टिप्पणी बुधबार, माघ २२, २०७६

प्रचारको लोभमा भ्रामक किंवदन्ती

वसन्त महर्जन

प्रचारको लोभमा भ्रामक किंवदन्ती
तिलोत्तमा नगरपालिकास्थित ऐतिहासिक पोखरी र सो पोखरी मासेर बनाउन लागिएको वडा कार्यालय भवनको निर्माण कार्य हुँदै । तस्वीरः बीबीसी
वसन्त महर्जन

नेपाल र भारतका कतिपय ठाउँलाई रामायण, महाभारत र बुद्धसँग सम्बन्धित गरेर प्रचार गरिन्छ । रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मा पर्ने एउटा पोखरीलाई पनि बुद्धको इतिहाससँग जोडिएको भन्दै स्थानीयले महत्व दिन्छन् ।

एक बिघाभन्दा बढी क्षेत्रमा फैलिएको यस पोखरीलाई पुरेर वडा कार्यालयको भवन बनाउन थालेपछि इतिहास मास्न खोजेको भन्दै विरोध पनि भइरहेको छ ।

स्थानीयका अनुसार पोखरीको किनारमा मायादेवी बास बसेको किंवदन्ती छ । उनी सुत्केरी हुन माइती देवदह जाँदै गर्दा यही पोखरी किनारको कुमारवर्ती गाउँमा बास बसेकी थिइन् ।

पाली त्रिपिटकमा मायादेवीको माइती देवदह भएको स्पष्ट छ । तर, सुत्केरी हुन माइत गएको प्रसङ्ग पाइँदैन । पहिलो सन्तान जन्माउन माइती जाने चलन रहेको कुनै पनि बौद्ध साहित्यबाट पुष्टि हुँदैन । गौतम बुद्धकी पत्नी यशोधराले छोरा राहुल कपिलवस्तुमा नै जन्माएकी थिइन् ।

बुद्धको जीवनीलाई विस्तृत रूपमा वर्णन गर्ने पहिलो ग्रन्थ संस्कृत भाषामा रहेको ‘ललितविस्तरसूत्र’ हो जसमा गर्भवती मायादेवीले लुम्बिनी वनको सयर गर्ने इच्छा राखेको मात्रै पाइन्छ । त्यसकारण उनले देवदह नभएर लुम्बिनीलाई गन्तव्य बनाएर यात्रा गरेको उक्त ग्रन्थमा स्पष्ट उल्लेख छ ।

बौद्ध ग्रन्थहरूमा मायादेवी गर्भवती भएको र लुम्बिनीमा शिशु जन्माएपछि सात दिनमा नै मृत्यु भएको सन्दर्भबाहेक अरू घटना विवरण पाइँदैन । उनले माइत देवदहमा विताएका क्षण र घटनाबारे पनि कतै उल्लेख छैन । त्यसैले स्थानीयले आफ्नो ठाउँको महत्व बढाउन मात्र पोखरीसँग मायादेवीलाई जोडेर किंवदन्ती बनाएको स्पष्ट हुन्छ ।

कपिलवस्तुको ‘ट्वीन्स स्तूप’ बारे पनि नभएको किंवदन्ती रचिएको छ । प्राचीन कपिलवस्तुको मुख्य पुरावशेषका रूपमा रहेको तिलौराकोटभन्दा केही दूरी उत्तरमा धम्नीहवा उत्खनन् गर्दा दुई वटा ठूला स्तूपको अवशेष भेटिएको थियो । ती स्तूपका सम्बन्धमा कुनै अभिलेख पाइँदैन ।

शुद्धोदनको मृत्यु हुँदा गौतम बुद्ध कपिलवस्तुमा नै थिए । स्तूप निर्माणको प्रसङ्ग कतै आउँदैन । स्तूप निर्माणको परम्परा अनुसार अर्हतको नाममा मात्र स्तूप बनाउने परम्परा छ । शुद्धोदनले मृत्युअघि अर्हत्व लाभ गरेका थिए । तर मायादेवीले अर्हत्व लाभ गरिनसकेका कारण उनको नाममा स्तूप निर्माणको कल्पना तर्कसङ्गत छैन । अर्थात् हुँदै नभएको कुरा सिर्जना गरेर किंवदन्तीका नाममा ‘ट्वीन्स स्तूप’ लाई चिनाउने गरिन्छ । यसरी बनाइने नयाँ किंवदन्तीले भ्रम मात्र छर्दैन कि इतिहास अध्ययनमा पनि बाधा पार्छ ।

उत्खनन् अघिसम्म स्तूपका सम्बन्धमा स्थानीय पूर्णतः अनभिज्ञ थिए । तर, पुरातत्वविद् बाबुकृष्ण रिजालले स्थानीय समाजमा प्रचलित किंवदन्ती भनेर राजा शुद्धोदन र रानी मायादेवीको नामसँग जोडेर ‘ट्वीन्स स्तूप’ भनी आफ्नो प्रतिवेदनमा उल्लेख गरे, जुन स्थापित मान्यता जस्तै भएको छ ।

शुद्धोदनको मृत्यु हुँदा गौतम बुद्ध कपिलवस्तुमा नै थिए । स्तूप निर्माणको प्रसङ्ग कतै आउँदैन । स्तूप निर्माणको परम्परा अनुसार अर्हतको नाममा मात्र स्तूप बनाउने परम्परा छ । शुद्धोदनले मृत्युअघि अर्हत्व लाभ गरेका थिए । तर मायादेवीले अर्हत्व लाभ गरिनसकेका कारण उनको नाममा स्तूप निर्माणको कल्पना तर्कसङ्गत छैन । अर्थात् हुँदै नभएको कुरा सिर्जना गरेर किंवदन्तीका नाममा ‘ट्वीन्स स्तूप’ लाई चिनाउने गरिन्छ । यसरी बनाइने नयाँ किंवदन्तीले भ्रम मात्र छर्दैन कि इतिहास अध्ययनमा पनि बाधा पार्छ ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनी पत्ता लागेको सन् १८९६ को अन्त्यतिर हो । त्यसको एक वर्षअघि निग्लिसागरको छेउमा मौर्यसम्राट अशोकको अभिलेखसहित स्तम्भ भेटिए पनि प्राचीन कपिलवस्तुको भूक्षेत्रको रूपमा पहिचान गर्न निकै वर्ष लागेको थियो ।

त्यसअघिसम्म लुम्बिनी क्षेत्रबारे कुनै प्रमाण भेटिएको थिएन । न त स्थानीय रूपमा लुम्बिनी क्षेत्रबारे किंवदन्तीहरू नै थिए । यस्ता काल्पनिक किंवदन्तीको प्रचारले कालान्तरमा घाटा मात्र गर्छ ।

लुम्बिनी, कपिलवस्तु, नवलपरासी लगायत क्षेत्रमा प्राचीन अवशेषहरू पाइनु नौलो विषय होइन । तर, सबै अवशेषलाई गौतम बुद्ध र बौद्ध धर्मसँग जोड्नु इतिहासलाई उल्टोपाल्टो पारेर बुझ्नु हो । यसबाट बुद्ध र बौद्ध धर्मसँग सम्बन्धित विषयलाई हल्का बनाउने खतरा हुन्छ ।

 

प्रतिकृया दिनुहोस