ब्लग सोमबार, माघ २०, २०७६

विमानस्थलका निभेका गुलुबहरू

कनकमणि दीक्षित

विमानस्थलका निभेका गुलुबहरू
बिक्रम राईले गतसाता खिचेको त्रिभुवन हवाईअड्डाको ‘अप्रोच लाइट’ ।

काठमाडौंको तीनकुनेबाट कोटेश्वर हुँदै भक्तपुर जाँदा बायाँपट्टि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान र अवतरणको ‘थ्रेसहोल्ड’ पर्दछ, अर्थात् धावनमार्ग भन्दा ठीक अगाडिको क्षेत्र ।

काठमाडौं जाँदा वा फर्कंदा दिनहुँ दशौं हजार बस, कार, ट्रक र मोटरसाइकल सवार चालक र यात्रुको आँखा विमानस्थलतर्फ तानिन्छन्, हवाईजहाज उडान र अवतरण हेर्दै । र अक्सर लामो जाममा पर्दा ध्यान झनै त्यतातिर केन्द्रित हुन्छ ।

यस्तो खतरनाक लापरबाहीमाझ कसरी भ्रमण वर्ष २०२० सफल पार्ने विचार छ ?

साँझ र रातिको बेला के देख्छन् त पाँच–पाँच वटा लाइट बल्ब चम्केका १०–१५ सेट ल्याम्पपोस्ट धावनमार्गतर्फ लस्किएको । र अलिकति पनि ध्यान पु¥याउने हो भने जो–कोहीले सहजै ‘नोट’ गर्न सक्छन् कि पाँच–पाँच वटा बत्ती बल्नुपर्नेमा अधिकांश पोस्टमा एक वा एकभन्दा बढी बत्ती निभेको हुन्छ ।

यी १०–१५ पोस्टमा राखिएका बत्तीलाई ‘अप्रोच लाइट’ भनिन्छ र यिनको काम विमानचालकलाई रन वे अर्थात् धावनमार्गमा छेउछाउ नलागी सीधै बीचमा अवतरण गर्न सघाउनु हो । यिनले एक किसिमको तारोको काम गर्दछन् ।

सडकबाट यतातिर आँखा लगाउने यात्रुले सहजै देख्दछन् कि ती पोस्टहरूमा पाँच–पाँच बत्ती राखिएकोमा थोरैमा मात्र सबै लाइट बल्ब बलेका छन् । गत साताको हिमाल फोटोग्राफर बिक्रम राईको तस्वीर हेरौं ।

सम्साँझमा खिचिएको यो तस्वीर एक किसिमले मनमोहक छ — अस्ताउँदो घामको उज्यालो अझै जुगल हिमाल शृंखलामा देखिन्छ, र यता त्रिभुवन हवाईअड्डाको अप्रोच लाइटको झिलिमिली बत्ती ।

तर विडम्बना ! अलि नजिकबाट हेर्नुहोला, तस्वीरले देखाएको पाँच वटा खम्बामध्ये पहिलो र चौथो खम्बामा मात्र सबै बत्ती बलेका छन् । एउटा खम्बामा एउटा निभेको छ, अर्कोमा चारवटा निभेको छ,  र सबैभन्दा नजिककोमा दुई वटा निभेको छ ।

अरे बाबा ! पहिले भएको हवाईअड्डाको धावनमार्गको अप्रोच लाइटलाई सद्दे राख्न त सिक । अलिकति पनि उत्तरदायित्वबोध छ भने सरकारले यही एउटा कुरा मात्रै भए पनि गरिहालोस्, जलेका बत्ती फेरोस् । 

यो नागरिक उड्डयन सुरक्षासँगको खेलबाड हो । यो विमानस्थल प्रशासनको मात्र लापरबाहीको प्रमाण होइन, पूरै राज्य कसरी चलाइँदैछ भन्ने संकेत पनि हो ।

नेता, प्रबुद्ध वर्ग, हुनेखाने, र अन्तर्राष्ट्रिय उडान भर्ने सबैले रुचाउने हवाईजहाज यात्राको सुरक्षा सम्बन्धित अवतरणको अप्रोच लाइटको त यस्तो अवस्था छ भने बाँकी यातायात व्यवस्था र यात्रु सुरक्षाको के कुरा ?

कसैले भने जस्तो लाग्छ, त्रिभुवन हवाईअड्डालाई ‘बुटिक एअरपोर्ट’ बनाउने । हामी हाँसौंला, जसरी यहाँको राम्रो राजस्थानी मार्बल फ्लोरिङलाई छिटै फोहोर हुने सस्तो गलैंचाले छोपिएको छ; जसरी पुरानो र राम्रो वास्तुकलासँग मेल नखाने थोत्रा नयाँ भवन निर्माण भएका छन्; जसरी यहाँको ट्वाइलेटले विदेशी पर्यटकलाई हाम्रो राष्ट्रिय स्वभाव नै (भनौ !) उजागर गर्दछ ।

यो देश ! जहाँ एउटै अन्तर्राष्ट्रिय एअरपोर्टको सक्षम व्यवस्थापन गर्न नसक्नेहरु कुर्लिन्छन् — ‘निजगढ ! निजगढ ! निजगढ ! !’

अरे बाबा ! पहिले भएको हवाईअड्डाको धावनमार्गको अप्रोच लाइटलाई सद्दे राख्न त सिक । अलिकति पनि उत्तरदायित्वबोध छ भने सरकारले यही एउटा कुरा मात्रै भए पनि गरिहालोस्, जलेका बत्ती फेरोस् । 

हवाईमार्गमा उड्ने नभई सडकमार्गमा गुड्ने प्रौढदेखि वयस्क र बालकले समेत दिनानुदिन देख्ने यो गडबडी किन एउटै नेता, कर्मचारी वा प्राविधिकले अड्कल लगाउन नसकेको ? अनि के हेरिरहेका होलान् यहाँ अवतरण गर्ने पाइलटहरू स्वयम् ?

हवाई उडानको क्रममा सबैभन्दा संवेदनशील अवस्था मानिन्छ, ल्यान्डिङको समय । जब एअरपोर्टको अप्रोच लाइट राखिए अनुसार बल्दैन, सुरक्षित अवतरणका लागि यो खतरनाक अवस्था हो ।

यस्तो संवेदनशील अभिभारा सम्हाल्न नसक्ने निकाय, अधिकृत र प्राविधिक को को हुन् ? सुपरभाइजर र हाकिम को को हुन् ?

प्रतिकृया दिनुहोस