रतिकृया दिनुहोस