समाचार सोमबार, माघ १३, २०७६

कोरोना भाइरसबारे प्रधानमन्त्रीसँग छलफलपछि चीनमा रहेका शंकास्पद बिरामी खोजिंदै

रामु सापकोटा

कोरोना भाइरसबारे प्रधानमन्त्रीसँग छलफलपछि चीनमा रहेका शंकास्पद बिरामी खोजिंदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पदाधिकारीले नोबेल कोरोना भाइरसबारे प्रधानमन्त्री केपी ओलीलाई ब्रिफिङ गरेपछि सरकारले चीनमा रहेका शंकास्पद नेपाली बिरामी खोज्न थालेको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, सचिव खगराज बराल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेककुमार लाल लगायतको टोलीले १२ माघमा प्रधानमन्त्री केपी ओलीलाई भेटेर चीनबाट फैलिएको नोबेल कोरोना भाइरस र यसले नेपालमा पार्ने असरका बारेमा छलफल गरेका थिए ।

उक्त छलफलमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र विषयगत मन्त्रालयका सचिवहरूको पनि उपस्थिति थियो ।

बैठक मार्फत स्वास्थ्य सचिव खगराज बरालले चीनबाट आएका शंकास्पद व्यक्तिलाई निगरानीमा राखिएको र अस्पतालमा उपचारको व्यवस्थापन मिलाइएको बारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।

स्वास्थ्य मन्त्रालयका पदाधिकारीको ब्रिफिङपछि प्रधानमन्त्री ओलीले स्वास्थ्य उपचार सेवा चुस्त बनाउन निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनपछि स्वास्थ्य मन्त्रालयले १३ माघमा विज्ञप्ति जारी गर्दै चीनमा रहेका नेपालीलाई कूटनीतिक नियोगमा सम्पर्क गर्न भनेको छ ।

“संक्रमित क्षेत्रमा रहेका नेपालीहरूले कुनै समस्या महसूस गरेमा चीनस्थित नजिकमा रहेका नेपालको कूटनीति नियोगमा सम्पर्क राख्न अनुरोध गरिन्छ”, विज्ञप्ति मार्फत भनिएको छ, “नेपाली दूतावास बेइजिङ, नेपाली महावाणिज्य दूतावासहरू ग्वाञ्जाओ, हङकङ, ल्हासामा रहेका नेपाली नियोगहरूमा २४ सै घण्टा सम्पर्क गर्न सकिनेछ ।”

यस्तै, बेइजिङस्थित नेपाली दूतावासले त्यहाँ रहेका विद्यार्थीसँग ‘वी च्याट’ समूह खडा गरी निरन्तर सम्पर्कमा रहेर उनीहरूको अवस्थाबारे जानकारी लिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस