ब्लग शुक्रबार, माघ १७, २०७६

राणा शासनमा सडकको झमेला

भैरव रिसाल

राणा शासनमा सडकको झमेला
वि.सं. १९५० तिरको सिंहदरबार क्षेत्रको ‘एरियल भ्यू’ । तस्वीरः ‘वर्ल्ड नेपाल फोटोज एण्ड इमेजेज’को फेसबूकबाट
भैरव रिसाल

राणा शासनमा शासकहरूको ठाँट जति तामझामयुक्त हुन्थ्यो, सर्वसाधारणले भोग्ने उकुसमुकुस र असमानताले भने त्यो युगकै अँध्यारो बोक्थ्यो । जनतालाई रैती दुनियाँ भनिन्थ्यो र विभेदकारी व्यवहार गरिन्थ्यो । कतिसम्म भने, राणा शासकका घोडा हिंड्ने र घोडेबग्गी गुड्ने मूल बाटोमा सर्वसाधारण हिंड्न पाउँदैनथे । त्यसवेला सडकलाई मूल बाटो भनिन्थ्यो ।

श्री ३ चन्द्रशमशेरको पालामा सिंहदरबार बन्यो । सिंहदरबारको मुख्य प्रवेशद्वारदेखि भद्रकाली हुँदै सडक बनाइयो । त्यो सडक जनताका लागि निषेधित थियो । पाटन, थापाथली, कुरियागाउँ (बबरमहल) तिरबाट डिल्लीबजार, बागबजार ओहोरदोहोर गर्दा त्यो सडकमा हिंड्न त के टेक्न पनि पाइँदैनथ्यो ।

सडकमा बन्दूक सहितका सिपाहीले पहरा दिएका हुन्थे । त्यो सडकको उत्तर–पूर्वी भागमा मुनिपट्टि हिंड्न मिल्ने ‘अन्डरपास’ थियो, सर्वसाधारणले त्यहींबाट लुसुलुसु हिंडेर पार गर्नुपर्थ्याे। सिंहदरबारतिरबाट भद्रकाली जाँदा पनि सडकदेखि दक्षिणतिरको खोंचको पैदल बाटो हिंड्नुपर्थ्याे। त्यो बाटो म आफैं अनगिन्ती पटक हिंडेको छु ।

स्वीस भूगर्भविद् टोनी हागनले लेखे अनुसार, राणा शासनको १०४ वर्षमा देशभरि जम्माजम्मी ३६७ किलोमिटर मात्र सडक थियो । त्यसमा पनि कालोपत्रे सडक विरलै थिए । सिंहदरबारबाट भद्रकाली, महाँकाल, रानीपोखरी, नारायणहिटी, लैनचौरसम्मको सडकमा कालोपत्र गरिएको थियो । लैनचौरसम्म कालोपत्र गरिनुको कारण– त्यहाँ ब्रिटिश रेजिडेण्ट (राजदूत) बस्थे । राणाहरू र अंग्रेज दूत सिंहदरबार–लैनचौर घोडेबग्गी र मोटरमा आउजाउ गर्थे ।

घोडा दगुर्न खस्रो सडक

१९९० सालको महाभूकम्पपछि श्री ३ जुद्धशमशेरले सदर टुँडिखेलदेखि वसन्तपुर दरबार क्षेत्रसम्म ठूलो सडक बनाएर पिच गराए । भूकम्प अघि हालको नयाँसडक गल्ली मात्र थियो । उत्तरतिर इन्द्रचोक, दक्षिणतिर पुरानो भन्सार, भूगोलपार्क पीपलको बोटदेखि रणमुक्तेश्वर र खिचापोखरीको गल्लीलाई पनि ठूलो सडक बनाए । टुँडिखेल–बसन्तपुर सडकलाई नयाँसडक वा जुद्धसडक भन्न लागियो ।

नयाँसडकको पिच अनौठो थियो– आधा भाग चिप्लो, आधा खस्रो । राणा शासकका सन्तान घोडा कुदाउने भएकाले घोडाका टाप नचिप्लियोस् भनेर आधा सडकमा खस्रो पिच गरिएको थियो । त्यसवेलाको टुँडिखेल विशाल र खुला थियो, पर्खाल थिएन । सदर टुँडिखेलको दक्षिणी छेउमा समयको जनाउ दिन बिहान, मध्याह्न र बेलुका गरी तीन पटक तोप पड्काइन्थ्यो । बेलुकीको तोप पड्केपछि काठमाडौंमा कर्फ्यू लाग्थ्यो, जुन बिहानको तोप नपड्केसम्म जारी रहन्थ्यो ।

सामल बोकेर पैदल

नेपालको सडक इतिहास हेर्दा दयनीय लाग्छ । त्यस वेलाका अधिकांश सडक कच्ची हुन्थे, इँटाको टुक्रा हालेर पेलिएका । अलि समयपछि इँटाका टुक्रा असरल्ल देखिन्थे । साइकल चलाउन कठिन हुन्थ्यो । काठमाडौंभित्रका, पाटन र भक्तपुर जाने तथा उपत्यका बाहिर भीमफेदी, हेटौंडा हुँदै अमलेखगञ्जसम्म कच्ची मोटरबाटो थिए । भीमफेदी–अमलेखगञ्ज सडक निर्माण र मर्मत नेपाली सेनाका प्रायः नयाँ भर्ना हुनेहरूबाट गराइन्थ्यो।

पूर्वतिर जोगबनीदेखि विराटनगर मिल्स एरियामा पनि सडक थिए । ती सडक प्रायः धूले थिए । अमलेखगञ्जदेखि भारतको रक्सौलसम्म र पूर्वतर्फ महोत्तरीको विजलपुरादेखि जयनगरसम्म छोटी लाइनको रेलवे चल्थ्यो । देशको यातायात सेवा भनेकै यी मोटरबाटा र दुई रेल्वे सेवा थिए।

राणा शासनको वेला पहाडी भेगमा सडक संस्कृति नै थिएन । काठमाडौं आउँदा पूर्वको दिङ्ला पाठशालादेखि पश्चिमको हरिहर पाठशालासम्मका विद्यार्थी हिंडेरै आउनुपर्थ्या। कैयौं दिनको यात्राका लागि राशनपानीको भारी नबोकी सुखै थिएन । अहिले सबैतिर सडक सञ्जाल विस्तार भएकाले सुगम र सुविधा छ । नयाँ पुस्ताले त्यो समयको कठोर संघर्षबारे थाहा नपाउने मात्र होइन, कल्पना पनि गर्न सक्दैन ।

 

 

प्रतिकृया दिनुहोस