समाचार शुक्रबार, माघ १७, २०७६

आस्था राउत प्रकरणः ‘बहादुर’ प्रहरीको कमजोर किस्सा

मुकेश पोखरेल

आस्था राउत प्रकरणः ‘बहादुर’ प्रहरीको कमजोर किस्सा

अभद्र व्यवहार सम्बन्धी मुद्दामा एक दिन हिरासतमा राखिएकी गायिका आस्था राउत १४ माघमा रु.४ हजार धरौटी तिरेर रिहा भइन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशले रिहा भएकी उनी १३ फागुनमा पुनः प्रशासनमा उपस्थित हुनुपर्नेछ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र १ माघमा चेकजाँचका क्रममा गायिका राउत र प्रहरी जवान रमिता श्रेष्ठबीच भनाभन भएको थियो ।

पछि गायिका राउतले सामाजिक सञ्जालमा प्रहरी विरुद्ध आक्रोश पोखेकी थिइन् । प्रहरी जवान श्रेष्ठले भने आफूमाथि राउतले अपमान गरेको भन्दै ३ माघमा उजुरी दिइन् । यता राउतले आफूले आवेगमा आएर अमर्यादित शब्द बोलेको भन्दै सामाजिक सञ्जालबाट माफी मागिन् ।

उनले माफी मागे पनि प्रहरीले ५ माघमा प्रमुख जिल्ला अधिकारीबाट पक्राउका लागि अनुमति लियो । भारतको सिक्किममा डेढ हप्ता लामो सांस्कृतिक कार्यक्रम सम्पन्न गरी फर्केर आफैं प्रहरी कार्यालय पुगेकी उनलाई हिरासतमा राखियो ।

फौजदारी कानूनका जानकारहरू सामान्य भनाभनको घटनामा जाहेरी दिएकै भरमा कसैलाई पक्राउ गर्नुलाई कानून विपरीत भएको बताउँछन् ।

वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल अभियुक्तलाई थुनामा नराखी अनुसन्धान अगाडि बढाउन सकिने अवस्थामा पनि कानूनको दुरुपयोग गरेर थुन्ने गरिएको बताउँछन् । कसुर प्रमाणित नहुने र मेलमिलापमा टुंग्याउन सकिने कतिपय घटनामा प्रहरी बढी आक्रामक हुने गरेको उनी बताउँछन् ।

छलफल र मेलमिलापबाट टुङ्गिन सक्ने सामान्य घटनामा पनि प्रहरीले कानूनको दुरुपयोग गरी नागरिकलाई हिरासतमा राख्ने गरेको छ।

नयाँ फौजदारी संहिता १ भदौ २०७५ मा लागू हुनुअघि प्रहरीले सामान्य उजुरीका भरमा पनि पक्राउ गर्ने र मुद्दा चलाउने गर्दा निर्दोषले अनाहकमा दुःख पाउँथे । नयाँ संहितामा अदालत र प्रमुख जिल्ला अधिकारीको स्वीकृतिमा मात्र पक्राउ गर्न सक्ने प्रावधान राखियो । तर, त्यसको पनि दुरुपयोग रोकिएन ।

खरेल भन्छन्, “मुद्दा हेर्ने अधिकारी र अदालत असंवेदनशील भए प्रमाण विना उजुरीकै भरमा जोसुकै पनि थुनिनुपर्ने हुन्छ । यस्तो अवस्थामा नागरिक अधिकार हनन हुन्छ ।”

दबाब र प्रभावका आधारमा प्रमाण नष्ट नहुने, आरोपित व्यक्तिलाई नथुन्दा पनि समाजलाई कुनै खतरा नहुने र अभियुक्त नभाग्ने अवस्थामा हिरासतमा नलिई अनुसन्धान अघि बढाउनुपर्ने पूर्व प्रहरी नायव महानिरीक्षक हेमन्त मल्ल बताउँछन् । जाहेरी परेकै आधारमा प्रहरीले पक्राउ गरेर थुन्नुमा सामाजिक संरचना पनि दोषी भएको उनी बताउँछन् ।

मल्ल भन्छन्, “सामाजिक संरचना पनि दोषी छ, उजुरी दिनेहरू एक दिन भए पनि प्रहरीले थुनोस् भन्ने चाहन्छन्, प्रहरीको पनि पहिला थुन्ने अनि सुन्ने प्रवृत्ति छ ।”

प्रहरीबाट थुनिइने विषय सामाजिक प्रतिष्ठासँग पनि जोडिएको छ । सामान्य घटनामा नै थुनिनुपर्दा त्यस्ता व्यक्तिमा मनोवैज्ञानिक असर पर्छ ।

वरिष्ठ अधिवक्ता खरेल माफी मागेर गल्ती स्वीकार गरिसकेको अवस्थामा गायिका राउतलाई हिरासतमा लिएर प्रहरीले गल्ती गरेको बताउँछन् । उनी भन्छन्, “प्रहरीमा हाजिर भएपछि अब आइन्दा गल्ती नगर्ने शर्तमा कागज गराएर पनि छोड्न सकिन्थ्यो । तर, प्रहरीले पक्राउ गर्नमै बहादुरी ठान्यो ।”

प्रहरीले कानून दुरुपयोग गरेर थुनामा राखेका अरू पनि उदाहरण छन् । गत कात्तिकमा ठगी सम्बन्धी मुद्दामा व्यवसायी रूप ज्योतिलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राख्यो । अन्त्यमा उनको मुद्दा मेलमिलापमा टुङ्गियो ।

सामान्य घटनामा पनि पक्राउ गर्ने प्रहरीले गम्भीर अपराधका मुद्दामा किटानी जाहेरी दिंदा पनि अभियुक्त पक्राउ नगरेको उदाहरण पनि छन् । साउन २०७५ मा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकी आमा दुर्गादेवीले दिलीप विष्ट विरुद्ध किटानी जाहेरी दिइन् ।

तर, प्रहरीले विष्टलाई अहिलेसम्म पनि पक्राउ गरेको छैन । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी उपरीक्षक मुकुन्द मरासिनी निर्मला हत्याकाण्डको अनुसन्धान प्रक्रिया जारी नै रहेको बताउँछन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका अनुसन्धान टोलीले निर्मला पन्तको बलात्कारपछि हत्यामा विष्टकै संलग्नता भएको निष्कर्ष सहितको प्रतिवेदन बुझइसकेका छन् । उनीहरूले बुझएको प्रतिवेदनमा विष्टलाई पक्राउ गरी मुद्दा चलाउनुपर्ने उल्लेख छ ।

तर, उक्त घटनाको अनुसन्धानमा खटिएका प्रहरीमाथि नै धमाधम कारबाही भएपछि जिल्लाका प्रहरी विष्टलाई पक्रन हच्किएका हुन् । 

प्रतिकृया दिनुहोस