खेलकुद बुधबार, माघ २२, २०७६

के नेपालका लागि खुल्ला त विश्वकपको ढोका ?

निरञ्जन राजवंशी

के नेपालका लागि खुल्ला त विश्वकपको ढोका ?

घरेलु भूमि कीर्तिपुर क्रिकेट मैदानमा २२ माघदेखि हुने त्रिदेशीय शृङ्खलाबाट ज्ञानेन्द्र मल्लले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटको कप्तानी यात्रा शुरु गर्दैछन्।

सन् २०२३ को ओडीआई विश्वकपसम्म पुग्ने ढोकाको रुपमा रहेको ‘क्रिकेट विश्वकप लिग–२’ अन्तर्गत नेपालको पहिलो शृङ्खला त्यही दिनबाट शुरु हुनेछ। यही प्रतियोगिताबाट कीर्तिपुर मैदानले पनि ओडीआई मान्यता पाउनेछ।

अबको झन्डै दुई वर्ष चल्ने नौ वटा शृङ्खलाका ३६ ओडीआईले नेपाली क्रिकेटको भविष्य निर्धारण गर्नेछ । नेपालले खेल्ने तीन वटा शृङ्खलाका १२ खेल भने घरेलु मैदानमा हुनेछन् । पहिलो शृङ्खला नै घरेलु मैदानमा खेलिरहँदा नेपाललाई भरिभराउ दर्शकको साथ हुनेछ ।

नेपालले विश्व क्रिकेटको नयाँ संरचनामा शुरुमै बलिया प्रतिद्वन्द्वी पाएको छ । दुवै राष्ट्र अमेरिका र ओमानले दुई वटा शृङ्खला खेलिसकेका छन् । सात देश सम्मिलित लिग–२ को अंक तालिकाको शीर्ष स्थानमा रहेको अमेरिकाले अहिलेसम्म ८ मध्ये ६ खेल जित्दै १२ अंक बटुलेको छ । आफ्नो सुल्तानको मृत्युको शोकमा दुई खेल छाडेको ओमान भने छ खेलमा चार वटा जितेर आठ अंक सहित चौथो स्थानमा छ ।

नयाँ स्वरुपमा आएको अमेरिकामा विदेशी खेलाडीहरूको बाहुल्य छ । धेरै भारतीय खेलाडी छन् । त्यसबाहेक वेष्ट इन्डिज, दक्षिण अफ्रिका र अष्ट्रेलियाका खेलाडी पनि छन् । अहिले भारतको मुम्बईमा प्रशिक्षण गरिरहेको अमेरिकाको टोलीमा वेष्ट इन्डिजबाट सात वटा टेस्ट खेलिसकेका जाभियर मार्सल पनि छन् । ओमानको टिममा पनि भारतीय र पाकिस्तानी खेलाडीको बाहुल्य छ । ओमानका विकेटकिपर ब्याट्सम्यान सुरजकुमार भने नेपाली मूलका हुन् ।

यस्तो छ आगामी बाटो

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अन्तर्राष्ट्रिय क्रिकेटको संरचना परिवर्तन गर्दै विश्वकप छनोट प्रणालीमा व्यापक फेरबदल गर्‍यो । सबै राष्ट्रलाई विश्वकप पुग्ने बाटो खुला राख्ने उद्देश्यले तीन चरणको बाटो कोरिएको छ । जसमा उपल्लो तहमा आईसीसीको पूर्ण सदस्य रहेका १२ टेष्ट राष्ट्र र विश्व क्रिकेट लिग च्याम्पियन नेदरल्याण्डस्ले सुपर कप खेल्नेछन् ।

१४ देखि २०औं वरियतामा रहेका सात ओडीआई मान्यता प्राप्त राष्ट्रले लिग–२ खेल्नेछन् । तेस्रो तहमा क्रिकेट वल्र्डकप च्यालेन्ज लिग प्रतियोगिता छ, जसमा विश्व क्रिकेट लिगमा २१ देखि ३२औं वरियतामा रहेका र ओडीआई मान्यता नपाएका १२ राष्ट्रले विश्वकपमा पुग्न प्रतिस्पर्धा गर्नेछन् ।

भारतमा सन् २०२३ मा हुने विश्वकपमा १० राष्ट्रले मात्र भाग लिन पाउने छन् । अहिले प्रतिस्पर्धामा रहेका ३२ देशबाट १० देश छनोट हुनेछन् । सुपर कप खेलिरहेका १३ मध्ये उत्कृष्ट सात राष्ट्रले सोझै विश्वकप खेल्न पाउनेछन् । भारत आयोजकको नाताले स्वतः विश्वकप खेल्नेछ । दुई स्थानका लागि १० राष्ट्रबीच छनोट प्रतिस्पर्धा हुनेछ ।

छनोट प्रतिस्पर्धामा सुपर लिगको पुछारमा रहेका पाँच राष्ट्र र नेपाल पनि सम्मिलित क्रिकेट विश्वकप लिग–२ का शीर्ष तीन टोली हुनेछन् । बाँकी दुई टोली प्लेअफबाट छनोट हुनेछन् ।

प्लेअफमा क्रिकेट विश्वकप लिग–२ का तलका चार राष्ट्र र क्रिकेट वल्र्डकप च्यालेन्जका शीर्ष दुई राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।(हे. इन्फो) च्यालेन्ज लिगमा क्यानडा, युगान्डा, मलेशिया, हङकङ, सिंगापुर, केन्या जस्ता राष्ट्र छन् । नेपालले सीधै विश्वकप छनोटमा पुग्न लिग–२ को अंक तालिकामा शीर्ष तीनभित्र पर्नुपर्नेछ । अन्यथा प्लेअफमा धकेलिनेछ ।

युवा खेलाडीको भर

विश्वकपको यो लामो र घुमाउरो तालिका नेपाली क्रिकेट विकासका लागि भने महत्वपूर्ण हुनेछ । अहिलेसम्म जम्मा ६ वटा मात्र ओडीआई खेल्न पाएको नेपालले जनवरी २०२२ सम्ममा थप ३६ वटा ओडीआई खेल्न पाउनेछ । जसले नेपाली क्रिकेटलाई चलायमान बनाउनेछ ।

नेपालको सबैभन्दा महत्वपूर्ण चुनौती ब्याटिङमा नै छ । फिल्डिङमा पनि एकरुपको प्रदर्शन छैन । कठिन म्याच जित्ने राष्ट्रको पहिचान बनाएको नेपाली टोलीको त्यो लय हराउँदै गएको छ । सिङ्गापुरमा विश्वकप टी–२० छनोटमा भोगेको पराजय र १३औं सागमा गरेको प्रदर्शनले सुधार गर्नुपर्ने धेरै पाटो उजागर गरेको छ ।

लामो समयदेखि ब्याटिङमा नेपालको ‘ओपनिङ पार्टनरसिप’ जम्न सकेको छैन । यसपटक कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वकप्तान पारस खड्काले ओपनिङ गर्ने निश्चित जस्तै छ । त्यसो हुँदा अनुभवी शरद भेषवाकर र विनोद भण्डारीसँगै दीपेन्द्रसिंह ऐरी, आरिफ सेख, रोहित पौडेल लगायत युवा खेलाडीले मध्यक्रम धान्नुपर्नेछ ।

टोलीमा नयाँ तथा पुराना खेलाडीहरूको सम्मिश्रण छ । दबाबका बेला विकेट लिन सक्ने खेलाडीको छवि बनाएका वसन्त रेग्मी यसपटक टोलीमा छैनन् । त्यसकारण स्पिन आक्रमणको जिम्मा युवा बलर सन्दीप लामिछानेको काँधमा छ । लामो समयदेखि ‘ओपनिङ बलिङ’ गरिरहेका तीव्र गतिका बलर सोमपाल कामी पनि चोटका कारण टिमबाट बाहिरिएका छन् । उनको स्थानमा अविनाश बोहोरा वा कमलसिंह ऐरीले ओडीआईमा डेब्यूको मौका पाउनेछन् ।

कप्तान मल्ल र प्रशिक्षक उमेश पटवालको लागि यो प्रतियोगिता परीक्षा जस्तै हुनेछ । पटवाल सिङ्गापुरमा भएको विश्वकप टी–२० छनोटको पहिलो प्रतियोगितामा असफल भएका थिए । अहिलेको लिग–२ उनलाई छवि सुधार्ने अवसर हुनेछ ।

विश्व क्रिकेटमा मिहिनेती टोलीको पहिचान बनाएको नेपाली क्रिकेट टोलीका लागि परिस्थिति सहज हुँदै गएको छ । नेपाल क्रिकेट संघ (क्यान) माथि आईसीसीले लगाएको प्रतिबन्ध फुकुवा भइसकेको छ । घरेलु प्रतियोगिताहरू पनि भइरहेका छन् । अभ्यासका लागि मूलपानी मैदान पनि तयार छ । त्यसकारण नेपाली खेलाडीले आफ्नो क्षमता देखाउन सके नेपाली क्रिकेटले नयाँ बाटो समात्ने निश्चित छ ।

प्रतिकृया दिनुहोस