ब्लग मंगलबार, माघ १४, २०७६

प्लास्टिक प्रकोप

कनकमणि दीक्षित

प्लास्टिक प्रकोप

प्लास्टिक जथाभावी फाल्दा नेपाललाई ‘फोहोरीको देश’ भनी जनाउँदैन र !

पोखरा बजार दक्षिण फुस्रे खोलाबाट हामी मट्टीखानको उकालो लाग्यौं । अनि, बुटवलबाट स्याङ्जा र कास्की हुँदै काठमाडौं जाने पुरानो मूलबाटो, गोरेटो, समात्यौं ।

उकालोमा दुइटा कुरा प्रष्ट बुझियो, एक अन्यत्र जस्तै डोजरले खनेको मोटरबाटोले पुरानो गोरेटोलाई निष्क्रिय तुल्याइदिएको । र दोस्रो, वन–जङ्गल राम्ररी हुर्केका, दाउरा कटान र घाँस–पात संकलन घटेकोले ।

गोरेटोमा स्पष्ट देखिएको अर्को कुरा थियो — प्लास्टिकको अतिक्रमण । बाँझो कान्ला–कान्लामा आयातित वनमारा झारको राज छ भने गोरेटोमा एकचोटि प्रयोग गरेर फ्याँकिने ‘सिङ्गल यूज’ प्लास्टिकको । प्लास्टिकले कसरी समाज र अर्थतन्त्रलाई ढाकेको छ भन्ने उदाहरण थियो, फुसे्र मट्टीखानको उकालो ।

आँखै बिझाउने, बाटो फोहोर गर्ने र हजारौं वर्षसम्म रहिरहने यो यस्तो प्रदूषण हो, जसलाई निश्चिन्त जताततै छरिरहेका छौं । प्लास्टिक माटोमा मिल्दैन, टुक्रिएर ‘डिस्इन्टिग्रेट’ भएर मानव र जनावरको लागि प्राणघातक वस्तुको रूपमा सयौं वर्ष रहिरहन्छ । 

‘भिजिट नेपाल २०२०’ शुरु हुँदै गर्दा प्लास्टिक र्‍यापर, बोतल, झोला र प्याकेटको बिगबिगीले के सन्देश दिन्छ ? पक्कै नेपाल फोहोरीको देश भनिकन जहाँका नागरिक आफ्नै स्वास्थ्य र प्रकृतिको अवस्थाप्रति बेपरवाह छन्, जहाँ सौन्दर्यबोध छैन, जहाँ पत्रु खाना र पेयले स्थानीय खानालाई पराजित गरिसकेको छ ।

 मट्टीखान जाने यो पैदलमार्ग धेरै चलनचल्तीमा छैन, तर पनि १०० मिटर गोरेटोको ‘अनुसन्धान’ मा हरेक मिटरमा फ्याँकिएको प्लास्टिक फेला परे । जताततै प्लास्टिक, कुनै भर्खर फ्याँकिएका, टलक्क टल्किएका, अन्य घामपानी र हावा खाएर रङ खुइलिएका, धुजा–धुजा परेका ।

देखिएका प्लास्टिक सबै गाउँघरको परिवेशमा प्रयोग हुने खालका थिए — तयारी चाउचाउका प्याकेट र मसलाको सानो प्याकेट, ड्रिङ्किङ्ग स्ट्र, प्लास्टिक झोला, औषधि पाता, चक्लेट–पिपीका र्‍यापर, ई. । शहर र राजमार्ग छेउ देखिने मिनरल वाटर बोतल यहाँ त्यतिको देखिएन ।

मैले दर्जनौं तस्वीर खिचें, तर बाटोमा रहेका प्लास्टिकको यी थोरै अंश मात्र थिए । एकातर्फ हाम्रो परम्परागत खाजा र खानपिन त्यागेको स्थिति, अर्कोतर्फ आमा–बावुले बालबच्चाले मागे अनुसार पसलबाट गुलियो, अमिलो वस्तु किनिदिने । यसले न्यून सामाजिक चेतनाको वर्तमान अवस्था समेत दर्शाउँछ ।

शब्दलाई यत्तिमै बिट मारेर म यिनै तस्वीरका माध्यमबाट प्लास्टिक राज र हाम्रो असंवेदनशीलताको झलक प्रस्तुत गर्दछु ।

 

प्रतिकृया दिनुहोस